Monday, September 26जापानबारे सबै कुरा

‘सुमिमासेन’ कतिबेला भन्ने ?

सुमिमासेन  (すみません) : जापानमा हुनुहुन्छ भने यो शब्द जापानीहरुले कुरा गर्दा धेरैपटक प्रयोग गरेको सुन्नुभएकै होला । सामान्यतया यो ‘कृपया’ वा ‘माफ गर्नुहोस्’ जनाउनका लागि प्रयोग गरिन्छ तर यसको प्रयोग भने धेरै ठाउँमा हुन्छ । सुमिमासेन शब्द कुनै जापानीले त दिनमा कम्तिमा पनि १० पटक त भनेकै हुन्छन् कि जस्तो लाग्छ । 😀 तर यो भन्नुको मतलब जुनबेला पनि माफि नै मागेको भन्ने चाहिँ होइन । यसले विभिन्न अवस्थालाई पनि बुझाउँछ । आजको लेखमा यसैबारे केही जानकारी दिने प्रयास गरिएको छ ।

१.सुमिमासेन –मलाइ माफ गर्नुहोस्

यो शब्दको वास्तविक मतलब नै यहि हो ‘मSorrलाइ माफ गर्नुहोस्’। उदाहरणका लागि, रेष्टुराँमा यदि तपाइले कसैको सर्टमा पानी पोखिदिनुभएको अवस्थामा ‘सुमिमासेन’ भन्न आवश्यक छ । तर गहिरो क्षमा याचनाका लागि प्रयोग गरिने शब्द अर्कै छ-, विशेषगरी व्यावसायिक क्षेत्रमा । तर सुमिमासेनको प्रयोग आफ्ना हाकिम र सहकर्मीलाई भने गर्न सकिन्छ ।

२.सुमिमासेन–कृपया

‘कृपया’  भन्नका लागि पनि सुमिमासेन शब्दको प्रयोग गरिन्छ । जापानीहरु रेष्टुराँमा गएर अर्डर गर्नका लागि वेटरलाई बोलाउँदा सुमिमासेन भन्छन् । त्यस्तै यदि तपाइलाई आफ्ना सहकर्मीसँग कुरा गर्नु छ तर उ अत्यन्तै व्यस्त देखिन्छ भने उसँग कुरा गर्न ठीक समय हो कि होइन भनेर बुझ्न पहिला सुमिमासेन भनिन्छ । यहाँ प्रयोग हुने सुमिमासेनले तिमिलाई दुःख दिएकोमा सरी भन्ने पनि मतलब दिलाउँछ ।

३.सुमिमासेन–धन्यवाद

जापानीहरु धन्यवाद भन्नका लागि पनि सुमिमासेन शब्दको प्रयोग गर्छन् । यो सुन्दा कस्तो कस्तो लागे पनि यो जापानीहरुको प्राकृतिक अभिव्यक्ति हो । यदि तपाइ रेल यात्रा भएको बेला विरामी पर्नुभयो र कसैले तपाइलाई आफू बसिरहेको सिट छोडिदियो भने पक्कै पनि तपाइले ‘यसका लागि धेरै धेरै धन्यवाद’ भन्न सक्नुहुनछ । तर यसमा सुमिमासेन शब्द थपिदियो भने त्यो अझ राम्रो सुनिन्छ ।

अन्य

माथि उल्लेखित मात्र हैनन्, यो शब्दको प्रयोग अन्य धेरै अवस्थामा पनि हुन्छ जस्तै कोही अपरिचितलाई बोलाउनु परेमा, कसैसंग विदा भएर छुट्टिने समयमा, कसैप्रति विनम्रता दर्शाउन आदि-आदि । विशेषत यो एक शब्दमा अति नै गहकिलो भाव समावेश भएको हुन्छ । जापानी नागरिकहरू सुमिमासेन भनेर सानो भइन्छ भन्ने सोच्दैनन् । ट्रेनको यात्रामा हुनुहुन्छ भने कसैलाई साधारण धक्का लाग्न गयो भने पनि जापानीहरू सुमिमासेन भनिहाल्छन् । कसैलाई केही सोध्नु परेको खण्डमा पनि यो भन्न सक्नुहुनेछ । अचानक तपाइँ आफै कसैसँग ठोक्किन जानुभयो भने पनि तपाइँले भन्दा पहिले नै उसले सुमिमासेन भनेको हुन्छ । आफैले चोट पाएर पनि उ आफैले सुमिमासेन भनिरहँदा हामी अचम्ममा पनि परेको अनुभव होला । तर सुमिमासेन भनेर कसैसँग सम्बन्ध राम्रो हुन्छ भने किन नभन्ने त सुमिमासेन ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *