Sunday, August 1जापानबारे सबै कुरा

जापानमा विद्यार्थीले नेन्किन तिर्नु पर्छ कि पर्दैन ?

जापानमा पहिलो पटक आउनु भएको हो भने यहाँ तपाईले गर्नु पर्ने कयौं चिज छन् । यिनै मध्ये तपाईले गर्नु पर्ने एउटा काम हो पेन्सनमा आबद्ध हुने । पेन्सनका स्लिपहरु स्वास्थ्य बीमा जस्तै हुन्छन्, यो बाक्लो खाममा आउँछन् अनि यसलाई हयाण्डल गर्ने उपयुक्त तरिकाबारे सबैमा एकमत पाइदैंन । आजको यस लेखमा जापानी राष्ट्रिय पेन्सनसँग सम्बन्धित धेरैजसो प्रश्नहरुको उत्तर दिने प्रयास गरिएको छ ।

तपाईले याद गर्नु पर्ने कुरा के हो भने तपाई बस्ने ठाउँ अनुसार पेन्सनसँग सम्बन्धित नियम र निर्देशिकाहरु फरक फरक हुन सक्छ । आजको यस लेख सामान्य जानकारी उपलब्ध गराउने उद्देश्यले तयार पारिएको छ ताकि तपाईलाई पेन्सन लिन सजिलो होस् । तर अझ विशिष्ट जानकारीका लागि भने तपाईहरुले आफ्नो विद्यालय वा मुख्य वडा / सिटी अफिसमा सम्पर्क गर्नुहोस् ।

विद्यार्थी बाहेक अन्य भिसामा जापानमा रहनुहुन्छ भने पेन्सनसम्बन्धि जानकारी पहिलेनै प्रकाशन भैसकेको छ । पढ्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

विद्यार्थीको रुपमा मैले जापानी पेन्सन सिष्टममा आबद्ध हुनु पर्छ ?

यो लेख तयार पार्दासम्म आवासीय कार्ड भएका र जापानमा बसिरहेका सबै विद्यार्थी नेशनल पेन्सन (国民年金 kokumin nenkin) मा आबद्ध हुनुपर्ने भन्ने नियम छ । यो नियम विद्यार्थी भिसावाहकमा समेत लागू हुन्छ ।

विद्यार्थीका रुपमा जापानमा मैले राष्ट्रिय पेन्सन तिर्नुपर्छ ?

तपाईले पेन्सन तिर्नु पर्छ कि पर्दैन भन्ने कुरा जापानमा रहँदा तपाईको कमाईमा भर पर्छ । राष्ट्रिय पेन्सन तपाईले अघिल्लो वर्ष कमाउनु भएको आम्दानीका आधारमा गणना गरिन्छ । त्यसैले जापानमा तपाईको पहिलो वर्ष हो भने केही पनि तिर्नु पर्दैन । तर दोस्रो वर्षमा पेन्सन भुक्तानी तपाईले कति कमाउनु हुन्छ त्यसमा भर पर्छ । तपाई काम नगरिरहेको विद्यार्थी हुनु हुन्छ वा तपाईको कमाई निकै थोरै छ (यहाँबाट थाहा पाउनुहोस्) भने चाँहि तपाईले छूट ( 支払い免除 shiharai menjo ) का लागि आवेदन दिन सक्नु हुनेछ ।

म जापानमा भर्खरै आएको छु । मैले नेशनल पेन्सनमा कसरी सहभागी हुन सक्छु ?

तपाईको मुख्य वडा / सिटी अफिसमा आवासका लागि दर्ता गर्न र स्वास्थ्य बीमामा आबद्ध हुन जाँदा नै तपाईले नेशनल पेन्सनमा पनि आबद्ध हुन सक्नु हुनेछ । यो सुविधा अधिकांश सिटी अफिसमा उपलब्ध छ । मुख्य वडा / सिटी अफिसमा यस्तो गर्न मिलेन भने उनीहरुले तपाईलाई सही पेन्सन अफिसमा पठाइदिने छन् ।

यसका लागि तपाईले आफ्नो साथमा निम्न कागजात ल्याउनु पर्नेछः

–  माइ नम्बर कार्ड ( マイナンバー )
–  आवासीय कार्ड ( 在留カード )
–  पासपोर्ट ( パスポート )
–  विद्यार्थी कार्ड ( 学生証 )

मैले नेशनल पेन्सन भुक्तानी छूट कसरी हासिल गर्न सक्छु ? पेन्सनमा आबद्ध हुँदा नै यसमा पनि आबद्ध हुन सकिन्छ ?

हो, तपाई भर्खरै जापान आउनु भएको छ र यहाँ काम गरेको इतिहास नै छैन भने पनि तपाईले पेन्सनमा आबद्ध हुँदा नै पेन्सन छूट  支払い免除  shiharai menjo ) प्राप्त गर्न सक्नु हुनेछ । तपाई यसमा आबद्ध हुन जाँदा मुख्य वार्ड / सिटी अफिसलाई यसबारे जानकारी दिनुहोस् । उनीहरुले तपाईलाई यस प्रक्रियामा मद्दत गर्नेछन् ।

विद्यार्थीको रुपमा मैले कति समयसम्म भुक्तानीमा छूट पाउन सक्छु ?

तपाईको आम्दानीअनुसार तपाइले हरेक वर्ष छूटको दाबी गर्न सक्नु हुन्छ । अधिकांश भाषा विद्यालयका विद्यार्थीले २ वर्ष यस्तो गर्छन् । तपाई भर्खरै जापानमा आउनु भएको छ भने उक्त पेन्सन वर्ष नसकिँदा सम्म तपाईले छूट हासिल गर्नु आवश्यक छ ।

तपाईले हरेक वर्ष छूटको पनि नवीकरण गर्नु पर्दछ ।

तपाई पढ्ने संस्थाको प्रकारका आधारमा पेन्सन वर्ष फरक फरक हुन्छः

१. विश्वविद्यालयमा पढ्ने विद्यार्थीका लागि पेन्सन क्यालेन्डर अवधि अप्रिलदेखि मार्चसम्म हुन्छ ।
२. भाषा विद्यालयका विद्यार्थी लगायतका अन्यका हकमा भने पेन्सन क्यालेन्डर जुलाईदेखि जुनसम्म हुन्छ ।

उदाहरणका लागि कोही सन् २०२० को जनवरीमा आइपुगेको भाषा विद्यालयको विद्यार्थी हो भने पेन्सन वर्षको अन्त्य अर्थात् जुनभित्रै उ पेन्सनमा आबद्ध भइसक्नु पर्छ । अनि उसको कोर्स चाँडै सकिएन भने सन् २०२१ को जुलाईमा फेरि पेन्सनमा आबद्ध हुनु पर्छ ।

म पहिला देखि नै जापानमा बस्छु र जापानी नेशनल पेन्सनमा आबद्ध भइसकेको छैन । मैले के गर्नु पर्छ ?

आवासीय कार्ड हुने सबैले नेशनल पेन्सन योजनामा आबद्ध हुनै पर्छ भन्ने नियम छ । विद्यार्थीको रुपमा साइन इन गरेर छूट पाउनुको अर्थ हो कि तपाईले पढ्दा खेरि नै पेन्सनमा योगदान गर्न थालिसक्नु भएको छ । तपाई जापानमा लामो अवधिका लागि बस्न चाहनु हुन्छ भने यो निकै महत्वपूर्ण छ ।

नेशनल पेन्सनबारे अप टू डेट रहन र थप जानकारी प्राप्त गर्न अनि तपाईमा यो कसरी लागू हुन्छ भन्ने कुरा जान्न आफ्नो विद्यालय वा मुख्य वार्ड / सिटी अफिसमा सम्पर्क राख्न पनि सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *