Wednesday, June 29जापानबारे सबै कुरा

जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु

केहिदिन अघि पेजमा एकजना बहिनीको म्यासेज आयो, “दाई बच्चाको भिषा जन्मेको कति दिनभित्र एप्लाई गर्नपर्ने हो ?कुयाक्सोमा गएर दर्ता गरेपछि पनि भिषा चाहिन्न होला भन्ने सोचेर बच्चाको भिषा नै एप्लाई नगरि बसेको पछि पो थाहा भयो, भिषा चाहिने रैछ भन्ने । भिषा एप्लाई गरेको १ महिना भयो के–के कागज लिएर आइजा भनेर एक पाना चिठी पठाएको छ इमिग्रेसनले, यि कागज पठायो भने भिषा त दिन्छ होला नि है ?”  भाषाको समस्याका कारण नै बच्चाले भिषा नपाउने स्थितीसम्म उहाँहरु पुगेको आँकलन गर्न मलाई समय लागेन । बच्चा जन्मेपछि हस्पिटलमै अथवा दर्ता गर्न जाँदा सिटी अफिसमा पक्कै वहाँहरुलाई अब के गर्ने भन्नेबारे बताइएकै थियो, तर वहाँहरुले बुझ्नुभएन र समस्यामा पर्नुभयो ।

तपाइलाई झट्ट सुन्दा यस्तो पनि हुन्छ र ? भन्ने लाग्नसक्छ तर आवश्यक जानकारीहरुको अभावमा विभिन्न समस्याबाट गुज्रिरहेका नेपालीहरुको जमात ठूलै छ जापानमा, यो हामीले नेपाली इन जापानको आजसम्मको यात्रामा गरेको अनुभव हो । जापानको परिवेशमा खोज्न सक्ने र सोध्न सक्नेहरुका लागि प्रशस्त सूचना र जानकारीहरु इन्टरनेटभरी छरपष्ट छन् तर त्यही खोजी गर्ने शिपको अभाव, समयको पावन्दि र बाहिरी संसारसंगको कनेक्सनमा नभएका नेपालीहरुको संख्या ठूलै छ यहाँ । यो लेख पनि वहाँहरुकै लागि सहयोगी होस् भनेरै लेखिएको हो । भो, भूमिका धेरै नबाधौं, अब लागौं यो लेखको मुख्य विषय अर्थात जापानमा बच्चा जन्मेपछि तपाइले बच्चालाई यहाँ कानुनी मान्यता दिलाउनका लागि गर्नुपर्ने महत्वपूर्ण कामहरु तर्फ । पालनपोषण, स्याहार, नियमित खोप, शिक्षादिक्षा, माया एक ठाउँमा छ तर नेपालमा जस्तै बच्चा जन्मेको ११ औं दिनमा न्वारन र केही महिनामा जन्म दर्ता गरेजस्तै सजिलो पक्कै छैन यहाँ । यस लेखमा हामीले दिन लागेको जानकारी आमा बाबु दुबै नेपाली भएको अवस्थामा पूरा गर्नुपर्ने प्रक्रियाहरुको वारेमा मात्र हो है ।

जन्मदर्ता / रजिस्ट्रेसन

आमा वा बाबुमध्ये एकजना जापानी नागरिक भएको अवस्थामा बच्चा स्वतः जापानी नागरिक हुन्छ तर दुवैजना विदेशी भएको खण्डमा बच्चा जापानमै रहनका लागि Status of Residence प्राप्त गर्नुपर्ने हुन्छ । अर्को अर्थमा बच्चा जन्मेको १४ दिनभित्रमा तपाइ आफु बस्दै आएको सिटी–वार्ड अफिसमा जन्मदर्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । बच्चाको जन्मदर्ताका लागि तपाइले निम्न कागजातहरु तयार पार्नुपर्ने हुन्छ:

१)  जन्मदर्ताका लागि निवेदन ( Shussei todoke) र जन्मदर्ता पत्र ( Shussei shoumei sho )
(हस्पिटलले दिने कागज)
२)  आमा र बच्चाको स्वास्थ्य पुस्तिका ( Boshi kenkou techou )
३)  राष्ट्रिय स्वास्थ्य विमा कार्ड ( Kenkou hoken sho )

४)  आमाबाबु दुबैजनाको पासपोर्ट

* हान्को बनाउनुभएको छ भने सो पनि साथमै लैजानुस् ।

उल्लेखित कागजातहरुसहित आफु बस्ने सिटी वा वार्ड अफिसमा जानुभयो भने जन्मदर्ता स्वीकृति प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ । याद राख्नुहोला यो प्रोसेस बच्चा जन्मेको १४ दिनभित्र पूरा गरिसक्नुपर्छ, समयमा गर्नुभएन भने कारवाही हुनसक्छ ।

स्टाटस अफ रेसिडेन्स (भिषा)

यदि तपाइ बच्चा जन्मेको ६० दिन भन्दा बढि बच्चालाई जापानमै राख्न चाहानुहुन्छ भने जन्मेको ३० दिनभित्र भिषा प्राप्तिका लागि आवेदन दिइसक्नुपर्छ । बच्चाको भिषा प्रोसेसिङका लागि १ महिनाको समय काफी हुन्छ, जति व्यस्त हुनुहुन्छ भनेपनि निम्न कागजातहरु तयार पार्नुहोस् र बच्चाको भिषा प्राप्तिका लागि आवेदन दिइहाल्नुहोस् ।

१) भिषा प्राप्तिका लागि निवेदन फारम (यो फारममा पासपोर्ट नंबर पनि लेख्नुपर्ने हुन्छ तर नेपालको हकमा पासपोर्ट बनाउन १ महिनाभन्दा बढि समय लाग्नेगरेको हुँदा पासपोर्ट बनाउने प्रोसेस चलिरहेको ब्यहोराको अर्को पत्र बुझाउनुपर्ने हुन्छ जुन इमिग्रेशनमै लिन पाइन्छ )
२) आमा बाबुको पासपोर्ट र जाइर्यु काडको प्रतिलिपी । ( Zairyu card & Passport )

३) बच्चाको पासपोर्ट ( बनाइसक्नुभएको छ भने, नबनेको खण्डमा नं १ मा भनेझै गर्नुस् )
४) तपाइ कम्पनीमा कामदारका रुपमा हुनुहुन्छ भने जायस्योकुस्योमेइस्यो (रोजगारीको प्रमाणपत्र) वा विद्यार्थी हुनुहुन्छ भने जाइगाकुस्योमेइस्यो (यो स्कुलमा पढ्ने विद्यार्थी हो भनेर खुल्ने पत्र ) निकाल्नुस् ।
५) तपाइको पछिल्लो कर भुक्तानी पत्र (नोजेइस्योमेस्यो वा खाजेइस्योमेइस्यो)
आमा बाबु दुबैले कर तिर्नुभएको छ भने दुबैको निकाल्नुस्

६) व्यक्तिगत विवरण फारम ( Shitsumon sho )
यो फारम इमिग्रेसनमै पाइन्छ जसमा आमा बाबुको व्यक्तिगत विवरणहरु जस्तै नाम, ठेगाना, राष्ट्रियता, जन्ममिति, विवाह गरेको मिति आदि ।

७) लेटर अफ ग्यारेण्टी ( Mimoto hoshou sho )
यो पनि इमिग्रेसनमै पाइन्छ जसमा घरमुलीले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

८. बच्चाको जन्मदर्ता स्वीकृति पत्र ( Shussei todoke juri shoumei sho )
सिटी वा वार्ड अफिसबाट लिनुपर्छ यो बच्चा को जन्म सिटी वा वार्ड अफिसमा दर्ता भएको प्रमाण हो

९. आमा र बच्चाको स्वास्थ्य पुस्तिका( Boshi kenkou techou )
१०. बसोबास प्रमाणपत्र (Jyuminhyou)
यसमा बच्चा सहित सबै परिवारको नाम संलग्न भएको हुनुपर्नेछ ।

याद गर्नुहोला,
✓ बच्चाको भिषाबावत कुनै शुल्क लाग्दैन ।
✓ भिषाका लागि फोटो आवश्यक पर्दैन (१६ बर्षसम्म नै फोटो चाहिदैन)
✓ तपाइले बुझाएका कागजातहरु फिर्ता पाउनुहुन्न । त्यसैले विवाहदर्ता आदि फोटोकपी बुझाउनुहोला ।
✓ कुयाक्सोबाट लिनुपर्ने डकुमेन्टहरु कम्तिमा पनि तिन महिना भित्र निकालेको हुनुपर्छ ।

माथि उल्लेखित डकुमेन्टहरु तयार गरेर आफुलाई पायक पर्ने इमिग्रेशनमा गएर बच्चाको भिषा प्राप्तिका लागि आवेदन दिन सक्नुहुन्छ । तपाइको आवेदन स्वीकृत भएको खण्डमा इमिग्रेसन गएर भिषा सहितको जाइर्यु कार्ड लिन सक्नुहुन्छ । यदि तपाइ वकिलमार्फत भिषा एप्लाई गर्दै हुनुहुन्छ भने माथि उल्लेखित मध्ये केही कागजपत्र वकिलले नै तयार गरेर भिषाका लागि आवेदन दिन्छन् बाँकी डकुमेन्टहरु तपाइ आफैले जुटाउनुपर्ने हुन्छ ।

यदी तपाइले बच्चा जन्मेको ६० दिनसम्म पनि भिषाका लागि आवेदन दिनुभएन भने तपाइको बच्चा जापान बस्न योग्य हुनेछैन, ओभरस्टे मानिनेछ र कानुनबमोजिमको प्रक्रिया हुनेछ ।

बच्चाको पासपोर्टका लागि निवेदन

जापानमा बच्चालाई कानुनी बनाउनका लागि तपाइले गर्नुपर्ने अन्तिम काम बच्चाको पासपोर्ट बनाइदिनु हो त्यसका लागि तपाइले जापानस्थित नेपाली राजदूतावासमार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । बच्चाको पासपोर्ट बनाउने सम्बन्धमा आवश्यक कागजातहरु, फारम भर्ने प्रक्रिया र अन्य थप जानकारीहरु हामीले केही समय अघि छुट्टै पोष्ट गरेका थियौं सो पोष्टमा भनिएअनुसार गर्नुहोला है त । पोष्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

आशा छ तपाइलाई हामीले यहाँ दिएका जानकारीहरु उपयोगी हुनेछन् । तपाइसंग पनि यसबारे थप केही अनुभव, जानकारी वा सल्लाह छन् भने कमेन्टमा लेखिदिनुस् है जसले नयाँ साथीहरुलाई सहयोग मिलोस् । जापानमा नेपालीहरुको बसोबास सहज बनाउने हाम्रो प्रयासमा सदैव तपाइको साथ र सहयोगको अपेक्षा रहनेछ । यो पोष्ट उपयोगी लाग्यो भने सेयर गरेर अरुलाई पनि जानकारी दिनुस् न है ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *