Sunday, August 1जापानबारे सबै कुरा

जापानमा नेपाली रेष्टुरेन्ट, कुक र डिपेन्डेन्टका लागी अबको बैकल्पिक बाटो

– जिज्ञान कुमार थापा

सुरुवातमा नै भनिहालौं, यो लेखको उदेश्य रेष्टुरेन्ट व्यवसायीहरुलाई बचाउ गर्नु वा कुक पेशाका नेपालीहरुलाई उस्काउनु हैन । कोरोनाको प्रभाव, बदलिंदो कानुनी र प्रशासनिक अवस्था आदिले गर्दा पहिलेकै मोडेलमा जापानमा इन्दो-नेपारु रेष्टुरेन्टको व्यवसाय अब चल्न गार्हो हुने बिषयलाई यहाँ उजागर गर्न मात्र खोजिएको छ।

बिभिन्न समचार र लेखहरुबाट पनि अधिकांश नेपाली रेष्टुरेन्टमा काम गर्ने कुक पेशाका कामदारहरु ठूलो रकम तिरेर जापान आएको हुन्छन भन्ने कुरा त सर्व बिधितै छ। सूचनाको यति पहुँच हुदापनि किन सबैकुरा बुझेर पनि यति धेरै समय र पैसाको लागानी गरेर आउनु भयो त ? भन्ने प्रश्नको जवाफमा प्राय सुनिने भनेको “डिपेन्डेन्ट भिषा पाउने भएकोले” भन्ने हो।

एकथरी मानिसहरु १० बर्ष साच्चै कुक पेसामा अनुभवि दक्ष सेफ भए पैसा तिरेर आउनै पर्दैन, पैसा तिरेर आउनेहरु त हातमा इलम नभएकाहरु हुन भन्ने तर्क गर्दछन् । पैसा तिरेर ल्याउँदा वा आउँदा गरिएका कतिपय मौखिक बाचाहरु पुरा नभएका कारण बेलाबेलामा बिभिन्न समस्या हरु पनि देखा परिरहेका छन् तर बिहान सबैभन्दा पहिले रेष्टुरेन्ट गएर सरसफाइ गरेर लन्चको तयारी बाट, ब्रेक (क्युउकेइ) केहि समय बाहेक राती अबेर पसल बन्द गर्ने सम्मको काम गर्ने अनुभव यो अन्तरालमा संहालेको कुकहरु पनि धेरै हुनुहुन्छ । त्यसरी हेर्दा साइतेइ चिन्गिन को कानुन अनुसार टोकियोमा घण्टाको १०१३ येन त तिर्नै पर्ने हुन्छ। हप्तामा बिदा पनि राम्ररी नदिनु र तलब पनि एकदम न्युन दिनु भनेको सरासर श्रम कानूनको उलंघन हो ।

तर नक्कली कुकको अनुभव बनाएर आएको व्यक्तिले उठाउने यस्ता कुराहरुले खासै अर्थ राख्दैन् । कानूनि उपचारको लागि आफु पनि कानूनत बलियो हुनु पर्छ। त्यसैले गैर कानूनि कुराको कानूनि उपचार खोज्नु भन्दा जसरी आउँदा मिलोमतोमा आएको थियो सोही समझदारी अनुसार नै गर्नु बेस देखिन्छ ।

समझदारीमा त चल्ने, तर पनि दुःख कहिले सम्म सहने त ? भन्ने प्रश्न आउँछ, साहुको सामाजीक प्रतिष्ठा र ठूलो मान्छे संगको उठबसले उसंग दुष्मनी लिदाँ भोलि आफ्नो र परिवारको भिसा बिग्रने डरले पनि कतिपय स्टाफहरु आसु पिएर बाँचिरहेको सत्यलाई पनि नकार्न मिल्दैन ।

बिशेषगरी डिपेन्डेन्ट परिवारले कमाउने हुदाँ, सबैकुरा सहन बाध्य कुकहरु पनि धेरै हुनुहुन्छ। तर इमिग्रेशनले हप्तामा २८ घन्टा भन्दा बढि काम गरेको डिपेन्डेन्टलाई धेरै काम (ओभर वर्क) गरेको भनि भिषा नथपिदिने र डिपेन्डेन्टलाइ नेपाल फर्काउने कामको थालनी गरिसके पछि सम्भवत अब यो मोडल पनि फेल भइसकेको छ।

अब जापानले आप्रवासिहरुलाइ एउटा सिस्टमभित्र राख्न खोजेको देखिन्छ। यो नेपालीहरुको लागी भनेर बनेको नियम हैन २७ लाख बिदेशी सबैको लागी बन्ने नियम हो। तैपनि माइनम्बरको ट्राकिंग सिस्टम, होकेन र ट्याक्समा कडाइ, भिसा थप्दा ३ बर्षको ट्याक्स क्लियरेन्स देखाउनु पर्ने, कम्पनिलाई स्याखाइ होकेनको दबाब र ह्यान्ड क्यासलाइ पनि सरकारी दायरामा ल्याउने नीति हेर्दा सन् २०१२ मा गाइकोकुजिन तोउरोकुस्यो लाई हटायर जाइरिउ कार्ड बनाएको र माइनम्बरमा बिदेशीहरुलाई पनि समेटिएको बाट क्रमिक रुपमा इन्फरमल सेक्टरको रोजगारीलाइ क्रमशः न्युनिकरण गर्न खोजेको देखिन्छ ।

सन् २०१९ मा जापानले आप्रवासी नीतिमा SSW (Specified Skill Worker) शुरु गर्नुको एउटा कारण उचित श्रम लिने र सोहि अनुसार पारिश्रमिक दिने, सबै बाट कर पनि लिने र सबैलाई सुविधा पनि दिने कुरालाइ नियममा राख्न पनि हो। परिवारले भिसा नपाउने कुकहरुको लागी हालको आम्दानीले मात्र जीवनयापन गर्न नसकिने हुदाँ अन्य क्षेत्र रोज्न सक्छन्। त्यसैले सीप भएका दक्ष सेफहरुको आवश्यकता बढ्ने हुदाँ पसल राम्ररी चलाउने ठाउँमा उचित सुविधा सहित काम गर्ने अवसर प्राप्त हुन सक्छ। नेपालबाट पहिलेझै पैसा तिरेर आउने कुकहरुको संख्या कम हुने देखिन्छ। त्यसो गर्दा स्वतहः जापान भित्रको कुकको डिमान्ड बढ्न सक्छ।

कुकहरुलाई आर्थिक मन्दिका कारण पसलमा काम नभए अहिलेपनि १ बर्ष सम्म बाहिर काम गर्न पाइने भइसकेको छ। साथै शुरुमा केहि निश्चित भिसा भएकाहरुले मात्र परिवर्तन गर्न मिल्ने SSW को नयाँ भिषामा अन्य पेसामा जान सक्ने सम्भावना पनि देखिन्छ। त्यसरी SSW मार्फत नयाँ भिसा निकालेमा जापानी नियमअनुसार रोजगारी गर्न सक्ने अवसर पाउन सकिन्छ।

जापानमा सफ्टवेयर इन्जिनियर, नर्सिंग केयर लगाएतका धेरै पेशाहरुमा काम गर्ने मानिसहरुको आवश्यकता रहेको छ। SSW तोकुतेइ गीनोउ अन्तर्गतको नर्सिंग केयर ( खाईगो ) को लागि त जापानलाई तत्काल पनि धेरै मान्छे चाहिरहेको अवस्था छ।

घरमै बसेर अनलाइन मार्फत अध्यन गर्न सकिने कोर्सहरु पनि उपलब्ध छन् । फेसवुकमा वा टिकटकमा बिताउने समयमा अनलाईनबाट अध्यन गरेर जापानिज भाषा र बिषयगत ज्ञान लिन सके केहि महिनामा परीक्षा उत्तीर्ण गरी नयाँ भिषामा काम गर्ने अवसर पनि पाउन सकिन्छ । यस्तो पढाइ नेपालीहरुलाई लक्षित कोर्सहरु इन्टरनेटमा खोज्न सकिन्छ। नमूनाका लागि यहाँ क्लिक गरि हेर्न सक्नुहुन्छ ।

अन्त्यमा, श्रम बेच्नकै लागि आएका र अरुको श्रमको उपयोग गरेर कमाउने दुबै पक्ष यहाँको प्रचलित कानून र विधिविधानको अक्षरस पालना गरेर मिलिजुली अगाडि बढ्नुको विकल्प छैन । सम्बन्धित सबैको ध्यान यसतर्फ जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *