Monday, May 17जापानबारे सबै कुरा

जापानमा आएको ४ वर्षसम्म नि मेरो प्रगति किन भएन ?

– धन बहादुर आले

भर्खर जापान आउँदा १ वर्षको शुल्क र ६ महिनाको कोठाभाडा नेपालबाटै तिरिएको थियो, त्यति फिक्री भएन । काम दु:ख भए पनि पाइएकै थियो, कमाइ राम्रै थियो, हातमा आइफोन आएको थियो । २ लाख जति कमाई हुन्थ्यो, फोनको बिल र तेइकी बाहेक तिर्नु केहि पर्दैनथ्यो । नपढेनी ४ वर्ष जापानमा यहि औसतमा कमाउन पाए त जापान बस्नै पर्दैन, कमाएर नेपाल जान्छु भन्ने सोंच आयो। पढाइमा ध्यान गएन।

जापान आएको ६ महिना बित्यो। फाट्ट-फुट्ट बोल्न सकिने भैयो । हिरागाना-काताकाना बाहेक अन्य बेसिक पढाइका कुरामा त्यति ध्यान गएन, अब पढाइमा खान्जीको अभ्यासको बोझ थपियो। रात-दिन काम गरेर आएर थलिएको शरीर,  एयर-कन्डिसनरयुक्त कक्षाकोठामा निन्द्रा नलागेर के लागोस त ? मेरा लागि बस्ने कोठा ससुराली र कक्षाकोठा घर जस्तो भैसकेको थियो ।

अब कोठाभाडा आफै तिर्नुपर्ने भो, गाक्कोको होस्टेल महँगो लाग्न थाल्यो, कोठा खोज्नु पर्यो । अब पहिलेको कमाईले अलि नपुग्ने जस्तो लाग्यो, काम थपियो, अब देखि ३ ओटा काम ! पढाइ पछि-पछि गर्दै गरौंला।

गाक्कोले दोश्रो वर्षको फी-तिर्न उर्दी जारी गर्यो, अब घरमा पैसा “पठाउन अलि ढिलासुस्ती हुन्छ है “भनेर खबर पनि गर्नुपर्ने भो । उता आइफोनको नयाँ मोडेल बजारमा आयो, किन्नु मन लाग्यो । एउटा कम्पनी छोडेर अर्को कम्पनीको मोबाईल लिईयो, पुरानो कम्पनीको तिर्नुपर्ने रकमलाई ‘सायोनारा’ ! अलि अलि चिनजान-साथीभाई बढे, खाली समय रमाईलो गर्ने पर्यो, हैन र ?

एक वर्ष बित्न आँट्यो, कक्षामा नयाँ-नयाँ मोटा किताब भित्रिए, उता पुरानो किताबबाट केहि सिकेको छैन। आधार केही बनेको छैन, अब कहाँ पढ्न सकिन्थ्यो र ? N3 वा N2 पास नभैकन स्युस्योकु गर्न र नयाँ गाक्को खोज्न सकिन्न भन्ने आतंक सेन्सेइहरुले फैलाउनुभएको थियो, तनावै-तनाव ! मन नलाई-नलाई फारम भरियो, साढे पांच हजार चैट ।

पढाइ जे सुकै होस्, आफुलाई सेन्मोन गाक्को लागि पैसा जम्मा गर्नुछ, त्यो नभई जापानमा बस्न पाइदैन भन्ने राम्रो संग थाहा थियो। अब ऋणको भार त्यति थिएन, शरीरले पहिले भन्दा अलि आराम पनि खोज्दै थियो, त्यसैले सजिलो र अलि धेरै जिक्यु भएको काम खोज्न तिर लगियो। JLPT परिक्षा नजिक आयो, तयारी गरेको थिएन, साढे पांच हजार तिरेको, दिन त पर्यो नै, त्यो पनि अनुभवका लागि। परिक्षा दिईयो, आधा पनि हल गरेको छैन तर साथीहरुलाई केही त भन्ने पर्यो “खान्जी गाह्रो भो, अरु त राम्रै भो ” !

अब सुरु भयो सेन्मोन गाक्को (Vocational School) खोज्ने लहर ! “कहाँ सजिलै घुस्न पाइन्छ ?” कहाँ के पढाईन्छ संग मतलब छैन, मतलव छ त केवल सुरुमा कति पैसा तिर्न पर्छ, कति घण्टा पढाई हुन्छ, वर्षमा कति छुट्टी हुन्छ र भिसा कति दिन्छ । आफूलाई आरुबाइतो डिस्टर्ब नहुने खालको समयमा पढाइ हुने गाक्को चाहियो ।

निहोङ्गो गाक्को सोचुग्यो भैयो, सोचुग्यो-सिकी रमाईलो भयो, फेरी कोट-पाइन्ट लगाउने साईत जुर्यो। सेन्मोन गाक्को सुरु भयो, निहोङ्गो गाक्को भन्दा निकै सजिलो, कसैले पढ भनेर भन्दैनन्, पढाएको पनि बुझिदैन, मतलब पनि छैन, आफुलाई पढ्नु मन लागे पो पढाएको पनि बुझिन्थ्यो ! पढाइ खासै नहुने भए पनि शुल्क भने निकै महँगो, त्यो पनि समय मै भुक्तान नगरी नहुने। पहिले जस्तो दु:ख गरेर काम गर्न मन नै थिएन त्यसैले कमाई र खर्चको हिसाबकिताब बराबर थियो ।

भाषा पढ्ने भनेको त निहोङ्गो गाक्को मै रैछ भनेर महसुस हुन थाल्यो, दैनिकी लेवलमा बोल्न सक्ने बाहेक भाषा खासै बनेको थिएन, बनोस पनि कसरी, भाषा पढाई हुने भए पो ! दायाँ-बायाँ संगै पढ्नेहरुले के गर्दैछन भनेर नबुझेको हैन, सबैको अवस्था उस्तै देंखे। जापान आएको पनि ३ वर्ष पुग्न लागेकोले एक पटक नेपाल गएर “रिफ्रेस” हुन मन लाग्यो । गर्मी विदा एक महिना जति नेपाल गएर आइयो तर मनमा खिन्नता उस्तै थियो। बरु जापान मै बसेको भए १ महिनामा केही कमाइन्थ्यो नि भन्ने लाग्यो।

सेन्मोनको पढाई पनि १ वर्ष नाघिसक्यो, अब केही गरिएन भने खैरियत छैन भन्ने थाहा थियो। अब दाईगाकु जाउँ कि स्युस्योकु गरुँ दोधारले सताइरहेको थियो। दाईगाकु जाउँ, फेरी उही पैसाको समस्या। स्युस्योकु गरुँ, अहिले सम्म एउटा रिरेकिस्यो ढंगले लेख्न आउँदैन थियो। बजारमा एति पैसा तिर्यो भने फलानाले स्युस्योकु गराइदिञ्छ भन्ने हल्ला थियो। एक जना नेपाली दाईले गर्दिनुहुन्छ भनेर भेट्न गइयो, सुरु मै १५ मान डिपोजिट नगरी काम अगाडी बढ्दैन भन्नुभो, फेरी काम पनि के-के हो प्लास्टिक कम्पनी रे गुन्मा-केन तिर। सुनेको थिए एक जना दाईले गुन्मा-केनमा काम पाउनुभएछ, पछि श्रीमती लिएर आएपछि आरुबाइतो नपाएर आफ्नै काम निल्नु न ओकल्नु भएको छ रे ! भो, यता पनि यामेमास !

अहिले तपाइंकोमा आएको छु दाई, भन्ने हो भने घरको ऋण अझै तिरेको छैन। भाषा यस्तै हो दाई, बोल्न-बुझ्न जति पनि सक्छु, खान्जी आउँदैन, के गर्दा ठिक होला ? निहोंगो गाक्कोमा नै राम्रो संग पढाई गरेको भए अहिले यति भौंतारिन पर्ने थिएन होला। बजारमा अर्को पनि हल्ला सुनेको छु, एक जना बंगाली कि पाकिस्तानीलाई ५० मान दियो भने भिसा निकाल्दिन्छ रे, अब कतै भएन भने त्यसकै शरणमा जान पर्ला !

चिनजानकै एकजना भाईसंगको कुराकानीमा तयार पारिएको, अरु कसैको जीबनसंग मेल खाएमा संयोग मात्र हुनेछ ।–लेखक

(लेखक 株式会社 INNTEGRA मा जब कन्सल्ट्यान्टका रुपमा कार्यरत छन् । )

यो पनि पढ्नुहोस्
बाटो नबिराउनुस्, भविष्य उज्जवल छ जापानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *