Sunday, December 4जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानमा क्रेडिट कार्ड लिने प्रकृया

जापान आइसक्नुभएको छ भने क्रेडिट कार्ड के हो र यसले के काम गर्छ भन्नेबारेमा बताइरहनु खासै जरुरी नहोला । प्लास्टिकको सानो कार्ड जसमा दिइएको उधारो सुविधा अनुसार आफुलाई आवश्यक सामान एक टच वा कार्डमा भएको जानकारी प्रविष्ट गरेपछि अनलाइन वा स्टोरहरुमा किनमेल गर्न सकिन्छ, सामान्य भाषामा त्यसैलाई नै क्रेडिट कार्ड भनिन्छ । हुन त आजकल भर्चुअल क्रेडिट कार्डको समेत सुरुवाती भैसकेको छ तर हामी यहाँ खल्तीमै बोकेर हिड्न मिल्ने क्रेडिट कार्डकै बारेमा चर्चा गदैछौं ।

हुन त जापान क्यास मै कारोबार गर्न मन पराउने देश हो । यहाँको जनसंख्याको ठूलो हिस्साले क्रेडिट कार्ड प्रयोग गर्दैनन् । सायद उनीहरु नगद कारोवारमै विश्वास गर्छन । तर पछिल्लो समय अनलाईन सपिङहरुको बढ्दो प्रयोगका कारण क्रेडिट कार्ड प्रयोगकर्ताहरु बढिरहेका समाचार आइरहेका हुन्छन् । बिजनेश गर्नेहरुका लागि त झन क्रेडिट कार्ड अनिवार्य नै हुन्छ । आजकल त मोवाइल लिंदा पनि क्रेडिट कार्ड नभएकालाई नदिने गरेको पनि पाइन्छ । क्रेडिट कार्ड जारी गर्ने कम्पनी अनुसारका नियमहरु फरकफरक हुने हुँदा यहाँ हामीले दिने जानकारी केवल हाम्रो आफ्नो अनुभवहरुको संगालो मात्र हो । सबैको हकमा यहाँ भनिएका कुरा लागू नहुन पनि सक्छन् ।

के जापानमा विदेशीले पनि क्रेडिट कार्ड लिन पाउँछन् ?

अवश्य पाउँछन् तर लिनका लागि जापानी नागरिकहरुको भन्दा केही गाह्रो भने पक्कै हुनसक्छ । अनुभवका आधारमा भन्ने हो भने केही बर्ष अगाडि भन्दा अहिले क्रेडिट कार्डमा केही कडाई भएको छ, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले गरेको जालसाँजीकै कारण विदेशी(विशेष गरि विकशिल देशहरुका नागरिक, जस्तै नेपाल) हरुलाई हत्तपत्त विश्वास गरेर क्रेडिट कार्ड दिने कम्पनी कम छन् ।

क्रेडिट कार्डको प्रयोगका फाइदा–बेफाइदा के के हुन ?

फाइदाका विषयमा माथी पनि कुरा भैसकेको छ, सजिलै किनमेल गर्न पाउनु, क्यासिङ सुविधा छ भने लिमिट अनुसार क्यास ऋण नै लिन मिल्नु, सामान खरिद गर्नेबेलामा नै पैसा नभए पनि हुने (पछि तिर्न मिल्ने) आदि कुराहरु क्रेडिट कार्डको प्रयोगका फाइदा हुन् भने क्यास पैसा तिर्नु नपरेका कारण खर्च धेरै हुनसक्ने, कार्डको जानकारी गलत व्यक्तिका हातमा पर्यो भने अनाधिकृत प्रयोग हुनसक्ने, क्यासिङमा महंगो ब्यादजर र बार्षिक प्रयोग शुल्क लाग्ने आदि हुन ।

क्रेडिट कार्डका एप्लाई गर्दा ध्यान दिनुपर्ने कुराहरु

जापानमा विशेषगरि पाँच मुख्य क्रेडिट कार्ड कम्पनीहरु (JCB, Visa, MasterCard, Diner’s Club, American Express) ले क्रेडिट कार्ड सुविधा दिंदै आएका छन् । तपाई हालसालै जापान आउनुभएको छ र क्रेडिट कार्ड चाहानुहुन्छ भने तल दिईएका बुँदाहरुमा ध्यान दिनुहोला ।

१. आफै उपस्थित भएर फारम भर्नुहोस् : जापानमा क्रेडिट कार्ड सुविधा उपलव्ध भएका बैंकहरु, रिटेलर कम्पनी, स्टोरहरु तथा अनलाईन कम्पनीहरु हुन्छन् । विभिन्न कम्पनीहरुका अनलाइन फारम भरेर पनि क्रेडिट कार्ड प्राप्त गर्न सकिन्छ। जापानी भाषामा राम्रो दक्षता छ भने यो सहज पनि हुन्छ तर भाषामा दक्षता नहुनेहरुका लागि भने आफुले क्रेडिट कार्ड लिन लागेको बैंक, स्टोर वा एजेन्टकहाँ स्वयं उपस्थित भएर फारम भर्नु उपयुक्त हुन्छ, प्रायगरि सबै कम्पनीहरुले फारम जापानी भाषामा नै बनाएका हुनाले तपाई आफुँसंग जापानी भाषाको राम्रो ज्ञान छैन भने साथीहरुको सहयोग लिन सक्नुहुन्छ, साथीसंग जान सम्भव छैन भनेपनि कम्तीमा आफ्नो नाम, ठेगाना लेख्न सक्ने र सोधिएका प्रश्नहरुको उत्तर दिन सक्ने भने हुनुपर्छ ।

२. गलत सूचना नदिनुहोस् : क्रेडिट कार्डका लागि आँफैले फारम भर्दा वा फारम भरिदिने व्यक्तिहरुको सहयोग लिंदा फारममा भर्नुपर्ने सबै जानकारीहरु सही भर्ने गर्नुपर्दछ । हामीले भरेको फारम भेरिफिकेसनका लागि जाने भएकाले तपाइले दिएको सूचनामा विश्वास लागेन भने आवेदन अस्वीकृत हुन्छ । साथै फरक फरक कम्पनीको कार्डका लागि एप्लाई गर्दै हुनुहुन्छ भने पनि जानकारी फरक-फरक राख्नु हुँदैन ।

३. क्रेडिट लिमिट कम छान्नुहोस् : क्रेडिट कार्डका लागि तपाइको आवेदन पश्चात तपाईको फाइनान्सियल स्टाटस् लगायतका विभिन्न कुराहरु हेरेपछि कति क्रेडिट लिमिट दिने भन्ने कम्पनीले नै निर्णय गर्ने हो तर पहिलो क्रेडिट कार्ड एप्लाई गर्दै हुनुहुन्छ भने क्रेडिट लिमिट धेरै छान्नुभन्दा कम छान्नु उपयुक्त हुन्छ, ५० मान को क्रेडिट लिमिट माग्नुभन्दा पहिले १० मानको मात्र माग्नु व्यवाहारिक हुन्छ, प्राय सबै कम्पनीहरुले तपाइले गरेको ट्रान्जेक्सन हेरेर क्रेडिट वा क्यासिङ लिमिट बढाउन सकिने सुविधा दिन्छन् ।

४. कुन कार्ड लिने ? :  जापानमा धेरै कम्पनीहरु छन् जसले क्रेडिट कार्ड सुविधा दिन्छन् । सामान्यतया विदेशीहरुका लागि सहज क्रेडिट कार्ड प्रदायक बैक भनेको MUFG, SMBC हो र अनलाइन एप्लाई गर्नुहुन्छ भने RAKUTEN CARD हो । AEON कार्ड पनि धेरैको रोजाइमा पर्ने गरेको छ भने मोवाइल किन्नेबेला AU ले दिने कार्ड पनि धेरैजनाले बोक्ने गरेको भेटिन्छ । अन्य केही विदेशीमैत्रि कार्डहरु SBI MASTERCARD, TOME CARD (TOKYO METRO), VIEW SUICA (JR EAST), SAISON CARD आदि हुन् । BIC CAMERA, DAIO जस्ता ठूला स्टोरहरुले पनि क्रेडिट कार्ड सुविधा दिएका हुन्छन् ति ठाउँहरुबाट फारम भरेपनि हुन्छ । विशेष गरि क्याम्पेन लागेका बेला भरेका फारमहरु स्वीकृत हुने सम्भावना बढि हुन्छ, ठूला डिपार्टमेन्टल स्टोर, ट्रेन स्टेशनहरुमा बेलाबेलामा क्रेडिट कार्डका क्याम्पेनहरु लागिरहेका हुन्छन्, टोकियोका सिन्ज्युकु लगाएतका केही ठूला स्टेशनहरुमा क्रेडिट कार्डको फारम भरिदिने बुथ नै राखिएका छन् ।

क्रेडिट कार्डको प्रयोगबारे थाहा पाइराख्नुपर्ने केही कुरा

क्रेडिट कार्डको प्रयोगबाट फाइदामात्र छैन भन्ने कुरा माथि पनि उल्लेख गरिसक्यौं, सही प्रयोग गर्न जानिएन भने क्रेडिट कार्डले तनाब पनि दिन्छ ।
१. क्रेडिट कार्डको जानकारी गोप्य राख्नुहोस्, कहीं कसैलाई कार्ड नंबर, पासवर्ड नदिनुहोस् ।
२. फोटो खिचेर फेसबुकमा हाल्ने, साथीहरुलाई पठाउने नगर्नुहोस् ।
३. अनलाइन सपिङ गर्दा सामान किन्न लागेको वेवसाइट कति विश्वसनीय छ, पेमेन्ट गेटवे सुरक्षित छ कि छैन भन्ने एकिन गरेर मात्र क्रेडिट कार्ड प्रयोग गर्नुहोस् ।

४. बिल नियमित तिर्नुहोस्, जापानका प्राय सबै क्रेडिट कार्डहरुमा एकैपटक तिर्ने (इक्काचुबाराइ) , धेरै पटकमा तिर्ने (बुन्काचुबाराइ) र परिक्रामी भुक्तानी (रिप्पोबाराइ) गरि तिर्न मिल्ने सुविधा हुन्छ, जानीराख्नुपर्ने कुरा के हो भने कुनै सामान किन्नुभो र दुई वा सो भन्दा बढि पटकमा तिर्ने गरि क्रेडिट कार्ड प्रयोग गर्नुभयो भने क्रेडिट रकमको ब्याज समेत तिर्नुपर्दछ । त्यसैले सकेसम्म एकैपटकमा तिर्ने सुविधा प्रयोग गर्नु ठीक हुन्छ ।
५. जापानका केही कार्डहरुमा बार्षिक सदस्यता शुल्क तिर्नुपर्ने पनि हुन्छ जुन १५०० येन देखि १०००० येनसम्म हुनसक्छ, कार्ड एप्लाई गर्नेबेला नै सो कुरामा ध्यान दिनुहोस् ।
६. धेरै क्रेडिट कार्डहरुमा प्वाइन्ट सिस्टम हुन्छ, तपाइले गरेको किनमेलका आधारमा जम्मा भएको प्वाइन्टहरु किनमेल, एयरलाइनको माइलेज, डिस्काउन्टका रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

क्रेडिट कार्डको आवेदन अस्वीकृत हुने अवस्थाहरु

क्रेडिट कार्ड दिने कम्पनी अनुसार नियम फरक फरक हुन्छन्, अनुभव र प्राप्त जानकारीका आधारमा निम्न अवस्थामा तपाईले क्रेडिट कार्ड प्राप्तीका लागि दिएको निवेदन अस्वीकृत हुनसक्छ
१. जानकारीहरु गलत दिएमा
२. १ बर्षभन्दा कम भिषा भएमा (सबैको हकमा लागू नहुन पनि सक्ने, भिषा जति धेरै भयो सम्भावना उति बढि)
३. क्रेडिट लिएको पैसा तिर्न तपाई सक्षम हुनुहुन्न भन्ने लागेमा

४. तपाई कार्यरत संस्था वा पढ्दै गरेको विद्यालयका नाममा जारी भएको कार्ड ब्ल्याक लिस्टमा परेको छ भने
५. मोवाइलको बिल नियमित तिर्नुभएको छैन वा कुनै मोवाइल कम्पनीमा ब्ल्याक लिष्टमा पर्नुभएको छ भने
६. जापानको प्रचलित कानुनको उल्लंघन गरेर कारवाहीमा पर्नुभएको छ भने
७. जापानका कुनैपनि वित्तिय संस्थाहरुबाट ऋण लिनुभएको र समयमा तिर्नुभएको छैन भने

८. धेरै कम्पनीहरुले तपाईले दिएको सूचनालाई फेरिफाई गर्नका लागि तपाई स्वयं वा तपाई कार्यरत संस्था वा पढ्दै गरेको स्कुलमा फोन गर्न सक्छन्, सो समयमा सोधिएका कुरा र तपाईले फारममा लेख्नुभएको कुरा फरक परेमा पनि आवेदन अस्वीकृत हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *