Monday, September 26जापानबारे सबै कुरा

जापानमा मैले गरेको मेहेनत, केका लागि ?

हिजो राती छिरेको सेभेन इलाभेनको काम सकेर बाहिर निस्किएँ । घडिमा साडे ५ बजिरहेको थियो । म्याकडोनल्डमा किनेको बर्गर झोलामै थियो, भेण्डिङ मेसिनबाट कफी झारेर स्टेशन नजिकैको पार्कमा बसेर खाने तरखरमै थिएँ मोबाइलको घण्टि बजिहाल्यो । नेपालदेखि फोन आएको रहेछ, ‘नेपालमा त उज्यालो नै भैसकेको छैन, किन आएछ यति विहानै फोन?’ भन्ने सोचें, मोवाल थिचिएर आएको हो कि जस्तो पनि लाग्यो । हतार हतार उठाएँ, मैले हेलो भन्न नपाउँदै “सन्चै छस् बाबु ?” भन्ने आवाज सुने, आमाको । “म सन्चै छु आमा, तपाईंलाई कस्तो छ ? किन यति विहानै फोन गर्नुभएको?” भनेर सोधें । सपनामा मलाई देख्नुभएछ, बिउँझेपछि मलाई केही नराम्रो भयो कि भन्ने डरले फोन गर्नुभएको रहेछ । आमाको माया न हो । म आँफु आरामै रहेको र सबैकुरा सकुसल रहेको बताएपछि अलि ढुक्क हुनुभयो ।

“सुतिराखेको होलास्, डिस्टर्व भयो होला है ?” आमाले सोध्नुभयो ।

हैन आमा भर्खर कामबाट फर्के, भन्न लागेको थिएँ तर सकिन । “भर्खर उठेर कफी बनाएर पिउँदैछु आमा” मैले भनें । राती सपनामा देख्दा त आत्तिएर फोन गरेकी मेरी आमालाई, रातभर काम गरेर फर्केको हुँ, पार्कमा बसेर पाउरोटी खाँदैछु भन्ने आँट आउँदै आएन, मेरो दिमागले सोची सकेको थियो कि एकाबिहान आमाको निन्द्रा कहॉं लाग्छ र जब उसको सन्तान रातभर नसुती काम गरेर आउँदैछ । त्यसैले नचाहेरै ढाँटे ।

“खाना हरु कस्तो खान्छस् ?” आमाले सोध्नुभयो ।

हातको बर्गर र भेण्डिङ मेसिनले तताइदिएको कफी साथमा छैन झै गरेर भनें, “त्यही त हो नि आमा, विहान कफी र ब्रेड, खाना चाही स्कुलबाट फर्केपछि बनाएर खान्छु ।” जबकी कोठामा खाना नबनाएको पन्ध्र दिनभन्दा बढि भैसकेको थियो । अहिले पनि ढाँटे, साँचो कुरा बताउँनै आँटै आएन ।

“टाइममा त खान्छस् नि ? पढाई कस्तो छ ? काम कति समय गर्नुपर्छ ?” आमाको अर्को प्रश्न थियो ।

मनमनै सोचें, आमाको माया आखिर यै होला । यो जिज्ञाशा, यो चासो ।

यसपाली पनि झुट नबोली नहुनेजस्तो भयो, मिलाएर सबै राम्रै रहेको बताएँ ।

आमाका प्रश्नहरु अझै सकिएका थिएनन, मलाई भने बारम्बार झुट बोलिरहनु पर्दा नरमाइलो लागिरहेको थियो ।

सबै प्रश्नहरुको टालटुले जवाफ दिएपछि आमा अलि ढुक्क भएझै लाग्यो जुन कुरा ऊहॉंको बोलीको मिठास ले बताईरहेको थियो ।

फोन राख्नै लाग्दा आमाले भन्नुभयो, “बाबु ल त मिठो पकाएर खानु ।” हस् भनें ।

फोन राखेपछि लागिरह्यो, आमाको हातले पकाएजति मिठो त कहिले खान पाइएला र यहाँ ? हातको कफी चिसो भैसकेछ, सोचें त्यस्तो बिहान पनि थियो जतिबेला आमाले पकाएर बिस्तारामै ल्याइदिएको ‘दुधवाला चिया’ पनि म अल्छि मानी–मानी पिउँथें ।

आमासंग कुरा गरेपछि पूराना दिनहरु झल्झली सम्झना आउन थाल्यो । बुबाको त्यो दिन नि सम्झनामा आयो जुन समयमा म बेडमा सुतिरहदा मेरा बुबा एकाबिहानै आफ्नो निन्द्रा मार्दै ऊठेर हतारहतार चियाको चुस्की पनि राम्रोसंग नलिई काममा निस्कनु हुन्थ्यो र बेलुका सायद म निदाएपछि आउनुहुन्थ्यो । कहीलेकही १०–११ बजेसम्म फिल्म हेरिरहेको बेला भने बुबासंग भेट हुन्थ्यो, त्यो थकित अनुहार लिएरै भएपनि सोध्नुहुन्थ्यो । “बाबु, सुतेको छैनस् ? धेरै नबस् सुत अब ।”

हाम्रो खुशीका लागि बुवाले गरेको त्यो परिश्रम सम्झेर अहिले बल्ल महशुष हुन्छ अब मैले तिनै बुवा आमाको खुशीका लागि आफ्नो निन्द्रासंग सम्झौता गर्नुपर्छ ।

चिसो भैसकेको बर्गरको अर्को गाँस खाँदै बुबाले सधै भन्ने गरेको कुरा सम्झें, “हेर बाबु कहिल्यै हरेस नखाएस्, दुख सधै दुख रहँदैन, दुखपछि मात्र सुख आउँछ ।”

जापानमा निन्द्रा बेचेर सपना किनिरहेको म, मेरा बुवाका तिनै ‘दिव्य उपदेश’हरुको साहारामा परिश्रम गर्दैछु, आमाको त्यही ममताले हरेक दिन आफुलाई बलियो बनाइरहेछु ।

हिजोसम्म म मेरा बा आमाको भविष्यको साहारा मात्र थिएँ हुँला, अब त्योभन्दा बढि बन्नुपर्छ ।  आज आँफैलाई बुवाको ठाउँमा पाएको छु । लाग्छ, बुढा भैसकेका बुवाको जिम्मेवारी, बुवाको सङ्घर्ष, त्यो बुवाको त्याग र परिश्रम सब आज मेरो । किनकी मैले पनि दिनु छ आमाबुवालाई त्यो बुढेसकालको खुसी, त्यो आनन्द को निन्द्रा र अरु धेरै ।

त्यसैले आज मैले गरिरहेको को यो दुख, सङ्घर्ष, त्याग र परिश्रम ति मेरा बुबा आमाको लागि, ति साना भाईबहीनीको उज्जवल भविष्यको लागि, ति भोली मेरो जीवनमा आउने जीबन साथीको लागि, भोली जन्मने मेरा सन्ततिका लागि र मेरो आफ्नै सुनौलो भविष्यको लागी । आखिर यी सबै कुराले प्रेरणा दिन्छ र त रातारात काम गर्दा नि यो मनले भन्छ, “म अझै मेहेनत गर्नसक्छु ।”

– सोनाम योञ्जन
टोकियो, जापान

तपाई पनि “मैले भोगेको जापान” अन्तर्गत आफ्ना जापान भोगाइहरु हामीमार्फत सबैमाझ बाढ्न चाहानुहुन्छ भने लेखेर म्यासेजमा पठाउनुहोला । आवश्यक सम्पादनसहित प्रकाशन गर्नेछौं । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *