Sunday, June 13जापानबारे सबै कुरा

यि हुन जापानमा बुद्धका १० लोकप्रिय मूर्तिहरु

जापानमा बुद्धिजमको शुरुआत सयौं वर्ष अघि भएको भन्ने मान्यता रहँदै आएको छ । जापानमा पनि यसको प्रभाव अत्यन्त परेको छ र यहाँ बुद्धिष्ट मन्दिर र यसलाई पछ्याउने सङ्ख्या थोरै छैन । यस्ता मन्दिरहरु पर्यटकहरुका लागि आकर्षणका केन्द्र पनि हुन । केही समय पहिले नेपाली मूर्तिकारहरुले जापानको कुमामोतोमा बुद्धको बिशाल मूर्ति कुँदिरहेको समाचार निकै चर्चामा थियो । जापानमा रहेका नेपालीहरुवीच पनि फुर्सदको समयमा बुद्धका मूर्तिहरु भएका स्थानाहरुमा घुमघाम तथा दर्शनका लागि जाने चलन छ । आजको लेखमा जापानमा लोकप्रिय १० स्थानहरु जहाँ बुद्धका मूर्ति छन् तिनका बारेमा जानकारी दिने प्रयास गरेका छौं । जानकारी उपयोगी लाग्यो भने सेयर गरिदिनुस् है ।

1. Nara Daibutsu , Todaiji Temple, Nara prefecture

नारा डाइबुत्सु, जापानको प्रसिद्ध र पुरानो बुद्ध मन्दिर हो । यो नारा प्रिफेक्चरको तोदाइजि टेम्पलमा रहेको छ । यहाँ रहेको ग्रेट बुद्धको मूर्ति ४९ दशमलव १ फिट अग्लो छ र यो भाइरोकाना (बुद्धका अनेक प्रकारमध्येको एक) मूर्ति हो । शुरुआतदेखि नै यो विघटन र विश्वंसको चपेटामा पर्दै आएको भएपनि यो सधैं सुधारिएको नै हुन्छ । यहाँ वरिपरि मृग खेल्ने पार्क छ र यो त्यहाँको प्रमुख आकर्षणको केन्द्र पनि हो ।

2. Ushiku Daibutsu, Ibaraki prefecture

यो जापानको सबैभन्दा अग्लो बुद्धको मूर्ति हो । सन् १९९५ मा निर्मित यो मूर्ति १ सय ३० फिट अग्लो छ । सन् २००२ सम्म यो विश्वकै सबैभन्दा अग्लो मूर्तिका रुपमा सूचिकृत थियो । सुन्दर ताल, बगैंचा र जनावर पार्क यहाँका प्रमुख आकर्षणका केन्द्रविन्दु हुन् । यहाँ रहेको संग्रहालयमा ३३ सय ओटा बुद्धका सुनका मूर्ति राखिएका छन् ।

3. Kamakura Daibutsu, Koutokuin temple, Kanagawa prefecture

सन् १२५२ मा निर्माण गरिएको कानागावा प्रिफेक्चरको दाइबुत्सु कामाकुरा कोतुक्वुइन टेम्पलसँग जोडिएको छ । यो मन्दिर आँधी, भूइँचालो र तुफानजस्ता कुराबाट क्षतविक्षत भएको भएपनि यसलाई पनि आजसम्म पूरानै स्वरुपमा राखिएको छ । यो जापानको दोस्रो ठूलो मूर्तिका रुपमा रहेको छ ।

4. Takaoka Daibutsu, Toyama prefecture

सन् १२२१ मा निर्माण सम्पन्न भएको यो मूर्तिलाई अनेक पटक जिर्णोद्धार गरिसकिएको छ । शुरुमा यो काठबाट बनाइएको थियो तर प्राकृतिक प्रकोप र आगलागिका कारण यसमा क्षति पुगेपछि सन् १९९३ मा ५२ फिट अग्लो तामाको मूर्ति बनाइएको हो ।

5. Fukuoka Buddha, Nanzoin temple, Fukuoka prefecture

नेहान्जोउ नामक यो मूर्ति विश्वको सबैभन्दा ठूलो सुतेको बुद्धको मूर्ति हो । सन् १९९५ मा निर्माण गरिएको यो मूर्ति ११ मिटर अग्लो र ४१ मिटर लामो रहेको छ र केही अध्ययनअनुसार यो विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्तिका रुपमा पनि लिइने गरिएको छ ।

6. Nihonji Daibutsu, Nihonji temple, Chiba prefecture

३१ मिटर उचाइ रहेको यो मूर्तिलाई भैसाज्यगुरु भनिन्छ । यहाँ वरिपरि १५ सय ओटा बुद्धका मूर्तिहरु छन् जसलाई याकुसिरुरिकोन्योराई भनिन्छ । यो मूर्ति पनि प्राकृतिक प्रकोपको असरबाट अछुतो भने छैन ।

7. Shouwa Daibutsu, Seiryuu-ji Temple, Aomori prefecture

सन् १९८४ मा बनाइएको भैरोकाना बुद्धको मूर्ति ७० फिट अग्लो र यो कमलको फूलमाथि बुद्धले मूर्ति ध्यान गरिरहेको अवस्थाको हो । अगस्टमा हुने ओबोन फेष्टिभलमा यहाँ पर्यटकको भीड लाग्ने गरेको छ ।

8. Ueno Daibutsu

सन् १६३१ मा निर्मित यो मूर्ति जापानको शुरुआती ग्रेट बुद्धको मूर्तिमध्येको एक हो । उएनो पार्क क्षेत्रमा रहेको यो मूर्तिमा बुद्धको टाउको मात्रै छ । जापानमा भएका अधिकांश मठ मन्दिर प्राकृतिक प्रकोपबाट अछुतो नभएझैं यसले पनि प्राकृतिक प्रकोपको चोट खेपेको छ । शुरुआतमा यो तामाबाट बनेको ठूलो बुद्धको मूर्तिे थियो, यो मुर्तिका अन्य भाग पगालेर विश्व युद्धको समयमा हतियार बनाइएका कारण हाल यसको टाउको मात्रै बाँकी रहेको बताइन्छ ।

9. Tokyo Daibutsu, Jorenji Temple, Itabashi, Tokyo

सन् १९७७ मा निर्मित यो मूर्तिको उचाइ ४२ दशमलव ७ फिट रहेको छ । यो नारा र कामाकुरामा भएको बुद्धको मूर्तिपछिको जापानको ठूलो मूर्ति हो ।

10. Gifu Daibutsu, Shouhou-ji temple, Gifu prefecture

४४ दशमलव ७ फिट उचाइ रहेको यो ग्रेट बुद्धको मूर्तिलाई शाका न्योराई भनिन्छ । गिन्को, बाँसजस्ता जापानी काठबाट सन् १८२८ मा यसको निर्माण गरिएको थियो । निर्माणको प्रकृयाका आधारमा यो जापानको सबैभन्दा ठूलो मूर्ति हो । यहाँ ५ सय ओटा बुद्धका विविध प्रकारका मूर्ति छन् ।

(ताइकेन जापानबाट अनुवादित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *