Sunday, October 24जापानबारे सबै कुरा

मायदा

‘वुड अल द प्यासेन्जर्स ट्राभलिङ टु हङकङ अन फ्लाइट एफ.आर. ३४२१ प्लिज ह्याभ योर बोर्डिङ पास एन्ड पासपोर्ट रेडी फर बोर्डिङ फ्लाइट एफ.आर. ३४२१ नाउ बोर्डिङ एट द गेट २१’

अनुप हतार हतार गेट २१ मा पुग्छ ।

दुई महिनाको बिदा सकाएर नेपालबाट जापान फर्कंदै थियो । उसको अनुहारमा कुनै चमक नै थिएन । उसको ध्यान त केबल एयरपोर्ट बाहिरसम्म छोड्न आएका आमा र दिदीहरूका मात्र थियो । एयरपोर्टभित्र पस्न लाग्दा धेरै रोएको पनि थियो अनुप आमाहरूको अगाडि तर के गर्नु जानु त उसलाई थियो नै ।

नेपालबाट हङकङ र हङकङबाट टोकियो उसको फ्लाइट सेडुअल थियो । अनुप चाँडोचाँडो गरेर आफू चढ्ने प्लेन नजिकै पुग्छ र अन्तिम पटक धर्ती मातालाई प्रमाण गरेर प्लेनभित्र छिर्छ । बोर्डिङ पासमा लेखिए अनुसारको सिटमा गएर बस्छ । ऊ बस्नु अगाडि नै उसको ‘रो’मा तीन जना प्यासेन्जर बसिराखेका हुन्छन् ।

अर्जुन थापा

झट्ट हेर्दा तीन जेनेरेसनका व्यक्तिहरू अनुपको रो मा थिए । नेपालबाट हङकङसम्मका लागि सहयात्री । उसँगै एउटी त्यस्तै चौबीस पच्चीसकी जापनिज महिला उनको छेउमा सायद उनकी सानी दुई–तीन वर्षकी छोरी र सत्तरी–पचहत्तर वर्षका उनको बुबा हुनुपर्छ । उनीहरू तीनै जनाले अनुपलाई देख्नेबित्तिकै टाउको निहुराएर अभिवादन गरे । यो कुरामा चाहिँ जापनिजहरूलाई सम्मान गर्नैपर्छ कि जस्तै रिस उठे तापनि आफ्नो शिष्टाचार गर्न कहिल्यै भुल्दैनन् । चाहे जतिसुकैको उमेरका किन नहोस् ।

अनुप यो कुरामा खुसी भयो कि टोकियोसम्म चाहिँ जापनिजहरू नै साथी हुने भए भनेर । बिस्तारै प्लेनले टेक अफ गर्ने सुरसार गर्न थाल्यो । सबै प्यासेन्जरले आआफ्ना सिटबेल्ट बाँध्न थाले । अब बिस्तारै प्लेनले धावनमार्ग छोड्दै काठमाडौँको एक चक्कर लगाउन थाल्यो । अनुप अझै उसको फेमिलीलाई नै सम्झँदै थियो ।

‘एक्सक्युजमी माथिबाट मेरो सानो ब्याग झिकिदिनुहुन्छ कि ?’ उनले प्रस्ट नेपालीमा बोलेको सुन्दा अचम्म लाग्छ अनुपलाई ।

‘भइहाल्छ नि ।’ भनेर सिटबाट उठेर माथिबाट झोला निकालेर दिन्छ ।

‘धन्यवाद ।’ भनेर मिठो स्माइल गर्छिन् ।

उनको मिठो बोली र मुस्कानले झनै प्रभावित भयो अनुप । प्लेनमा दिइएको खाना खाएपछि कोही सुत्नतिर लाग्छन् कोही कानमा एयरफोन घुसारेर आफूलाई मन पर्ने मुभी हेर्न थाल्छन् । उनकी सानी नानी र बुबा निदाई सक्न लागेका थिए ।

‘एस्क्युज मि क्यान आइ ह्याभ ए ग्लास अफ वाइन प्लिज !’ भनेर क्रियुसँग माग्छिन् उनी ।

अनुपलाई पनि के चाहियो र । ऊ पनि हात उठाएर मगाउँछ उसको लागि पनि ।
‘तपाईं त नेपाली कस्तो राम्रो बोल्नु हुँदो रहेछ । कसरी सिक्नु भयो नेपाली ? नेपाल घुम्नलाई आउनु भएको ?’ भनेर प्रश्न गर्छ अनुप ।

‘म जाइकामा जब गर्छु । म नेपाल बसेको सात–अठ वर्ष भयो । नेपाल तथा यहाँको मान्छेदेखि साह्रै प्रभावित भएको छु । तपाईंले तारिफ गरेजस्तो त बोल्न सक्दिनँ तर अलिअलि काम चलाउ मात्र हो ।’ भनेर फेरि मुस्कुराउँछिन् ।

‘अनि तपाईं कहाँसम्म पुग्न लाग्नुभयो नि ?’ उनले अनुपलाई प्रश्न गर्छिन् ।
‘म विगत छ वर्षदेखि जापानमा पढ्दै छु । यो मेरो अन्तिम वर्ष हो । अबचाहिँ केही गर्ने विचारमा छु । अहिले कलेजको छुट्टि भएकोले नेपाल आएको थिएँ ।’ उत्तर दिन्छ अनुप ।
‘त्यसले त अघि तपाईं फेमिलीसँग छुट्टिन लाग्दा रूनु भएको थियो । मैलेदेखि राखेको थिएँ तपाईंहरूलाई ।’ भनेर भावुक हुन्छिन् ।

‘निहोन दोकोनी सुनदेरूनो (कहाँ बस्ने हो जापानमा ?’ वाइन पिउँदै प्रश्न गर्छिन् ।
‘तोक्यो नो सिनजुकु (टोकियोको सिनजुकुमा) ।’ उत्तर दिन्छ ।

यो पाँच घन्टाको यात्रामा उनीहरू बिस्तारै घुलमिल हुँदै जान्छन् । उनले धेरै कुरा नेपाल र नेपाल संस्कृतिको बारेमा अनुपसँग सोध्दै र बीचबीचमा अनुपकै बारेमा पनि जिज्ञासा लिँदै जान्छिन् । अनुपले पनि यो बीचमा उनको बारेमा बुझ्दै जान्छ ।
मायदा उनको नाम । एक्काइस वर्षकी हुँदा हाइस्कुल सकाएर कुनै संस्था मार्फत् नेपाल आएकी रहिछिन् । त्यस बेलाको नेपाल मोहले गर्दा जाइकामा आबद्ध भएर विगत सात वर्षदेखि त्यसैमा रहेर नेपामा बस्दै आएकी रहिछिन् । उनको सिटसँगै बसेका पुरूष उनको पिता नभएर उनका पति रहेछन् । उनीभन्दा पैँतीस वर्ष जेठो । यही कामको सिलसिलामा चार वर्ष अगाडि भेट भएर प्रेम हुँदै दुई वर्ष अगाडि विवाह गरेका रहेछन् । उनीसँगै भएकी सानी छोरी उनीहरूले जन्म दिएका नभएर ओखलढुंगा छँदा कसैले जन्म दिएर त्यसै बाटो छेउमा मिल्काएर गएका रहेछन् । जसलाई कानुनी रूपमा गोध लिएका रहेछन् ।

‘होन्तोनी, सुबारासी कोतो दायो (सारै राम्रो काम ।)’ भनेर उनलाई धन्यवाद दिन्छु ।

‘आरिगातो (धन्यवाद) ।’ भनेर मिठो मुस्कान छोड्छिन् ।

‘वोनाका सुइता (भोक लाग्यो) ।’ भन्दै सानी उनको छोरीले निद्राबाट ब्युँझेर भन्न थाल्छिन् ।

‘नान्खा ताबेता बाख्खरी ज्या नाइनो (भर्खरै मात्र खाएको होइन ?) ?’ सानी छोरीलाई सम्झाउँछिन् ।

अनुप ती आमाछोरीको वार्तालाप हेरी र सुनिरहन्छ । नेपालको कुन गाउँमा कसको कोखबाट जन्म लिएर पनि आज सात समुद्र पारी विदेशीलाई आमा भनेर भनेको देख्दा अनुपलाई फेरि एक पटक भाग्यको खेला हो भनेर सोच्न बाध्य तुल्याएको छ ।

पाइलटको एनाउन्स अनुसार अबको केही मिनेटमै प्लेन हङकङ एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा थियो ।

हङकङ एयरपोर्टभित्र सबै चेकजाँच सकिएपछि उनीहरू एयरपोर्टभित्र रहेको स्टारबक्समा गएर केही खान थाल्छन् । अनुप घरमा ऊ सकुशल हङकङ पुगेको कुरा मेसेज गरेर भन्छ ।

उनीहरूले तीन घन्टा त्यही एयरपोर्टमा बिताउनु पर्ने थियो । अब बिस्तारै खाईवरी उनीहरू त्यहीँभित्र रहेको ड्युटी फ्रि सपभित्र घुम्न थाल्छन् । केही समयमा नै अनुप र मायदाको सानी छोरी हिसानो च्यान घुलमिल हुन्छन् । अनुपले हिसानो च्यानलाई लिएर यताउति डुल्न थाल्छ । नेपालबाट हङकङ आउँदासम्म एउटा के कुरामा उसको ध्यान बढी गएको थियो भने मायदा र उनको श्रीमान्बीच बोलचाल ज्यादै कम हुन्थ्यो । जति पनि बोलेका थिए, त्यसमा एक प्रकारको रूखो बोली प्रस्ट झल्किन्थ्यो । हामीहरू घुमिरहँदा पनि उनको श्रीमान् एउटा मेचमा गएर आफ्नो काममा नै बिजी थिए । मायदा र उनका छोरी के गरी राखेका छन् उनलाई केही मतलब नै थिएन ।

हङकङमा ठुलो पानी परी राखेको हामीले एयरपोर्टभित्रैबाट प्रस्ट देखिराखेका थियौँ । अनुपलाई सानैदेखि पानी परेको र पानी परेको बेला रूझ्न रमाइलो लाग्नाले पनि ऊ त्यही पानी परेको हेर्दै बसिराखेको थियो ।

‘वोआमे दाने (ठुलो पानी पर्यो) ।’ भन्दै अनुपसँगको सिटमा आएर मायदा बस्छिन् ।

‘सोदाने (त्यही त) ।’ अनुप अझै बाहिरको दृश्य हेर्दै हुन्छ ।

‘पानी परेको बेला पानीमा रूझ्दै रूँदा कसैले थाहा पाउँदैन नि थाहा छ ?’, उनी अनुपसँग नै बोलिरहेकी थिइन् ।

उनले यो कुरा भन्नु । उनको र श्रीमानको त्यति संवाद भएको नदेख्नु र मुख्य कुरा उनको र उनको श्रीमान्को उमेरमा ठुलो अन्तर देख्नुबाट नै अनुपले यो अनुमान लगाउँछ कि दुई जनाबीच पक्कै पनि केही मतभेद छ भनेर । तर पनि उनले उनीहरूको पर्सनल कुरामा चासो लिनु त्यति उचित ठानेन र मायदाको कुरा सुनिरह्यौँ मात्र ।

त्यत्तिकैमा अनाउन्समेन्ट हुन्छ, ‘गुड आफटर्नुन । दिस इज एन अनाउन्समेन्ट फर दि प्यासेन्जर ट्राभलिङ अन दि १२ः२५ फ्लाइज इ.जेड. ४२८९ टु टोकियो । दिस इज डि–लेड बि टेन आवर्स बिकज अफ व्याड वेदर ।’

मौसमको खराबीले दश घन्टा प्लेन ढिलो हुने कारण पेसेन्जरहरूलाई एयरलाइनको तर्फबाट होटल प्रोभाइड गरिएअनुसार सबै जना होटलतिर लाग्छन् ।

‘योखात्ता ! च्योत्तो दाके मो … (राम्रो भयो । केही क्षण भए पनि …) ।’ भनेर मुस्कुराउँछिन् ।

‘नानदे सोननानी उरिसि नानो (किन यति खुसी नि ?)’ प्रश्न गर्छ अनुप ।

‘तिमीसँग केही समय भए पनि सँगै बिताउन पाउने भएकाले नि । किन तिमी खुसी छैनौ र ?’ उनी एकरत्ती नचलमलाई बोलिन् ।

एयरपोर्ट नजिकैको होटलमा सबै यात्रुहरूलाई व्यवस्था मिलाइएको थियो ।

‘म फ्रेस भएर लबिमै आउँछु । तिमी पनि त्यहीँ आउनु ।’ भनेर उनीहरू छोरीलाई रूमतिर लिएर जान्छिन् ।

अनुप उनीहरू गएको हेरिरहन्छ र उसको मनमा अनेकौँ प्रश्नहरू एक एक गरेर आउन थाल्छ । थाहा छैन किन हो मायदा जो बाहिर देखिन्छिन् तर भित्र पूरै भिन्न छिन् भन्ने अनुपलाई लाग्न थालेको छ र मायदाप्रति ऊ बढी प्रभावित हुँदै गइराखेको छ ।

‘कस्तो एक्लै एक्लै पिइराखेको हो ?’ उनले भन्दा अनुप झस्किन्छ ।

‘तपाईं हराउनुभयो । त्यसैले एक्लै पिउँदै थिए तर मन र दिमागमा तपाईं नै हुनुहुन्थ्यो नि ।’ जिस्केर भनिदिन्छ अनुपले ।

‘होन्तोनी (साँच्चिकै हो ?)’ भन्दै अनुपसँगैको बारको चेयरमा बस्छिन् ।

‘हिजोसम्म म तिम्रो देशमा र तिमी मेरो देशमा थियौ । आज हामी यसरी भेटेर एउटै बारमा बसेर आआफ्ना कुरा गर्दे बस्नु पनि एउटा संयोग हुन गयो । समयले मानिसहरूलाई कहाँ र कसरी भेटाउँछ त्यो कसैलाई थाहा नहुने रहेछ । तर किन हो तिमीसँगको छोटो भेटमा पनि धेरै खुसी भएको छु । थाहा छैन तिमीमा त्यस्तो के छ अनुप !’ बियर पिउँदै मायदाले भनिन् ।

उनलाई राम्रोसँग देखेको र हेरेको अहिल्यै थियो अनुपले ।

‘आजभन्दा चार वर्ष अगाडि मेरो श्रीमान्लाई तिम्रै देश नेपालमा भेटेको थिएँ । ऊ मभन्दा सिनियर थियो । कामको सिलसिलामा नेपालका विभिन्न गाउँमा हामी पुग्न पथ्र्यो । उसको व्यवहारदेखि म साह्रै प्रभावित हुन थालेको थिएँ । मभन्दा उमेरले पाको छ भन्ने थाहा त थियो तर मलाई यो लाग्थ्यो कि जब मन मिल्छ अनि त्यसमा उमेरले केही फरक पार्दैन भन्ने । जस अनुरूप हामी सँगै बस्न थाल्यो र दुई वर्ष अगाडि विवाह पनि ग¥यौँ । विवाह भएको केही समयसम्म त ऊ ठिक थियो । तर जब म ऊसँगै छुट्टिमा जापान आएको थिएँ । अनि बिस्तारै उसको सबै बानी व्यवहार थाहा पाउँदै गएँ । उसको मभन्दा अगाडि दुईटा विवाह भएर डिभोर्स भइसकेको रहेछ । जसबाट तीन जना बच्चाहरू रहेछन् । मसँग विवाह गरेपछि पनि उसको अरू महिलाहरूसँग सम्बन्ध कायम नै रहिरह्यो । मैले यसको विरोध गरेमा रक्सी खाएर मलाई नै हातपात गथ्र्यो । पछिपछि मलाई के लाग्न थाल्यो भने हाम्रो उमेरको अन्तरसँगै हाम्रा सोचाई विचारमा पनि धेरै अन्तर छन् ।’ उनका सुन्दर आँखा रातो पार्दै बियर पिउन थाल्छिन् ।

‘ममा के कमी छ र मेरो श्रीमान् बाहिर अरू महिलासँग रात बिताउन जान्छ होला ?’ अनुहार अँध्यारो पार्दै प्रश्न गर्छिन् अनुपलाई ।

अब अनुपले उत्तर दियोस् त के जसले गर्दा मायदालाई सान्त्वना मिलोस् ।

‘थाहा छ अनुप, यो हिसानो च्यान नभएको भए म उल्लै सुसाइड गरी सक्थे ।’
ग्लासम बचेको बियर एकै घुड्कोमा पिउँछिन् ।

‘मायदा लाइफ भनेकै फुल अफ स्ट्रगल हो । भोलि अवश्य राम्रो हुन्छ । तिमीलाई बियर बढी पनि भइसक्यो । सायद निद्राले पनि होला । जाउ एकछिन रेस्ट गर । अबको चार घण्टापछि एयरपोर्टमै भेटौँला ।’ भन्दै अनुप जान खोज्छ ।

∗∗∗

‘गुड इभिनिङ सर, तपाईंलाई जस्ट रिमाइन्ड गराउन कल गरेको छु । तपाईंको एयरपोर्ट रिपोर्टिङ टाइम अबको एक घण्टामा छ ।’ होटेल को रिसेप्सनबाट कल आउँछ ।

अनुप उठ्न खोज्दा मायदा उसको छातीमा टाउको राखेर सुतिराखेको पाउँछ ।
‘मायदा चाँडो गर होटेलबाट कल आइसक्यो । डु फास्ट फेरि तिम्रो श्रीमान्ले थाहा पाउला ।’ अनुप मायदाको लुगाहरू बटुलेर फ्रेस हुनलाई भन्छ र ऊ आफै आफ्ना लुगा लगाउन थाल्छ ।

एयरपोर्टमा सबै चेकजाँच सकिएपछि अब टोकियोको लागि उनीहरू एयरपोर्टमै कुन थाल्छन् ।

‘म धेरै खुसी छु अनुप । धेरै वर्षपछि म यसरी आफुलाई हलुका फिल गरिराखेकी छु । यो सब मात्र तिम्रो कारणले सम्भव भएको छ ।’ मायदा टाउको झुकाएर भन्छिन् ।

टोकियो जाने सबै पेसेन्जेरहरू गेट नं. १४ मा लाइन लाग्न थाल्छन् ।

‘अनुप तिमीले हिजो मैले भनेको कुरामा के विचार ग¥यौ ? हामीसँग समय थोरै छ ।’ उनी अनुपको आँखामा हेर्दै सोध्छिन् ।

‘दिस इज द फाइनल बोर्डिङ कल फर प्यासेन्जर मिस्टर अनुप, मिसेस मायदा एन्ड हर डटर हिसानो फ्लाइङ टु टोकियो अन फ्लाइट इ.जेड. ४२८९ । फोर फ्लाइट इज रेडी टु लिभ प्लिज गो टु गेट १४ इमिडियट्ली । द डोर अफ द प्लेन विल क्लोज इन ५ मिनट्स । फाइनल बोर्डिङ कल फर प्यासेन्जर मिस्टर….’ भनेर एनाउन्स भइरहन्छ ।
अनुप मायदाको हात समातेर मायदाको छोरीलाई बोकेर टोकियो उडेको प्लेन EZ 428 लाई एयरपोर्टभित्रैबाट हेरिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *