Sunday, December 4जापानबारे सबै कुरा

रेष्टुरेन्टमा खाना खान जाँदै हुनुहुन्छ ? जानी राख्नुस् यि कुरा

तपाइँ जापान घुम्न आउँदै हुनुहुन्छ ? अथवा भर्खरै जापान आउनु भएको हो र खाना खान जापानी रेष्टुरेण्टमा जान चाहनुहुन्छ भने रेष्टुरेण्टमा प्रयोग हुने केही शब्द/वाक्यहरु तपाइँले जानी राख्नुभयो भने तपाइँलाई धेरै सजिलो हुनेछ । हामी आज केही मुख्य शब्द तथा बाक्यहरु प्रस्तुत गर्दैछौं जसले जापानी रेष्टुरेण्टमा जाँदा तपाइँलाई धेरै सहयोग गर्नेछ ।

(क) पसलमा प्रवेश गर्ने बेलामाः

सुमिमासेनः जापानको रेष्टुरेण्टमा साधारणतय प्रवेशद्वारमा वेटर उभिइरहेको हुन्छन् । तपाइँलाई प्रवेशद्वारबाट बस्ने सीटसम्म उनले नै गाइड गर्छन । पसलमा व्यस्तताले गर्दा प्रवेशद्वारमा कोही पनि नभएको अवस्था पनि रहनसक्छ । यदि प्रवेशद्वारमा कोही पनि नभएकाे खण्डमा तपाइँले ‘सुमिमासेन’ भनेर बोलाउन सक्नुहुनेछ । सुमिमासेनको ठाउँमा ‘सुइमासेन’ भन्ने पनि चलन छ । त्यसो त तपाइँले रेष्टुरेण्टमा बसेर खाना खाँदै हुनुहुन्छ र थप केही सेवा चाहिएमा तपाइँले ‘सुमिमासेन’ भनेर वेटरको ध्यानाकर्षण गराउन सक्नुहुनेछ । ‘सुमिमासेन’ भन्ने बेलामा हल्का हात उठाएर बोलाउनु भयो भने भीडभाडमा पनि तपाइँले बोलाउनु भएको भन्ने कुरा प्रष्टसँग वेटरले देख्न सक्दछ ।

(ख) नानमेइसामा देशका ? ओफुतारीसामा ?

जापानी भाषामा व्यक्तिको संख्या बुझाउने शब्द हो हितोरी (एकजना), फुतारी (दुईजना), साननिन (तीनजना) । तपाइँ रेष्टुरेण्टमा गएर प्रवेश गर्नेबेलामा प्रयाजसो वेटरले तपाइँलाई सोध्ने प्रश्न हो यो । ‘ओक्याकुसामा नानमेईसामा देशका ?’ (हजुरहरु कतिजना हुनुहुन्छ ?) तपाइँहरुमध्ये कोही जापानमा नै रेष्टुरेण्ट व्यावसाय गर्दै हुनुहुन्छ भने रेष्टुरेण्टमा आउनुभएको पाहुनालाई यही प्रश्न सोध्न सक्नुहुनेछ । ‘ओक्याकुसामा नानमेईसामा दे इरास्याइमासका ?’ तपाइँलाई रेष्टुरेण्टमा जाँदा तपाइँलाई यो प्रश्न गरियो भने तपाइँले दुइजना हो भने फुतारी, तीनजना हो भने साननिन, चारजना हो भने योनिन भनेर उत्तर दिन सक्नुहुनेछ । त्यसाे त संसारकै मानिसहरूले बुझ्ने इसाराकाे भाषाले पनि बुझाउन सक्नुहुनेछ । जस्तैः तीन जना हाे भने तीन औंला ठड्याउनुहाेस, दुइजना जानु भएकाे छ भने दुइ औंला ठड्याउनुहाेस् ।

(ग) ओसुसुमे वा नान देसका ?

प्रायजसो जापानका रेष्टुरेण्टहरुमा आकर्षक फोटासहितको मेन्यु हुन्छ । भाषा नजानेर अथवा खानाको नाम नजानेरै तपाइँ खाना नखाइ फर्कनुपर्ने भन्ने हुँदैन किन भने फोटो देखाएर मात्रै पनि तपाइँले खाना अर्डर गर्न सक्नुहुनेछ । प्रायजसो हरेक रेष्टुरेण्टहरुको विशेष खाना हुन्छ जुन रेष्टुरेण्टमा आउने पाहुनाहरुले चाखिदिए हुन्थ्यो भन्ने रेष्टुरेण्टको मनसाय पनि हुन्छ । उक्त मेन्युलाई ‘ओसुसुमे खाना’ भनेर पनि भनिन्छ । तपाइँ आफैले पनि सोध्न सक्नुहुनेछ । ‘क्योनो ओसुसुमे वा नान देसका?’ (आजको विशेष के छ ?) भनेर । रेष्टुरेण्टमा जाँदा तपाइँले नखाने खाना अर्थात माछामासु छन् भने तपाइँले अगाडि नै के को मासु हो भनेर सोध्न सक्नुहुनेछ ।

यो के हो भनेर सोध्नको लागि – ‘कोरे वा नान देशका ?’ これはなんですか?
के को मासु हो ? – ‘नान नो ओनिकु देसका ?’ なんのおにくですか?
वंगुरको मासु हो ? – ‘वुता नो निकु देसका ?’ ぶたのにくですか?

गाइको मासु हो ? – ‘ग्यूनिकु देसका ?’ ぎゅうにくですか?
कुखुराको मासु हो ? – ‘तोरीनिकु देसका ?’ とりにくですか?
माछा हो ? – ‘ओसाकाना देसका ?’ さかなですか?

सबैकुरा फाइनल भैसकेपछि तपाइँले यो दिनुहोस् भनेर भन्न सक्नुहुनेछ । त्यसलाइ जापानीमा भन्दा ‘कोरे वो ओनेगाइसिमास’ अथवा ‘कोरे वो कुदासाइ’ । त्यसमा कतिवटा भन्नको लागि एउटा, दुुईटा, तीनवटा भन्न सक्नुहुनेछ । साधारणतया हरेक कुराहरुको गणना गर्नको लागि जापानीमा फरकफरक गणना गर्ने तरिका हुन्छन् तर तपाइँले ‘हितोचु-एउटा’, ‘फुतोचु-दुईवटा’, ‘मिच्चु-तीनवटा’ भनेर भन्न सक्नुहुनेछ ।

‘किनएनसेकी’ र ‘किचुएनसेकी’ भनेर धुम्रपान गर्ने र नगर्नेको भिन्नभिन्नै सीटको व्यवस्था गरिएको पनि हुन्छ । विशेषत साइजेरिया, गास्तो लगायतका फ्यामेली रेष्टुरेण्टहरुमा यस्तो व्यवस्था पाउन सक्नुहुनेछ । शुरुमा तपाइँलाई रेष्टुरेण्टमा प्रवेश गर्ने बेलामा धुम्रपान गर्ने कि नगर्ने भनेर सोधनी हुनसक्छ । त्यही अनुसार तपाइँले आवश्यकता अनुसार रोज्न सक्नुहुनेछ । ‘किनएनसेकी 禁煙席–धुम्रपान गर्न नपाइने सीट’, ‘किचुएनसेकी 喫煙席–धुम्रपान गर्न पाइने सीट’ ।

खाना खान शुरु गरेपछि पनि तपाइँलाइ विभिन्न कुराहरुको आवश्यकता पर्न सक्छ । उक्त समयमा प्रयोग हुने सम्भावित शब्दहरु निम्न अनुसार छन् ।

‘ओमिजुः पानी’, ‘सुपुनः चम्चा’, ‘फोकुः काँटा’, ‘कोजारा तथा तोरिजाराः स–साना प्लेटहरु’, ‘मेन्यूः मेन्यू’, ‘कोरे तो ओजानीः यो जस्तै’ ।

(घ) स्यासिन ई देसका ?

तपाइँ जापान गएर रेष्टुरेण्टमा खाना खान जानुभएको छ । लामो समयको साथीभाइको भेटघाटमा खाना खाँदै हुनुहुन्छ । सायद ती क्षणहरुको फोटो कैद गरेर राख्नु पछिको लागि पनि सम्झनामा रहिरहनेछ । त्यतिबेला तपाइँ साथीभाइहरुसँग फोटो खिच्न चाहनुहुन्छ भने कि त सेल्फी स्टिक लगेर जानुपर्यो होइन भने कसैले तपाइँहरुको फोटो खिचिदिनु पर्यो । त्यस्तो अवस्थामा तपाइँले वेटरलाई फोटो खिचिदिनुस भने भन्न सक्नुहुनेछ । त्यस्तो अवस्थामा ‘सुमिमासेन, स्यासिन ई देसका ?’ अथवा ‘सुमिमासेन, स्यासिन तोत्ते मोरात्ते ई देसका ?’ भन्नु भयो भने उसले तपाइँहरूको फोटो खिचिदिनेछ । यसको बदलमामा तपाइँले धन्यवाद भन्नैपर्छ- ‘आरिगातोउ गोजाइमास ।’

(ङ) ओखाईकेईः

खाना खाएर फर्कने बेलामा तपाइँले काउन्टरमा विल तिर्नुपर्ने हुन्छ । तर कतिपय रेष्टुरेन्टहरुमा बसेको टेवलमा नै तपाइँले विल मगाउन सक्नुहुन्छ । खासगरी आफूले आएको आफैले तिर्ने जापानीहरु टेवलमा विल मगाउँछन र त्यही अनुसार भाग लगाएर पैसा संकलनगरी बुझाउने गर्दछन् । खाना खाएर निस्कने बेलामा तपाइँले ‘ओखाईकेई ओनेगाइसिमास’ भन्नुभयो भने तपाइँलाई विल दिन्छन् र त्यही अनुसारको विल तिर्नुहुनेछ । टेवलमा विल उपलब्ध नगराई काउन्टरमा गएर तिर्ने सिस्टम पनि हुन सक्छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टेवल नम्बर बताउनुभयो भने तपाइँको हिसाव कति भयो थाहा लाग्छ । तपाइँले तिर्ने बेलामा कसरी तिर्ने भन्ने कुरा पनि खुलाउनुपर्छ । क्यासमा तिर्नुहुन्छ भने ‘गेनकिन दे’ भन्नुहोला । कार्डबाट तिर्नु हुने हो भने ‘कादो दे’ ओनेगाइसिमास भन्नुभयो भने त्यही अनुसार विल भुक्तानी गराउनेछ । कार्डबाट तिर्ने बेलामा कार्ड अनुसार किस्ताबन्दीमा बुझाउने सिस्टम पनि भएकाे हुनाले कति पटक गरेर तिर्ने हाे भनेर साेधनी हुन सक्छ । विल तिरेर निस्कने बेलामा पसलका स्टाफहरुले ‘आरिगातो गोजाइमास’ भन्छन् । तपाइँले ‘गोचिसोसामा देसिता’ (मिठो खाना खुवाउनु भयाे धन्यवाद) भन्न सक्नुहुनेछ । अन्य देशहरूमा भए जस्ताे जापानमा कुनै पनि रेष्टुरेन्टमा टिप्स दिने चलन हुँदैन । टिप्स लिनुदिनुलाइ जापानीहरू राम्राे मान्दैनन् । तर विदेश यात्रामा गएकाे बेलामा भने जापानीहरू तिर्न उत्साहित भएकाे पनि हामीले पाउँछाैं । त्याे भनेकाे आफुहरुमा नभएको कुरा नाैलाे अनुभव गर्नकाे लागि तयार भएका हुन् ।

साधारणतय यिनै कुराहरुको जानकारी भयो भने तपाइँ जापान भ्रमणको बेलामा कुनै पनि रेष्टुरेन्टहरुमा गएर खाना खाएर रमाउन सक्नुहुनेछ । धेरैजसो रेष्टुरेन्टहरुमा अंग्रेजी पनि प्रयोग गर्ने गर्दछन् तर केही शब्दहरु जापानीमा जान्नुभयो भने सुनमा सुगन्ध हुनेछ ।

एउटा मुख्य कुरा तपाइँ जापान आउँदै हुनुहुन्छ भने चपस्टिक चलाउन सिकेर आउँदा अझ रमाइलो अनुभव होला । आफैले पनि बाँसबाट बनाएर घरमै अभ्यास गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *