Monday, September 26जापानबारे सबै कुरा

जापानमा विश्वासमै चल्छन् ‘पसले बिनाका पसल’

भित्रपट्टी जाली अनि सिसा, बलियो फलामे ग्रिल बलियो सटरले बारेर बनेको पक्की पसल होस् या घरमा जतिनै ताल्चा मारेर गार्ड राखे पनि दिनदहाडै चोरी हुनसक्ने हाम्रो देश नेपालमा पसले बिनाको पसलको कल्पनासम्म पनि गर्न सकिँदैन। जतिसुकै बलियो चाबी लगाए पनि फोरेरै छाड्छन चोरहरुले । त्यसैले देउताको मूर्तिसमेत फलामे बारले छेकेर ताल्चा ठोकेको देखिन्छ ।

तर अति विकसित जापानमा यस्ता पसले बिनाका पसलहरु अझै पनि थुप्रै ठाउँमा देख्न पाइन्छ । सुन्दा अचम्म लाग्ला, तर यहाँ शहरबाट ५–१० मिनेट जति भित्री बस्तीहरुमा पैदल हिँड्ने हो भने पनि मान्छे हिँड्ने बाटोहरुमा, आलु, गोलभेडा, फलफूल लगायत धेरै तरकारी, लुगा, विद्युतीय सामान आदि इत्यादी सामानहरु बिक्रीका लागि राखिएका हुन्छन् । यस्ता पसलमा न कुनै सटर हुन्छ, न कोही पसले नै । मात्र किनेर लानेहरुको लागि प्लास्टिकका झोला अनि पैसा राख्ने खुत्रुके राखिएको हुन्छ।

यी माथिका दुईवटा फोटो म कलेज जाने बाटोमा राखिएका मैले सँधै देखिरहने पसलहरु हुन् । यी पसलमा कुनै पसले छैनन्, न त यहाँ कुनै भोटे ताल्चा नै लगाइएका छन् । मात्र मिलाएर सामानहरु राखिएका छन् बेबारिसे तरिकाले । तर अचम्मको कुरा, न कसैले चोरेर लान्छन्, न त पसले छैन भनेर पैसा कम राखेर लान्छन्।

पहिलो फोटोमा एउटा छाताको मुनि सुन्तला बेच्न राख्न राखिएको छ। छेउमा एउटा पैसा राख्ने बाकस छ। यहाँ बाटोमा हिँड्ने मान्छेहरूले किन्न मन लागे झोलामा राखिएको सुन्तला लिएर, तोकिएको पैसा राखेर जान्छन्।

त्यसैले यो पसलमा पसले भन्नु नै विश्वास हो र विश्वास कै कारोबार भएको मलाई लाग्छ ।

यस्तै दोस्रो फोटोमा सुन्तला, मुला, आलू जस्ता फलफूल अनि तरकारी र त्यसको भाउ लेखेर टालिएको छ।

यहाँ पनि कुनै पसले छैन, आउने ग्राहकले आफैले सामान लिएर तोकिएको रकम टिनको बट्टामा हालेर किन्ने गर्छन्।

नेपालमा पनि यस्तै विश्वास गर्ने वातावरण भैदिएको भए ? यस्तो अनौठो पसलको कल्पना हामीहरुले आफ्नै बानी व्यवहार नसुधारी हुँदैन जस्तो लाग्छ । तर पनि आशा गरौँ, नेपालमा पनि यस्तो पसले बिनाको पसल छिट्टै राख्न सकौं । के यो सम्भव छ ? आ–आफ्नो विचार राख्नुहोला तल कमेन्टमा ।

श्रोत | Photo : Ved Kafle, Krishna K. Shrestha, Mysansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *