Wednesday, June 29जापानबारे सबै कुरा

पोष्टमा आएको सामान फर्कियो भने यसो गर्नुस्

तपाई जापानमा हुनुहुन्छ र पढाई, काम वा व्यवसाय गर्नुहुन्छ भने  पक्कै पनि व्यस्त हुनुहुन्छ । विशेषगरि हालसालै जापान आएका र लामो समय जापानमै रहेर पनि भाषाको राम्रो ज्ञान नभएका  व्यक्तिहरुका लागि सधै झण्झटलाग्दो कुरा भनेको आफुँ घरमा नभएको बेला सामान वा डकुमेन्टहरुको डेलिभरी आएर फर्कनु हो । तपाई वा घरमा अन्य कोही नभएको बेला हातमै बुझ्नुपर्ने चिठीपत्र वा सामान आयो र डेलिभरी दिन असमर्थ भएका खण्डमा सामान ल्याउने व्यक्तिले एउटा सानो नोटिस ( Undeliverable Item Notice )  पोष्टबक्समा हालेर छाडिदिएका हुन्छन् । प्राय सबै  कम्पनीहरुले छाड्ने त्यस्ता नोटिसहरु जापानी भाषामै हुनेभएकाले अब के गर्ने भन्ने कुरामा धेरैलाई समस्या हुनेगरेको छ । कहिलेकाँही सामान आएको जानकारी पत्रको वेवास्ता गर्दा महत्वपूर्ण चिठीपत्र, इन्स्योरेन्स कार्ड तथा अन्य महत्वपूर्ण सामानहरु पठाउने व्यक्ति वा स्थानमै फिर्ता गएका कारण समस्यामा परेका नेपालीहरु पनि भेटिन्छन् । चिठीपत्र के आएको छ सम्म हेर्दैनहेरी च्यात्नेहरु पनि भेटिन्छन्, त्यस्तो वानीले पछि समस्या पर्नसक्छ । आँफुले पढ्न नसकेका चिठीपत्र र डकुमेन्टहरु जान्नेबुझ्नेलाई देखाएरै भएपनि के आएको रैछ भन्नेकुरा बुझ्ने गर्नुपर्दछ । आज हामी घरमा कुनै सामान आयो तर अनुपस्थितिका कारण लिन सकिएन भने के गर्ने भन्ने बारेमा जानकारी दिंदैछौं । धेरैजसो सरकारी कागजात, चिठीपत्रहरु जापान पोष्टमार्फत आउने भएकाले जापान पोष्टको ‘Undeliverable Item Notice’  कै आधारमा कुरा गरौं ।

जापान पोष्टको Undeliverable Item Notice यस्तो हुन्छ :

माथि नोटिसमा देखाइएका पाँच भागहरु निम्न हुन
१. फोनबाट : त्यहाँ दिइएको फोन नंबर डायल गरि इच्छाइएको दिन र समयमा डेलिभरी सेड्युअल गर्न सकिन्छ तर त्यो नंबर जापानी भाषामा मात्र उपलव्ध छ ।

२. इन्टरनेटबाट : जापान पोष्टको यो वेवसाइटमा गई इच्छाइएको दिन र समयमा सामान डेलिभरीका लागि रि-सेड्युअल गर्न सकिन्छ, वेवसाइट जापानी भाषामा मात्र उपलव्ध भएकाले समस्या हुन्छ भने तल ५ वा ६ नंबरमा भनिएझै गर्नुहोला ।

३. फ्याक्स वा मेल मार्फत :  तेस्रो नम्बर लगाइएको ठाउँमा भएको फारम भरी त्यहाँ दिइएको ठेगानामा पठाएर वा दिइएको फ्याक्स नम्बरमा फ्याक्स गरेर पनि सामान पुनः मगाउन सकिन्छ । यो अलि झण्झटिलो प्रक्रिया भएकाले तल ५ वा ६ नंबरमा भनिएअनुरुप गर्न सक्नुहुनेछ ।

४. नजिकैको पोष्ट अफिसमा गएर लिने : तपाईको सामान तपाई आफु नजिकैको पोष्ट अफिसमा गएर पनि लिन सक्नुहुन्छ त्यसका लागि माथि दिइएको नंबरमा सम्पर्क गरि सामान लिन आउनेबारे जानकारी गराउनुपर्दछ लिन जाँदा प्राप्त नोटिस, तपाई बस्ने ठेगाना लेखिएको परिचय पत्र ( जाइर्यु कार्ड, ड्राइभिङ लाइसेन्स वा हेल्थ इन्स्योरेन्स कार्ड ) र हान्को भने साथैमा लिएर जानुपर्छ ।

५. अंग्रेजीमा कुराकानी गर्न सकिने फोन नम्बर : 0570-046-111 मा फोन गरेर पनि तपाइ आफ्नो सामान पुन मगाउन सक्नुहुन्छ । जहाँ सोमवार देखि शुक्रवार सम्म विहान ८ बजेदेखि राती १० बजेसम्म र शनिबार र आइतबार विहान ९ बजेदेखि राती १० बजेसम्म फोन गर्न सकिन्छ ।

६. Undeliverable Item Notice संगै टाँसिएको एउटा सानो चिट पनि हुन्छ, त्यसमा सामान लिएर आएको समय, रि डेलिभरीका लागि सम्पर्क नंबर र सानो QR कोड पनि हुन्छ । यदि तपाइ स्मार्टफोन बोक्नुहुन्छ भने यो सबैभन्दा सजिलो तरिका हो, जापानी भाषा आउँदैन भने पनि चिन्ता नलिनुस् हामी के गर्ने भन्ने बारेमा सचित्र देखाउँदैछौं ।

कसरी गर्ने ?

मोवाइलमा QR Code  रिड गर्ने कुनैपनि एप्लिकेशन राख्नुहोस् । आइफोन भए यो लिंक वा एन्ड्रोइड भए यो लिंकमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ । तर तपाइ भाइबर प्रयोग गर्नुहुन्छ भने अरु कुनै एप्लिकेशन राखिरहन जरुरत छैन, भाइबर खोलेर मेन्युमा नेभिगेट गर्नुभयो भने QR Code लेखेको देख्नुहुन्छ त्यसमा क्लिक गर्नुहोस् । मोवाइलको क्यामेरा खुल्छ, सानो चिटमा भएको QR Code स्क्यान गर्नुहोस् । आइफोनमा डेफल्ट क्युआर कोड स्क्यान गर्ने फिचर पनि हुन्छ । त्यो प्रयोग गर्न पनि सक्नुहुन्छ ।

स्क्यान भएपछि एउटा लिंक आउँछ त्यसलाई ओपन गर्नुहोस् । जसले तपाइलाई एउटा फारम भर्नुपर्ने पेजमा लैजानेछ ।

माथिको चित्रमा भनिएझै आवश्यक सबै ठाउँहरुमा जानकारी भरेर पठाउनुभयो भने तपाइले भरेको जानकारी सही छ कि छैन भनेर जाँच गर्नका लागि नयाँ पेज खुल्नेछ, सबैकुरा ठीक छ भने 次へ लेखिएको रातो बटनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईले एउटा कन्फर्मेसन नंबर पाउनुहुनेछ त्यसलाई सुरक्षित राख्नुहोस्, केहीगरि सामान आएन भने त्यो नम्बर आवश्यक पर्छ, तपाइले उपलव्ध गराउनुभएको इमेलमा पनि सो जानकारी पठाइएको हुन्छ । (माथिको चित्रको ४ मा मोवाइल नम्बर राख्नुभयो भने ५ नम्बरमा फोन नंबरको एक्सटेन्सन केही नराख्दा पनि फरक पर्दैन । टेलिफोन नम्बर राख्दा पनि एक्सटेन्सन नम्बर छैनभने नराखे पनि पाइन्छ । )

यसैगरि अन्य सेवा प्रदायकहरु यामातो ट्रान्सपोर्ट, सागावा लगायतका कम्पनीहरुको सामान रि डेलिभरी गर्ने आ-आफैनै तरिकाहरु छन् । तिनको वारेमा विस्तृतमा अरु कुनै पोष्टमा लेख्नेनै छौं । अहिलेका लागि यामातो ट्रान्सपोर्टको सामान रि-डेलिभरी प्रोसेसका बारेमा बुझ्नका लागि यो लिंक र सागावाका बारेमा बुझ्नका लागि यो लिंकमा जान सक्नुहुनेछ ।

तपाइलाई यो जानकारी कस्तो लाग्यो ? काम लाग्ने जस्तो लाग्यो भने सेयर गरेर साथीभाइहरुमाझ पनि पुर्याइदिनुस् है । वहाँहरुलाई पनि काम लाग्छ नि । जापानमा नेपालीहरुको बसोवास सहज बनाउने हाम्रो अभियानमा सदैव तपाइको साथ र सहयोगको अपेक्षा रहिरहनेछ । हामीलाई केही सुझाव सल्लाह वा गुनासा छन् भने फेसबुक पेजमा म्यासेज वा मा इमेल लेख्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *