Sunday, August 1जापानबारे सबै कुरा

प्रेरणा बनोस् जापान

जापान आएको दुई साता नबित्दै एक जापानी वृद्धसँग करिब दुई घण्टा एउटा नेपाली रेस्टुरेन्टमा बसेर भलाकुसारी गर्ने अवसर जुट्यो, त्यस दिन म आफु बोल्नेभन्दा धेरै सुनेर बसे । देश विदेश घुमेका ती व्यापारी वृद्धले भन्दै थिए, ‘दोस्रो विश्वयुद्धको भयानक बमबारी पश्चात हामीसँग केही थिएन, थिए त केवल पराजित जनता ! तिनै पराजित जनता नै हाम्रा अमूल्य सम्पत्ति भए, हाम्रो पुस्ताले कडा परिश्रम गर्यो । हामीले हाम्रा सन्ततिको शिक्षामा जोड दियौं ताकि हाम्रो देश फेरी बलियो र सम्वृद्ध बन्न सकोस् र आज हामी धेरै सुविधा सम्पन्न अवस्थामा छौ । ” उनी भन्दै थिए “हरेक ठुलादेखि सानो काम गर्दा, जापानीहरु त्यसको गुणस्तरियता र सरसफाईमा विशेष ध्यान दिने गर्छन् ।” उनलाई नेपाल उच्च हिमशृंखला भएको जलस्रोतको धनी देश हो भन्ने सम्मको जानकारी रहेछ । “देश धनी हुन विदेशी पैसा आकर्षित गर्नुपर्छ, कृषिप्रधान देश नेपालले विदेशमा खपत हुने खेती गर्नुपर्छ” । त्यसो भन्दै गर्दा उनले जापानमा सबैभन्दा धेरै खपत हुने तरकारी दाईकोन (एक विशेष प्रकारको मूला) को खेती गर्न सुझाव दिदै थिए । ती वृद्धको कुरा धेरै दिनसम्म मेरो दिमागमा खेलिरहन्थ्यो ।

हुन पनि दोस्रो विश्वयुद्ध पुर्व जापानी सेनाले धेरै युद्धहरु लड्यो, कतिपयले तत्कालिन जापानी सेनालाई निर्दयी, हिंस्रक र बलात्कारी सेनाको उपमा दिने गर्छन र उसको ज्याजति नियन्त्रणमा लिन अमेरिकाले हिरोसिमा र नागासाकीमा एटम् बम बर्साउन परेको तर्क पनि गर्छन् । संसार जित्ने सपना बोकेर हिडेको देश कसरी पराजित भयो, पराजयबाट तहसनहस भएको अर्थतन्त्र कसरी माथि उठ्यो र रत्नाखर डाकु जस्ता जापानी कसरी बाल्मिकीजस्तो बौद्धिक र नैतिक भए, यो रुपान्तरण हरेक मान्छे र देशका लागी प्रेरणादायी छ ।

जापान एउटा यस्तो देश हो जहाँ एकले अर्कालाई गाली गर्ने, होच्याउने र आलोचना गर्ने त परै जाओस्, अरुको आग्रह मन नै नपरे पनि शीधै अस्वीकार गरिदैन । हाईस्कुल सकाएका विद्यार्थी देखि वृद्धसम्म सबै केहि न केहि काममा जोडिएका नै हुन्छन् । देशको राजनीतिभन्दा आम जापानीहरुलाई आफ्नै कामप्रति गहिरो लगाव छ । आफ्नो नेता र व्यवस्थाप्रति विश्वास भएर होला, जापानमा धेरै कम प्रतिशत जनता मतदानमा भाग लिने गर्दछन् । टोकियो जस्तो बढी जनघनत्व भएको शहर पनि सफा र व्यवस्थित छ । सडकमा खासै प्रहरीहरु नदेखिएता पनि शहर पूर्णतय सुरक्षित छन् | विश्वभरिमा सबैभन्दा कम अपराधका घटना हुने देश जापानमा, रातको १२:०० बजे पनि सडकहरुमा यूवतीहरु निस्फिक्री हिड्डुल गरेको देख्न पाइन्छ । देशको प्रायजसो सबै जनता यति धेरै अनुशासित, लगनशील, कर्मठ र सहयोगी हुन कसरी सम्भव भयो होला ? सायद म जस्तै जापान आउने हरेक विदेशीलाई यो प्रश्नले पक्कै पनि एक न एक पटक घोच्यो होला नै !

जापानको यातायात व्यवस्था विश्व मै उदाहरणीय छ, देशका हरेक भूभाग रेलमार्गले जोडिएको छन्, जुन गम्भीर दुर्घटनाको अवस्थामा बाहेक पूर्वनिर्धारित समयभन्दा १ मिनेट पनि ढिलो हदैनन् । रेलमात्र होइन जापानीहरु हरेक काम निर्धारित समयमा नै गर्छन्, जापानमा नेपालमा जस्तो ‘नेपाली टाईम’ छैन, ३ बजे सुरु हुने कार्यक्रममा सबै ०२:५९ मिनेटमा पुगिसक्छन् र ठिक ०३:०० बजे कार्यक्रम सुरु हुन्छ र निर्धारित समयमा नै कार्यक्रम समापन गरिन्छ । नेपालका समाचारपत्रमा प्राथमिकता पाउने र राष्ट्रिय मुद्दा बनेका निजगढ-काठमाडौँ फास्टट्रयाक र सुरुंगमार्ग जस्ता प्रोजेक्ट, जापानमा मामुली प्रोजेक्टअन्तर्गत पर्छन् जुन हरेक पहाडी ठाउँमा हेर्न देख्न पाइन्छ । नेपालमा बुढीगण्डकी जलविद्युत परियोजनाको सम्भाव्यतामाथि नै प्रश्न उठिराख्दा, जापानको समुन्द्रमुनिको सेईकन टनेल (रेलमार्ग) र मानवनिर्मित ओदाईवा टापु निर्माणपूर्व जापानीहरुले कस्तो प्रतिक्रिया दिन्थे होलान् बुझ्न मन लाग्ने गर्छ ।

एउटा बच्चा जन्मे पछि, उसले आमा-बुवाको स्नेह, घरपरिवार, विद्यालय र समाजबाट केही सिक्दै-भोग्दै हुर्कदै जान्छ । देश र परिवेश अनुसार यो सिकाई र भोगाई फरक पर्ने गर्छ । त्यसैगरि अघिल्लो पुस्ताले सिकाएको संस्कार र विकसित चेतना पछिल्लो पुस्ताले धेरै थोरै अनुशरण गर्दै जान्छ र यिनै पुस्ताहरुबिचको अन्तरसम्बन्धले एउटा गतिशील समाजको चित्र तयार गरेको हुन्छ । नेपाल र जापानको सामाजिक परिवेशको आफ्ना-आफ्नै मौलिक विशेषता र केहि आधारभूत भिन्नता मैले अनुभूति गरे जुन बच्चा-बच्चिको लालन-पालनदेखि नै शुरु हुन्छ । उदाहरणको लागि, खासगरी बच्चा-बच्चिहरु लड्दा, चोट-पटक लाग्दा, आफ्नो ईच्छा पुरा गराउन रुने गर्छन्, नेपालमा अभिभावकले बच्चा-बच्चिहरु रुनेबित्तिकै उसलाई फकाउने, हेरचाह गर्ने र उसका ईच्छा पूरा गरिदिइहाल्ने गरेको पाइन्छ तर जापानमा प्राय बच्चा-बच्चिहरु रुँदा त्यसै छोडिदिएको देखिरहेको हुन्छु, र केहि समयपछि बच्चा-बच्चिहरु आफै शान्त हुने गर्छन् जसकारण सानैदेखि बच्चा-बच्चिहरुमा, अरुमाथि आश्रित नहुने मनोविज्ञान विकास भईराखेको हुन्छ । विद्यालय शिक्षादेखि नै विज्ञान र गणित विषयमा विशेष प्राथमिकता दिने अनि सृजनात्मक कक्षाकार्य र गृहकार्य दिएर बालबालिकालाई सृजनात्मक बनाउन विशेष ख्याल गरेको पाइन्छ तर यसको ठिक विपरीत नेपालका विद्यालयमा विषयलाई गहिरो गरी बुझाउनेभन्दा पनि घोकाउने प्रचलन बढी छ । हरेक कामलाई उत्तिकै सम्मान, स-सानो काममा समेत विशेषज्ञता अनि हरेक विज्ञ र विद्वान सामजिक रुपमा प्रतिष्ठित हुने भएकाले सानैदेखि बालबालिकाहरुले असल मान्छे बन्ने प्रेरणा मिलिराखेको हुन्छ ।

नेपालमा पनि विद्वानहरुको इज्जत हुने गरेता पनि, पछिल्लो समय ज्ञान भन्दा धन आर्जन गर्ने कुरालाई बढी प्राथमिकता दिएको पाइन्छ । एउटा भर्खर ९-१० कक्षा पढ्ने किशोरले खासै नपढेको जग्गा दलालले थुप्रै पैसा कमाएर महँगो गाडी चढेको र उसको मिहिनेत गरी पढाउने शिक्षकले दु:ख गरी-गरी घरपरिवार पालेको देख्दा, त्यस किशोरको मनमा ज्ञान आर्जन गरेर विद्वान बन्नु भन्दा दलाल बन्न श्रेशकर देख्नु अस्वभाविक होइन । यस्तै यावत कारणले अधिकतम किशोरहरु पढ्न छोड्छन्, देशमा खासै उत्पादन नहुँदा, रोजगारको अभावमा युवाहरुलाई विदेशिनु बाध्यता भएको छ । पढे-लेखेका युवाहरुमध्ये पनि ज्ञान र क्षमताका आधारमा प्रतिस्पर्धा नभई चिनजान, राजनैतिक आस्थाका आधारमा अवसर पाउनाले, देश वितृष्णाको केन्द्र बन्न पुगेको छ र बुद्धिजीवीहरु पनि पलायन हुने गरेका छन् । निराशाजनक समाचार र प्रतिक्रियावादी सोच समाचारपत्र र सामाजिक संजालमा पढ्नु हाम्रो दैनिकी भएको छ । देशमै अवसर पाएकाहरु पनि अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक हस्तछेपदेखि निराश छन्, कोहि कामचोर भएका छन् त कोही अधिकारको गलत फाइदा उठाउदै भ्रष्ट भएका छन् भने केहि अझै पनि देशमै संघर्ष गर्दै देशलाई यो अवस्थासम्म पुर्याएका छन् ।

जापानमा सबै कुरा राम्रा मात्रै छन् भन्ने पनि होइन, विश्वराजनीतिको चपेटासहित केहि सामाजिक समस्या जापानले भोग्दै आउनु परेको छ । वृद्धहरुको जनसंख्या वयश्कहरुभन्दा बढी हुनु, युवाहरुमा बिहे र परिवारप्रति रुची नहुनु, कामले उत्पन्न हुने डीप्रेशनका रोगीको संख्या दिनानुदिन बढ्नु आदि सामाजिक समस्या हुन् भने ठुलो परिमाणमा खनिज पदार्थ तथा पेट्रोलियम पदार्थको खानी नहुनु र विदेशी आयातमा निर्भर हनु, सरकारको ऋण वार्षिक कुल ग्राह्यस्थ उत्पादन भन्दा करिब दुईगुणा बढी हुनु आदि वित्तीय समस्याहरु हुन् । तर यो ऋणको ठुलो हिस्सा कुनै विदेशीसंग नभई उसकै जनतासँग छ । आज जापानले जे जति उपलब्धि हासिल गरेको छ, उसकै जनताको मेहिनेत, परिश्रम र राष्ट्रप्रति जिम्मेवारीबोधका कारणले हो र मलाई जापानको सबैभन्दा मन पर्ने कुरा पनि यिनै जापानी हुन् ।

देश विकासको आधार जनता नै हुन्, नेताहरु र राजनीतिक पार्टीहरु पनि आखिर जनता कै प्रतिनिधि हुन् । हामी अल्पविकसित राष्ट्र हुनुमा न कुनै विदेशीको हात छ न त कुनै नेताको, हामी नै दोषी छौ, हामीमा विकसित चेतनाको दोष छ, हामीमा मौलाएको प्रवृति र अरुलाई देखाएर आफु चोखिने सोचको दोष छ । यही चेतना, प्रवृति र सोच हामीमा रहदासम्म, हामी विकसित राष्ट्र बन्न असम्भवप्राय छ ।

लेखक: खेम ज्ञवाली
उप-प्राध्यापक, थापाथली क्याम्पस
हाल : द युनिभर्सिटी अफ टोकियो, जापानमा विद्यावारिधि अध्ययनरत

Leave a Reply

Your email address will not be published. Required fields are marked *