Wednesday, June 29जापानबारे सबै कुरा

यसो गरे : भाषाले छेक्दैन उपचार

जापानमा हुनुहुन्छ भने अवश्यपनि भोग्नुभएकै छ, भाषाका कारण यहाँ उत्पन्न हुनसक्ने समस्याहरुका वारेमा । सुरुवाती दिनहरुमा भाषाकै कारण एसीको रिमोर्ट चलाउन नजानेर रातभर चिसोमा बस्नुपरेको, बस्ने कोठाको ठेगाना बिर्सेर खोज्न भौतारिएको, फरक ट्रेन चढेर अर्कै ठाउँमा पुगेको, चिनी किने भनेर नुन ल्याएको आदि समस्याबाट जापान आउने धेरै जना गुज्रिएकै हुन्छन् । त्यसकारण पनि दैनिक जिवनयापनमा काम लाग्ने बोलिचालीको भाषासम्म भएपनि नेपालमै पढेर आयो भने जापानको बसाई केही हदसम्म सहज हुन्छ । यि त भए सामान्य जीवनयापनका कुरा, लागौ आजको विषयतर्फ नै अर्थात भाषाका कारण हस्पिटलमा जाँदा हुने अफ्ठ्यारो न्यूनिकरण गर्ने तरिकाबारे । मेडिकल क्षेत्रमा प्रयोग हुने जापानी भाषाका शब्दहरु सामान्यभन्दा कठिन किसिमका हुन्छन्, राम्रोसंग भाषा बोल्न जान्नेहरुले समेत हस्पिटलमा डाक्टरले भनेका कुरा नबुझ्ने अवस्था आउनसक्छ, अझ भाषा कत्तिपनि नजान्नेका लागि त गाह्रो हुने नै भयो । पछिल्लो समय जापानमा क्रियाशिल डाक्टरहरुको समुहले गरेको एक सर्वेक्षणमा पनि भाषाकै कारण रोग लुकाउन बाध्य र हस्पिटल जान नचाहाने नेपालीहरुको  संख्या धेरै देखिएको थियो । हामी यहाँ केही जानकारीहरु राख्दै छौ, आशा छ यि जानकारीहरुले तपाइलाई केही हदसम्म सहजता दिलाउनेछ ।

✓ नेपालीमै उपलव्ध जाँच फारमको प्रयोग गर्नुस्

तपाईलाई जापानी भाषा पढ्न लेख्न वा बोल्न आउँदैन, हस्पिटलमा जानुपर्ने छ तर गएर के बोल्ने भन्ने दुविधाका कारण समस्यामा परिरहनुभएको छ भने यो फारम तपाईलाई अति नै उपयोगी हुन्छ ।  यदि त्यस्तो समस्यामा हुनुहुन्छ भने तल दिइएका मध्येबाट आफुलाई कुन रोगसंग सम्बन्धित उपचार गराउनुपर्ने हो सो सम्बद्ध जाँच फारम डाउनलोड गरेर कन्भिनियन्स स्टोरमा लगेर प्रिन्ट गर्नुहोस्, फारममा दिइएका मध्ये आवश्यक स्थानमा ठीक चिन्ह लगाउनुहोस् । फारम नेपाली भाषामा छ त्यसैले भर्न अफ्ठ्यारो हुँदैन । सो फारम साथमा लिई डाक्टरकहाँ जानुहोस् । यसरी फारम भरेर जाँदा तपाइका समस्याबारे डाक्टरलाई बुझाउनका लागि धेरै बोलिरहन आवश्यक पर्दैन त्यसैले सजिलो हुन्छ । कानागावा इन्टरनेशनल फाउन्डेसन जापानले तयार पारेको यो फारम डाउनलोड गर्नका लागि निशुल्क उपलव्ध छ । तल दिइएका मध्येबाट आफुलाई आवश्यक रोगसंग सम्बन्धित फारमको नाममा क्लिक गरि डाउनलोड गर्न सक्नुहुनेछ ।

सामान्य चिकित्सा सम्बन्धि
शल्यचिकित्सा सम्बन्धि
हाडजोर्नी सम्बन्धि
न्यूरोलोजी सम्बन्धी

मानशिक रोग सम्बन्धी
बालरोग सम्बन्धी
छालारोग सम्बन्धी
महिला तथा प्रसुति सम्बन्धी

आँखा सम्बन्धी
नाक, कान, घाँटी सम्बन्धी
दाँत सम्बन्धि
माथि दिइएका सबै फारमहरुको एउटै फाइल डाउनलोड गर्न चाहानुहुन्छ भने चै यहाँ क्लिक गर्नुहोस्

✓ अंग्रेजी भाषामा सेवा उपलव्ध भएका हस्पिटल खोज्नुहोस्

तपाई जापानी भाषा राम्रोसंग बोल्न सक्नुहुन्न तर अंग्रेजी सक्नुहुन्छ भने तपाई अंग्रेजी भाषामा सेवा उपलव्ध भएका हस्पिटलहरु खोजेर उपचारका लागि जान वा लैजान सक्नुहुन्छ । विशेषगरि टोकियो र आसपासमा बस्नुहुन्छ भने अंग्रेजी भाषामा सेवा दिने हस्पिटल, फार्मेसी वा क्लिनिकहरुका बारेमा टोकियो महानगर स्वास्थ्य तथा चिकित्सा सूचना केन्द्रको वेवसाइट ‘हिमावारी’बाट हेर्न र खोज्न सकिन्छ । आफुलाई आवश्यक हस्पिटल तथा फार्मेसी लोकेशन वा ट्रेन स्टेशनका आधारमा खोज्न यो लिंकमा जानुहोला । जापानका अन्य क्षेत्रमा बस्नुहुन्छ भने आइचि केनका लागि यो लिंक, ओसाकाका लागि यो लिंक र क्योतोका लागि यो लिंकमा जानुहोला । यहाँ उल्लेखित बाहेक अन्य क्षेत्रमा अंग्रेजी बोल्ने डाक्टर भएका क्लिनिक तथा हस्पिटल खोज्नका लागि यो लिंकमा गएर म्यासेज गर्न वा गुगलमा ‘English Speaking Doctors/Hospital Near Me’ लेखेर सर्च गर्न पनि सक्नुहुनेछ । यसरी खोज्दा भेटिएका गुगल विजनेश रिजल्टहरुबाट आफुलाई उपयुक्त स्थान वा डाक्टर छान्न सहज हुन्छ ।

अंग्रेजी भाषामा कुराकानी गर्न सकिने हस्पिटलहरुका बारेमा पूरा जानकारी लिनका लागि यो लिंकमा क्लिक गर्नुहोस्

✓ भ्वाइस ट्रान्सलेसन एपको प्रयोग गर्नुहोस्

यदि तपाई अंग्रेजीमा आफ्ना स्वास्थ्य समस्या व्यक्त गर्न सक्नुहुन्छ तर जापानी भाषामा सक्नुहुन्न भने हस्पिटल जाँदा मोवाइल एप्लिकेशनहरुको प्रयोग गरेर पनि केही हदसम्म सहज रुपमा उपचार गराउन सक्नुहुन्छ । ‘भ्वाइसट्रा ‘ नामक एउटा यस्तो एप्लिकेशन छ जसले अंग्रेजी र जापानी सहित विश्वका ३१ वटा भाषामा आवाजमा भनेका कुरा उल्था गरिदिन्छ । हुन त गुगल ट्रान्सलेट लगायतका अन्य एप्लिकेशनहरुले पनि यो सुविधा दिन्छन् तर यो मोवाइल एप्लिकेशन अरुभन्दा प्रयोग गर्न सजिलो र प्रभावकारी छ । तपाइ आइओएस डिभाइस (आइफोन) प्रयोग गर्नहुन्छ भने यो लिंकमा र एन्ड्रोइड ( सामसुङ वा अन्य ) डिभाइस प्रयोग गर्नुहुन्छ भने यो लिंकमा गएर डाउनलोड गर्न सक्नुहुन्छ ।

आशा छ हामीले उल्लेख गरेका यि जानकारी तपाइका लागि सहयोगी हुनेछन् । यो जानकारी मन पर्यो र साथीहरुलाई पनि सहयोग होस् भन्ने चाहानुहुन्छ भने यसलाई सेयर गर्न पनि सक्नुहुनेछ । जापानमा नेपालीहरुको बसोबास सहज बनाउने हाम्रो अभियानमा तपाइको साथ र सहयोगको सधै अपेक्षा रहिरहनेछ ।

नोट : माथि उल्लेखित मध्ये कुनैपनि सेवा प्रयोग गर्न जान्नुभएन भने हामीलाई म्यासेजमा सोध्न वा कमेन्टमा लेख्न पनि सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *