Sunday, October 24जापानबारे सबै कुरा

चपस्टिक (हासी) को प्रयोग गर्दा यि गल्ती गर्दै नगर्नुस्

जापानमा आएर लामो समय विताइसक्नुभएको हो भने चपस्टिक (हासी) कसरी प्रयोग गर्ने भन्नेवारे पक्कै जानकार हुनुहुन्छ होला । नयाँ हुनुहुन्छ भने पक्कै पनि जापानी चपस्टिक (जापानी भाषामा हासी भनिने) प्रयोग गर्न सिक्दै हुनुहुन्छ होला । नेपालमा प्रायगरि हात वा चम्चाको बढि प्रयोग हुन्छ तर चपस्टिक केही रेष्टुरेन्टहरु जहाँ जापानी, चाइनिज खानाहरु पाइन्छ त्यहाँ प्रयोगका लागि दिइने गरिन्छ । जापानमा आएपनि चपस्टिकको प्रयोग नौलो र केही अफ्ठ्यारो लागे पनि बानी पर्दै जाँदा सजिलो हुन्छ । भनिन्छ हासी चलाउन जान्नेले कोदोको गेडा पनि टिप्न सक्छ । तपाईले जापानमा चपस्टिकको प्रयोग कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी लिइसक्नुभएको भए पनि यसको प्रयोगमा भएका निषेधित पक्षबारे भने थाहा नहुन सक्छ ।चपस्टिक्सको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे राम्रो ज्ञान नहुँदा जानी नजानी हामी सो काम गरिरहेका हुन्छौं ।  आज हामी यसै विषयमा चर्चा गर्दैछौं । 

हिरोइ–बासी (Hiroi-bashi 拾い箸)

आफुले प्रयोग गरिरहेको चपस्टिकस्टबाट अरुलाई खाना पास गर्नु गलत प्रकृया हो । यसले मलामी जाँदा गरिने कार्यको झल्को दिन्छ । जापानमा बुद्धिजम धर्म मान्नेहरुले मृत्यु भएका व्यक्तिको आफन्तजनले लामा चपस्टिक्समा राखेर हड्डगी पास गर्ने चलन छ । त्यसैले चपस्टिक्सबाट खाना पास गर्दा खराब समयको स्मरण भएको महसुस हुने हुँदा जापानीहरु यस्तो कार्य गर्न रुचाउँदैनन् । यसरी आफ्नो चपस्टिक्सबाट खाना पास गर्ने कुरा स्वास्थ्यको हिसाबले पनि राम्रो होइन ।

ताते–बाशी (Tate-bashi 立て箸)

भातमा आफ्नो चपस्टिक्स गाड्नु हुँदैन । यसो गर्न नहुने पछाडि पनि धार्मिक कारण छ । मरेका व्यक्तिहरुको अन्त्यस्टीको समयमा उनीहरुका लागि भात पकाउने र त्यसमा हासी गाड्ने प्रचलन जापानमा छ ।

सासी–बाशी (Sashi-bashi 刺し箸)

चपस्टिक्सले कसैलाई संकेत गर्नु हुँदैन । यसले कुनै पनि राम्रो सम्बन्धलाई एक झट्कामै समाप्त गरिदिन सक्छ । जापानीहरु आफ्नो रिस अर्काको सामु एकदमै विरलै प्रस्तुत गर्छन् । यदि कसैलाई चपस्टिक्सले संकेत ग¥यो भने उसले अगाडि त केही पनि भन्दैन तर पनि भित्र भित्रै उ धेरै नै मुर्मुरिन्छ । यो कुनै व्यक्तिमा मात्र नभई कुनै वस्तुमा पनि लागू हुन्छ ।

तल दिइएका नियमहरु त्यति कडाईका साथ नमान्ने भन्ने त छैन तैपनि अधिकांश मानिस चाहिँ यसलाई मान्न धेरै नै अप्ठयारो मान्छन् । त्यसकारण यसलाई प्रयोगमा नल्याउनु नै उचित हुन्छ ।

योसे–बाशी (Yose-bashi 寄せ箸)

कुनै पनि भाँडा तान्दा चपस्टिक्सको प्रयोग गर्नु हुँर्दैन । यदि अरु कसैसँग खाना खाँदै हुनुहुन्छ भने त योे झनै गर्नु हुँदैन । यस्तो गरेमा सबैले तपाइलाई अल्छी र नराम्रो सोच्छन् । यसको साटो हातकै प्रयोग गर्दा राम्रो हुन्छ ।

मायोइ–बाशी (Mayoi-bashi 迷い箸)

चपस्टिकसँग खेल्नु हुँदैन । यसले तपाइलाई बच्चा जस्तो देखाउँछ । कुन खाने भनेर निर्णय पहिलो गर्नुस अनि मात्र खाना चपस्टिक्सले निकाल्नुस् ।

नेबुरी–बाशी ( Neburi-bashi 舐り箸 )

आफ्नो चपस्टिक्स चाट्ने पनि गर्नु हुँदैन । यसले तपाइलाई लोभी जस्तो देखाउन सक्छ । आफ्ना सहकर्र्मीसँग खाँदा यस कुरामा त्यति चनाखोे त हुनु पर्दैन तर महङ्गो होटल तथा रेष्टुराँमा जाँदा भने यस कुरामा बढी सजग हुनुपर्छ ।

अन्त्यमा,

चपस्टिक्सलाई चपस्टिक्सकै रुपमा प्रयोग गर्नुपर्छ । यसलाई छुरा, काँटा वा चम्चाको रुपमा प्रयोग गर्ने हो भने त्यो नराम्रो देखिन्छ । जापानमा खाना खाने देखि हरेक कुरामा स–साना नियमहरु हुन्छन् । चपस्टिकको प्रयोग सम्बन्धमा यि बाहेक पनि अन्य केही नियमहरु छन् तर मुख्य यिनै भएकाले यति मात्र लेखिएको छ । देख्दा सामान्य लाग्ने यस्ता नियमहरुको सही पालना गर्न सकेको खण्डमा जापानीहरुसंग घुलमिल हुन र यहाँको रितिरिवाज र परम्परा सिक्न सजिलो हुन्छ ।

तपाईसंग पनि हासीसंग जोडिएका केही रमाइला तथ्य वा अनुभव छन् कि ? छन भने तल कमेन्टमा लेख्नुहोला है । यो जानकारी मन पर्यो भने सेयर गरेर साथीभाइहरुमाझ पुर्याउन पनि सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *