Saturday, August 13जापानबारे सबै कुरा

जापानमा फोटो खिच्दा पालना गर्नुपर्ने ५ नियमहरु

कुनै पनि देशका आ–आफ्नै नियम कानून हुन्छन् । र यो कुरामा तस्वीर खिच्ने मामिला पनि अछुतो छैन । फोटोग्राफीको सबैभन्दा पहिलो नियम हो ‘नियमको पालना गर्ने’ । पर्यटन क्षेत्रमा तस्वीर खिच्नेबारे लेखिएका संकेतहरु हेरेर यदि त्यहाँ तस्वीर खिच्न पाइने भए मात्र मात्र तस्वीर लिनु पर्छ । तर जापानमा भने विशेषगरी स्थानीय नागरिकको पनि संलग्नता भएमा तस्वीर खिच्दा अपनाउनै पर्ने त्यस्ता खासै नियमहरु छैनन् । तपाई प्रोफेसनल क्यामराम्यान हुनुहुन्छ वा सिक्दै गर्नुभएका व्यक्ति हुनुहुन्छ अथवा व्यक्तिगत प्रयोगका लागि फोटो खिच्नुहुन्छ भने आजको लेखमा जापानमा तस्वीर खिच्दा काम लाग्ने केही उपयोगी टिप्सबारे बताउने प्रयास गरिएको छ ।

१. शान्तीको संकेत (भि साईन)

जापानमा तस्वीर खिच्दा आफूलाई रमाइलो लागिरहेको देखाउन शान्तीको संकेत अर्थात (भि) साइन बनाएर तस्वीर लिइन्छ । यसो गर्दा तपाईको तस्वीर खराब आउँछ कि भन्ने चिन्ता भएपनि यसलाई मानेर अगाडि बढ्नु नै राम्रो हुन्छ । यो जापानको तस्वीर खिच्ने संस्कृतिको एउटा महत्वपूर्ण पक्ष हो । जापानमा तस्वीर खिच्दा पोज दिने संस्कृति धेरै नै लोकप्रिय छ । साना साना बालबालिकाहरु फोटो खिच्ने भनेपछि टाउको उठाएर पोज दिँदै भि साइनसहित मुस्कान दिइहाल्छन् । यो नियम भन्दा पनि संस्कार हो ।

२. फोटो खिच्दा पाहूना बीचमा बस्छन्

फोटो खिच्दा ध्यान दिनुपर्ने अर्को मुख्य कुरा हो मानिसहरुको बसाईको क्रम । जापानमा गेष्ट अर्थात पाहूनालाई बीचमा राखेर तस्वीर लिइन्छ । तर आफूभन्दा ठूला र विशेषगरी हजुरबुबा हजुरआमाजस्ता व्यक्तिसँग तस्वीर खिच्दा भने उनीहरुलाई सम्मानस्वरुप बीचमा राखिन्छ ।

३. गोपनियतासम्बन्धी कुरा

मानिसलाई तस्वीरमा समावेश गर्ने कुरा जापानमा एकदमै निजी मामिला हो । कोही कोही अभिभावकले आफ्ना छोराछोरीको गोपनीयता पनि भङ्ग नहोस् भनेर उनीहरुको तस्वीर पनि ब्लर गरेर राखेका हुन्छन् । यो राम्रो नीति हो जसले खराब अनुभव र भ्रम फैलिन दिँदैन । त्यस्तै कोही कसैको फोटो पनि विना अनुमति खिच्न पाईदैन । रेष्टुरेन्टहरुमा बसेर फोटो खिच्दा सकभर आफुभन्दा पछाडि अरु कोही नदेखिनेगरि खिच्नु उपयुक्त हुन्छ । अरु कोही देखिएका फोटो सामाजिक संजालहरुतिर राख्नुपरे ब्लर गरेर राख्नुपर्छ । अनुमति विना फोटो खिचेको थाहा पाएर प्रहरीकहाँ उजुरी गरेको खण्डमा फोटो खिच्ने व्यक्तिलाई सजाय हुन्छ ।

४. सेल्फी स्टिकको प्रयोग

जापानका ट्रेन स्टेशनहरु सहितका केही अन्य सार्वजनिक स्थानहरुमा सेल्फी स्टिक प्रयोग गरेर फोटो खिच्न पाईदैन । यसले अन्य मानिसको भिजनमा बाधा ल्याउने र कहिलेकाहिँ सेल्फीस्टिक बोकेका मानिसले आफू वरिपरि के भइरहेको छ भन्नेकारे ध्यान नपु¥याउँदा दुर्घटना समेत भएका उदाहरणहरु प्रशस्तै छन् । जापानमा पर्यटन क्षेत्रमा भइरहेको विकाससँगै आगामी दिनमा थप स्थानहरुमा पनि सेल्फीस्टिकमाथि प्रतिबन्ध लाग्न सक्ने अनुमान गर्न सकिन्छ । आफु घुम्न जान लागेको स्थानमा सेल्फी स्टिक प्रयोग गर्न पाइने नपाइनेबारे बुझेर जाँदा राम्रो हुन्छ ।

५. निधेधित क्षेत्रबारे जानकारी

जापानमा रहेका पार्क, मन्दिर तथा अन्य सार्वजनिक स्थानहरु वा कतिपय रेष्टुरेन्टहरुमा पनि फोटोग्राफी निषेध गरिएको हुन्छ । फोटो लिनुअगाडि सो क्षेत्रमा कतै फोटो खिच्न निषेध गरिएको साइन छ कि छैन भनेर चेकजाँच गर्नु राम्रो हुन्छ । निषेधित क्षेत्रमा फोटो खिच्दा समस्यामा पर्न सकिन्छ । त्यस्तै कन्भिनियन्स स्टोरहरु सहितका विभिन्न स्थानहरुमा काम गर्ने नेपाली साथीहरुले पनि काम गर्दैगरेको भिडियो वा फोटो खिचेर राख्ने गरेको पनि भेटिन्छ । त्यो पनि नियमानुसार हैन । त्यस्ता कुराहरमा ध्यान दिनु आवश्यक छ ।

आशा छ यो जानकारी तपाईका लागि उपयोगी रह्यो । फोटो खिच्नेवारे तपाईका आफ्ना केही अनुभवहरु छन् भने कमेन्टमा लेख्नुहोला । उपयोगी लागे सेयर गरेर सबैमाझ पुर्याउनुहोला है ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *