Sunday, August 1जापानबारे सबै कुरा

अनलाइनमा सस्तो सामान कसरी खोज्ने ?

जापानमा बस्ने नेपालीहरुमाझ अनलाइन सपिङको चलन बढिरहेको छ । तर सस्तो सामान खोज्दा फेसबुकमार्फत विक्री हुने विभिन्न सामानहरुमा धेरै नेपालीहरु ठगिइएका छन् । जापानमा धेरै अनलाइन सपिङ साइटहरु छन्, ति सबैमा एउटै सामानको पनि फरक-फरक मूल्य हुन्छ । तिमध्ये सस्तो कुनमा पर्छ भन्ने खोज्न समय लाग्छ । त्यस्तो अवस्थामा प्राइस कम्प्यारिजन गर्ने वेवसाइटहरु उपयोगी हुन्छन् । यो जानकारी त्यस्तै वेसाइटका बारेमा हो ।

चाहे अनलाइनमा शपिङ गर्न होस् वा अफलाइन जापानमा क्रेताहरुको लागि महत्वपूर्ण औजार हो मूल्य तुलना गर्ने साइट काकाकु डट कम । जापानमा त्यति धेरै नाम नसुनेका अनेक इ–कमर्श बजार छन् । राकुतेन र एमाजन जापान अनलाइन खुद्रा क्रेतामाझ निकै चलेको वेवसाइट हो तर आफूलाई चाहिएको वस्तु कहाँ सस्तोमा पाइन्छ भनेर खोज्न भने काकाकु नै उत्तम गन्तव्य हो ।

व्यवसायिक दृष्टिकोणमा काकाकुडटकमले मूल्यको तुलनात्मक सूचि (यसका लागि यसले शुल्क पनि लिन्छ) र प्रडक्टको निःशुल्क सूचि/एकत्रीकरण दुबै दिन्छ ।

उपभोक्ताको दृष्टिकोणमा काकाकुको सबैभन्दा राम्रो विशेषता भनेको वस्तुको वर्गीकृत सूचि हो । आजभोलि हरेक प्रडक्ट-केन्द्रीत साइटले यस्तो सुविधा दिन्छन् । तर यस मामिलामा काकाकु अलि अगाडि छ । गलत वस्तु किनिन्छ कि भन्ने चिन्ता यसमा हुँदैन । प्रडक्ट टप हो कि अरु एडिटर रोजाइ भन्ने कुरा यसमा खुलाइएको हुन्छ । यसको मोबाइल साइट छ । यसमा बार कोड सर्च एप पनि छ ।यो वेवसाइटको अंग्रेजी भर्सन भने छैन ।

लाइन चार्टमार्फत यसले हालै मूल्यमा भएको उतारचढाव देखाउँछ । यसमा निश्चित समयभित्र वस्तुको न्यून र औसत मूल्य देखाइएको हुन्छ । तपाइ ठूलो मात्रामा खरिद गर्ने सुरमा हुनु हुन्छ भने सही समयमा किनेको हो कि होइन भन्ने सुनिश्चित गर्न पनि सकिन्छ । केही एपले त वस्तुको भाउ निश्चित सीमाभन्दा तल गएको बेलामा अलर्ट पठाउँछ । काकाकुको अर्को मुख्य प्रयोग चाँहि यसको कुचिकोमी प्रयोगकर्ता समीक्षा हो । यसमा प्रयोगकर्ताहरुले विविध प्रडक्टबारे प्रतिक्रिया पनि दिएका हुन्छन् । यी प्रतिक्रिया हेरेर तपाइले आफूले किन्न लागेको वस्तुबारे निकै जानकारी लिन सक्नु हुनेछ ।

काकाकुको फेसबुक पेजमा विभिन्न कम्पनीका सामानहरुको अपडेट पनि पाइन्छ । यसको सहायताले निश्चित श्रेणीमा नयाँ प्रडक्टबारे अप टु डेट हुन सकिनेछ । जस्तै तपाइलाई बजारमा आउन थालेका नयाँ क्यामरा चाहिएको छ भने क्यामरा पृष्ठ निकै उपयोगी हुन सक्छ ।

काकाकुका अनेक चाखलाग्दा सहायक कम्पनी पनि छन् । जस्तैः खानामा आधारित ताबेलग, जापानी फिल्महरुको सूचना दिने साइट एइगाडटकम, यात्रासँग सम्बन्धी मूल्य तुलना गर्ने साइट फोरट्राभलडटजीपी आदि ।

पछिल्लो समय काकाकुले विदेशी बजारका लागि पनि मूल्य तुलना सेवा दिन खोजिरहेको छ । कम्पनीले यस अघि नै थाइल्याण्ड, इन्डोनेशिया र फिलिपिन्समा प्राइसप्राइसडटकम मातहत यस्तो सेवा स्थापना र सञ्चालन गरिसकेको छ ।

मूल्य तुलना गर्ने क्षेत्रमा अक्फ्यान पनि राम्रो विकल्प हो । यसले अनलाइन बोलकबोल साइटको उत्तम मूल्य खोज्न उपभोक्तालाई मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *