Sunday, December 4जापानबारे सबै कुरा

जापानमा चालक अनुमति पत्र नवीकरण गर्ने तरिका

जापानमा चालक अनुमति पत्र लिएपछि निश्चित समयको अन्तरालमा यसलाई नवीकरण गर्नु पर्दछ । नवीकरण गर्न बिर्सनु भयो भने तपाईले चालक अनुमति गुमाउनु हुनेछ । त्यसैले निर्धारित अवधिभित्र यसलाई नवीकरण गर्न नभुल्नु होला । आजको यस लेखमा मैले चालक अनुमति पत्रको वैध अवधि र यसलाई कसरी नवीकरण गर्ने भन्नेबारे बताउन गइरहेकी छुँ ।

चालक अनुमति पत्रको प्रकार र वैध अवधि

जापानमा तीन प्रकारको चालक अनुमति पत्र प्रचलनमा छः हरियो, निलो र गोल्ड । अनुमति पत्रको प्रकार यसैको पछाडिपट्टि लेखिएको हुन्छ । वैध रहने अवधि चालक अनुमति पत्रको पृष्ठभूमिको रंग हेरेर पनि थाहा पाउन सकिन्छ । निलो अनुमति पत्रलाई भने तीन ओटा श्रेणीमा विभाजित गरिएको छ । कूल गरेर चालक अनुमति पत्रको पाँच वर्ग छन् र हरेकको वैधानिक अवधि फरक छ ।

हरियो चालक अनुमति पत्र

(नयाँ चालक अनुमति पत्र) – वैधानिक अवधिः अनुमति पत्र लिएको मितिदेखि तेस्रो जन्मदिनको एक महिनापछि सम्म

निलो चालक अनुमति पत्र

(पहिलो पटक नवीकरण गरेको) – वैधानिक अवधिः तीन वर्ष

– सवारी नियम उल्लंघन गरेका बाहेक अरु चालकको हरियो चालक अनुमति पत्रको पहिलो नवीकरण

(सवारी नियम उल्लंघन गर्ने चालकहरु) – वैधानिक अवधिः तीन वर्ष

– धेरै पटक सडक नियमको उल्लंघन गरेको वा चोटपटक नै लाग्ने गरी दूघर्टना गराएकाहरु

(साधारण चालकहरु) – वैधानिक अवधिः पाँच वर्ष

– निरन्तर पाँच वर्ष वा सोभन्दा धेरै समय (नवीकरणको समयमा ७१ वर्ष पुगेकाहरुका लागि ४ वर्ष, ७२ वर्ष पुगेकाहरुका लागि ३ वर्ष) सम्म चालक अनुमति पत्र निरन्तर रहेका अनि विगत पाँच वर्षको अवधिमा एक पटक मात्रै सामान्य नियम उल्लंघन गरेका (३ प्वाइन्ट वा सो भन्दा कम)

गोल्ड चालक अनुमति पत्र

(उत्कृष्ट चालकहरु) – वैधानिक अवधिः पाँच वर्ष

– पाँच वर्ष वा सो भन्दा बढी समयसम्म निरन्तर चालक अनुमति पत्र भएका र विगत पाँच वर्षको अवधिमा सडक नियम उल्लंघन नगरेका वा दूघर्टना नगराएका चालकहरु

नवीकरण अवधि र नवीकरण सूचना (पोष्टकार्ड)

तपाईको चालक अनुमति पत्र नवीकरण गर्ने अवधि चालक अनुमति पत्रको म्याद सकिने वर्षको जन्मदिनको एक महिना अघि वा पछि हुन्छ । नवीकरण गराउने म्यादको अन्तिम दिन सप्ताहन्त वा सार्वजनिक बिदाको दिनमा परेको छ भने सोको म्याद लम्ब्याएर सो लगत्तैको कार्यदिनसम्म पुर्याइन्छ ।

नवीकरण म्याद आउँदै गर्दा, तपाईको चालक अनुमति पत्रमा दर्ता गरिएको ठेगानामा नवीकरण सूचना (पोष्टकार्ड) पठाइन्छ । सो पोष्टकार्डमा भएका कुराहरु पढ्नुहोस् अनि रिसेप्शन खन्ड आदि नच्यातिकन जतन गरेर राख्नुहोस् । यो पोष्टकार्ड नवीकरण प्रक्रियाका लागि चाहिन्छ । तपाईले पोष्टकार्ड हराउनु भयो भने नवीकरण प्रक्रियालाई सामान्य भन्दा लामो समय लाग्छ । त्यसैले यो पोष्टकार्ड हराउँछ कि भनेर ख्याल गर्नुहोला ।

तपाईले बसाई सरेर गएपछि परिवर्तन भएको ठेगाना दर्ता गराउन सक्नु भएन वा अन्य कुनै कारणले गर्दा पोष्टकार्ड नआउन पनि सक्छ । हरेक वर्ष आफ्नो जन्मदिन मा चालक अनुमति पत्रको वैध म्याद बाँकी छ कि सकिसक्यो भनेर चेक गर्नुहोस् । सन् २०१९ को अप्रिलसम्म जारी भएको चालक अनुमति पत्रमा हेइसेइ वर्षको ढाँचामा वैध मिति लेखिएको हुन्छ तर सम्राट वर्ष परिवर्तन भएकै कारण चालक अनुमति पत्रको वैधता भने परिवर्तन हुँदैन । हेइसेइ ३२ – २०२० हुन्छ । ३३ २०२१ हुन्छ ।

तपाईको तर्फबाट कुनै प्रतिनिधिले नवीकरण प्रक्रिया पूरा गर्न सम्भव छैन । कारण जे भएपनि सम्बन्धित व्यक्तिले सबै प्रक्रिया पूरा गर्न जरुरी छ । अस्पतालमा भर्ना, प्रसव, विदेश यात्रा र व्यवसायिक भ्रमण आदि कारणले गर्दा तपाईले नवीकरण अवधिभित्र प्रक्रिया पूरा गर्नु सक्नु भएन वा सक्नु हुँदैन भने नवीकरण अवधि अगाडि नै प्रमाण देखाएर यसो गर्न सक्नु हुन्छ । चालक को चालक अनुमति पत्र परीक्षण केन्द्र, चालकको चालक अनुमति पत्र नवीकरण केन्द्र वा तपाई बस्ने ठाउँमा रहेको प्रहरी विभागमा यसबारे अगाडि नै कुराकानी गर्नुहोला ।

नवीकरण कसरी गर्ने ?

नवीकरण गर्दाखेरि तपाईले निर्धारित कक्षाहरु लिनु पर्छ । पोष्टकार्डमा चालक अनुमति पत्रको निरन्तरता अवधि र सडक नियम उल्लंघन भएको छ कि छैन अनि तपाईले लिनु पर्ने कक्षाको प्रकारबारे बताइएको हुन्छ ।

आवेदन, मिति र समय (दिन), कक्षाको समय, आवश्यक कागजपत्र, सोको शुल्क र चालक अनुमति पत्र जारी गर्दाको शुल्क तपाई बसोबास गर्ने क्षेत्र र तपाईले लिनु पर्ने कक्षाका आधारमा फरक पर्न सक्छ । आफ्नो आवासीय हैसियत पूष्टि गर्ने कागजपत्र ल्याउन नभुल्नुहोला ।

अनुमति पत्र नवीकरण गर्न र सोही समयमा तपाईको ठेगाना पनि फेर्नका लागि, राष्ट्रियता परिवर्तन गर्न वा सोही समयमा नाम फेर्न वा पुनः चालक अनुमति पत्र जारी गर्दा भने चाहिने अतिरिक्त कागजपत्रहरु फरक पर्छन् । केही कुरा अस्पष्ट छ भने पोष्ट कार्डमा बताइएको सम्पर्क बिन्दुमा सोधपुछ गर्नुहोला ।

नवीकरण अवधि गुज्रियो भने

तपाईले नवीकरण अवधिभित्र आफ्नो चालक अनुमति पत्र नवीकरण गर्न सक्नु भएन भने तपाई अयोग्य हुनु हुनेछ । तपाईले यसलाई पुनः नवीकरण गराउन सक्नु हुन्न, चालक अनुमति पत्र केन्द्रमा फेरि गएर परीक्षा दिनुपर्नेछ । अयोग्य भएको अवधि र कारणअनुसार तपाईले परीक्षाको केही अंशमा भने छूट पाउनु हुनेछ । त्यसैले सम्भव भएसम्म छिटै चालक अनुमति पत्र परीक्षण केन्द्रमा यसबारे कुराकानी गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *