Monday, May 17जापानबारे सबै कुरा

खै कसरी लुट्दैछु र म जापान ?

– प्रकाश पन्त ‘प्रतिराेध’

एउटा साथीले ठट्याैली पारामा मुस्कुराउँदै भन्दै थिए ‘विदेश लुट्नु पर्छ’ । त्यतिखेर म चुपचाप सुन्दै थिएँ । एकछिन हाँसो फैलिएको माहाेललाई शान्त पार्दै अर्का मित्र आक्रोश पोख्दै कुर्लीए । के लुट्छस विदेश ? हामीले विदेश लुटेका छैनाैं, उल्टै विदेशले हामी जस्ता लाखाै युवाको जवानी लुटिरहेको छ । कति मर्मस्पर्शी र सत्यता थियो त्याे भनाइमा । साँच्चै हामीले के लुटेका छाैं र विदेश ? हामी जस्ता युवाको जवानी लुट्दैछ विदेशले । बहत्तर घण्टा न निद्रा न भोक न थकाई कैयाैं पीडा मन भित्र गुम्स्याएर रात दिन नभनी मेशिनको तालमा मेशिन जस्तै वनेर चल्नु पर्ने कति कष्टकर र कारुणीक छ विदेश ! घरदेशमा रहेका अाफ्नाे परिवार, साथीभाइ अाफन्त अनि सिंगाे देशको असीम याद छाति भित्र सजाएर काममा जाेतिएका छाैं ।  साथीभाई, घर परिवार, आफन्त, आमा बाबु अनि बाल बच्चा र श्रीमान श्रीमतीको न्यानो काख लुटेको छ विदेशले । अझै कति प्रेमिकाले आफनो सिंदुर त कति प्रेमीले आफ्नो न्यानो अंगालो नै गुमाएका तिता यथार्थ जीवित छन हाम्रो समाजमा । वैदेशिक रोजगारीको आँकडा केलाउँदा त विदेशले घरवार लुटेकाे छ । अापसी सम्बन्ध लुटेकाे छ । साँच्चै विदेश नहुँदाे हाे त यस्ता समस्याहरू निस्कने थिएनन हाेला सायदै । हालैका दिनमा सम्बन्ध विच्छेद, पारिवारिक वेमेल, पारपाचुकेकाे अाँकडा र ती घटनाहरू हेर्दा सुन्दा अांग नै जिरिङ्ग हुन्छ साँच्चै कसरी बढेर गएका छन् यस्ता घटनाहरू ? आफ्नो धर्म र संस्कार भुल्दै विदेशी संस्कारकाे सिकाे गर्नेहरूकाे संख्या बढेका छन् । विदेशी संस्कार हावी भएकाे छ । साँच्चै एकपटक घाेत्लिएर साेच्ने हाे भने थाहा हाेला खै कसरी लुट्दैछाैं र हामी विदेश ? जतिसुकै सभ्य र विकसित राष्ट्रको कुरा गरे पनि समस्या उही नै हाे ।

विगत एक वर्ष अगाडि म पनि सुदूर भविष्यकाे रंगीन सपना देखेर नै विदेश अाएकाे थिएँ । अाफ्नाे र परिवारकाे सुनाैलाे भविष्य निर्माणकाे लागि जापान उडेकाे थिएँ । लाख कमाउने सपना देखेकाे थिएँ । मेरा ती सुन्दर सपनाहरू त्यतिबेला चुँडियाे जतिवेला यहाँ अाइसकेपछि मैले सुनेकाे, मैले कल्पना गरेकाे जापानभन्दा विल्कुल फरक जापान पाएँ । साँच्चै कति कठीन छ जापान । हरेक महिना लाख कमाउन कति गुमाउनु पर्दाे रहेछ भन्ने कुरा थाहा पाएँ । त्याे लाखकाे विटो नेपालसम्म पुर्याउन कति मुस्किल छ जापानमा ? यति मात्र कहाँ होर हामी नेपालीले नेपालीमाथि गर्ने व्यवहार नै पीडादायक रहेछ यहाँ । एक दिन कुनै रेलमा यात्रा गर्दै थिएँ । एक जना नेपाली दाईलाई देखेर मुस्कुराउँदै भनें दाई फुनावासी झर्न कहाँबाट ट्रेन नोरीखाई गर्नु पर्छ ? ति दाईले बोल्दा पनि मान (येन) नै खर्च हुनेगरी भने-‘त्यति पनि जान्दैनौ भने जापान कसरी आयौ भाई ?’ पछि बुझें कार्यक्षेत्रमै पनि यस्ता स्वार्थी प्रवृत्तिका नेपाली बाक्लै भेटिंदा रहेछन । हुनत यसका पछाडि कामको चाप, अनिद्रा, एक्लोपन हर कुराले प्रभाव पारेको हुँदो हो । अामाले फोनमा भन्दै हुनुहुन्थ्याे बाबु अाज सपनामा देखेर फोन गरेकाे । एकछिन भक्कानिएँ र अाफूलाई भरसक सम्माल्ने काेशिस गर्दै भनें-अँ भर्खर उठें अामा । म कसरी भन्न सक्छु भर्खर दश घण्टा डिउटी सकेर फर्कंदैछु अामा । म कसरी भन्न सक्छु हिजाेदेखि सुतेकै छैन अामा । म कसरी भन्न सक्छु कति दिन नसुतेरै काम गर्छु अामा भनेर । शुरूमा जापान अाएदेखि खाने बस्नेकाे व्यवस्था नमिलेकाे, काम खाेज्न भएकाे सास्ती र हण्डर यहाँ लेखेर साध्य नै छैन । सामान्य अफिसमा काम गरेर हाकिमलाई अाज अाउँदिन काम पर्याे, अाज ढिला अाउँछु, अाज छिटो फर्कन्छु भनेकै भरमा चलेकाे मेराे नाेकरी यहाँ अाएपछि त अाज पाँच मिनेट ढिला अाइस भनेर कामै गर्न नमिल्ने गरी फिर्ता पठाएकाे कैयाै कम्पनीकाे ब्ल्याक लिस्टमा मेराे नाम अग्र पंक्तिमा लेखिसकिएकाे छ । के दशैं तिहार, के माघे सक्रान्ति त के ल्हाेछार अनि के नयाँ वर्ष विदा नै नपाउनु र पाएपनि रमाउन नपाउनु विदेशकाे नियम नै रहेछ भन्दा फरक नपर्ला । कुनै भेटघाटको आयोजना गर्यो भने कुनै न कुनै साथी काममा सिफ्ट नमिलेर बिदा पाईन भन्दै छुटेकै हुन्छ । यसरी रातदिन जाेतिनेहरूले के लुट्छन् र विदेश ? बरू यसाे भन्न सकिन्छ, लाखाैं युवाहरूकाे सपना लुटेकाे छ विदेशले, अाफन्त र परिवारकाे मायाँ लुटेकाे छ विदेशले, कैयाैंकाे घरबार लुटेकाे छ विदेशले, चर्को व्याजमा ऋण लिएर अाएकाहरूकाे गैह्री खेतकाे खले गह्राे लुटेकाे छ विदेशले । त्यसकाे साथसाथै लाखाैं युवाहरूकाे जवानी लुटेकाे छ विदेशले । खै कसरी लुट्दैछु र म विदेश ? खै कसरी लुट्दैछु र म जापान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *