Sunday, December 4जापानबारे सबै कुरा

जापानमा प्रहरीले पक्रेपछि के हुन्छ ? के छ कानूनी प्रावधान ?

पछिल्लो समय विभिन्न घटनामा जापानमा नेपालीहरु प्रक्राउ परिरहेको समाचार बेला–बेलामा आउँछ । तर जापानमा पक्राउ परेपछि के–के प्रक्रियाहरु हुन्छन्, कानूनी उपायहरु के–के छन् भन्नेवारेमा यहाँ रहेका अधिकांश नेपालीहरुमा रहेको अनविज्ञता भने कायमै छ । आजको जानकारी अपराधसम्बन्धि मुद्धा मामिला हेर्ने नाकामुरा इन्टरनेशनल क्रिमिनल डिफेन्स एलपिसीको सहयोगमा केही जिज्ञाशाहरु मेटाउने प्रयास गरिएको छ ।

प्रश्नः म जापानमा पक्राउ परे भने के हुन्छ ?

उत्तरः यदि वारेन्ट जारी गरी पक्राउ गर्न लागिएको हो भने प्रहरीले तपाईलाई वारेन्ट देखाउने छन् । तपाईलाई स्पटबाटै पक्राउ गरिएको हो भने चाँहि वारेन्ट हुँदैन । तर उनीहरुले तपाई पक्राउ पर्नुको कारण भने बताउनेछन् । पक्राउ गरेपछि तपाईलाई थानामा लगिनेछ । प्रहरीले रेकर्डका लागि तपाईमाथि लागेको अभियोगबारे लेखेर राख्नेछन् र तपाईले वकिल नियुक्त गर्न सक्ने अधिकारबारे पनि बताउनेछन् ।

अभियोगबारे तपाईको भनाई पनि प्रहरीले सुन्नेछन् अनि लिखित बयान तयार पार्नेछन् । प्रहरीले तपाईलाई हिरासतमा राख्ने निर्णय गर्यो भने पक्राउ परेको ४८ घन्टाभित्र तपाईलाई अभियोजनकर्ताको कार्यालयमा पठाउनै पर्छ । तपाईलाई अभियोजनकर्ताको कार्यालयमा पठाइयो भने अभियोजनकर्ताले फेरि तपाईको स्पष्टीकरण सुन्नेछन् र लिखित बयान तयार पार्नेछन् । अभियोजनकर्ताले तपाईलाई हिरासतमै राख्ने निर्णय गर्यो भने उसले न्यायाधिसबाट तपाईलाई हिरासतमै राख्नका लागि अनुमति माग्नु पर्छ । हिरासतमा राख्नु पर्ने सबै आवश्यकताहरु पूरा भएको छ भनेर न्यायाधिसले निर्णय गरे भने तपाईलाई हिरासतमै राखिनेछ ।

प्रश्नः जापानमा मलाई हिरासतमा राखियो भने के हुन्छ ?

उत्तरः तपाईलाई १० दिनका लागि हिरासतमा राखिनेछ । अभियोजनकर्ताले हिरासतको लागि माग गरेको समय पनि यसभित्र पर्छ । अभियोजनकर्ताहरुले हिरासत अवधि बढाउन आग्रह गरे र न्यायाधिसले यसको अनुमति दिए भने हिरासत अवधि अर्को १० दिन लम्बिन सक्छ । धेरै जसो अवस्थामा २० दिनको हिरासत अवधि अन्त्य हुँदा सम्म तपाईमाथि औपचारिक रुपमै अभियोग लाउने कि नलाउने भन्नेबारे अभियोजनकर्ताहरुले निर्णय गरिसक्छन् ।

प्रश्नः हिरासत अवधिमा मैले जमानतको लागि अनुरोध गर्न सक्छु त ?

उत्तरः तपाईमाथि औपचारिक रुपमै अभियोग लगाउनु भन्दा अगाडि नै तपाईले जमानतका लागि अनुरोध गर्न सक्नु हुन्छ । त्यसैले तपाई जापानमा हिरासतमा हुनुहुन्छ भने तपाईलाई जमानत बिना बढीमा २३ दिनसम्म हिरासतमा राख्न सकिन्छ ।

प्रश्नः म जापानमा हिरासतमा रहँदा मेरा परिवारका सदस्यहरुले मलाई कहिले र कति बेरसम्म भेट्न सक्छन् ?

उत्तर : तपाईका परिवार सदस्यहरुले सप्ताहन्त बाहेकका दिन अथात् काम गर्ने दिनहरुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भेट्न सक्नेछन् । भेटघाटको समय १५ मिनेटमा सीमित गरिएको छ । तपाईहरुको कुराकानीको निगरानी गर्न त्यहाँ प्रहरी पनि उपस्थित हुनेछन् । हरेक दिन एक पटक मात्रै भेट्न दिइनेछ । परिवारका सदस्यहरु भने समूहमा आएर भेट्न सक्नेछन् । तपाईमाथि आरोप लागेको अपराधमा अर्को पनि साथी छ भने चाँहि अदालतले भेटघाटमा रोक लगाउन सक्छ । यस्तो केशमा भने वकिलले मात्रै तपाईलाई भेट्न सक्छ । तपाईको वकिलको लागि भने भेटघाटमा प्रतिबन्ध हुँदैन । यो भेटघाटमा प्रहरी अधिकृतहरुको निगरानी हुँदैन ।

प्रश्नः म हिरासतमा रहँदा मेरो परिवारले मलाई खानेकुरा वा औषधि पठाउन सक्छ ?

उत्तरः अहँ । हिरासतमा रहँदा परिवारका सदस्यहरुले तपाईलाई खानेकुरा वा औषधि पठाउन पाउँदैनन् । तर तपाईले परिवारबाट पैसा लिएर सूचिमा उल्लेख गरिएका निश्चित वस्तुहरु भने किन्न सक्नु हुनेछ । उनीहरुले तपाईलाई लत्ताकपडा र पुस्तकहरु चाँहि पठाउन सक्छन् ।

प्रश्नः मलाई निश्चित खालका औषधिहरु चाहिएको छ, तर प्रहरीले मैले भनेको कुरा बुझेन वा मलाई त्यस्ता औषधिहरु खान दिएन भने मैले के गर्ने ?

उत्तरः प्रहरीलाई बुझाउन तपाईले सक्दो प्रयास गर्नुहोस् । यति गर्दा पनि तपाईले बुझाउन सक्नु भएन भने आफ्नो वकिललाई आफुले सेवन गर्न आवश्यक रहेको औषधिबारे बताउनुहोस् ।

प्रश्नः मेरो परिवारले जापानको हिरासत केन्द्रमा मलाई भेट्न आउँदा हामीहरुले आफ्नो स्वदेशी भाषामा कुरा गर्न सक्छौं ?

उत्तरः अधिकांश अवस्थामा अहँ पाइदैंन । परिवारका सदस्यहरुले तपाईलाई भेट्न आएको बेलामा प्रहरी अधिकारी उपस्थित हुनेछ । तपाई र तपाईका परिवारका सदस्यहरुले बोलेको कुरा सो अधिकारीले बुझ्नै पर्छ । सो अधिकारीले तपाईहरुको स्वदेशी भाषा बुझ्छ भने वा तपाईको परिवारले अनुवादकको व्यवस्था गर्न सक्छ भने चाँहि तपाई आप्mनै देशमा बोलिने भाषामा कुराकानी गर्न सक्नु हुन्छ ।

प्रश्नः मलाई विधिपूर्वक अभियोग लगाएपछि पनि म हिरासतमा रहन्छु ?

उत्तरः जापानमा तपाईलाई अभियोग लागेको समयमै हिरासतमा लिइएको छ भने तपाईको हिरासत जमानत नदिएसम्म चलिरहन्छ । जमानत दिइयो भने चाँहि तपाईलाई हिरासतमा राखिदैंन ।

प्रश्नः जापानमा पनि मेरो जमानत पाउने अधिकार छ त ?

उत्तरः तपाईलाई पनि जमानत दिनु पर्छ भनेर कानूनले भन्छ । तर यो अलि विरलै हुन्छ अनि निकै महँगो पनि ।

प्रश्नः जापानमा जमानतमा कति रकम बुझाउनु पर्छ ?

उत्तरः यो तपाईको अवस्थामा भर पर्छ । तर अधिकांश अवस्थामा तपाईले जमानत स्वरुप १० लाख येन देखि ३० लाख येनसम्म बुझाउन पर्छ । जालसाझी वा पैसा वा कोष दुरुपयोगको मुद्दामा भने जमानतको रकम १ करोड येनभन्दा माथि जान सक्छ । तपाईसँग जमानतका लागि पर्याप्त रकम छैन भने निश्चित शुल्कमा रकम कर्जा दिने संगठन पनि छन् । यसका लागि तपाईले प्रायः करीब १ लाख येन शुल्क तिर्नुपर्छ ।

प्रश्नः मलाई जमानत दिँदा म बस्न अनुमति पाएको भन्दा धेरै समय बसेको रहेछु भने के हुन्छ ?

उत्तरःतपाईलाई इमिग्रेशन ब्युरोको हिरासतमा राखिनेछ । तपाईलाई ब्यूरोले अस्थायी रिहाई दियो भने चाँहि तपाई रिहा हुनु हुनेछ । तर यसको लागि तपाईले बढीमा ३० लाख येन धरौटी तिर्नु पर्नेछ । तपाईको वकिलले अस्थायी रिहाई हासिल गर्न आवश्यक काम गर्न सक्छन् ।

प्रश्नः प्रहरी वा अभियोजनकर्ताले पुछताछ गर्नेबेलामा वकिल मेरो साथमा रहन पाउँछन् ?

उत्तरः जापानमा यदि तपाई पक्राउ पर्नु भयो वा हिरासतमा हुनु हुन्छ भने तपाईको पुछताछको बेलामा वकिललाई तपाईको साथमा रहने अनुमति हुन्न । तपाईलाई हिरासत केन्द्रमा राखिएको छ भने उनीहरुले पुछताज गरिरहेको बेलामा चाँहि प्रहरीले तपाईको साथमा वकिललाई बस्ने अनुमति दिन सक्छन् । तर यो पनि प्रहरीको विवेकमा भर पर्दछ । तर तपाईलाई संदिग्धको रुपमा ल्याइएको हो तर अहिलेसम्म पक्राउ गरिएके छैन भने चाँहि तपाईकुनै पनि सोधपुछको लागि बाध्य हुनु पर्दैन । त्यसैले तपाईले आफुले चाहेको बेलामा निस्कन सक्नु हुन्छ । यदि प्रहरीले तपाईलाई त्यहाबाट निस्कने अनुमति दिएन भने यो गैरकानूनी हुन्छ । यस्तो अवस्थामा चाँहि तपाईले आफ्नो वकिलसँग सम्पर्क राख्न सक्नु हुन्छ । तर तपाईले प्रहरीको अनुसन्धानमा सहयोग पुर्याउनु भएन भने प्रहरीले वारेन्ट निकालेर तपाईलाई प्रक्राउ गर्ने अवस्था भने रहन्छ ।

प्रश्नः सोधपुछका बेलामा वकिल मसँग बस्न पाएन भने मलाई मद्दत गर्न उस्ले के गर्न सक्छ ?

उत्तरः तपाईलाई सोधपुछ नगरिएको भने वकिलले पुलिस थानामा तपाईलाई भेट्न सक्छ र पुछताछको बेलामा कसरी बोल्ने भन्नेबारे सल्लाह दिन सक्छ । वकिलले तपाईलाई ‘संदिग्धको नोट्स’ भन्ने बुकलेट पनि पठाउन सक्छ । यसलाई पुछताछको बेलामा के भयो भनेर रेकर्ड राख्न प्रयोग गर्न सकिन्छ । तपाईको लिखित बयानको स्वीकार्यतालाई चुनैती दिन यसलाई अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिन्छ । तपाई जापानको दण्ड प्राणालीसँग परिचित हुनु हुन्न भने पनि पिर गर्न पर्दैन । यसमा तपाईले ध्यान दिनु पर्ने कुराहरु र तपाईको अधिकार अंग्रेजी भाषामा लेखिएको हुन्छ ।

प्रश्नः प्रहरीले पुछताछमा सोधिएको प्रश्नको उत्तर मैले दिइन भने उनीहरुले मलाई प्रश्न सोध्न बन्द गर्छन् ?

उत्तरः अहँ, उनीहरुले तपाईसँगको पुछताछ बन्द गर्दैनन् । जापानमा, चुप लाग्ने अधिकारलाई पुछताजमा उपस्थित हुनु पर्ने बाध्यता झैं फरक तरिकाले व्यवहार गरिन्छ । चुप लागेर उत्तर नदिनु तपाईको रोजाई हो तर प्रहरी र अभियोजनकर्ताहरुले भने तपाईलाई निरन्तर प्रश्न सोध्न सक्छन् ।

प्रश्नः मैले पीडितलाई पैसा दिएर आफुमाथि लागेको आरोप फिर्ता लिन लगाए भने ममाथिको अभियोग वा अन्तिम फैसलामा केही असर पर्छ ?

उत्तरः हो, यसले तपाईमाथिको अभियोगमा ठूलो प्रभाव पार्दछ । विशेषगरी, बलात्कार वा हातपातको मुद्धामा भने यस्तो व्यवहारलाई गलत अर्थ लगाइन्छ । जापानमा अभियोजनकर्ताले बलात्कार वा अभद्र हातपातको मुद्दामा लड्न पीडितले यसबारे गुनासो गरेको हुनै पर्छ । तपाईले पडितसँग सम्झौता गर्नुभयो र उसलाई गुनासो फिर्ता गर्न भन्नुभयो भने अभियोजनकर्ताले तपाईमाथि औपचारिक रुपमा अभियोग लगाउन सक्दैन । तर अभियोग लगाइसकेपछि भने गुनासो फिर्ता गर्न मिल्दैन ।

अभियोजनकर्ताहरुले तपाईमाथि अभियोग लगाएपछि भने तपाई ‘ट्रायल’बाट बच्न सक्नु हुन्न । ट्रायल शुरु भएपछि पीडितसँग सम्झौता गर्नु भयो भने यसको कुनै फाइदा हुँदैन । तर ट्रायल शुरु भएपछि तपाई सम्झौतामा पुग्नु भयो भने यसले तपाईको अन्तिम फैसलालाई भने निकै प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा तपाईको दण्ड सजाय निलम्बित हुने संयोग उच्च हुन्छ ।

प्रश्नः लिखित बयान अदालतमा महत्वपूर्ण प्रमाण हुन्छ ?

उत्तरः हो, यसलाई महत्वपूर्ण प्रमाणको रुपमा हेरिन्छ । विशेषगरी त्यस्ता बयान जुन अभियोजनकर्ताले निकालेका हुन्छन् । यदि तपाई प्रहरी÷अभियोजनकर्ताहरुले पेश गरेको लिखित बयानमा लेखिएको कुनै पनि कुरामा सहमत हुनु हुन्न भने त्यसमा हस्ताक्षर नगर्नुहोला । तपाईले बयानमा हस्ताक्षर गर्नु भएन भने यसलाई प्रमाणको रुपमा स्वीकार गरिदैंन । तर बिमति हुँदा हुँदै पनि तपाईले बयानमा हस्ताक्षर गर्नु भयो भने अदालतमा यसलाई तपाईको विरुद्ध प्रमाणको रुपमा प्रयोग गरिन्छ । यस्तो बयानको ग्र्याभिटीका कारण हिरासतमा रहँदा नै वकिल भर्ती गर्न अत्यावश्यक हुन्छ ताकि अभियोजनकर्ताको सोधपुछका बेलामा कसरी प्रतिक्रिया दिने भन्ने बारे उसले तपाईलाई सल्लाह दिन सक्छ । आरोपीले जापानी भाषा पढ्न आए पनि नआए पनि लिखित बयान जापानी भाषामा लेखिन्छ । तपाईले त्यसमा हस्ताक्षर गर्नु भन्दा पहिला त्समा लेखिएको कुरा बताउन अनुवादक ल्याइन्छ । तर अनुवाद भएको कुरको रेकडै हुँदैन र लिखित अनुवाद बयानमा राखिएको हुँदैंन । त्यसैले अदालतमा अनुवादको शुद्धता आँकलन गर्ने कुनै साधन हुँदैन ।

प्रश्नः मैले बयानमा हस्ताक्षर गरे भने ट्रायल शुरु हुँदासम्म म हिरासत मुक्त हुन्छु ?

उत्तरः अहँ, बयानमा हस्ताक्षर गरेपनि तपाईले हिरासत छाड्न पाउनु हुन्न ।

प्रश्नः अभियोजनकर्ता/वा प्रहरीले मैले जेल सजाय पाउँदिन भनेर बताए भने मैले बयानमा हस्ताक्षर गर्नु हुन्छ कि हुँदैन ? मैले हस्ताक्षर गरे भने ममाथि अभियोग लगाइदैन वा मैले जरिवाना मात्रै तिर्नु पर्छ कि पर्दैन ?

उत्तरः अहँ, कसैले आश्वासन दियो वा प्रहरीले तपाईलाई सम्झौता गर्न भन्यो भन्दैमा तपाईले कुनै पनि कागजमा हस्ताक्षर गर्नु हुँदैन । तपाईमाथि मुद्दा चलाइन्छ कि चलाइदैंन वा तपाईको फैसला के हुन्छ भन्नेमा प्रहरीको कुनै निर्णायक अधिकार हुँदैन । अभियोजनकर्ताहरुले केही कारवाहीबारे सल्लाह दिन सक्छन्, तर उनीहरुले आप्mनो बाचा पूरा गर्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

तपाईले कुनै कागजपत्रमा हस्ताक्षर गर्नु भयो भने वा गर्न लगाइयो भने तपाईले तत्कालै आफ्नो वकिललाई यसबारे बताउनु पर्दछ । किनकि वाचा वा थोरै सजाय दिने आश्वासनमा आपसी समझदारीका आधारमा हस्ताक्षर गरिएको दस्तावेजलाई जापानमा अदालतले अस्वीकार गर्छ ।

प्रश्नः जापानमा लागू औषध ल्याए भने मेरो सजाय के हुन्छ ?

उत्तरः यो तपाईले ल्याउन भएको चिजमा भर पर्दछ । जापानी कानूनमा उत्तजेक पदार्थ हो भने सजाय १ वर्ष देखि २० वर्षसम्म जेल हुन्छ । आयातित वस्तुको मात्रा निकै धेरै छ र लागू औषध व्यवसायीक प्रयोजनका लागि हो भने सजाय ३ वर्ष जेल हुन्छ अनि १ करोड येन भन्दा कम जरिवाना हुन्छ ।

गाँजा हो भने सजाय ७ वर्ष वा सोभन्दा थोरै जेल हुन्छ । व्यवसायीक प्रयोजनका लागि ठूलो मात्रामा गाँजा ल्याइएको छ भने सजाय १० वर्षभन्दा कम जेल र ३० लाख येन भन्दा थोरै जरिवाना हुन्छ ।

कोकिन हो भने सजाय १ देखि १० वर्ष जेल हुन्छ । यदि व्यवसायीक प्रयोजनका लागि कोकिन ल्याएको फेला परेमा १ देखि २० वर्ष जेल र ५० लाख येन भन्दा थोरै जरिवाना हुन्छ ।

प्रश्नः म दोषी भेटिएँ भने मलाई जापानबाट निकालिन्छ ?

उत्तरः यो अपराधमा भर पर्दछ । तपाईले निलम्बित सजायदण्ड बिना १ वर्ष भन्दा बढीको जेल सजाय पाउनु भएको छ भने तपाईलाई जापानबाट पठाइनेछ । तपाई जापानमा मध्य वा दीर्घकालीन भिसामा हुनुहुन्छ र सम्पत्ति अपराध वा हिंस्रक अपराध लगायत निश्चित खालका अपराधमा तपाई दोषी ठहर हुनु भयो र जेल सजाय सुनाइएको छ भने तपाईको बस्न अवधि वा निलम्बित सजायदण्ड जस्तो भएपनि तपाईलाई निवार्सित गरिनेछ । यदि तपाई आगूऔषधसम्बन्धी अपराधमा दोषी भेटिनु भयो भने सजाय जे जस्तो भए पनि तपाईलाई जापानबाट निर्वासित गरिनेछ । यससम्बन्धी थप जानकारीको लागि तपाईले कुनै वकिलसँग परामर्श लिन सक्नु हुन्छ ।

प्रश्नः जापानबाट निर्वासन छल्ने कुनै तरिका छ कि ?

उत्तरः तपाईलाई न्याय मन्त्रालयले विशेष मुद्दा निर्धारण (स्पेशल केस डिटर्मीनेशन्स) प्राप्त भएको छ भने तपाईको निर्वासन टर्न सक्छ । तपाईको जापानमै बसोबास गर्ने परिवार छ तपाईले स्पेशल केस डिटर्मीनेशन्स प्राप्त गर्न सक्नु हुनेछ । स्पेशल केस डिटर्मीनेशन्सका लागि आवेदन दिन तपाईले वकिल भर्ती गर्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *