Sunday, June 13जापानबारे सबै कुरा

जापानमा पार्ट टाइम काम गर्दा यि कुरामा ध्यान दिनुहोस्

अन्य कुरा लेख्नुभन्दा पहिले नै भनिहाँलौं, यो जानकारी जापानमा आउने तयारी गरिरहेका र हालसालै जापानमा आएका व्यक्तिहरुका लागि सहज होस् भनेर लेखिएको हो, तपाई लामो समयदेखि जापानमा हुनुहुन्छ र पार्ट टाइम कामदारका रुपमा विभिन्न कम्पनीहरुमा काम गर्दै आइरहनुभएको छ भने यहाँ लेखिनेमध्येका धेरै कुरा तपाईलाई पहिल्यै थाहा भइसकेका हुन सक्छन् । केही नयाँ जानकारी पनि हुनसक्छन्, यहाँसम्म आइसक्नुभयो, अब पूरै पढेर जानुहोला है त । 🙂

कुनै ठाउँमा केही घण्टा काम गर्नुलाई नै सामान्य अर्थमा पार्ट टाइम काम (आरुबाइतो) भनेर बुझ्नुपर्छ । जापानमा पार्ट टाईम काम खोज्दैगर्दा वा काम गर्दै गर्दा निम्न कुरामा ध्यान दिनु आवश्यक छ :

१. पार्ट टाइम काम गर्नुपूर्व पार्ट टाइम काम गर्नका लागि अनुमति (Part Time Job Permit) लिनु आवश्यक हुन्छ । यस्तो अनुमती नेपालबाट आउने बेला एयरपोर्टमै वा अध्यागमन विभागमा गएर लिनुपर्ने हुन्छ । जापानका नेपालीहरुको हकमा हेर्दा सामान्यतया विद्यार्थी वा डिपेन्डेन्ट भिषामा भएकाले काम गर्न चाहेको खण्डमा यस्तो अनुमति लिने गरेको पाइन्छ तर “इन्जिनियर/मानविकी/अन्तराष्ट्रिय सेवा” वा “व्यवसाय व्यवस्थापन” भिषा भएकाले भिषा बाहेकको काम गर्नका पनि अनुमती लिनु आवश्यक हुन्छ । यदी तपाई विना अनुमती काम गर्नुहुन्छ भने ३ बर्षसम्म जेल सजायँ वा ३० लाख येनसम्म जरिवाना हुनसक्ने प्रावधान छ । साथै देशनिकालामा पर्न पनि सकिन्छ ।

२. काम गर्ने अनुमति प्राप्त गरिसकेपछि नियमानुसार काम गर्न पाउने भनेको २८ घण्टा प्रति हप्ता हो । दुई वा सोभन्दा बढि ठाउँमा काम गरे पनि हप्तामा २८ घण्टा भन्दा बढि हुनु हुँदैन । हप्तामा २८ घण्टा भन्दा धेरै समय काम गरेको थाहा लागेमा ३ बर्षसम्मको जेल सजाँय वा ३० लाख जापानी येनसम्म जरिवाना हुनसक्छ, साथै देश निकाला गर्नसक्ने प्रावधान छ । ख्याल राख्नुपर्ने कुरा चै के भने विद्यार्थी भिषामा जापानमा रहेका व्यक्तिहरुले भने विद्यालयको नियममा उल्लेख भएका लामो विदाको समय (गर्मी विदा, जाडो विदा आदी)मा दैनिक आठ घण्टा वा हप्तामा ४० घण्टासम्म काम गर्न सक्नेछन् ।

३. विदेशी पार्ट टाइम कामदारहरुको हकमा वेश्यावृत्ति हुने वा बयस्क मनोरन्जन दिने स्थानहरुमा काम गर्न रोक लगाइएको छ । बार, क्यावरेट नृत्य भएको रेष्टुरेन्ट, मदिरा पसल, आतिथ्य बार, होस्ट क्लबहरु, गेम सेन्टरहरु, वयस्कका लागि भिडियो पसलहरु, पाचिन्को पार्लरहरु, लभ होटल, टेलिफोन क्लब, हेल्थ बेश्यालय, देह व्यापार हुने स्थान, डेटिङ पार्टनर मिलाइदिने क्याफे वा भट्टि आदिमा काम गर्ने अनुमती हुँदैन । यस्ता स्थानहरुमा सरसफाई कामदार, भाँडा माझ्ने वा वेटर लगायतका काम गर्नु पनि गैरकानूनी हो । यदि यस्तो स्थानमा काम गरेको पाइएमा ३ बर्षसम्म जेल सजायँ वा ३० लाख जापानी येन जरिवाना हुनसक्छ । साथै देश निकाला गर्नसक्ने प्रावधान पनि छ ।

४. काम खोज्नेबेला बयस्क मनोरन्जनसंग सम्बन्धीत पसलहरु वा स्थान हो कि हैन निक्र्यौल गरेर मात्र काम गर्नुहोला । काम दिने वा लगाइदिने व्यक्तिले यो बयस्क मनोरन्जन होइन, विद्यार्थीले पनि यहाँ काम गर्न सक्छन् भन्यो भने पनि कारवाही हुन्छ । त्यस्ता स्थानहरु बयस्क मनोरन्जन स्थल हुन कि हैनन् भनि प्रहरीले निर्णय गर्छ, यदि त्यसबारेमा तपाईलाई थाहा छैन र काम गरिरहनुभएको छ भने पनि त्यस्ता स्थानमा काम गर्नु गैरकानुनी मानिन्छ ।

५. विद्यालयबाट निष्काशित वा विद्यालय छाडेर बसेका विद्यार्थीले भिषा भएपनि पार्ट टाइम काम गर्न पाईदैन, त्यस्तो अवस्थामा काम गरेका थाहा भएमा ३ बर्षसम्म जेल सजायँ वा ३० लाख जापानी येन जरिवाना हुनसक्छ साथै देश निकाला गर्नसक्ने सम्मको प्रावधान छ ।

६. पैसा लिएर पार्ट टाइम काम लगाइदिन्छु भन्नेहरुसंग जोगिनुहोस्, विशेषगरि जापानमा नयाँ आएका दाजुभाई दिदीबहिनीहरु यस्ता कुरामा ठगीन सक्छन् । वास्तविक रुपमा काम नलगाउने तर दर्ता शुल्कको रुपमा रकम उठाएर ठग्नेहरु पनि भेटिन सक्छन् सचेत रहनुहोला । जापानमा कसरी काम खोज्ने भन्नेबारेमा केही समय अघि नै जानकारी लेखिसकेका छौं । यो लिंकमा गएर ति जानकारी पढ्न सक्नुहुन्छ ।

माथिका जानकारीहरु लेख्ने समयमा टोकियो अध्यागमन विभागले जारि गरेको ‘जापानमा बस्ने विदेशीहरुका लागि नियमावली’ को सहयोग लिइएको छ र यसको उद्देश्य नियम बिपरित काम गर्दा आइलाग्न सक्ने कानूनी झमेलाहरुबाट तपाईहरु जोगिनुस् भन्ने नै हो । तपाइलाई थाहा भएका यस्तै नियमहरु छन् भने तलको कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ, यो पोष्ट जानकारीमूलक लाग्यो भने सेयर गरेर सबैमाझ पुर्याउन पनि सक्नुहुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *