Wednesday, September 22जापानबारे सबै कुरा

जापानमा म यन्त्रमानव त बनिरहेको छैन ?

– राजु अधिकारी

यन्त्र मानवको शहर म यो शहरमा म आएको धेरै भएको छैन। पहिलो पटक यहाँ पाइला टेक्दा म निकै रोमान्चित थिएँ किन भने सबै कुरा नयाँ लागेको थियो त्यो बेला- नयाँ ठाउ, नयाँ भाषा, नयाँ सस्कृती। मानिसको स्वभाव यस्तै हुन्छ- नयाँ हुँदा सबै कुरा राम्रो लाग्छ अनि पुरानो हुदै गए पछि त्यो कुराको महत्व घट्दै जान्छ। मेरो लागि पनि यो शहरको महत्व पहिले भन्दा घटेको छ। संसार कै सबभन्दा राम्रा र बिकसित शहरहरुमा पर्ने यो शहर सबैको सपनाको शहर हो। मानिसहरु यो शहरमा काम गर्न र बस्न आउनको लागि मरिहत्ते गर्छन । सुन्दर, सफा, ब्यबस्थित, सुरक्षित अनि सबै सुबिधाहरुले भरिपूर्ण यो शहरमा न कतै फोहर देख्न पाइन्छ न त कुनै प्रदुषण नै छ। मानिसहरु निकै सभ्य छन अनि निकै अनुशासित र विनम्र पनि। यस्तो लाग्छ धर्तिको स्वर्ग नै हो यो।

म शहरको मुटुमै रहेको एउटा सानो अपार्टमेन्टमा बस्छु । ठुलो र सुबिधा सम्पन्न घरमा बस्न मेरो हैसियत छैन। सानो भए पनि त्यो अपार्टमेन्ट पनि त्यत्तिकै सफा र सुन्दर छ अनि सजावट पनि त्यस्तै। लगभग सबै कुराहरु स्वचालित छन् अनि यन्त्रबाट संचालित छन्। अपार्टमेन्टमा पस्ने गेट देखि लिफ्ट, ढोका, शौचालय, बत्तीहरु, खाना पकाउने सामानहरु, लुगा धुने मसिन, भाडा धुने मसिन सबै यान्त्रिक छन्। बिशेष गरि यहाँका शौचालयहरुको सफाइले मेरो ध्यान तानेको छ। म सोच्न बाध्य भएको छु- कसरी यति सफा राख्न सकेका होलान यिनीहरुले भनेर। हाम्रो सयन कक्ष र भोजन कक्षहरु बरु फोहर होलान, यहाँका शौचालयहरु सफा छन्।

मेरो एकजना साथीले भन्ने गर्थ्यो- कुनै पनि समाज या कुनै व्यक्ति कति सभ्य छ भनेर जान्नु छ भने उसको शौचालय हेरे पुग्छ। मलाइ पनि त्यो कुरा सत्य लाग्न थालेको छ। यिनीहरुका ती सफा शौलालयहरु नै यिनीहरुको सभ्यताको परिचय दिन काफि छन, अरु कुरा हेर्नु जरुरि छैन। यहाँका मानिसहरु सबै आ-आफ्नै तालमा छन कसैलाई कसै संग मतलब पनि छैन अनि सिकायत पनि। हरेक मानिसहरु यति व्यस्त देखिन्छन कि लाग्छ यहाँ कोहि पनि काम नगरी बस्दैन। हुन त काम गर्नु राम्रो कुरो हो तर यिनीहरुको काम गराइको पारा देख्दा यिनीहरु खालि कामकै लागि काम गर्छन यन्त्रले गरे जस्तो न कि आफ्नो आबश्यकता पुरा गर्न।

बिहान उठेर म कार्यालय जान हिड्छु। घरमा बिहानको खाजा बनाउने मेरो बानि छैन, यहाँका अधिकांश युवायुवतीको पनि त्यस्तै बानि देख्छु म। तर बाहिर खाजा खाँदा निकै महँगो छ। त्यसो त यो शहरमा के नै सस्तो छ र ? यहाँ सबै चिजहरु निकै महंगा छन्। खाना, लुगा, यातायात सबै महँगो छ। मलाई थाहा छैन, यहाँका मानिसहरुले औसतमा कति कमाउछन, तर कमाए जति सायद सबै नै खर्च गर्छन होला जस्तो लाग्छ। म आफ्नो कोठाबाट बाहिर निस्कदै गर्दा त्यहि अपार्टमेन्टमा सफाइको काम गर्ने एउटी कर्मचारीले टाउकै ठोक्न थालि कि जस्तो गरेर झुक्दै मलाइ उसको भाषामा अभिबादन गर्छे। मैले उनीहरुको भाषा बुझ्दिन तर पनि उ निहुरिएको जत्तिकै निहुरिएर उसलाई अभिवादन फर्काउछु अनि आफ्नो बाटो लाग्छु।

बाहिर मौसम निकै सुन्दर छ। यो सरद ऋतुको समय हो, वातावरण निकै नै मनमोहक छ- बिहानको पारिलो घाम, हल्का पवनको झोक्का अनि सफा सडकहरु। मान्छेहरु आफ्नो काममा जान हतार गरि रहेका छन। आज मैले चर्को रातो रङ्गको भेस्ट र जिन्सको प्यान्ट लगाएको छु। मेरो भेस्ट यति रातो छ कि यदि नेपालका गल्लीहरुमा कुनै साँढेले मेरो पोशाक देख्यो भने म माथि झम्टिन आउथ्यो होला। मैले पहिले याद गरेको थिएन तर आज मेरो त्यो पोशाकले मलाइ आफै नै कता कता अप्ठ्यारो महशुस गराई रहेको छ सडकमा। मैले सडकमा हिडी रहेका हजारौ मानिसहरुलाई नियालें, कसैले पनि ‘रंगिन’ पोशाक लगाएका थिएनन्। अधिकाश मानिसहरु सेतो या कालो रंगको पोशाकमा छन्। सबै जसो लोग्ने मानिसहरु सर्ट र प्यान्टमा नै छन्। भेस्ट लगाउनेहरु छदै छैनन् भने पनि हुन्छ, आधा बाहुला भएको सर्ट लगाउनेहरु पनि बिरलै मात्रै देखिन्छन। महिलाहरु पनि निकै औपचारिक पोशाकमा छन्। कसैले पनि चम्किलो रङ्गको लुगा लगाएका छैनन। यस्तो लाग्छ यो अघोषित नियम हो अनि सबैले पालना गरेका छन्।

मलाइ लाग्छ कसैले उनीहरुलाई ‘प्रोग्राम’ गरेर छोडिदिएको छ त्यसैले त्यो प्रोग्रामले तय गरे भन्दा बाहिर सोच्न र गर्न सक्दैनन् उनीहरु। मैले त्यो भिडमा आफुलाई त्यो अघोषित नियम तोड्ने बिद्रोही जस्तो महशुश गर्छु। मैले खाजा खाने त्यो पसल म बसेको अपार्टमेन्टबाट लगभग पाँच मिनेटको पैदल दुरीमा छ। त्यहाँ जान मैले एउटा सडक पार गर्नु पर्छ। मानिसहरु त्यहाँ सडक पार गर्ने ठाउमा हरियो बत्ति पिलिक पिलिक गरेको देखेर दौडदै छन्- केहि सेकेन्डको ढिलाले सायद जीवन नै खत्तम हुन्छ कि जस्तो गरेर। म पनि त्यहाँ पुग्छु, रातो बत्ति बल्छ, सबै रोकिन्छन, म पनि रोकिन्छु। रातो बत्ति पार गर्नु यहाँ पाप हो जस्तो लाग्छ त्यसैले कसैले पनि त्यो पाप गर्न आँट गरेको देखिदैन, सायद उनीहरु त्यसै गरि प्रोग्राम गरिएका छन।

एकै छिनमा सडकको दुवै तिर ठुलो जमात जम्मा हुन्छ सडक पार गर्नको लागि। अनि फेरि रातो बत्ति निभेर हरियो बत्ति बल्छ, मानिसहरु सडक पार गर्छन, सबै तोकिएको साइडमा मात्रै हिड्छन, कसैले पनि झुक्किएर पनि आफ्नो गतल तर्फको साइडमा हिडदैन। मलाइ त्यहाँ पनि बिद्रोही बन्न मन लाग्छ अनि आफ्नो साइड छोडेर अर्को साइडमा जाउँ जस्तो लाग्छ तर म त्यो गर्न सक्दिन, सायद म पनि उनीहरुको संगत र बातावरणले उनीहरु जस्तै यान्त्रिक बन्दै छु। नियम पालना गर्नु राम्रो कुरो हो तर कहिलेकाहीं नियालेर हेर्दा त्यो निकै निरस लाग्दो रहेछ। रमाइलोको लागि पनि जानीजानी नियम तोड्न मन लाग्ने रहेछ कहिलेकाहीं। त्यस्तै सोच्दै म पनि तिनीहरुको भिडमा मिसिएर सडक पार गर्छु।

अलि पर मेरो खाजा खाने पसल आउनै लागेको छ। मैले पुन: त्यहाँ सडकमा हिडिरहेकाहरुलाई नियाल्दै अगाडी बढ्छु। सबै आ-आफ्नो धुनमा छन्। कसैले कानमा इएरफोन लाएका छन् भने कसैले’ फोनमा कुरा गर्दै छन्। म खाजा पसलमा पुग्छु, त्यहाँ पनि ढोका स्वचालित छ, म नजिकै पुगेपछि आफै खुल्छ। म भित्र पसेर ढोकाको दुवै तिर राखिएका खाना मगाउने मसिन मध्यको दाहिने तर्फको मसिनमा गएर आफ्नो खाजा मगाउछु गर्छु अनि त्यो मसिनबाट निस्केको कागतको टुक्रा लिएर कुर्सीमा बस्छु। सफा, स्वच्छ अनि ठिक्कको मात्र अनि सबै मिलाएको सन्तुलित खाजा छ त्यो पसलमा, अनि त्यसमा समुद्री खाना पनि मिसिएको हुन्छ, मलाइ मन पनि पर्छ। समुद्र तटको शहर भएकोले यो शहरका बासिन्दाहरुले समुद्री खाना निकै खान्छन।

खाना कुर्दै गर्दा मैले त्यहाँ खाना खाइ रहेकाहरुलाई नियाल्छु अनि मेरो छेउमा बसेको एउटालाई हेर्छु। मेरो मनसाय उसंग बोल्नु हुन्छ तर उसले म तर्फ हेर्दै हेर्दैन, उ फोनमा मस्त छ। अगाडिको कुर्सीमा मेरो आमने सामने भएर एउटी अधबैसे युवती बसेकी छे। उ पनि फोन मै मस्त छे। उसंग पनि मैले कुरा गर्न खोज्छु तर उसले पनि मलाइ हेरेकी छैन। उनीहरुसंग कुरा गर्ने प्रयास असफल भए पछि म त्यहाँ भएका अरुहरुलाई पनि हेर्छु। सबै आ-आफ्नो सुरमा छन्। प्राय जसो फोन मै मस्त छन्, केहिले खाइ रहेका छन्, कोहि खाएर फर्किदै छन् अनि खानको लागि कोही आउदै छन्, कोहि शुन्यतामा टोलाएर हेरिरहेका छन्- कुनै निकै गम्भीर प्रश्नको उत्तर सोची रहेको जस्तो।

एकै छिनमा मेरो खाजा आउँछ । म पनि अरुहरुले गरे जस्तै हतार हतार गरेर खाजा खाइ सकेर अफिस जान मेट्रो स्टेसन तिर लाग्छु। यहाँ ट्याक्सी निकै महँगो छ, त्यसैले मेट्रो नै सजिलो उपाय हो। म मेट्रो स्टेसनमा भएको मसिनमा टिकेट किनेर मेट्रो चढ्छु। त्यहाँ पनि मानिसहरु आफ्नै तालमा छन्, सबैलाई हतार छ, अधिकांशका आँखा फोनमा छन। मलाइ अचम्म लाग्छ कस्तो यान्त्रिक जीवन हो यिनीहरुको? संसारमै सभ्य, बिकसित अनि बिनम्र भनेर कहलाइएका उनीहरुको न त कसै संग बोलचाल छ, न ठट्टा मजाक छ, न कुनै रंगीचंगी दुनिया छ। खालि बिहान उठ्यो, खाजा खायो, अफिस गयो राति अबेर फर्क्यो, खाना खायो सुत्यो अनि बिहान अर्को दिन फेरी त्यही अफिस गयो।

अधिकांश काम यन्त्रले गर्छ अनि बाँकी काम पनि मानिसहरुले यन्त्र जस्तै भएर गरिरहेका छन्। जीवन चक्र त्यसैगरि घुमी रहेको छ हरेक दिन। अफिसमा पनि जति सक्यो छिटो आउने अनि जति सक्यो ढिलो जानुलाई राम्रो कर्मचारी भनिन्छ यहाँ। काम होस् कि नहोस अफिसमा जती सक्यो ढिलो सम्म बस्नु नै बुद्धिमानी हुन्छ। अनि अफिसमा कुरा गर्दा पनि मुसाले सुन्ला जस्तो गरेर बिस्तारै बोल्नु अनि बिरलै हास्नु यहाँको अर्को बिशेषता हो। अफिसबाट घर फर्कदा म बाटोमा ठिंग उभिएर हेर्छु- सबै जनाको पोशाक उस्तै छ, सबैजना को ब्यबहार उस्तै छ, सबैजना हतारमा छन्, बाटो काट्दा एउटा उभिए सबै उभिन्छन, अनि हिंड्यो भने हिंड्छन। म उनीहरुलाई जति हेर्छु उति उति उनीहरु यन्त्र मानव जस्तो लाग्छ मलाई। बैज्ञानिक र दार्शनिकहरूले चेतावनीका साथ् भन्ने गरेका छन् कि प्रविधिको तीव्र बिकाससंगै यन्त्र मानवले केहि समय पछि मानिसहरुले गर्ने सम्पूर्ण काम गर्न थाल्नेछ अनि मानिसको अस्तित्व नै खतरामा पार्ने छ त्यसपछि संसार यन्त्र मानवको कब्जामा हुनेछ।

यदि यन्त्र मानवले संसार चलाउन थाले भने त्यतिबेला संसार निकै निरस हुनेछ, मानवीय संवेदनाहरु हराएर जाने छन्, सबै कुरा मसिनले गर्ने छ। तर आजको मेरो अवलोकनले मलाइ झसंग बनायो। मैले सोंचे- अन्य बिकसित र सभ्य शहरहरुमा पनि यस्तै हालत त होला- सबै कुरा हरु यान्त्रिक हुदै होलान। यी बिकसित भनिएका, सभ्य भनिएका शहरहरुमा साच्चिकै यन्त्र मानवले कब्जा जमाउनु भन्दा पहिले नै सायद मानिसहरुनै यन्त्र मानव हुन लागेका त होइनन? आफुलाई हेर्छु, आफ्नो दैनिक जीवन नियाल्छु अनि मलाइ डर लाग्छ- कतै म आफै पनि यहि यान्त्रिक शहरका बासिन्दाको संगतले यन्त्र मानव हुन् लागेको त छैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *