Sunday, October 24जापानबारे सबै कुरा

यि हुन् जापानी भाषा सिक्ने पाँच प्रभावकारी तरिका

तपाई हामीमध्ये धेरैलाई लाग्न सक्छ कि खान्जी नहुँदो हो त जापानी भाषा पढ्न र लेख्न निकै सजिलो हुनेथियो । जापानी भाषामा खान्जी किन आवश्यक छ भनेर हामीले केही पहिलेको पोष्टमा लेखिसकेका छौं । पढ्नुभएको छैन भने यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ । धेरैको अनुभवका आधारमा भन्ने हो भने जापानी भाषा विश्वका कठिन भाषाहरु मध्येको एक हो । आजको लेख त्यस्ता व्यक्तिहरुलाई काम लाग्छ जसले यो भाषा सिक्न शुरु गरिसकेका छन् ।

१. जति सकिन्छ त्यति पढ्ने

यदि तपाइले जापानी भाषा सिक्न शुरु गरिसक्नु भएको छ र हिरागाना र काताकाना र केही खान्जीहरु पनि आउँछ भने जापानी पढाइका लागि तपाइ योग्य हुुनुहुन्छ । अब केही थोरै थोरै जापानीबाट पढाइ शुरु गर्न सकिन्छ । सबै पाठ्यक्रम संकलन गरेर पढ्न शुरु गर्ने र केही पछि अलि कठिन जापानी लेख रचना पढ्न शुरु गर्न सकिन्छ ।

जापानी लेखहरु पढ्दा शुरु शुरुमा केही बुझ्न सकिँदैन । त्यसका लागि लेखको मुख्य अर्थ बुझ्ने प्रयास गर्नुपर्छ । जति सक्दो जापानीमा लेखिएका विषयहरु पढियो भने पनि भाषा बुझ्न सजिलो हुन्छ । भाषा पढ्न थालेको केही समयपछि जापानी साहित्य पढ्न सकिन्छ । यसो गर्दा केही कठिन त हुन्छ तर यसले मनोबल बढाउन सहयोग गर्छ । शुरु शुरुमा लोक कथाहरुबाट शुरु गर्न सकिन्छ ।

२.जापानी संगीत सुन्ने

जापानी भाषा सिक्न जापानी संगीत सुन्दा पनि सहयोगी हुन्छ । रेकर्ड गरिएका संगीत बारम्बार सुन्दा पनि यसले भाषा बुझ्न सहयोग गर्छ नै । त्यस्तै जापानी एनिमेशनहरुमा तल सब टाइटल पनि दिइने हुँदा यसले अर्थ बुझ्न थप मद्धत गर्छ । जबसम्म पुरै बुझिँदैन लगातार सुनिरहन पर्छ । जापानी भाषाको समाचार, सिरियल हेर्ने र सुन्ने गर्नाले पनि तपाइको भाषामा सुधार आउन सक्छ । शुरु शुरुमा सबटाइटल भएका जापानी कार्यक्रम हेर्दा सहयोगी त हुन्छ तर यसले आफ्नो दिमाग चलाउनुभन्दा पनि सबटाइटलमा बढी निर्भर बनाउन सक्छ । तर पनि लगातार एउटै कुरा हेरिरँदा त्यसमा प्रयोग भएको शब्द र अर्थ बुझ्न चाहिँ सकिन्छ ।

विदेशी भाषा सिक्नका लागि सबैभन्दा सहि समय भनेको सुत्ने बेला भनेर केही वैज्ञानिकहरुले भनेका पनि छन् । सुत्ने बेलामा जापानी संगीत सुन्न सकिन्छ । भाषा बुझ्न सकिँदैन तर दिमागले त्यसमा प्रयोग भएका शब्दहरुलाई भने याद गर्छ । भाषा सिक्ने अर्को उपाय भनेको जापानी कार्यक्रम हेर्ने पनि हो ।

३. प्राय जापानी भाषा नै बोल्ने

हेर्ने र सुन्ने कामले मात्रै कुनै पनि भाषा सिकिँदैन । यसका लागि अभ्यासको पनि आवश्यकता हुन्छ । त्यसैले जतिसक्दो धेरै जापानी भाषा बोल्नुपर्छ । यसका लागि जापानीहरुसँग साथी बनाउने जापानीहरु धेरै छिमेकी भएको ठाउँतिर घर रोज्ने जस्ता कार्य गर्न सकिन्छ । जापानी संस्कृतिसँग सम्बन्धित कार्यक्रममा भाग लिने । यो समयमा बढी भन्दा बढी जापानीहरुसँग भेट्न र साथी बनाउन सकिन्छ ।

कक्षाबाहिर पनि आफ्ना शिक्षक साथीसँग बढीभन्दा बढी जापानी भाषा बोल्नुपर्छ । अर्को उपाय हो आफ्नो मातृभाषा कुनै जापानीलाई सिकाउने यसको सट्टामा उसले तपाइलाई जापानी भाषा सिकाइदिन्छ ।

४.जापानी भाषाको जर्नल

जापानी भाषामा दैनिकी वा लेख रचना लेख्ने अभ्यास गर्दा पनि भाषा सिक्न सहयोग मिल्छ । स्वतन्त्र भएर आफूलाई जे आउँछ त्यो लेख्न सकिन्छ । दैनिक यस्तो अभ्यास गर्दा भाषामा सुधार आउँछ । आफ्नो दिमागमा जे जे आउँछ त्यो सबै लेख्न सकिन्छ । तर यो अभ्यास दैनिक गर्न भने आवश्यक छ । दैनिक एक पाना यस्तो लेख लेख्नाले तपाइको मनोबल पनि बढाउँछ र नयाँ नयाँ कुरा सिक्ने तपाइको चाहनालाई पनि बढाइदिन्छ ।

५. काराओके वा जापानी गीतहरु गाउने

कोही कोहीलाई गीत गाउने यस्तो योजना त्यति राम्रो नलाग्न सक्छ । अरु मानिसको अगाडि गीत गाउने योजना खासै राम्रो नलाग्न सक्छ । जापानमा भने यस्तो गर्न धेरै सजिलो छ । सबैभन्दा सजिलो काराओके बूथमा जाने ढोका बन्द गर्ने र गीत गाउने अभ्यास गर्ने । युट्युब वा अन्य जहाँ कहिँ जुनसुकै गीत सुनेको भएपनि त्यो गाएर अभ्यास गर्न सकिन्छ ।

यी सबै तरिकाहरु अलि अलि जापानी सिक्न शुरु गरिसकेकाहरुका लागि बढी उपयोगी हुुन्छ । जापानी भाषा सिक्ने तयारी गर्दैगरेकाहरुका लागि जापानी भाषा छिटो कसरी सिक्न सकिन्छ भन्ने बारेमा केही समय पहिलेनै लेखिसकेको यो जानकारी उपयोगी हुनसक्छ । यहाँ क्लिक गरि पढ्नुहोला । जापानी भाषा सिक्नका लागि तपाईले अपनाउने थप केही तरिका छन् भने पनि कमेन्टमा लेखिदिनुहोला है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *