जापानमा आउनुअघि यहाँको रहनसहन र वातावरणवारे जानिराख्नु उपयुक्त हुन्छ भनेर हामीले पहिलेदेखिनै भन्दै आइरहेका छौं । जापान आउने तयारी गर्दै हुनुहुन्छ वा हालसालै जापान आउनुभएको छ भने यहाँको भाषा संस्कृति र मानवीय व्यवहारहरुका बारेमा तपाइले बुझ्नैपर्ने हुन्छ यसरी जापानीहरुको व्यवहार र उनीहरुको आनिवानी बुझ्न सकियो भने यहाँ रोजगारी खोजी, वसोबास तथा अन्य सामाजिक कृयाकलाप तथा दैनिक व्यहार लगायतका बिषयमा सहज हुन्छ ।
अत्यन्त मिहिनेती, मिजासिला र सहनशिल जनताको रुपमा विश्वभर ख्याति कमाएका जापानका नागरिकहरु धेरै कुरामा अत्यन्त खुसी हुने स्वभावका हुन्छन् तर यस्ता केही कुराहरु छन् जसका बारेमा तपाइले सोध्नुभयो वा कुरा गर्नुभयो भने पनि सो कुराले उनीहरुलाई दुखि तुल्याउँछ । उस्तै परे रिसाउँछन् पनि तर सबैको हकमा त्यो लागू नहुन पनि सक्छ ।
नि – हाउ (चिनियाँ अभिवादन)
भेटघाटका समयमा प्रयोग गरिने शव्दहरुमा जापानीहरु एकदमै सचेत रहन्छन् । शिष्टाचारको समयमा प्रयोग गरिने यस्ता शव्दहरुमा ‘ नि – हाउ ‘ को प्रयोगलाई त्यति सहज रुपमा जापानीले स्विकार गर्न भने सक्दैनन् । ‘ नि – हाउ ‘ चिनियाँ भाषाको शिष्टाचार शब्द अन्तर्गत पर्दछ । उनीहरु भेटघाटको बेला कोन्निचिवा को प्रयोग राम्रो मान्दछन् ।
तपाइ कोरियन हुनुपर्छ, हो ?
तपाई हालसालै जापान आउनुभएको छ भने तपाइलाई यहाँ भेटिने जापानी, कोरियन र चिनिया व्यक्तिहरुको अनुहारको बनावट छुट्याउन मुस्किल पर्न सक्छ । पछि पछि भने फरक छुट्याउन सकिन्छ । जापानमा चिनियाँ र कोरियन नागरिकहरुको को संख्या धेरै रहेको छ यदि तपाईले जापानी नागरिकलाई ‘ तपाई कोरियन जस्तो देखिनु हुन्छ नि, हो ? ‘ भन्नु भयो भने उनीहरुले त्यसलाई राम्रो मान्दैनन् ।
तपाई जापानी हो नि, हैन त ?
यदि तपाई जापानको ओकिनावा क्षेत्रमा आउने तरखर गर्दै हुनुहुन्छ वा हालसालै सो क्षेत्रमा आउनुभएको छ भने यो प्रश्न भुलेर पनि नसोध्नुस् । सो क्षेत्रमा बसोबास गर्ने गैर जापानीहरुको अनुभव अनुसार त्यहाँका अधिकांश जापानीहरु आफुलाई जापानी भन्दापनि ओकिनावानको रुपमा चिनिन चाहान्छन् । ओकिनावाका रैथाने ओकिनावानलाई तपाई जापानी हैन त ? भनि प्रश्न गर्दा उनीहरुको अनुहारको स्वरुपमा परिवर्तन आउने गर्दछ । उनीहरु आफूलाई जापानी भन्दा पनि ओकिनावानी भनेको रुचाउने गर्दछन् ।
विवादास्पद बिषयहरुमा गरिने प्रश्न
जापानीहरु राजनीतिक या अन्य विषय भन्दा आफ्नो कामलाई बढी प्राथमिकतामा राख्ने गर्दछन्, राज्यसँग जोडिएका विवादित विषयमा जापानीहरुसँग वहस गर्नु अगाडि बिचार गर्नुस् है, उनीहरु त्यसलाई राम्रो मान्दैनन् । कतिपय विषयबारे यथेष्ट जानकारी भएर पनि उनीहरु विवादिन विषयहरुमा मौन वस्न रुचाउछन् । जस्तो कि तपाई यासुकुनी क्षेत्रबारे केही कुरा सोध्नु भयो भने उनीहरु रिसाउन सक्छन् । यासुकुनी क्षेत्रमा जापान, चीन र कोरियाबीच अझैपनि विवाद रहदै आएको छ ।
जापानमा किन राजतन्त्र छ ?
विदेशी मुलुकबाट जापान जानेहरुमध्ये धेरैलाई अचम्म लाग्ने यहाँको राजतन्त्रको विषय पनि हो । विश्वका धेरै मुलुकबाट राजतन्त्र हटिसकेको अवस्थामा जापानी भने पारिवारिक व्यवस्थाबाट शाषित हुदै आएका छन् र त्यसमा उनीहरु खुशी देखिन्छन् । पहिले कुनै समय राजतन्त्रको विरोधमा आवाज उठेको भएपनि अधिकांश जापानीहरु यहाँको राजसंस्थालाई विशेष सम्मान गर्छन । तपाईले जापानको राजसंस्था विरुद्ध कुनै अभिव्यक्ति, युवराज्ञी र युवराज लगायतका कुरा काट्नुभयो भने जापानीले त्यसलाई नकारात्मक रुपले लिन सक्छन् वा जापानमा अहिलेसम्म किन राजतन्त्र छ ? भनेर भुलेर पनि नसोध्नुस्, रिसाउन सक्छन् । राजतन्त्रका बारेमा कुरानै गर्न मन छ भने यहाँका खावाई राजकुमारीहरुका बारेमा कुरा गर्नुहोस् ।
त्यस्तै जापानीहरु उनीहरुका धर्मका विषयमा कुनै प्रश्न गरिरहँदा कहाँ किन, कहिलेको बारम्बार प्रयोगलाई पनि त्यति सामान्य रुपमा लिदैनन् । जापानी साथी बनाउन चाहानुहुन्छ, काम गर्ने कम्पनीका जापानी सहकर्मीहरुसंग राम्रो सम्बन्ध कायम गर्न चाहानुहुन्छ वा पहिलोपटक कोही जापानीसंग भेटघाट गर्दै हुनुहुन्छ भने कुराकानीका क्रममा यस्ता कुरामा ध्यान दिनुहोला है त । अन्य के के हुन सक्लान ? तपाइलाई मनमा लागेको कुरा कमेन्टमा लेख्न सक्नुहुनेछ ।