Monday, May 17जापानबारे सबै कुरा

जापान अनुभव : ‘नेपाल फर्केर भाँडा माझ्न लजाउँदिन’

पैसा, पैसा, पैसा । हरेक कुरामा यही पैसाकै जरुरत पर्नेरहेछ । जन्मनका लागि पनि पैसा, बाँच्नका लागि पनि पैसा अनि मर्नका लागि पनि पैसा । बडो नराम्रो बस्तु रहेछ यो पैसा भन्ने कुरा । लिन पनि झण्झट अनि दिन पनि, पैसाकै कारण एक छाक खाएरै टार्नुपर्नेको पीडा, पैसाकै कारण मानिसका आधारभूत आवश्यकता पूरा गर्न नसक्नुका पिडा, पैसाकै कारण आफ्नै परिवारबाट अलग्गिनुपर्नेको पिडा, आफ्नै देशमा, आफ्नै माटोमा पसिना बगाउने रहर हुँदाहुँदै पनि संसारभर छरिएर रहेका देशहरुलाई आजिवन कर्मभूमी बनाउनुपर्ने पिडा बोकेका ति बाध्यताहरुमा जेलिएका हजारौ नेपाली दाजुभाई दिदीबहिनीहरु मध्येको एक ‘म’ ।

सन् २०१६ अप्रिल महिनाको अन्तिम साता । ‘जापानको भिषा’ टाँसिएको पासपोर्ट हातपर्दा खुशी जति थिएँ दुखी त्यतिनै । मन दोहोरो चलिरहेजस्तो लाग्थ्यो । एक मन सोच्थ्यो उता पुगेपछि घरको आर्थिक स्थिती सुर्धाछु, भाई बहिनीहरुलाई राम्रो स्कुल पढाउँछु, बा–आमालाई खुशी दिन्छु । अर्को मनले सोच्थ्यो विदेश हो, सबैकुरा सोचेजस्तै र भनेजस्तै त कहाँ होला र । यत्तिका धेरै धनराशी खर्च गर्नु छ, जिन्दगीमा केही गर्छु भनेर कस्सिएको मेरो जिन्दगी झन पछाडि धकेलिने हो कि ? मनमा अनेक तर्कना र डरहरु कायमै थिए । अन्ततः जापान आउने निर्णय लिएँ ।

जापानको भिषा लागेको कुरा साथीभाई र स्टमित्रहरुलाई सुनाउँदा फरक–फरक प्रतिक्रिया दिन्थे । कोही भन्थे भाग्यमानी रैछस् र जापानको भिषा लाग्यो, कोही युवा अवस्थाको जोश जाँगर विदेशमा खेर नफालेनि हुने भन्दै सम्झाउँथे । जोश, जाँगर र साहस भरिँदै गरेको जीवन म चाँहि कहाँ र केका लागि जाँदैछु ? साथीहरुले र दलालले भनेको भरमा सुनेको जापानमा के फरक होला ? यस्तै यस्तै अनेकथरी कुरा मनमा खेलाउँथे । तरपनि आउने निर्णय गरिसकेको थिएँ, म आउनुनै थियो ।

आएको पनि १८ महिना भएछ । अहिले म सोचिरहेछु मैले नेपालमा सुनेको जापान र जापानमा रहेर प्रत्यक्ष देखेको जापानमा आकासपातालको फरक रहेछ । विकसित देश हो भन्दैमा यहाँ केही बाधा अड्चन छैनन् भन्नु मिथ्या हुन्छ । मानिसको इच्छा र आकांक्षाहरुको कुनै सिमा नै छैन नेपालमा जे सोचिन्छ, त्यो सबै पूरा गर्न सकिएपनि बाह्य परिवेश र आफुभन्दा पहिले नै जापान आएर आफ्नो जीवनशैली सहज बनाइसकेका नेपाली दाजुभाईहरुलाई हेरेर निराश हुनेहरुको कमी छैन यहाँ । काम गर्ने वातावरण देखि शुरक्षासम्म हरेक कुरामा जापान साँच्चिकै विकास भएको देश रहेछ ।

कामलाईनै धर्म मान्ने, सहयोगी व्यवहार भएका हरेक समय शिर झुकाईरहने जापानीहरु देख्दा जापान आएर गलत गरेजस्तो कुनैपनि दिन लागेन । नढाँटी भनौं भने जापान स्वर्गजस्तै लाग्यो । भावनात्मक रुपमा त्यति धेरै नजिक हुन नचाहेपनि जापानीहरुले नैतिकताको पपराकाष्ठा नाघेका छन् । हरेक कुरा सिस्टममा चल्छ । ठूला ठूला चुनावहरु शान्त तरिकाले आउँछन् जान्छन्, न चुनावका दिन बन्द हड्ताल नै हुन्छ, न अनावश्यक पर्चाबाजी । यहाँ राजनीति पनि आफ्नै सिस्टममा चलिरहेको छ । जनताहरु पनि त्यति वास्ता राख्दैनन् क्यारे, कुनैपनि जापानी रेलमा होस् या खाजा खाने ठाउँमा, कतैपनि राजनीतिका कुरा गरेको सुनिदैन । साँच्चै भन्दा यहाँका जनतालाई नेताका पछाडि दौडने फुर्सद नै पो कहाँ छ र ?

यहाँ जापानी भाषा बाहेक अन्य भाषा नगण्य रुपमा प्रयोग हुन्छ । नेपालमा भाषाको तयारी कम गरेर आएका कारण सुरुवाती दिनहरुमा समस्या पर्थ्यो । म भाषाका हिसाबले आफुलाई कमजोरनै मान्छु तर भाषाकै कारण भने काममा असहज महशुष गर्नुपरेको छैन किनकी मैले नजानेको कुरा मलाई सिकाउन जापानी साथी हातको इसाराले होस् या सुस्त बोलेर होस् झर्को नमानी बुझाउँछन् । इसाराकै भरमा यति मजासंग बुझाउन सक्ने कलाले म प्रभावित नहुने कुरै भएन ।

यसरी विदेशी भूमिमा परिश्रम गरिरहँदा मैले यहाँ आफ्नो पसिना मात्र बगाइरहेको छैन, केही धन आर्जन गरेको छु त्यो भन्दा बढि ज्ञान आर्जन गर्ने मौका पाएको छु । यहाँको भौतिक र प्राविधिक विकास मात्र हैन, एउटा मानिभित्र हुनुपर्ने असल गुणहरु पनि सिक्ने मौका पाएको छु, सोच्नका लागि मस्तिष्क फराकिलो भएको छ र आत्मविश्वास बढेको छ । कहिलेकाहीं दुख लाग्छ, प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश कहिले यस्तो बन्ला? कहिले मैले मेरो रगत पसिना देशमै ढुक्कसंग बगाउन पाउँला ? जति नै विकसित भएपनि परदेश घरदेशजस्तो पक्कै हुँदैन । बसिरहन मनले मान्दैन, जान परिस्थितीले दिदैंन ।

अन्त्यमा, जापान बसाइको छोटो समयमा धेरै सिक्ने मौका मिलिरहेको छ । आँफैले आफैलाई चिन्न सिकिरहेको छु । जीवन आखिर यिनै तितामिठा घटनाहरुको भोगाई, संघर्ष र परिश्रमको निरन्तर यात्रा न हो । संघर्षको यो मैदानमा जस्तो कर्म गछौं, त्यस्तै फल अवश्य मिल्छ । पहिले मलाई लाग्थ्यो म अभागी रैछु, आजकल लाग्दैन कि म अभागी हुँ, मैले आफ्नै बलबुतामा परिश्रम गर्न पाएको छु म कसरी अभागी हुनसक्छु ? मलाई जापानलेनै परिश्रम गर्न सिकाइरहेको छ । भोली जापानमा रहुँला नरहुँला तर जहाँ रहेपनि अटल विश्वासका साथ मेहेनत गर्नसक्ने आत्मविश्वास मिलेको छ । काम सानो ठूलो हुँदैन भन्ने बुझेको छु, “अब मलाई नेपाल फर्केर भाँडा माझेरै जीवन निर्वाह गर्नपनि कुनै लाज लाग्नेछैन ।”

-सविन ओली, जापान

तपाई पनि आफ्नो जापान अनुभव हामी मार्फत सबैमाझ बाढ्न चाहानुहुन्छ भने लेखेर म्यासेज गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *