Saturday, August 13जापानबारे सबै कुरा

जापानको ओमियागे संस्कृति

ओमियागे शब्दको अनुवाद चिनो भन्ने हुन्छ । तर जापानमा ओमियागे दिने चलन पश्चिमी देशमा व्याप्त चिनोसम्बन्धी मौलिक अवधारणा भन्दा निकै फरक छ । जापानी समाजमा ओमियागेको प्रचलनले जरो गाडेर बसेको छ । यो चलन यति धेरै गहन छ कि कोही व्यक्ति कतै घुमेर आउँदा हातमा उपहार नल्याएको देख्दा मानिसहरुले निधार खुम्च्याउँछन् ।

आजको यस लेखमा हामीहरु जापानको उपहार आदानप्रदानको अनौठो संस्कृति र तपाईले आफ्ना सहकर्मी र आत्मिय व्यक्तिका लागि किन्न सक्ने उत्तम ओमियागीबारे कुराकानी गर्नेछौं ।

के हो ओमियागे ?

ओमियागे शब्दको अंग्रेजी अनुवाद चिनो हो । तर ओमियागेको अवधारणा फरक छ । यसमा तपाईले आफ्नो लागि भन्दा पनि अरुका लागि उपहार किन्नु हुन्छ । । विशेषगरी यो कुनै यात्राबाट फर्किदा आफ्ना सहकर्मी, परिवारका सदस्य वा साथीभाइका लागि किनेर ल्याइने उपहार हो ।

पश्चिमी देशहरुमा चिनोको रुपमा प्रायः किरिङ, लत्ता कपडा वा लुगाफाटा आदि दिइन्छ । तर ओमियागे चाँहि प्रायः खान मिल्ने कुरा हुन्छ । मौलिक रुपमा ओमियागे चाँहि कूकिज, केक र क्यान्डी हुन् । तर स्वादिष्ट राइस क्रयाकर, रक्सी, सुकाइएका स्न्याक्स आदिलाई पनि ओमियागेको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ ।

अन्य देशहरुमा पनि उपहारका रुपमा खानेकुरा दिने गरेको पाइन्छ । तर यस्ता उपहार र जापानी ओमियागेबीचको सबैभन्दा ठूलो भिन्नता के हो भने ओमियागेका रुपमा दिइने वस्तुले ती सामान ल्याइएको ठाउँको प्रतिनिधित्व गर्छ । यी सामान ती ठाउँका विशेषता हुन् ।

यो कुरा ओमिगये शब्दमा प्रयोग गरिएका अक्षरहरुमा पनि प्रष्टै झल्किन्छ । ओमियागे お土産 मिलेर बनेको छ । 土 लाई चुची भनेर पढिन्छ । यसको अर्थ स्थानीय भन्ने हुन्छ । 産 का उच्चारण सान हुन्छ । यसको अर्थ उत्पादन भन्ने हुन्छ । जस्तै, वाकायामा प्रिफेक्चर मिकान 蜜柑 को शीर्ष उत्पादक हो । यो एक प्रकारको सिट्रस फल हो । यो मौसम जस्तै फल हो । तपाई वाकायामा जानु भयो भने त्यहाँ विक्री गरिने ओमियागे आइटम मुख्यतः मिकानसँग सम्बन्धित मिकान जुसदेखि मिकान स्वादका गमी स्विट्स र मिकान कूकिजहरु हुन्छन् ।

हिरोशिमाको मियाजिमा जानु भयो भने तपाईले यहाँ म्यापलको पात आकारको स–साना केक बेचिरहेका ठाउँ टन्नै देख्नु हुनेछ । शरद ऋतुमा म्यापलका राता पातहरुले मियाजिमा निकै सुन्दर र आकर्षक देखिन्छ ।

जापानमा ओमियागे किन्दा के ओमियागेका रुपमा बेचिन्छ र के चाँहि बेचिदैंन भनेर तपाईले छुट्याउन सक्नु हुनेछ । सामान्यतः ओमियागेलाई राम्रोसँग प्याक गरेर राखिएको हुन्छ । यो हरेक पर्यटकीय पसल मुुख्य यातायात हबमा पाइन्छ । पेय पदार्थ वा बेन्टो बक्स वस्ता सामानलाई ओमियागेको रुपमा राखिदैंन ।

जापानमा ओमियागे संस्कृतिको महत्व

ओमियागे दिने परम्परा जापानमा कयौं शताब्दी पुरानो हो । शिन्टो मन्दिरमा प्रार्थना गर्न जाँदा खेरि मानिसहरुले ओमियागे लिएर आउन शुरु गरे । यस क्रममा प्रायः धार्मिक वस्तुहरु परिवारका सदस्यहरुका लागि किनेर ल्याउन थालियो । त्यसपछि मन्दिर आसपासका पसलेहरुले स्थानीय उत्पादनलाई उपहारका रुपमा बेच्न थाले । शुरुमा यी उपहारलाई मियागे भनियो ।

ओमियागेको उत्पत्ति सोही शब्दबाट भएको हो । ओ お चाँहि औपचारिक जापानी भाषामा नम्रता व्यक्त गर्न प्रयोग गरिएको उपसर्ग हो । हिजोआज यी उपहारहरुले सुखद र सौहार्दपूर्ण सम्बन्ध कायम गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । यी उपहारको जापानी समाजमा निकै ठूलो महत्व रहेको छ । कतै गएर आउँदा नभुलिकन ओमियागे ल्याउँदा सम्मान झल्किन्छ । आफू कतै घुम्न जाँदा पनि ती व्यक्तिहरुबारे सोचिएको वा उनीहरुलाई सराहाना गरेको देखिन्छ ।

सहकर्मीहरुलाई ओमियागे दिँदा तपाई कार्यालय छाडेर अन्यत्र जाँदा तपाईको अनुपस्थितिमा काम गरिदिएबापत उनीहरुप्रति कृतज्ञता झल्काउँछ । व्यवसायिक साझेदारहरुलाई ओमियागे दिने चलन पनि छ । विशेषगरी टाढाको साझेदारसँग भेटघाट गर्दा चिनो वा उपहार दिने गरिन्छ । यो पनि व्यवसायिक सम्बन्धप्रति सम्मान व्यक्त गर्ने तरिका हो ।

कसरी रोज्ने उत्तम ओमियागे ?

तपाईले ओमियागे किन्न सक्ने ठाउँहरु टन्नै हुनेछन् । ओमियागेको रुपमा प्रायः खान मिल्ने सामानहरु राखिएको हुन्छन् । कूकिज, मिठाई, राइस क्रयाकर, मोची र मिनी केकहरु जहाँ पनि पाइन्छ । अरुलाई के उपहार वा चिनो लगिदिने भन्नेहरुले प्रायः यस्तै सामान किन्ने गरेको पाइन्छ । तपाईले सहकर्मी वा सहपाठीका लागि ओामियागे किनिरहनु भएको छ भने सबैलाई लागि छुट्टा छुट्टै किन्नु पर्दैन । हरेक प्रडक्टभित्र स–साना प्याकेटहरु राखिएका हुन्छन् । तर सबैलाई बाड्नका लागि पुग्ने गरी भने किन्न नभुल्नु है । तपाई विदेश यात्रामा जानु भएको छ भने चाँहि आफू गएको ठाउँको रैथाने सामान किन्न सक्नु हुन्छ । यसमा स्थानीय रक्सी, स्न्याक्स, चकलेट वा यस्तै यस्तै सामान हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *