Saturday, August 13जापानबारे सबै कुरा

यि हुन जापानमा पैसा जोगाउने ९ तरिका

सबैलाई थाहा भएकै कुरा हो, पैसा कमाउनुमात्र ठूलो कुरा हैन, तपाइ लाखौं कमाउनुस् तर बचत गर्न सक्नुभएन भने कमाइको वास्तविक अर्थ रहँदैन । जापान आएर पैसा नै कमाउन सकिएन भन्ने गुनासो गर्नेहरु धेरै भेटिन्छन्, बुझ्नुपर्ने एउटा कुरा चै के हो भने यहाँ कमाउन भन्दा जोगाउन गाह्रो छ । जापान आउँने अधिकांश नेपालीको एउटै लक्ष्य भनेको जापानमा भएको कमाइबाट खर्च घटाएर बचत भएको रकम रेमिट्यान्सको रुपमा नेपाल पठाउनु वा यहीं कुनै व्यवसायमा लगानी गर्नु हो त्यसैले हामीले वास्ता नगरेका स–साना खर्चहरु कटौती गर्न सक्यौं भने पनि मासिक रुपमा केही न केही रकम अवश्य जोगाउन सकिन्छ ।

आज हामी जापानमा हुने खर्च कटाएर वा लाग्ने खर्चमा छुट पाएर यस्तै स–साना बचतहरु कसरी गर्न सक्छौं भन्नेवारे चर्चा गर्दैछौं । ठूलै आशा त नराख्नुहोला तर दैनिक खर्च हुने रकममा स–सना यस्तै बचतहरु गर्न सक्नुभयो भने महिनामा केही हजार वा बर्षमा केही मान अवश्य जोगाउन सक्नुहुनेछ ।

१. ह्याकुयेन(¥100) शपको प्रयोग गर्नुस्

जापानमा मानिसलाई आफ्नो हैसियत अनुसारको जिन्दगी बाँच्नका लागि व्यवस्था छ, जस्तै हाइफाई जिन्दगी बाँच्न चाहानेहरुका लागि त्यही अनुसारका सामान, सरसुविधा उपलव्ध छन् भने सामान्य जिन्दगी बाँच्न चाहानेहरुका लागि त्यही अनुसारका । विदेशीहरु मात्र नभई जापानीहरुको पनि एक नम्बर रोजाइमा यहाँका ह्याकुयेन शप पर्ने गरेका छन् । १०८ येनमा दैनिक जिवनमा चाहिले लगभग सबै किसिमका घरायसी सामानहरु, भाँडाकुँडा, स्टेशनरी सामानहरु, वायरहरु, छाता तथा अन्य धेरै सामानहरु पाइन्छन् । कम मूल्यमा किनिने हुनाले कम गुणस्तरीय हुन्छन् कि भन्ने लाग्नसक्छ । तपाइले बाँच्न खोजेको जिवनस्तर सुहाँउँदो गुणस्तरमा ति सामानहरु हुन्छन् र टिकाउ पनि हुन्छन् । तपाइलाई आवश्यक पर्ने सामानहरु यस्ता पसलमा गएर किन्नुहोस् महंगा पसलहरुमा किनेका सामान र यहाँ किनेका सामानबाट लिन सकिने उपयोगिता बराबर हो । जापानका ठूला ह्याकुयेन शपहरु दाइसो, क्यान डु, सेरिया लगायत हुन् । तपाइ बस्ने वरपर पनि पक्कै यस्ता पसलहरु छन्, तिनको प्रयोग गर्नुहोस् र खर्च घटाउनुहोस् ।

२. सेकेण्ड ह्याण्ड सामानको प्रयोग गर्नुस्

जापानमा हरेक सामानहरु सेकेन्ड ह्याण्ड किन्न पाइन्छ, घरायसी प्रयोगका सामानहरु जस्तै ग्याँस चुल्हो, फ्रिज, दराज लगायतका सामानहरु नयाँ किन्दा महँगो पर्नसक्छ । सेकेण्ड ह्याण्ड भन्दैमा विग्रिएका, कामै नलाग्ने भन्ने हुँदैनन । सेकेण्डह्याण्ड सामानहरुमा पनि केही महिनाको वारेन्टी हुन्छ । छान्न सक्ने हो भने जापानका इलेक्ट्रिक तथा फर्निचर सामानहरु सेकेण्ड ह्याण्ड किन्दा फरक पर्दैन । यस्ता सामानहरु अनलाइन वा स्टोरहरुमै गएर किन्न सकिन्छ ।

३. निशुल्क पाइने सामान प्रयोग गर्नुस्

हो, सही सुन्दै हुनुहुन्छ, जापानमा आफुँलाई प्रयोगमा नआउने सामानहरु फाल्नुभन्दा प्रयोग गर्न चाहने अरु कसैलाई निशुल्कमा दिने प्रचलन छ, ठूला ठूला सामानहरु फाल्नका लागि धेरै पैसा लाग्ने भएकै कारण पनि प्रयोग गर्न चाहने कसैलाई निशुल्कमै दिन चाहानेहरु धेरै हुन्छन् । विशेष गरि जापान छाडेर जान लागेका विदेशीहरुले आफुलाई धेरै भएका सामान विभिन्न अनलाइन तथा फेसबुक ग्रुपहरुमार्फत निशुल्क दिनेगरेका छन् । जस्तै तपाई यो वेवसाइट वा यो फेसबुक ग्रुपमा जोडिएर निशुल्क सामानहरु लिन सक्नुहुन्छ ।

४. अनलाइनबाट सामान किन्नुहोस्

तुलनात्मक रुपमा अफलाइन भन्दा अनलाइन स्टोरहरु सस्तो पर्दछन् । स्टोर भाडा, स्टाफ खर्च लगाएतका खर्चहरु कम हुने हुँदा पसलमै गएर किन्दा भन्दा अनलाइन अर्डर गर्दा सोही सामान सस्तो मूल्यमा किन्न सकिन्छ । अनलाइन स्टोरहरुमा क्रेडिट वा डेविट कार्ड, कन्भिनियन्स स्टोरबाट, सामान डेलिभरी हुने बेला तिर्ने गरि सामान मगाउन सकिन्छ । आँफैले छानेर किनेको सामान भन्दा अनलाइन अर्डर गरिने सामानहरुमा विश्वास गर्न गाह्रो हुन्छ भने अलि विश्वासिलो साइटबाट मात्र अर्डर गर्ने गर्नुपर्छ ।

५. प्वाइन्ट कार्डहरुको प्रयोग गर्नुस्

जापानका विभिन्न पसलहरुले विशेषगरि कन्भिनियन्स स्टोर तथा सुपरमार्केटहरुले ग्राहक आकर्षित गर्नका लािग विभिन्न किसिमका प्वाइन्ट कार्डहरु प्रचलनमा ल्याएका हुन्छन् । प्रायजसो कार्डहरुमा तपाइले गएर सामान किन्दा १०० येन बराबर १ प्वाइन्ट जम्मा हुन्छ । जम्मा भएको प्वाइन्टलाई एक प्वाइन्ट बराबर १ येनको दरमा परिवर्तन गरि सामान किन्न सकिन्छ । जस्तै तपाइसंग भएको कार्डमा ३००० प्वाइन्ट जम्मा भयो र तपाइले आफ्नो प्वाइन्ट प्रयोग गरि सामान किन्न चाहानुभयो भने ३००० येन बराबरको सामान किन्न पाउनुहुन्छ । सधैजसो सपिङ गर्न गइरहने सुपरमार्केट तथा सधै खाना खाइरहन जाने पसल वा ठूला इलेक्ट्रिक कम्पनीहरुहरुको प्वाइन्टकार्ड प्रयोग गर्नु फाइदाजनक हुन्छ । त्यसैगरि कतिपय सुपरमार्केटहरुमा तोकिएको क्रेडिट कार्डबाट पैसा तिर्दा छुट समेत पाइन्छ । यसो गर्न सक्नुभयो खर्च हुने रकममा केही हदसम्म बचत गर्न सक्नुहुन्छ । जापानमा प्रचलित लोयल्टी कार्डहरु टि–प्वाइन्ट, नानाको, डि प्वाइन्ट, सुइका आदि हुन् ।

६. ट्रेन यात्रामा कार्ड वा पासको प्रयोग गर्नुस्

जापानमा ट्रेन यात्रा महँगो छ, टिकटको भरमा हिड्ने हो भने अझ महंगो पर्न जान्छ । सधै गइरहने ठाउँ जस्तै काममा जाँदा टिकट काट्नुको सट्टा मासिक भुक्तानी गर्नेगरि ट्रेन कार्ड बनाउनु फाइदाजनक हुन्छ । यस्ता कार्डहरु विद्यार्थीहरु र बच्चाबच्चीको हकमा सामान्यभन्दा अझ सस्तो पर्छ । साथै घुम्न निस्कदै हुनुहुन्छ र ट्रेन चढ्नुपर्ने छ भने एकदिने विशेष पास लिन पनि सकिन्छ । जस्तै जेआरको एकदिने पास लिनुभयो भने फिक्स्ड रकममा एक दिनभर जेआरको जुनसुकै लोकल रेल चढ्न पाउनुहुन्छ । यसो गर्दा पनि केही हदसम्म खर्च घटाउन सकिन्छ ।

७. कन्भिनियन्स स्टोर कम प्रयोग गर्नुस्

हुन त जापानमा जताततै कन्भिनियन्स स्टोरहरु छन्, उनीहरुले दिने सेवाकै आधारमा ति महँगा पनि हुन्छन् । दैनिक उपभोग्य सामान किन्नका लागि यस्ता कन्भिनियन्स स्टोरहरुको प्रयोग गर्नुभन्दा ठूला सुपरमार्केटहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सस्तोमा सामान पाइने पसलहरु तपाइ नजिकै पनि हुनसक्छन् जस्तै कोस्टोको, ग्योउमु सुपा आदि । सुपमार्केटहरुमा प्रायगरि बेलुका बन्द हुने हुने बेलातिर सामान किन्न जानुभयो भने पनि साविकको भन्दा सस्तोमा पाउन सक्नुहुन्छ ।

८. मोवाइल एपहरुको प्रयोग गर्नुस्

जापानमा आजकल खाना, खाजा खाने धेरै पसलहरुले आफ्नो मोवाइल एप बनाएका छन् ति एपको प्रयोग गरेवापत ग्राहकहरुलाई विभिन्न अफरहरु पनि दिने गरेका छन् । कुनै ठाउँमा खाना खान जाँदै हुनुहुन्छ भने त्यो पसलको एप छ कि चेक गर्ने गर्नुहोस् । उदाहरणका लागि म्याकडोनल्स को आधिकारिक एप मोवाइलमा राख्नुभयो भने त्यहाँ विभिन्न डिसकाउन्ट कुपनहरु हुन्छन्, किन्ने समयमा ति कुपन देखाउनुभयो भने साविकको भन्दा सस्तो मूल्यमा पाउनुहुन्छ । त्यस्तै तपाई सामानहरु किन्दा लाइन नामक मोवाइल एप्लिकेशनको लाइन पे मार्फत पैसा तिर्नुभयो भने धेरै ठाउँहरुमा तिरेको रकमको २ प्रतिशत फिर्ता समेत पाउन सक्नुहुन्छ ।

९. मितव्ययी बन्नुस्

यदि तपाई जापानमा परिवारसंग हुनुहुन्न भने साथीहरुसंग रुम सेयर गरेर बस्नु कम खर्चिलो हुन्छ । कोठामा बस्दा ग्याँस, बिजुली तथा पानीको मितव्ययी प्रयोग गर्नाले पनि खर्च कम हुन्छ । अनावश्यक समयमा एसी, हिटर नचलाउने, बत्ति आवश्यक पर्दामात्रै बाल्ने, पानीको सही तवरबाट प्रयोग गर्ने गर्नुस् । चुरोट तथा वियर लगायतका मादक पदार्थहरुमा पनि धेरै नेपालीहरुको अनावश्यक खर्च भइरहेको हुन्छ, ति कुरामा हुने खर्च घटाउनुस् । आवश्यक कुरामा खर्च गर्नुपर्छ तर सकेसम्म मितव्ययी बन्नुस् । पैसा बचाउँन केही न केही हदसम्म लोभ गर्नैपर्छ ।

१०. अन्य ?

यसरी स–साना रकम जोगाउने वा कम खर्चमा धेरै उपयोगीता लिने तरिकाहरु जापानमा धेरै छन् । यिनमा थप केही अन्य कुनै पोष्टमा लेखौंला हालका लागि तपाईलाई जानकारी भएका केही छन् कि ? कमेन्टमा लेखिदिनुहोला न है ? माथिनै भनिहाल्यौं, पैसा कमाउनु ठूलो कुरा हैन, कमाएको पैसाबाट खर्च कटाएर केही बचत गर्नु हामी सबैको बाध्यता र आवश्यकता समेत हो । त्यसैले आवश्यकता पनि पूरा होस्, खर्च पनि कम होस् भन्ने सोचेर काम गर्नुमा नै हाम्रो भलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *