Saturday, August 13जापानबारे सबै कुरा

यस्तो छ जापानमा ‘खान्पाई’ को इतिहास

जापानीहरु मदिरा पिउनुभन्दा अगाडि गर्ने टोष्ट (ग्लास एक आपसमा ठोक्काउने काम) लाई ‘खान्पाई’ भन्छन् । जापानीहरु ‘चियर्स’ को सट्टा ‘खान्पार्ई’ शब्दको प्रयोग गर्छन् । यो त्यति ठूलो कुरा भएन । तैपनि उनीहरुको पिउने संस्कारमा चियर्स को सट्टा खान्पाईले कसरी ठाउँ लियो भन्ने केही सत्य तथ्य त होला नी ? हो आजको लेखमा यसै विषयमा जानकारी दिने प्रयास गरेका छौं । सुरुवातमै भनिहालौं, यो लेख मदिरा सेवनका लागि उक्साउन या मदिरा प्रयोगका लागि प्रोत्साहन गर्ने ध्येयले लेखिएको हैन । मदिरापान स्वास्थ्यका लागि हानिकारक छ ।

१.पिउनुभन्दा अगाडि टोष्ट किन गरिन्छ ?

खान्पाईबारे कुरा गर्नु अघि मानिसहरु यत्तिकै पनि पिउनु अघि टोष्ट किन गर्छन् होला भन्ने कुराबारे बुझौं । पिउँदा टोष्ट गर्ने चलन भग्वानका लागि भग्वानकै मदिरा पिउने र मृत्यु भएका मानिसका नाममा पिउने धार्मिक समारोहबाट आएको मानिन्छ । टोष्ट गर्नुका पनि मुख्य दुई कारण छन् ।

 दुष्टात्माबाट छुटकारा पाउन

मध्य युगका मानिसहरु मदिरामा राक्षसको बास हुने विश्वास गर्थे । त्यसैकारण सिधै मदिरा पिउँदा ती दुष्टात्माको बसमा रहने उनीहरुको सोच थियो । त्यसैकारण यस्ता खराब आत्माहरुबाट छुटकारा पाउन उनीहरुले मदिराले भरीएका दुईओटा गिलास एकआपसमा ठोक्काएर आवाज निकाल्न थाले । यसरी गिलास ठोकाउँदा आउने आवाजबाट खराब आत्माहरु डराएर भाग्ने र उनीहरुको नजिक नआउने विश्वास रहेको थियो ।

विषमुक्त भएको सुनिश्चित गर्न

मदिराका दुवै ओटा गिलास विष मुक्त भएको जाँच गर्न पनि मानिसहरुले टोष्ट गर्थे । प्राचिन यूरोपमा विष खुवाएर एक अर्कालाई मार्ने प्रवृृत्ति व्याप्त थियो । त्यसैकारण पनि अर्काको गिलासमा पनि मदिरा परोस् भनेर मानिसले टोष्ट गर्न थाले । उनीहरुले अर्को मानिसले मदिरा पिएपछि विष भए नभएको जाँच गरेर मात्रै आफूले मदिरा पिउँथे । अर्को मानिसले मदिरा पिएपछि त्यसमा विष नभएको यकिन गर्न सकिन्थ्यो । किनकी विष भएको भए त उसले पनि पिउँदैन थियो नी भन्ने विश्वास गरिन्थ्योे ।

२. जापानमा टोष्टको शुरुआत कहिले भयो ?

इदो पिरियडको करीब अन्त्यतिर जापानमा पहिलो पटक टोष्टको शुरुआत भएको इतिहास पाइन्छ । सन् १८५४ मा जापान र इङग्ल्याण्डबीच एङ्ग्लो जापान मैत्री सन्धी भएको थियो । बेलायती अर्लअफ एल्गिन जापानमा थप वार्ता गर्न र जापानी रणनीतिक साझेदार कियोनाउ इनोउएलाई भेट्न जापान पुगेका थिए । खान्पाई शब्दका निर्माता उनै कियोनाउ इनोउए हुन् । पार्टीमा एल्गिनले बेलायतीहरुले त्यहाँ गर्ने जस्तै टोष्ट गर्न लगाए । तर उनी जुरुक्क उठे र खान्पाई भन्दै चिच्याए । त्यो शब्द सबैलाई मनप¥यो र उनीहरु हाँसेको हाँसेकै भए । अहिलेको भाषामा भन्नुपर्दा त्यो शब्द ‘हिट’ भयो । पिउनुभन्दा अगाडि टोष्ट गर्नेबारे उनले चीनबाट पहिल्यै सिकेका थिए र तुरुन्तै नयाँ शब्द बनाए ।

३. गिलास खाली गर

जापानमा खान्पाई खान्जीमा लेख्दा “乾杯” यस्तो हुन्छ । 乾 को मतलव ‘गिलास खाली गर’ र 杯 को मतलब चाहिँ ‘गिलास वा कप’ भन्ने हुन्छ । त्यसैकारण यी दुवैको संयुक्त मतलब ‘जे पिउँदैछौ त्यो गिलास खाली गर’ भन्ने हुन्छ भन्ने मान्यता छ ।

४. पानीसँग खान्पाई गर्नु अशुभ

प्रायजसो मदिरा पिउँदा टोष्ट गरिन्छ । तर मदिरा नपिउनेले भने पानीसँग पनि टोष्ट गर्छन् । तर जापानमा पानीले भरिएको गिलास टोष्ट गर्नु अशुभ मानिन्छ । पानीको गिलास टोष्ट गर्नु भनेको मरेका मानिसलाई विदा गरेको घोषणा गर्नु जस्तै हो । त्यसैकारण यो अशुभ संकेत हो । कुनै पार्टीमा जाँदा यदि मदिरा पिउने बानी नभएमा साथीभाई छन् भने उनीहरुले टोष्ट गर्नु अघि हल्का पेय पदार्थ अर्डर गर्नु राम्रो हुन्छ ।

५. कम्पनीको पार्टीमा खान्पाई गर्ने तरिका

कम्पनीको पार्टीमा पिउनु अघि टोष्ट गर्ने तरिका पनि छुट्टै छन् । टोष्ट गर्नु अघि जापानको व्यावसायिक नियमबारे जानकारी राख्नु राम्रो हुन्छ । सामान्यतयाः कम्पनीको तेस्रो ठूलो पदीय व्यक्ति र कम्पनीका प्रमुख कार्यकारी अधिकारीले सबैका लागि टोष्ट गर्छन् । तर यो कम्पनीपिच्छे फरक पनि हुन सक्छ । त्यसैले कम्पनीको पार्टीमा पिउनु अघि कसले ‘खान्पाई’ भन्छ भन्ने कुरा अग्रजसंग जानकारी लिन सकिन्छ ।

जापानमा खान्पाई शब्दको शुरुआत १ सय ६४ वर्ष पहिले भएको थियो । जापानीहरुले मदिरा पिउने पार्टीमा एक पटक मात्रै खान्पाई गर्छन् तर यदि कोही ढिलो आइपुगेको छ भने उसका लागि पुनः एकपटक “खान्पाई” गर्छन् ।

आशा छ यो जानकारी तपाईलाई रोचक लाग्यो । थप यस्तै जानकारीका लागि नियमित रुपमा हाम्रो पेज र यही व्लग हेदै गर्नुहोला है । खान्पाईबारे तपाईका केही अनुभव छन् भने कमेन्टमा लेख्न पनि सक्नुहुन्छ । यो जानकारीलाई सेयर गरेर साथीभाइहरुमाझ पुर्याउन पनि सक्नुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *