जापानमा विभिन्न पेशा, व्यवसाय र अन्य क्षेत्रमा संलग्न नेपालीहरुको संख्या लगभग १ लाखको हाराहारीमा पुगेको छ । यसरी नेपालीहरुको संख्या बढेसंगै यहाँ जन्मने नेपाली बच्चाहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै छ ।
जापानमा बच्चा जन्मेपछि छिट्टै नै नेपाल जान वा बच्चा र आमालाई पठाउनुपर्ने छ भने जापानस्थित नेपाली राजदूतावासबाट यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाउनुपर्ने हुन्छ, हतार छैन भने बच्चाको एमआरपी पासपोर्ट नै बनाउनु राम्रो हुन्छ ।
एमआरपी बनाउने र आवेदन फारम भर्ने प्रक्रिया सबैको एउटै हो, राहदानीका लागि आवेदन फारम कम्प्युटरबाटै भर्नुपर्छ, हातले लेखेर हुँदैन । प्रिन्ट गर्दा पेपरको मार्जिन पनि मिल्नुपर्ने भएकाले त्यो कुरामा ध्यान दिनुहोला ।
बच्चाको पासपोर्टको फारम यहाँ क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ भने अस्थायी नावालिग परिचय पत्रका लागि निवेदन फाराम(यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ) भरी त्यसमा उल्लेख गरिएका निम्न कागजात सहित आवेदन दिनुपर्छ:
१. वच्चाको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (तोदोकेजुरीसोमेस्यो)
२. वच्चाको वावुको नागरिकताको प्रतिलिपि
३. वच्चाको वावुको राहदानीको फोटोपेजको प्रतिलिपि
४. वच्चाको आमाको नागरिकताको प्रतिलिपि
५. वच्चाको आमाको राहदानीको फोटोपेजको प्रतिलिपि
६. विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि
७. बच्चाको जाइर्योउ कार्डको कपी
८. पासपोर्ट साइजको फोटो २ प्रति
‘तोदोकेजुरीसोमेस्यो’ भनेको वच्चाको जन्म दर्ता प्रमाणपत्र हो जुन तपाई आफु बस्ने सिटी वा वार्ड अफिसमा गएर माग्नुपर्ने हुन्छ । बच्चाको फोटो खिच्दा २ कान देखिएको, मुख नखुलेको र सीधा क्यामेरामा हेरेको खिच्नुहोला । फोटोको ब्याकग्राउण्ड सेतो हुनुपर्छ भने साइज ३५ एमएम बाई ४५ एमएमको हुनुपर्छ । फारम भर्न र बच्चाको फोटो तयार पार्न आफै सक्षम हुनुहुन्छ भने आफैले गर्नुभए पनि हुन्छ नत्र प्रोफेसनल हरुको सहयोग पनि लिन सक्नुहुन्छ ।
भरिएको फारम, फोटो तथा माथि उल्लेखित कागजातहरुलाई टोकियोमा रहेको नेपाली राजदूतावासमा पोष्टमार्फत पठाएर वा आफै उपस्थित भएर बुझाएर पासपोर्टका लागि आवेदन दिन सक्नुहुन्छ । एमआरपी पासपोर्ट र अस्थायी नावालिग परिचय पत्रका लागि आवेदन शुल्क एकमुष्ठ १५ हजार येन लाग्छ । माथि उल्लेखित कागजात र पैसा जापान पोष्टमार्फत पठाउन सक्नुहुन्छ । पठाउँदा पैसा संगै खाममा हालेर पठाउनु पर्ने भएकाले रजिस्टर्ड मेल (गेनकिनखाकितोमे) गरि पठाउनुहोला । पासपोर्ट बनेर फिर्ता आउनका लागि एउटा खाली खाममा तपाईको ठेगाना लेखेर संगै राखि पठाउनुहोला ।
सबै कागजात पठाउने ठेगाना यो होः
EMBASSY OF NEPAL
Fukukawa House B,
6-20-28 Shimomeguro,
Meguro-Ku,Tokyo 153-0064
Tel: 03-3713-6241,6242
अहिलेको समयमा पासपोर्ट बनेर आउन २ महिना वा सो भन्दा बढि पनि लाग्नेगरेको छ ।
बच्चाको ट्राभल डकुमेन्टका लागि आवश्यक कागजात माथि उल्लेखित गरेकै हुन, पासपोर्ट फारमको सट्टा एउटा निवेदन आवश्यक पर्छ । निवेदनको नमूना यहाँ छ । ट्राभल डकुमेन्टका लागि राजश्व दस्तुर ५ हजार येन लाग्दछ ।
बुझ्नुपर्ने कुरा के हो भने, यो ट्राभल डकुमेन्ट एकतर्फि यात्राका लागि मात्र हो, यसले जापानबाट नेपाल जान मात्र मिल्छ । आउँदा पासपोर्ट अनिवार्य चाहिन्छ ।
थप केही जानकारी आवश्यक परेमा हामीलाई म्यासेज गर्न पनि सक्नुहुनेछ ।