Sunday, August 1जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानी सम्राट र शाही परिवारको काम, कर्तव्य र अधिकार

जापानको शाही परिवारको इतिहास लामो छ । अहिले सम्राटको ‘सेरेमोनियल’ भूमिका छ । राज्यको प्रतिकका रुपमा उनले अनेक कार्यहरु गर्छन् ।

सूर्य देवताका वंशज

जापानले सन् १९४७ मा जारी गरेको संविधानको दफा १ मा जापानी सम्राटलाई राज्य र आमजनतालाई एकीकृत गरेर राख्ने प्रतिकका रुपमा परिभाषित गरिएको छ ।

राष्ट्रिय राजनीतिलाई दिशा निर्देश गर्नेमा उनको कुनै भूमिका हुँदैन । तर उनले औपचारिक र अन्य राज्यसँग सम्बन्धित ‘सेरेमोनियल’ प्रकृतिका काम गर्छन् । जस्तैः प्रधानमन्त्री र प्रधानन्यायाधीसका नियुक्ति, कानूनको घोषणा आदि । उनले अन्य देशका राजा र राष्ट्र प्रमुखसँग भेटघाट गर्ने, विदेशी राजदूत र दूतको स्वागत गर्ने, जापानी राजदूत र तिनका श्रीमान/श्रीमति विदेश जानु अघि उनीहरुसँग भेटघाट गर्ने पनि गर्छन् ।

पुरस्कार वितरण समारोह, वृक्षारोपण कार्य लगायत अन्य कार्यक्रममा सहभागी हुन्छन् । कविता वाचन, ‘सेरेमोनियल’ भोज, चियापान समारोह आदि जस्ता गतिविधिमा पनि संलग्न हुन्छन् । यु’द्धमा ज्यान गुमाएकाहरुको सम्झनामा स्मारकको भ्रमण गर्छन् । हरेक वर्ष यस्तै खालका सय भन्दा धेरै कार्यक्रम र गतिविधिमा सम्राट सामेल हुन्छन् । उनले नियमित रुपमा सांस्कृति र औद्योगिक क्षेत्रको भ्रमण गर्छन् । सामाजिक कल्याणका काममा सहभागी हुन्छन् अनि विदेशको भ्रमण पनि गर्छन् । सम्राट र साम्राज्ञीले बेला बेलामा विपद् प्रभावित क्षेत्रका बासिन्दाहरुसँग भेटघाट पनि गर्छन् ।

सम्राटले निर्वाह गर्ने अन्य भूमिकाहरु भनेको वाका कवितावाचन जस्ता परम्पारगत संस्कृतिको प्रवद्र्धन पनि हो । नयाँ वर्षको अवसरमा शिहोहाइ समारोहमा सामेल हुन्छन् । यसमा जापानका सबै मुख्य मठ–मन्दिरतर्फ फर्किएर सम्राटले झुकेर ढोग्छन् । आधिकारिक कामकै बीचमा उनले प्राज्ञिक अनुसन्धान पनि गर्छन् ।

सन् २०१९ को मे १ मा राजगद्दीमा आसिन रहेका नारुहितो परम्परागत उत्तराधिकारी व्यवस्थाअनुसार औपचारिक रुपमा जापानका १ सय २६ औं सम्राट हुन् । नारुहितोका वंशजको इतिहास आठौं शताब्दीसम्म को पाउन सकिन्छ । इशापूर्व ६ शताब्दिसम्मका वंशज ऐतिहासिक प्रमाण पाइने धेरै सम्राटहरु छैनन् । जापानका पहिलो प्रशिद्ध सम्राट जिन्मुले इशापूर्व ६ शताब्दि शासन सत्ता आफ्नो हातमा लिएका थिए । परम्परागत मिथकका अनुसार जिन्मु सूर्य देवता अमातेरासुका वंशज हुन् । उनै सूर्य देवताले जिन्मुलाई तीन पवित्र खजाना– एउटा तरवार, ऐना र गहना दिएका थिए भन्ने कथा सुन्न पाइन्छ ।

शाही जीवन

शाही परिवारका सदस्यहरुको साझा पारिवारिक नाम हुँदैन । उनीहरुले दिइएको नाम मात्रै प्रयोग गर्छन् । सम्राट शोवा जीवन भर नै हिरोहितोको रुपमा चिनिए । सम्राटले आफ्नो युगको नाम उनको मृ’त्युमा मात्रै लिए । अहिलेका शाही दम्पत्ति नारुहितो र मासाका हुन् । नारुहितोका मातापिता अहिले सम्राट इमिरेटस अकिहितो र सम्राज्ञी इमिरिटा मिचिको भनेर चिनिन्छन् । राजगद्दीमा बस्ने क्रममा नरहेका शाही सदस्य (पुरुष)ले विवाह गरेपछि दम्पत्तिलाई नयाँ उपाधी दिइन्छ । यसको अर्थ उनीहरुले नयाँ घरबार शुरु गरे भन्ने हुन्छ । जस्तैः अकिहितोको पहिलो सन्तान नारुहितोले गद्दी आरोहण गर्नु पूर्व दोस्रो छोरा फुमिहितो युवराजधिरा बन्नु अघि उनलाई राजकुमार अकिशिनोको उपाधी दिइएको थियो ।

शाही परिवारका सदस्यहरुले स्वतन्त्र भएर आफूले गर्ने काम पनि रोज्न पाउँदैनन् । उनीहरुले सार्वजनि हितका कामका लागि गैर–नाफामुलक संस्थामा मात्रै काम गर्न पाउँछन् । यसका लागि पनि उनीहरुले सम्राटको अनुमति लिनु पर्छ । उनीहरुले मतदान गर्न पाउँदैनन्, सरकारी पदका लागि लड्न पाउँदैनन्, आफ्नो आधिकारिक दायित्वलाई प्राथमिकता दिनु पर्छ । शाही सम्पत्ति राज्यको स्वामित्वमा हुन्छ ।

सम्राट नारुहितो, साम्राज्ञी मासाको र उनीहरुकी छोरी राजकुमारी आइको सहित मध्य टोकियोको शाही दरबारमा बस्छन् । सम्राट इमिरेटस र साम्राज्ञी इमिरिटा अहिले ताकानावा शाही आवासमा बसिरहेका छन् । यो भवन पहिला अकिहितोका काका राजकुमार ताकामासुको थियो । सन् २०२० को अप्रिलमा उनीहरु आकासाका इस्टेटमारहेको तोगु दरबारमा सर्नेछन् ।

सम्राट नारुहितो युवराजधिराज हुँदा उनी यो दरबारमा बस्थे । यो दरबारको नाम अहिले शेन्तो शाही दरबार राखिएको छ । ऐतिहासिक रुपमा यो दरबार सेवा निवृत्त भएका सम्राटहरुको बस्ने आवासका रुपमा प्रयोग हुँदै आएको छ ।

सम्राट र शाही परिवारका अन्य सदस्यहरुले धर्मपत्र वा पुत्री राख्न पाउँदैनन् । विवाह गर्ने इच्छा राख्ने शाही परिवारका पुरुष सदस्यले पहिला इम्पेरियल हाउस काउन्सिलबाट अनुमति लिनु पर्छ । महिला सदस्यले भने स्वतन्त्र भएर जीवनसाथी रोज्न पाउँछन् । उनीहरुले शाही परिवारबाट बाहिर विवाह गरे भने चाँहि शाही हैसियत गुमाउनु पर्छ ।

पुरुष सम्राट मात्रै

सम्राटको उत्तराधिकारी र राज प्रतिनिधि लगायत शाही परिवारसँग सम्बन्धित कुराहरु इम्पेरियल हाउस कानूनमा आधारित छ ।

शाही सिंहासन वंशजका आधारमा हुन्छ भन्ने कुरा संविधानमा समेत उल्लेख गरिएको छ । ऐतिहासिक रुपमा राजाका रखैलपट्टिका सन्तान पनि सिंहासनमा आसिन भएका उदाहरण छन् । महिला सम्राट बनेका दृष्टान्त पनि छन् । तर विद्यमान इम्पेरियल हाउस ल मा भने शाही वैशावलीमा पर्ने पुरुष वंशज मात्रै सम्राट हुन पाउने प्रावधान छ । यसमा तत्कालै कुनै परिवर्तन आउने संकेत भने छैन ।

(निप्पोन डट कममा प्रकाशित सामाग्रीको नेपाली संक्षेपीकरण, फोटो तथा ग्राफः निप्पोन डटकमबाटै साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *