Sunday, June 13जापानबारे सबै कुरा

जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?

साइकल जापानीहरुको दैनिक जिवनको एउटा अभिन्न अंगजस्तै बनिरहेको छ । जापानीहरु यति धेरै साइकलको प्रयोग गर्छन कि, जुन कुराले जापान आउने वित्तिकै तपाईलाई अचम्म पार्नसक्छ । नेपालमा यहाँजस्तो सबै हैसियतका व्यक्तिहरु साइकल चढ्ने चलनको सुरुवात भैसकेको छैन त्यसैले पनि कोट पाइन्ट लगाएर साइकल दौडाइरहेका जापानीहरु देख्दा अचम्म मान्नु स्वभाविकै हो ।

जापान आएपनि नेपालीहरुको दैनिकीसंग पनि साइकल जोडिएरै आएको हुन्छ, विशेषगरि मुख्य सहरहरु भन्दा भित्री भागमा रहेका क्षेत्रहरुमा बसोबास गर्ने नेपालीहरुका लागि साइकलको महत्व अझ बढि देखिन्छ, काममा जान, किनमेल गर्न, साथीभाइहरुसंग घुमघाम गर्न लगाएतका विभिन्न कार्यहरुमा साइकल दौडाइरहेका नेपालीहरु देख्नु यहाँ नौलो कुरा होईन ।

अन्य सवारी साधनहरुजस्तै जापानमा साइकल चलाउँदा पनि पालना गर्नुपर्ने विभिन्न नियमहरु छन् र ति नियमहरुको पालना नगरेमा जरिवाना लाग्छ । आज हामी जापानमा साइकल चलाउँदा ध्यान दिनुपर्ने मुख्य केही नियमहरुका बारेमा चर्चा गर्दैछौं ।

साइकल दर्ता तथा नामसारी

तपाईले साइकल पसलबाट नयाँ  किन्नुभएको हो भने सोही पसलमा नै सुरक्षा पञ्जिकरण तथा दर्ता गर्नुपर्ने हुन्छ । अनलाइनबाट वा सेकेण्ड ह्याण्ड साइकल किन्नुभएको हो भने पनि नजिकैको प्रहरी बिट (कोबान) मा गएर दर्ता गर्न सकिन्छ, सेकेण्ड ह्याण्ड साइकल किन्दा नामसारी गर्नु आवश्यक हुन्छ । साइकल दर्ता गरेवापत प्रिफेक्चर अनुसारको शुल्क छ, प्राय धेरैमा ५०० येनसम्म लाग्छ । साइकल दर्ता गर्नुभयो भने हराएको खण्डमा खोजी गर्न सहज हुन्छ ।

साइकल चलाउँदा पालना गर्नुपर्ने नियमहरु

१. सामान्यतया साइकल चलाउँदा सडकमा चलाउनु पर्छ तर फुटपाथमा चलाउन मिल्ने साइनहरु राखिएका स्थानहरुमा भने सडकभन्दा बाहिर फुटपाथमा पनि चलाउन पाइन्छ तर यसरी चलाउँदा हिड्ने व्यक्तिलाई बाधा पुग्नु हुँदैन । यदी १३ बर्ष मुनीको बच्चा वा ७० वा सो भन्दा बढि उमेरका बृद्ध–बृद्धा तथा शारिरिक असक्त्त व्यक्तिहरुलाई भने जुनसुकै स्थानको फुटपाथमा साइकल चलाउन छुट छ ।
२. साइकल सधै सडकको वायाँ भागमा चलाउनु पर्छ साथै हरेक सडक ट्राफिक नियमहरु पनि पालना गर्नुपर्छ ।
३. यहाँ एउटै साइकलमा दुईजना यात्रा गर्न पाईदैन(नागानो केनमा भने पाइन्छ ।) ६ बर्ष भन्दा मुनिका बच्चालाई भने संगै साइकलमा चढाउन मिल्छ तर बच्चा राख्ने सिट अनिवार्य हुनुपर्छ ।
४. तपाइले चलाउने साइकलमा हेडलाइट र घण्टि हुनु अनिवार्य छ साँझको समयमा साइकल चलाउँदा हेडलाइट अनिवार्य बाल्नुपर्छ ।

५. १३ बर्ष भन्दा मुनिका बालबालिकाले साइकल चलाउँदा हेल्मेट लगाउनु पर्छ ।
६. मद्यपान गरेर साइकल चलाउन पाइदैन ।
७. जापानका धेरै स्थानहरुमा एक हातले छाता ओढेर साइकल चलाउँन पाइदैन ।
८. ट्रेनभित्र साइकल ल्याउन पाइदैन तर व्यस्त नभएको समयमा भने फोल्ड गर्न मिल्ने साइकल कसैलाई पनि बाधा नपर्ने गरि ल्याउन भने छुट छ ।

९. साइकल पार्किङका लागि तोकिएका स्थानहरुमा मात्र पार्क गर्न पाइन्छ, तोकिएभन्दा बाहिर पार्क गरेको भेटिएमा साइकल जफत हुनसक्छ ।
१०. कानमा इयरफोन वा हेडफोन लगाएर साइकल चलाउन पनि पाइदैन । फोनमा बोल्दै साइकल चलाउनु पनि नियमविपरित हो ।

नियम पालना नगरे के सजायँ हुन्छ ?

उल्लेखित नियमहरु पालना नगरेको खण्डमा जेल वा आर्थिक दण्डको भागिदार हुनुपर्छ ।
१.२०१३ देखि ट्राफिक नियम पालना नगरी साइकल चलाउने व्यक्तिलाई ३० दिनसम्मको जेल र ५० हजार जापानी येनसम्म जरिवाना लाग्न सक्ने प्रावधान छ ।
२. ब्रेक भाँचिएको वा खतराजनक तरिकाले साइकल चलाएको भेटिएमा ३ महिना जेल सजाँय अथवा ५० हजार जापानी येन जरिवाना लाग्नसक्ने प्रावधान छ ।
३. जाँडरक्सी खाएर साइकल चलाएको अवस्थामा समातिनुभयो भने १० लाख जापानी येन वा १ बर्षसम्मको जेल सजायँ हुनसक्ने प्रावधान छ ।
४. कानमा हेडफोन लगाएर वा एक हातले छाता ओडेर साइकल चलाउँदा समातिनुभयो भने ५० हजार जापानी येन जरिवाना लाग्नसक्ने प्रावधान छ ।

५. ६ बर्ष मुनिका बच्चा बाहेक एक भन्दा बढि व्यक्ति साइकलमा चढेको अवस्थामा भेटिएमा २० हजार जापानी येन जरिवाना लाग्छ ।
६. रात्री समयमा हेडलाइट नबाली साइकल चलाएमा ५० हजार जापानी येन जरिवाना लाग्नसक्छ ।
७. साइकलका लागि तोकिएको पार्किङ स्थानहरुमा नराखी जथाभावी साइकल राखेको भेटेमा साइकल उठाएर लगिनेछ, त्यसरी लगेको साइकल फिर्ता लिनका लागि स्थानअनुसार फरक फरक शुल्क लाग्छ जस्तै तोशिमामा ५००० येन, सिन्ज्युकुमा ३००० येन ।
८. २०१५ देखि लागू हुनेगरि ट्राफिक संकेतहरु अवज्ञा गर्ने, सेलफोनको प्रयोग गर्दै साइकल चलाउने, रोक्ने संकेत भएको ठाउँमा नरोक्ने, जथाभावी साइकल चलाउने जस्ता कार्य गरि एक बर्षमा एक पटकभन्दा बढि कारवाहीमा परेका चालकहरुले ३ महिना भित्रमा साइकल सम्बन्धी कोर्स अनिवार्य लिनुपर्ने बनाइएको छ, सो कोर्स नलिएको खण्डमा ५० हजार जापानी येन जरिवाला लाग्नसक्छ ।

सुरक्षाका लागि

१. साइकल चोरी हुन नदिन साँचो लगाउने गर्नुहोस्, जथाभावी साइकल पार्क नगर्नुहोस् ।
२. साइकल सकेसम्म थोरै स्पिडमा चलाउनुहोस् ।
३. साइकल चलाउँदा कुनै किसिमको दुर्घटना भएमा एम्बुलेन्स बोलाउनका लागि ११९ र ११० मा सम्पर्क गरि प्रहरीलाई खबर गर्नुहोस् ।

साईकल हराएमा के गर्ने ?

यदि तपाईको बिमा गरेको साईकल हराएमा पहिले सुरक्षा पञ्जिकरण दर्ता नंबर(防犯登録番号) सहित प्र’हरीकोमा उजुरी गर्नुस । त्यहाँबाट उजुरी दर्ता गरेको प्रमाणस्वरुप दर्ता चलानी पत्र र नम्बर पाउनुहुन्छ त्यसलाई ज्यूरी बान्गो (受理番号) भनिन्छ । त्यहि ज्यूरी बान्गोको कागज र साईकल किन्दाखेरी पाएको सुरक्षा पञ्जिकरण दर्ता नंबर आदि लिएर साईकल पसलमा जानुस् र आफुले सो साइकल यही पसलमा किनेको र अहिले हराएको (ここから買った自転車を盗まれた) भन्नुस । आवश्यक प्रक्रिया सकिएपछि एक हप्ता भित्र पनि साइकल भेटिएन भने आफुले साईकल किनेको पैसाको २० प्रतिशत रकम र सो को ट्याक्स तिरेर नयाँ साईकल लिन सक्नु हुनेछ । यो कुरा बिमा गरेको साईकलको हमका मात्र लागु हुनेछ, साईकल किनेको अबधिबाट १ बर्ष भित्रमा २० प्रतिशत, २ बर्ष भित्र ३० प्रतिशत र तेस्रो बर्ष भित्र ५० प्रतिशत रकम र सो को ट्याक्स तिरेमा नयाँ साईकल किन्न सकिनेछ ।

धेरै साथीहरु जो जापानमा नयाँ आउनुभएको छ, यस्ता सामान्य नियमहरुका वारेमा थाहा नभएकै कारण समस्यामा परिरहनुभएको छ । हामीलाई आशा छ यि जानकारीहरु जापानमा साइकल चढ्ने हरेक नेपालीलाई काम लाग्नेछन् । हामीले नेपालमा हुँदा सामान्य रुपमा लिएका कतिपय कुराहरु जापानमा नियम विपरित हुन्छन् त्यसैले नियमको सही पालना गर्न सकियो भने अनावश्यक कानुनी झण्झटहरुमा पर्नबाट जोगिन सकिन्छ,यहाँ दिइएको जानकारी अरुलाई पनि उपयोगी हुनसक्छ भन्ने लाग्छ भने सेयर गरेर सबैमाझ पुर्याइदिनुस् है त । तपाई आफ्नो साइकल अनुभव कमेन्टमा लेख्न पनि सक्नुहुनेछ । जापानमा नेपालीहरुको बसोबास सहज बनाउने हाम्रो अभियानमा सदैव तपाईको साथ र सहयोगको अपेक्षा रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *