Saturday, August 13जापानबारे सबै कुरा

जापानमा बस्दा खानामा हुने खर्च कम गर्ने उपायहरु

जीवनशैली हेर्ने हो भने धेरै महँगा देश मध्येमा जापान पर्दछ । विशेष गरि विधार्थीहरुको लागि टोकियो जस्ता ठूला सहरमा जीबनयापन गर्न मुस्किल नै हुन्छ । व्यस्त दैनिकी र समयको अभावका कारण महँगा पसलहरुमा किनमेल गर्दा बढि खर्च भैरहेको हुन्छ । आँफैले घरमा बनाएर खाने समयको अभावले वाहिर महंगा रेष्टुरेन्टहरुमा खाना खानुपर्ने बाध्यता पनि हामीमाझ छ । आजको पोष्टमा हामी तपाईहरुलाई जापानमा रहँदा अपनाउन सकिने ५ वटा अत्यन्त महत्वपूर्ण तरिकाहरुको वारेमा जानकारी गराउदैछौ जसले गर्दा तपाईको खानामा हुने फजुल खर्चलाई केही हदसम्म कम गराउन सक्छ । यो पोष्टको उद्देश्य दुख गरेको पैसा सहि तरिकाले खर्च गर्नुस् र केही बचत गर्नुस् भन्ने हो ।

१. होलसेल पसलहरुमा किन्नुहोस्

जापानमा तपाईले २ ठाउँबाट सामान किन्न सक्नुहुन्छ, होलसेल र खुद्रा । इओन, दाइएइ, सेइयु, इतो योकादो जस्ता खुद्रा सुपरमार्केटहरु हुन् । यदी तपाई पैसा बचत गर्न चाहानुहुन्छ भने होलसेल स्टोर्सहरु जस्तै ‘निकु नो हानामासा’ र ‘ग्योमु सुपा’ जान सक्नुहुन्छ । निकु नो हानामासा खासगरी मासु पाइने पसल हो। तर यहाँ ताजा तरकारी र फलफुल पनि पाइन्छ। यसका कतिपय शाखाहरुले घरमै डेलिभरी दिने सुविधा पनि दिन्छन् । प्रत्येक महिनाको २९ गते ‘निकु नो हि’ भन्ने ठुलो सेल समेत लाग्छ जसको नाम तेही मितिलाई तोकेर राखिएको हो । त्यस्तैगरी अमिनो भन्ने अनलाइन सपिङ्ग साइट पनि छ जसले आफ्नो ब्रान्ड अनुसार फ्रीजिंग खानेकुरा विशेषगरि रेष्टुरेन्टलाइ बिक्री गर्छ। साथसाथै बियर पनि आयात गर्छ। वाइन, ओलीव तेल जस्ता कुराहरु कुनै पसलमा नगई अनलाइन पनि किन्न सकिन्छ। यो वेवसाइटले बेलाबेला किनेका सामानहरु फ्रीमा घरसम्म ल्याइदिने र वाइन सेट जस्ता स्किमहरु अफर गर्छ । ग्योमु सुपा जापानको ठूलो होलेसेल प्रदायक मध्यको एक हो । यो सामान आयात गर्ने कम्पनी हो जो सिधा बाहिरबाट सामान जापान ल्याई सस्तोमा उपलब्ध गराउँछ। हलाल गरेका मासु पनि यहाँ पाइन्छ तर किन्नु अघि हलाल लेखेको छ छैन विचार गर्नु पर्छ। माथि उल्लेखित दुवै होलसेल पसलहरुमा आयात गरिएका सस्ता सामानहरु जस्तै बुल्गेरियाको जाम, ग्रीसको रोटी समेत किन्न सकिन्छ।

२. बन्द गर्ने केही समय पहिले सुपरमार्केट जानुस्

माथि नै उल्लेख गरिसक्यौ, होलसेलमा सामान किन्दा हामीलाई सस्तो पर्न जान्छ। यदि तपाई सहि समयमा पसल पुग्न सक्नु भयो भने पनि सस्तोमा सामान किन्नसक्नुहुन्छ । जस्तै इओन, दाइएइ जस्ता सुपरमार्केटहरु बन्द गर्ने बेला पुग्नुभयो भने मिति भएका पाउरोटीजन्य कुरामा ३० देखि ५० प्रतिशतसम्मको छुट पाउनुहुन्छ । म्याद भएका तर म्याद नसकिएका सामानहरु यो समयमा ‘प्राइस डाउन’ गरेर बिक्री गरिन्छ । यसरी किन्दा तपाइको भोलीको लागि हुने आफ्नो खर्च (माछा, मासु, सुशी, लन्च) मा आज नै कमी ल्याउन सक्नुहुन्छ ।

३. गाकुस्योकुमा खानुस्

यदि तपाई बिधार्थी हुनुहुन्छ भने खानको लागि युनिभर्सिटीको क्यान्टिन उत्तम रोजाई हुन्छ र तर तपाई विद्यार्थी हुनुहुन्न तर क्यान्टिन भएका युनिभर्सिटीको नजिक बस्नुहुन्छ भने सस्तो शुल्कमा गुणस्तरीय खाना खान सक्नुहुन्छ । सन्तुलित खानाको लागि सेट खाना (तेइस्योकु) खानु सस्तो र राम्रो पर्छ। प्राय: युनिभर्सिटीका क्यान्टिनहरुमा पार्ट टाइम काम गर्ने गृहिणीहरुले पकाउने हुँदा घरमा खाएको भन्दा कम हुदैन । खाना को लागि मात्र नभई चिया नास्ता मिठाई आदिका लागि पनि गाकुस्योकुमा जान सक्नुहुन्छ।

४. रेष्टुरेन्टमा पार्ट टाइम जागिर गर्नुस्

यदि तपाई रेष्टुरेन्टमा पार्ट टाइम काम गर्नुहुन्छ भने माकानाई ( स्टाफ खाना) अथवा सस्तो पैसामा खाना खान पाउनुहुन्छ । तपार्इ खानामा पैसा खर्च कम गर्न चाहानुहुन्छ भने यस्ता ठाउँमा कम गर्न पनि सक्नुहुन्छ ।

५. अनलाइनबाट सामान किन्नुस्

हामी तपाइलाई पसल वा सुपरमार्केटमा मा गर्इ सामान किन्नु भन्दा अनलाइनबाट खरिद गर्न सुझाव दिन्छौ । अनलाइन सामान किन्दा पसल तथा सुपरमार्केटहरुमा भन्दा सस्तोमा किन्न पाइन्छ र धेरै स्टोरहरुमध्येमा तुलना गरेर सस्तो र राम्रो सामान किन्न सकिन्छ । अर्को कुरा तपाई पसलमा आफै सामान किन्न जानु भयो भने पक्कै पनि चाहिएको भन्दा धेरै नै किन्नुहुन्छ किनभने पसलमा नयाँ उत्पादनहरु थपिएका हुन्छन जुन तपाईलाई खरिद गर्न मन लाग्छ । तपाईको सुचिमा नभएको कुरा किन्दा फजुल खर्च हुन जान्छ। तर अनलाइनबाट खरिद गर्नुभयो भने चाहिने बाहेकका सामान प्राय: मगाईदैन । जसले गर्दा खर्च मात्र नभई समयको पनि बचत हुन्छ। अहिलेको युग नै अनलाइनको हो । सस्तोमा सामान किन्न पाइने अनलाइन स्टोरहरुको लिष्ट हामी केही दिनमा प्रकाशन गर्नेछौं ।

थप केही ?

उल्लेखित तरिका अपनाउनुभयो भने पक्कै पनि तपाइको मासिक खर्चमा कमी आउने कुरा निश्चित छ । यि त भए हामीलाई थाहा भएका कुरा । तपाईलाई पनि यि बाहेकका अरु कुरा पनि थाहा छन् कि खानामा हुने खर्च बचत गर्ने उपायहरु ? छन् भने तलको कमेन्ट बक्समा लेखिदिनुहोला है त । सामान किनमेलका आफ्ना केही अनुभवहरु छन् भने पनि लेखिदिनुस्, जापानमा नयाँ आएका र आउँदै गरेका साथीहरुलाई सजिलो हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *