Sunday, June 13जापानबारे सबै कुरा

यस्तो हुन्छ नेपालबाट डिपेन्डेन्ट ल्याउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया

हामीलाई म्यासेजमा धेरै सोधिने प्रश्नहरु मध्येको एक हो ‘नेपालबाट डिपेन्डेन्ट भिसामा ल्याउन के गर्नुपर्छ ?’ सबैलाई एक-एक गरेर सबै जानकारी दिन सम्भव नभएकाले नै यो विषयलाई व्लगकै रुपमा लेख्दैछौं । आशा छ यसले तपाईको जिज्ञासालाई केही हदसम्म कम गर्न मद्दत गर्नेछ । जापानमै रहेका दुईजना वीच विवाह भएर एकजना डिपेण्डेन्टका रुपमा कसरी बस्न सकिन्छ भन्ने विषयको जानकारी भने यो लिंकमा क्लिक गरि पढ्न सक्नुहुन्छ ।

तपार्इ जापान हुनुहुछ भने पक्कै पनि आफ्नो परिवारलाइ पनि यही ल्याउन चाहानुहुन्छ । आफ्नो परिवार वा बालबच्चासंग संगै बस्ने मन सबैलाई हुन्छ । डिपेन्डेन्ट भिसामा ल्याउनका लागि आवेदन दिंदैमा अनुमति पाइहालिन्छ भन्ने हुँदैन । अनुमति दिने नदिने भन्ने कुरा तपाई कुन तरिकाले जापानमा बस्दै हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । सामान्यतया कुनै कम्पनीको कर्मचारीका रुपमा जापान आएका नेपालीहरुले सजिलैसंग डिपेन्डेन्टहरु ल्याउन सकेका छन् भने भाषा विद्यार्थीका रुपमा आएकाहरुलाई अलि गाह्रो छ ।

पहिलो कुरा, डिपेन्डेन्टका रुपमा तपाइले लिएर आउन पाउने को को हुन् त ?

१. तपाइको श्रीमती वा श्रीमान (कानुनी मान्यता प्राप्त)
१. तपाइको छोरा–छोरी

सबै जस्तो बिदेशी मुलकका मानिसहरुले जापानमा आफ्नो परिवार ल्याउन पाउने कुरा जापानको कानुनमा छ । तल दिएका मध्ये तपार्इले आफ्नो बसोबास अवस्था (Status of Residence) के–को बुझेर त्यही अनुसार प्रक्रिया अगाडी बढाउनु पर्दछ ।

१. प्रोफेसर (教授)
२. कलाकार (芸術)
३. धार्मिक क्रियाकलाप (宗教)
४. पत्रकार(報通)
५. लगानीकर्ता, ब्यबसाय प्रबन्धक (投資・経営)

त्यस्तै,

६. उपचार सेवा (医療)
७. अनुसन्धानकर्ता (研究)
८. प्रशिक्षक (教育)
९. इन्जिनियर,मानविकी बिसेसग्य र अन्तरस्ट्रिय सेवा (技術・人文知識・国際業務)
१०. अन्तर–कम्पनी स्थानान्तरण (企業内転勤)

साथै,

११. मनोरञ्जनकार (興行)
१२. कुशल कामदार (技能)
१३. साँस्कृतिक क्रियाकलाप (文化活動)
१४. बिधार्थी (留学)

माथि दिइएका मध्ये नेपालीहरु धेरै रहेको बसोबास अवस्था कुशल कामदार (技能), इन्जिनियर,मानविकी बिसेसग्य र अन्तरस्ट्रिय सेवा (技術・人文知識・国際業務), लगानीकर्ता, ब्यबसाय प्रबन्धक (投資・経営) र बिधार्थी (留学) हुन् । यसभन्दा तलको जानकारी यिनै ४ प्रकृतिको बसोबास अवस्थामा रहेका नेपालीहरुलाई फलदायी हुनेगरि लेख्ने प्रयास गर्नेछौं ।

बुझ्नुपर्ने कुरा चै के हो भने,

यदि तपार्इ आँफै डिपेन्डेन्टका रुपमा जापानमा आउनु भएको हो भने तपाईले अरुलाई डिपेन्डेन्टका रुपमा जापान ल्याउन सक्नुहुन्न । प्रशिक्षार्थी कामदार र निर्दिष्ट गतिविधिहरू बसोबास अवस्था भएका नेपालीहरुले पनि आफ्नो डिपेन्डेन्ट जापान ल्याउन पाउँदैनन् ।

तपाइँले जापानी नागरिकसंग विवाह गर्नुभएको छ, तपाइसंग यहाँको स्थाई आवासीय कार्ड छ वा तपाइँ कुटनितिज्ञ हुनुहुन्छ भने हामीले उल्लेख गर्न लागेको भन्दा केही फरक प्रक्रियाहरु अपनाउनु पर्छ ।

के म जापान आउने समयमा नै आफ्ना परिवार लिएर आउन सक्छु ?

धेरैको मनमा यो जिज्ञाशा पनि हुनसक्छ कि आफु आउने समयमा नै आफ्ना परिवारलाई संगै जापानमा लिएर आउन सकिन्छ कि सकिदैन । यो कुरा तपार्इको रोजगारदातामा निर्भर गर्दछ। कुनै कुनै कम्पनीहरुले आफ्ना बिदेशी मुलुकका कामदारहरुलाई परिवार संगै लिएर आउन सिफारिश पत्र उपलव्ध गराउँदछन् । यो कुरा ठूला कम्पनीहरुको हकमा लागू हुन्छ । सामान्य नेपालीहरु आउने बिधार्थी, अनुसन्धानकर्ता वा कुनै साना पुँजीका कम्पनीहरुको हकमा यो कुरा लागू हुँदैन ।

उसोभए कस्ता कस्ता कम्पनीहरुले तपाईसंगै डिपेन्डेन्ट ल्याउन पाउने व्यवस्था गर्न सक्छन् त ?

जापान सरकारको कानुन मन्त्रालयका अनुसार कम्पनी श्रेणी १ र २ मा पर्नेले तपाइको डिपेण्डेण्टमा भिसाको प्रकृया छिटो गरिदिन सक्नछन् । कम्पनीबाट तपाइले पाउँने सुबिधाले पनि डिपेन्डेन्ट का लागि आवेदन प्रकृयामा सजिलो बनाउँछ ।

श्रेणी १ अन्तर्गतका कम्पनीहरु :

– जापान स्टक एक्सचेन्जमा सुचिकृत भएको
– परस्पर बीमा कम्पनी
– स्वतन्त्र प्रशासनिक संस्था, विशेष सरकारी संस्था, विशेष–आधिकारिक सरकारी संगठन ।
– कर मुक्त सरकारी सेवा संस्था जुन तालिका १ को करमुक्त सुचिमा पर्छ।

श्रेणी २ मा पर्ने कम्पनीहरु

– व्यक्ति र संस्था जसले अघिल्लो बर्षको कर १५,०००,००० येन तिरेको छ ।

यदि तपाई उल्लेखित कम्पनीहरुमा काम गर्न आउँदै हुनुहुन्छ भने कम्पनीसंग सरसल्लाह गरि डिपेन्डेन्टको भिसा प्रकृया छिटो गराउनका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

माथि उल्लेखित अनुसारको क्याटोगोरीमा तपाईको बसोबास अवस्था पर्छ भने तपाईले आफ्ना श्रीमान, श्रीमति वा बालबच्चालाई डिपेन्डेन्टका रुपमा जापान ल्याउन पाउनुहुन्छ । आफ्नो बसोबास अवस्थाका आधारमा आवश्यक कागजातहरु तयार गरि इमिग्रेसन ब्यूरोमा गई सर्टिफिकेट अफ इलिजिविलिटी (COE) का लागि आवेदन दिन सक्नुहुन्छ । इमिग्रेशनबाट सिओइ (सर्टिफिकेट अफ इलिजिबिलिटी) प्राप्त गरिसकेपछि थप केही डकुमेन्टहरु सहित नेपाल पठाउनुपर्ने हुन्छ र भिसा प्रकृया नेपालबाटै गर्नुपर्ने हुन्छ ।

तयारी के–के गर्ने त ?

डिपेन्डेन्टका रुपमा आफ्नो परिवारलाई जापान ल्याउनका लागि सोच बनाइसक्नुभएको हो भने तपाईले केही आवश्यक कागजातहरु तयार पार्नुपर्ने हुन्छ । आवश्यक कागजातहरुको तयारी भैसकेपश्चात आँफै अध्यागमन कार्यालय (इमिग्रेशन) मा गएर वा वकिलमार्फत जापान आउनका लागि योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिविलीटि–COE ) का लागि आवेदन दिन सक्नुहुन्छ । सामान्यता आवेदन प्रक्रियाको सुनुवाई भई नतिजा निस्कन ३ महिनाको समय लाग्छ । थप केही कागजातहरु माग गरिएको वा आवश्यक केही जानकारी इमिग्रेशन अधिकारीहरुले तपाईसंग माग गरेको खण्डमा यो समय लम्बिन पनि सक्छ तर सामान्यतथा ३ महिनाभित्र तपाईले जापान ल्याउनका लागि अनुमति पाउने वा नपाउने भन्ने कुराको नतिजा थाहा भइसक्छ ।

ल्याउन नपाउने नतिजा आयो भने, इमिग्रेसनमै गई के कारणले ल्याउन नमिलेको हो, के कुराको कमिले गर्दा आवेदन स्वीकृत नभएको हो भन्ने विषयमा सल्लाह गर्न पाउनुहुन्छ । जसले गर्दा तपाईलाई अर्को पटक एप्लाई गर्दा अहिले भएका कमीकमजोरीहरुलाई सच्चाएर पूनः आवेदन गर्न सहज हुन्छ ।

आवश्यक डकुमेन्टहरु के–के हुन ?

अध्यागमन विभागको वेवसाइटमा अंग्रेजी भाषामै पनि आवश्यक डकुमेन्टहरुका बारेमा जानकारी दिइएको छ, हामीले ति जानकारीलाई सरल भाषामा अनुवाद गर्न प्रयास गरेका छौं ।

१. आवश्यक विवरणहरु सहित भरिएको आवेदन फारम (फारम अध्यागमन विभागको यो वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ । फारममा उल्लेख गर्नुपर्ने जानकारीहरु पहिले भरेको विवरणसंग नबाझिने, फरक नपर्ने गरि लेख्नुपर्छ । )

२. व्यक्तिगत विवरण खुल्ने गुणस्तरीय फोटो ३० मिलिमिटर चौडाई ४० मिलिमिटर ऊचाई भएको, डिपेन्डेन्टको छाती भन्दा माथिको भाग टाउको सहित राम्रोसंग देखिएको, अगाडि फर्किएको, टोपी लगाएको हुँनुहुँदैन र फोटो प्रष्ट बुझिने हुनुपर्छ । (फोटोको पछाडि आवेदकको नाम समेत लेख्नुहोला ।)

३. आफ्नो ठेगाना लेखि, आवेदनको नतिजा आउने खाम ( ३९२ यनको टिकट टासी पेश गर्नु पर्छ ।)

४. तपाई र तपाईको डिपेन्टेन्ट वीच नाता प्रमाणित गर्न कुनै पनि कागज
– पारिवारिक नाता प्रमाणपत्र
– विवाह दर्ता प्रमाणपत्र
– जन्म दर्ता प्रमाणपत्र
– बिवाह गर्न मन्जुरी प्रमाणपत्र
साथै, तपाई र डिपेन्डेन्ट वीचको नाता प्रमाणित गर्न आवश्यक अरु कुनै कागजहरु चाहिएको खण्डमा पेश गर्न सक्नु हुन्छ। अन्य भाषामा भएका कागजातहरु अनिवार्य रुपमा जापानी भाषामा अनुवाद गरिएको हुनुपर्छ ।

५. तपाईको आवासीय कार्ड(जाइर्यु कार्ड) र राहदानी, डिपेन्डेन्टको राहदानीको कपी ।
६. काम गरेको प्रमाणपत्र वा आम्दानीको स्रोत खुल्ने कागजात
– यदि तपाई ब्यबसाय वा कम्पनीमा काम गरि आम्दानीका कृयाकलापमा संलग्न हुनुहुन्छ भने नोकरी गर्नु भएको वा ब्यबसाय संचालन अनुमति पत्र चाहिन्छ, साथै तपाईले गरेको व्यवसाय के हो भन्ने कुरा खुल्ने प्रमाणपत्र चाहिन्छ ।
– रेसिडेन्स ट्याक्स तिरेको प्रमाणपत्र (सिटी अफिसमा गई निकाल्न सकिन्छ) तिर्न बाँकी छ वा शुन्य कर छ भने पनि सोही कुरा खुल्ने प्रमाणपत्र चाहिन्छ । (निकाल्न सम्भव छैन भने तलब खुलाइएको कर्मचारी प्रमाणपत्रले पनि काम गर्छ । )
– कम्पनीको कामदार हुनुहुन्छ भने तलबको विवरण र रोजगारी प्रमाणपत्र।
– बसोबास गर्दै गरेको सिटी अफिसबाट जारी गरिएको बसोबास अवस्था प्रमाणपत्र (ज्यूमिन्ह्यो)

यदि तपाइँ कुनै काम वा ब्यबसाय गर्नुहुन्न वा विद्यार्थी हुनुहुन्छ भने,
– पढ्दै गरेको कलेज वा युनिभर्सिटीबाट दिइने विद्यार्थी प्रमाणपत्र ।
– तपाइको बैंकको विवरण(ब्यालेन्स स्टेटमेन्ट) वा कुनै छात्रवृति नियमित पाइरहनुभएको छ भने सो को विवरण ।

माथि उल्लेखित डकुमेन्टहरु तयार पारि तपाई आफै इमिग्रेसनमा गएर ‘सर्टिफिकेट अफ इलिजिबिलिटी’ (COE) का लागि आवेदन दिन सक्नुहुन्छ । इमिग्रेसनन वकिलमार्फत आवेदन दिंदै हुनुहुन्छ भने तपाईका व्यक्तिगत कागजातहरु वकिललाई बुझाउनु भएपछि आवश्यक फारमहरु भरि वकिलले नै इमिग्रेशन गई आवेदन दिन सक्दछन् । सो कार्यका लागि तपाईले वकिललाई पूर्णाधिकार दिएको पत्रमा हस्ताक्षर गरेको हुनुपछ जुन आवेदन फारममै हुन्छ ।

ध्यान दिनुपर्ने केही कुरा

– सर्टिफिकेट अफ इलिजिविलीटिका लागि भरिने फारम अंग्रेजीमा वा जापानी भाषामा भरेर बुझाउन पाइन्छ । प्रमाणका रुपमा पेश गरिने अन्य कागजातहरु भने जापानी भाषामा अनुवाद गरि बुझाउनुपर्छ । आवेदन फारम बुझाउने समयमा डकुमेन्टहरुको सक्कल समेत देखाउनु पर्ने हुन्छ तर फारम पेश गर्दा फोटोकपी मात्र बुझाउनुभए हुन्छ । बुझाएका ओरिजिनल कागजातहरु फिर्ता हुनेछैनन् । (धेरै जनाले बच्चाको जन्मदर्ता वा विवाह दर्ता सक्कलनै बुझाएका कारण अर्को पूनः बनाउन झण्झट खेपेका म्यासेजहरु हामीलाई आइरहन्छन् । )

– जापानमा डिपेन्डेन्ट राख्नु भनेको तपाईको आफ्नो कमाइमा उनीहरुलाई पाल्छु भन्ने हो । त्यसैले तपाईको मासिक कमाई कति छ भन्ने कुराले पनि डिपेन्डेन्ट ल्याउन पाउने नपाउने कुरा निर्धारण गर्छ । जापानमा बसोबासका लागि एक जनाका लागि ८० हजार (अनुमानित) मासिक आम्दानीले पुग्ने आकलन गर्दा एक जना डिपेन्डेन्ट पाल्नका लागि तपाईको मासिक आम्दानी कम्तिमा पनि १६ मान (१ लाख साठी हजार जापानी येन) हुनुपर्छ । नेपालीहरुको केशमा सामान्यतया १८ मान (१ लाख ८०) हजार वा सोभन्दा बढि मासिक आम्दानी हुनेहरुले डिपेन्डेन्ट ल्याएको पाइन्छ ।

– साधारणतया डिपेन्डेन्टका रुपमा प्राप्त आवासिय अवस्थामा काम गर्ने अधिकार हुँदैन तर बसोबास अवस्था बाहेक अन्य कार्यमा पनि संलग्न हुन (“Permission to Engage in Activities Other than that Permitted Under the Status of Residence Previously Granted”) पाउँ भनि निवेदन पेश गरेपश्चात हप्तामा २८ घण्टासम्म काम गर्ने अधिकार पाइन्छ ।

– जापानी भाषामा राम्रो दक्षता भएका डिपेन्डेन्टले कम्पनीहरुमा कामदारका रुपमा आफ्नो भिसा परिवर्तन गरि पूर्णकालिन कामदारका रुपमा काम गर्न पनि सक्छन् ।

भिसाको लागि दरखास्त चै कसरी दिने ?

तपाइले आफ्नो परिवार लिएर आउने योग्यता प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिबिलिटी) पाइसकेपछि सो पत्र नेपालमा पठाउनु पर्छ । साथमा तपाईको जाइर्यु कार्ड र पासपोर्टको फोटोकपी, बसोबास प्रमाणपत्र (ज्यूमिन्ह्यो) पठाउनुपर्छ । ज्यूमिन्ह्योमा तपाई बस्ने ठेगाना जापानी भाषामा मात्र हुने भएकाले अंग्रेजीमा ठेगाना लेखि पठाइदिनुभयो भने नेपालमा भिसा आवेदनका लागि फारम भर्दा सजिलो हुन्छ । सर्टिफिकेट अफ इलिजिबिलिटीको सक्कलका साथमा माथि उल्लेखित डकुमेन्टहरु नेपाल पठाउँदा हुलाकमा गई EMS मार्फत पठाउन सक्नुहुन्छ । EMS मार्फत डकुमेन्ट पठाउने तरिकाबारे जान्नका लागि हाम्रो यो पोष्ट पढ्न सक्नुहुन्छ ।

यता जापानबाट पठाइएका डकुमेन्ट नेपाल पुगेपछि श्रीमान–श्रीमतिको लागि भए विवाह दर्ताको प्रमाणपत्र र छोराछोरीका लागि भए जन्मदर्ता प्रमाणपत्र सहित नेपालमा रहेको जापानी दूतावासमा भिसा आवेदन दिनुपर्छ । डिपेन्डेन्ट भिसामा आउन लागेको व्यक्तिको पासपोर्ट र एक प्रति ४५ मिलिमिटर उचाई र ४५ मिलिमिटर चौडाई भएको फोटो टाँसी भरिएको भिसा फारम सहित बुझाउनुपर्छ । भिसा फारम यो लिंकमा क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ । आवेदनपश्चात दूतावासको व्यस्तता हेरि ३ दिनदेखि १ हप्ताभित्रमा भिसा जारी हुनेगरेको छ ।

यात्राको तयारी

हुन त सर्टिफिकेट अफ इलिजिबिलिटी पाउनु नै जापानको भिसा पाउने कुराको ग्यारेण्टी होइन तर भिसाको मुख्य आधार भने हो । जापानको भिसा हात परिसकेपछि आफ्नो जापान यात्रा कसरि सहज बनाउने भन्ने कुरामा पनि ध्यान दिनुहोला । नियमानुसार भिसा जारि भएको दिनदेखि ३ महिनाभित्र जापान आइसक्नुपर्ने हुन्छ । श्रीमान वा श्रीमति डिपेन्डेन्टका रुपमा जापान आउँदै हुनुहुन्छ भने भिसा आवेदनको तयारी गर्नुपूर्व देखिनै जापानी भाषा सिक्दै गर्नुभयो भने यहाँ आएपछि दैनिक जीवनयापन सहज हुन्छ । सो कुरामा पनि ध्यान दिनुहोला ।

माथि उल्लेखित बिषयलाइ ध्यानमा राखेर कागजपत्र बनाउनुभयो भने पक्कै पनि तपाई जापानमै रहेर आफ्नो परिवारसंगै कमाउन र रमाउन सक्नुहुन्छ । थप केही जानकारी आवश्यक भएमा जापानको परराष्ट्र मन्त्रालयको यो वेवसाइट वा नेपालस्थित जापानी दूतावासको यो वेवसाइटमा गई जानकारी लिन पनि सक्नुहुन्छ । थप केही जानकारी आवश्यक परेमा हामीलाई म्यासेज गरि सोध्न पनि सक्नुहुनेछ ।

यो जानकारी उपयोगी लागेमा सेयर गरि साथीभाईहरुमाझ पनि पुर्याइदिनुहोला न है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *