Saturday, August 13जापानबारे सबै कुरा

जापानमा जागिरका लागि अन्तवार्ता दिँदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु

जागिरको लागि अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ भने कुनै बेला सानातिना कुराहरूमा ध्यान नपुग्दा छनौटमा नपर्न पनि सकिन्छ । अन्तरवार्ता भन्ने वित्तिकै हामी आत्तिने गर्दछाैं । आत्तिने, हताेत्साही हुने गर्नुभयाे भने सम्झेका कुराहरू पनि विर्सन सक्नुहुनेछ । तर अन्तरवार्ताकाे लागि जाँदा तपाइँले अग्रिम मानसिक तयारी भने गर्नैपर्छ । अन्तरवार्तामा सोधिएको प्रश्न र त्यसको उत्तर कस्तो दिने भन्ने कुरा मात्र नभई कसरी अन्तरवार्ता गर्ने कोठामा प्रवेश गर्ने ? कसरी अभिवादन गर्ने ? भन्ने कुराहरू पनि महत्वपूर्ण हुन्छन् । हामीलाई साधारण र सानातिना कुरा जस्ताे लागे पनि यिनै साना कुराहरूले ठूलाे सफलता हात पार्न वाधक बन्ने गर्दछ । त्यतिमात्र नभई अन्तरवार्ता दिएर फर्कने बेलामा के के कुरामा ध्यान दिने भन्ने कुराहरुमा अति नै सावधानी अपनाउनुपर्ने हुन्छ । अन्तरवार्ताकाे प्रस्तुतिले लगभग हामी कुन स्वाभावकाे व्यक्ति हाैं भन्ने कुरा उनीहरूले थाहा पाउँछन् । जापानमा एउटा कामकाे लागि पनि विभिन्न तहतहमा अन्तरवार्ताहरू हुने गर्दछन् । परीक्षामा राम्राे गर्न नसकेकाे अवस्थामा अन्तरवार्ताकाे प्रस्तुतिले निकै सहयाेग गर्दछ । अनुशासन नै सबैभन्दा ठूलाे कुरा हाे । याे मानेमा कि जापान अनुशासन, मान मर्यादा र नियमपालनाको हिसावले विश्वमा नै चर्चित छ । आउनुहोस् अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ भने के-के कुरामा सावधानी अपनाउँदा राम्राे हाेला चर्चा गराैं ।

ढोका कसरी ढकढक्याउने ?

तपाइँको पालो आयो र तपाईलाई भित्र जान सूचना दिईयो अर्थात बोलावट भए पनि तपाई सीधै भित्र नपस्नुहोला । ढोका नढकढक्याई भित्र जानु हुँदैन । ढोकाको ठीक अगाडि पुगेर ढोका ढकढक्याउनुहोस् । ढोका ढकढक्याउँदा धेरै चर्को पनि होइन, धेरै मधुरो पनि होइन ठीक्क भित्रबाट सुनिने गरी ३ पटक ढक-ढक-ढक गर्नुहाेस् । २ पटक मात्र ढक-ढक गरेर शौचालयको ढोका ढकढक्याईन्छ । त्यसैले दुईपटक मात्र ढक-ढक नगर्नुहोला, असभ्य हुनजान्छ । पहिलो पटक ढोका ढकढक्याउँदा पनि भित्रबाट केही निर्देशन आएन भने भित्र छिरिनहाल्नुस । फेरि ढक-ढक-ढक गरी तीनपटक ढोकामा नक गर्नुहोला र भित्रबाट केही निर्देशन नआएपनि करीव तीन सेकेण्ड पर्खेर तपाइँ ढोका खोल्न सक्नुहुनेछ ।

भित्र कसरी छिर्ने ?

सायद पहिलो पटक ढोका ढकढक्याउँदा तपाईलाई भित्रबाट आउनुहोस् भन्ने निर्देशन आउनसक्छ । ढोका खोलेर 「 失礼します 」भनेर भित्र छिर्नुहोला । भित्र छिरेपछि शुरुमा अन्तरवार्ता लिन बसेको व्यक्तिसँग आइ कन्ट्याक्ट मिलाउनुहोला । अन्तरवार्ता लिन धेरैजना बसेको अवस्थामा बिच भागतिर हेर्नुहोला । तपाइँ भित्र छिरेपछि ढोका लगाउनुपर्छ । ढोका लगाउँदा सीधै ढोकातिर फर्किएर ढोका बन्द नगर्नुहोला । तपाइँ सीधै ढोकातिर फर्कंदा अन्तरवार्ता लिन बसेकाहरु तपाइँको पछाडि पर्ने हुनाले हलुका कोल्टे-कोल्टे अवस्थामा रहेर विस्तारै ढोका बन्द गर्नुहोला । अगाडितिर फर्केर पछाडि हातले मात्र ढोका बन्द गर्ने काम कदापी नगर्नुहोला । ढोकाभित्र छिरेपछि एक पटक अभिवादन गर्न नभुल्नुहोला । भित्र छिरेर ढोका बन्द गरिसकेपछि सीधा अन्तरवार्ता लिन बसेका व्यक्तिहरुसँग हेरेर फूर्तिका साथ अभिवादन गर्नुहोला । अन्तरवार्ता लिन धेरै व्यक्ति बसेका छन् भने बीचमा बसेको व्यक्तितिर हेरेर अभिवादन गर्नुभए हुन्छ । 「 本日はよろしくお願い致します 」भन्नुहाेस् ।

अभिवादन सकिएपछि अन्तरवार्ता लिन बसेकाहरुसँग ४५ डिग्री जतिमा निहुरिएर शिर झुकाउनुहाेस् । शिर झुकाउँदा करीव एक सेकेण्ड जति रोकिनुहोला । अभिवादन गरेर शिर झुकाएपछि तपाइँकाे लागि तयार गरेर राखिएकाे कुर्सिको छेउमा उभिनुहोला । तपाइँको लागि त्यहाँ कुर्सिको व्यवस्था गरिएको हुन्छ । सीधै कुर्सिमा नबस्नुहोस् । कुर्सिको आडमा उभिएर आफ्नो नाम र कलेजको नाम भन्नुहोला । नाम भनिसकेपछि फेरि ४५ डिग्रीमा शिर झुकाएर एक सेकेण्ड जति रोकिनुहोला । यति भैसकेपछि पनि अन्तरवार्ता लिन बसेकाहरुले तपाइँलाई बस्ने अनुुमति नदिएसम्म कुर्सीमा नबस्नुहोला । विशेषत आफूभन्दा ठूलाले अनुमति दिएपछि मात्रै कुर्सीमा बस्ने गरिन्छ । तर अन्तरवार्ता लिन बसेकाहरुबाट अनुमति पर्खिएर कुर्सीको आडमा उभिरहनुहोला । अनुमति प्राप्त भएपछि कुर्सीमा बस्नुहोला । तर बस्ने बेलामा पनि धेरै कुरामा ध्यान दिन जरुरी छ । बस्ने अनुमति प्राप्त भएपछि 「 失礼します 」भनेर १५ डिग्री जति शिर झुकाएर अभिवादन गरेर बस्नुहोला । कुर्सीमा बस्ने बेलामा पनि कुर्सीमा चनाखो भएजस्तो गरेर बस्नुपर्दछ । तपाइँको ढाड कुर्सीमा नजोडिएको अवस्थामा हुनुपर्छ । पुरुषले दुवै हात हल्का मुठी पारेको जस्तो गरी दुवै घुँडाको माथि राख्नुहोला । महिलाहरुले खुट्टा जोडेर बसेपछि दुवै हातलाई हल्का खप्ट्याएको जस्तो गरी घुँडामाथि राख्नुपर्दछ ।

अन्तरवार्ता दिन जाँदा झोला कहाँ राख्ने ?

बस्ने अनुमति प्राप्त भएपछि तपाइँ बस्नुहुन्छ । तपाइँले बोक्नुभएको झोला राख्ने ठाउँ भनेको तपाइँलाई बस्न दिइएको कुर्सी र त्यो कुर्सीको वरिपरि तपाइँको ठाउँ हो । कुर्सीको आडमा ठाडो पारेर राख्न सक्नुहुनेछ । झोला राख्दा सुताएर नराख्नुहोला । तपाइँले लगाएर जानुभएको कोट अन्तरवार्ताको लागि कोठामा छिर्नुभन्दा अगाडि नै राम्ररी पट्याएर बोक्नुहोस् । राख्ने ठाउँ कि त आडैमा अर्को कुर्सी खाली छ भने अथवा तपाइँकै सामानको माथि राख्न सक्नुहुनेछ । तर आडैमा भएको अर्को कुर्सी माथि राख्नको लागि तपाइँले अनिवार्य अनुमति लिनुपर्ने हुन्छ । 「 こちらに置いてもよろしいでしょうか? 」भनेर सोध्नुहोला । अनुमति पाउनुभएन अथवा आडैमा अर्को कुर्सी छैन भने राम्ररी तपाइँको सामान माथि राख्नुहोला । अन्तरवार्ता दिन जाँदा कहिले काहीं अन्तरवार्ता लिने व्यक्ति ढिला आउन सक्ने सम्भावना पनि हुन्छ । विविध कारणवश तपाइँभन्दा अन्तरवार्ता लिने व्यक्ति पछि आएर कोठामा छिरेको अवस्थामा उक्त व्यक्ति कोठामा छिर्नासाथ उठेर तपाइँले अभिवादन गर्नुहोला 「 本日はよろしくお願い致します 」अन्तरवार्ता लिने व्यक्ति कोठामा छिर्दा पनि तपाइँ उठ्नुभएन भने अति नै असभ्य हुनजान्छ । यसलाई कसैगरी नविर्सनुहोला ।

-अन्तरवार्ता सकिएपछि के गर्ने ?

अन्तरवार्ता सकिएपछि अन्तरवार्ता लिने व्यक्तिले 「 本日の面接は以上です。お疲れ様でした 」 भनेपछि तपाइँले फर्कने मोड बनाउनुपर्छ । अन्तरवार्ता लिने व्यक्तिले अन्तरवार्ता सकिएको जनाउ दिइनसकुन्जेल तपाइँ नउठ्नुहोला । अन्तरवार्ता सकिएको जनाउ दिइसकेपछि बसेकै अवस्थामा एकपटक शिर निहुराएर सम्मान गर्नुहोस् । 「 本日はお忙しい中、貴重なお時間を割いていただき、誠にありがとうございました 」भनेर चर्को र फूर्तिलो स्वरमा अभिवादन गर्नुहोला । फेरि एक पटक शिर निहुराएर अभिवादन गर्नुहोला । त्यसपछि उठेर कुर्सीको आडमा उभिनुहोला अनि फेरि एकपटक शिर निहुराएर 「 失礼します 」भनेर अभिवादन गर्नुहोला ।

एकैपटक अभिवादनको शब्द बोल्दै र शिर निहुराउँदै नगर्नुहोला । अभिवादन सकिएपछि सरासर ढोकासम्म जानुहोला । ढोकाको अगाडि पनि अन्तिमपटक एक पटक फेरि अभिवादन गर्नुहोला । त्यसपछि विस्तारै ढोका खोल्नुहोला । बाहिर निस्किएपछि तपाइँले ढोका बन्द गर्नुपर्ने हुन्छ । ढोका लगाउनु भन्दा अगाडि एकपटक अन्तरवार्ता लिन बसेका व्यक्तिहरुसँग आइ कन्ट्याक्ट राख्नुहोला । ढोकाबाट बाहिरिने क्रममा पनि अन्तरवार्ता लिन बसेकाहरुतिर सिधै ढाड नफर्कने गरी कोल्टे-कोल्टे पर्दै विस्तारै ढोका लगाउनुहोला । यदि यतिकुराहरु तपाइँले सँधै सम्झनुभयो भने तपाइँ जागीरको लागि अन्तरवार्ता जाँदा तपाइँको मूल्यांकन उच्च रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *