Wednesday, September 22जापानबारे सबै कुरा

जापानको गाउँ वा ठूला शहर, कहाँ बस्नु ठीक ?

विकासको चरमचूली टेक्दै गरेको जापानमा जिवन चलाउनका लागि आवश्यक सेवा सुविधाहरु सबैतिर पुगेका छन् । के गाउँ–के शहर पानी विजुली, मोटरबाटो रेल लगायतका सेवासुविधा पुगेका छन् । तरपनि ग्रामिण भेगको जिवन र ठूला सहरहरुमा विताइने जिबनवीच अन्तर त भै नै हाल्छ । आजको लेखमा हामी जापानको ग्रामिण र शहरी क्षेत्रको जीवनशैलीबीचको भिन्नताबारे केही जानकारी दिने प्रयास गर्दैछौं । यो जानकारी विशेषगरि नेपालबाट जापान आउने तयारी गर्दैगरेका वा सोच बनाउनुभएका साथीहरुलाई जापानका ठूला सहर र ग्रामिण क्षेत्र वीचको फरक थाहा पाउनका लागि उपयोगी हुनेछ । जापान आएर शहरमा वा ग्रामिण क्षेत्रमै मात्र बसिरहेकाहरुलाई पनि आफु नबसेको क्षेत्रको जीबनशैलीबारे जान्नका लागि सहयोगी हुनेछ ।

ठूला शहरको राम्रो पक्ष

१.सुविधा

ठूला शहरको प्रमुख विशेषतामध्येको एक हो त्यहाँको सुविधासम्पन्न जीवनशैली । त्यहाँ यातायात प्रणाली, सुविधाजनक स्टोर, रेष्टुराँ, पसल, मनोरञ्जन क्षेत्र सबै सजिलै र नजिक नजिकको दूरीमा उपलब्ध हुन्छन् ।

२.रोजगारी

ठूला शहर त्यो हो जहाँ रोजगारीको उपलब्धता पनि सहज हुन्छ । जापानको ग्रामिण क्षेत्रमा रोजगारी अवसरहरु सिमित मात्रामा पाइन्छन् । जनसङ्ख्या जति धेरै भयो रोजगारीका अवसर पनि उति नै बढ्दै जान्छन् ।

ठूला शहरको नराम्रो पक्ष

१.भीडभाडः

ठूला शहरमा बस्नुको फाइदा अधिकांश भएपनि यसका बेफाइदालाई पनि वेवास्ता भने गर्न सकिँदैन । ठूला शहरको सबैभन्दा खराब पक्ष हो यहाँ हुने भीडभाड । यहाँका रेलहरु यति भीड हुन्छन् त्यो भनेर साध्यै छैन । ठूला शहरमा जनसङ्ख्या धेरै हुने भएकाले भीड हुनु पनि स्वाभाविकै हो ।

२.भाषाः

यदि तपाइ अंग्रेजी बोल्ने विदेशी हो र भाषा सिक्न खोज्दै हुनुहुन्छ भने ठूला शहरमा भाषा सिक्नु जस्तो कठिन कार्य अरु छैन । त्यहाँ भन्दा गाउँतिरका बासिन्दाको जापानी भाषा राम्रो हुन्छ । उनिहरुसंग नजिक हुन सजिलो हुन्छ र भाषा सिक्न पनि छिटो हुन्छ ।

ग्रामिण जीवनशैलीको राम्रो पक्ष

१.मौसमी ज्वरो र मौसम

जापानीहरु ठूला शहरमा बसाइ सर्नु अघिसम्म कहिल्यै मौसमी ज्वरोको शिकार हुनु पर्दैन । क्रंक्रिट जंगल पनि भनिने ठूला शहरको तुलनामा गाउँको हावा पानी र मौसम सफा र स्वच्छ हुने भएकाले यस क्षेत्रमा बस्नेहरु एलर्जी, चिसो, र मौसमी हावाको प्रभावमा त्यति आउँदैनन् ।

२.सामुदायिक भावना

ग्रामिण क्षेत्रमा एकता र सामुदायिक भावना र मेलमिलाप ठूला शहरको तुलनामा धेरै हुन्छ । यहाँका मानिसमा एकअर्कालाई सहयोग गर्ने भावना पनि धेरै हुन्छ ।

ग्रामिण जीवनशैलीको खराब पक्ष

१. रुढिवादी र असुविधाजनक

ग्रामिण क्षेत्रको सबैभन्दा प्रमुख खराब पक्ष भनेको यहाँको असुविधा र रुढीवादी सोच नै हो । ग्रामिण क्षेत्र शहरी क्षेत्र झैं सुविधासम्पन्न हुँदैन । यहाँ यातायात, पसल, स्टोर ,रेष्टुराँ लगायतका सुविधा सहज रुपमा उपलब्ध हुन्नन् ।

२.भाषा

हुन त ग्रामिण क्षेत्रमा विभिन्न भाषा सिक्ने अवसरहरु त मिल्छ तर त्यहाँ तपाइसँग कुरा गर्ने व्यक्ति तपाइको अभिभावकको उमेरका हुन्छन् । जापानमा बढ्दो वृद्ध जनसङ्ख्याबाट ग्रामिण क्षेत्र पनि अछुतो छैन । त्यसैले कुराकानी गर्दा कुरा नमल्निे समस्या हुन सक्छ ।

३. रोजगारी

शहरी क्षेत्रमा उद्योग तथा व्यवसायहरु धेरै हुने हुँदा रोजगारीका अवसरहरु पनि धेरै हुन्छन् भने ग्रामिण क्षेत्रहरुमा शहरी क्षेत्रका तुलनामा रोजगारीका अवसरहरु कम हुन्छन् । काम गर्नका लागि बस्ने स्थानबाट धेरै टाढा जानुपर्ने अवस्था हुनसक्छ ।

तपाई कहाँ बस्नुहुन्छ ? माथि उल्लेखित वाहेक थप केही राम्रा र नराम्रा पक्ष छन् भने तलको कमेन्टबक्समा लेखिदिनुहोला है । जानकारी उपयोगी लागेमा सेयर गरेर आफ्ना साथीहरुमाझ पुर्याइदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *