जागिर खोज्दा हामी प्रायः ‘करारको कर्मचारी’ भन्ने शर्तहरु देख्छौं । तर नियमित कर्मचारीभन्दा करारको कर्मचारी कसरी भिन्न छ । ? करारका कर्मचारी पनि पार्ट टाइम वा अस्थायी कर्मचारी जस्तै ‘अनियमित खालका कामदार’ हुन् । यिनीहरु नियमित कर्मचारी भन्दा फरक छन् । आजको यस लेखमा हामीहरुले नियमित र करारका कर्मचारीबीचको भिन्नताबारे कुराकानी गर्नेछौं । अनि करारका कामदारका रुपमा काम गर्दा सचेत रहनु पर्ने कुराहरु पनि औंल्याउनेछौं ।
नियमित र करारका कर्मचारीबीचमा रहेको भिन्नता
रोजगारीको अवधि नियमित र करारका कर्मचारीका लागि फरक फरक हुन्छ । नियमित कर्मचारीको लागि कुनै निश्चित समय तोकिएको हुँदैन । यो अनिश्चित अवधिसम्म गर्न सकिने रोजगारी हो । यसमा कर्मचारीले सेवानिवृत्त नहुँदासम्म पूरा समय काम गर्दछ भन्ने अनुमान गरिन्छ । अर्कोतर्फ करारको कर्मचारी चाँहि निश्चित अवधिको लागि नियुक्त गरिएका हुन्छ । यिनीहरुको करारमै अवधि उल्लेख गरिएको छ । सामान्यतः करारको समय १ देखि ३ वर्षसम्मको हुने गरेको छ । करार अवधि सकिने मिति नजिकिँदै गर्दा करार नवीकरण गर्ने कि नगर्ने भन्नेबारे निर्णय गरिन्छ ।
करारका कर्मचारीहरुले सार्वजनिक बिदा, तलबी बिदा र सामाजिक बीमा पनि पाउँछन् । केही कम्पनीले त बोनस पनि दिन्छ । यद्यपि, करारमा काम गर्ने कर्मचारीको जागिर नियमित कर्मचारीको तुलनामा रोजगारीको अवधिमा मात्रै नभएर आयको मामिलामा पनि कम स्थीर हुन्छ । केही कम्पनीमा नियमित कामदारका रुपमा प्रवेश गर्न कठिन हुन्छ । तर करारका कर्मचारीका रुपमा प्रवेश गर्न तुलनात्मक रुपमा सहज हुन्छ । त्यसैले केहीले करारका कर्मचारीका रुपमा कम्पनीमा आबद्ध भएर उनीहरुको क्षमताको पहिचान भएपछि नियमित कर्मचारी बन्ने लक्ष्य पनि राख्ने गरेका छन् ।
नियमित र करारका कर्मचारी बन्नुको लाभ र हानी
नियमित कर्मचारीहरुले लामो समयसम्म काम गर्छन् भन्ने अपेक्षा गरिन्छ । यिनीहरुको आय पनि स्थीर हुन्छ । अर्को तर्फ उनीहरुसँग आफूले काम गर्ने तरिका रोज्ने स्वतन्त्रता हुँदैन । यसको ठिक विपरित करारका कर्मचारीहरुले केही हदसम्म आफ्नो व्यक्तिगत समय तालिकाअनुसार काम गर्न सक्छन् । यद्यपि, जापानको श्रम ऐनमा भनिएको छ कि करारका कामदारका लागि निश्चित करार अवधि सिद्धान्ततः तीन वर्षमा सीमित गरिएको छ । त्यसैले कम्तिमा हरेक तीन वर्षमा यस्ता कर्मचारीलाई आफ्नो जागिर जाने हो कि भन्ने चिन्ता भने भइरहन्छ । आफूले कस्तो खालको काम गर्ने भनेर चयन गर्नु अघि तपाईले नियमित कामदार र करारका कामदार हुँदाको लाभ र हानीबारे मनन गर्नु पर्दछ । जुन यस प्रकार रहेका छन्ः
नियमित कर्मचारी हुनुको लाभ
– सिद्धान्ततः यिनीहरु सेवानिवृत्त नहुँदा सम्म जागिरमा रहन्छन् ।
– यिनीहरुको तलब बढ्छ÷पदोन्नति हुन्छ ।
– करारका कर्मचारीको तुलनामा बोनस धेरै हुन्छ ।
– कयौं केसमा सेवानिवृत्ति भत्ता पनि पाउँछन् ।
नियमित कर्मचारी हुनुको हानी
– लामो समयसम्म बिदा लिन पाइदैन ।
– स्थानान्तरणको सम्भावना रहन्छ ।
– फूल टाइम काम हो ।
करारको कर्मचारी हुनुको लाभ
– कम्पनीमा प्रवेश गर्न नियमित कर्मचारीको तुलनामा सजिलो हुन्छ ।
– स्थानान्तरणको सम्भावना कम हुन्छ ।
– कार्यदिन र कार्य घन्टाबारे छलफल गर्न सहज हुन्छ ।
करारको कर्मचारी हुनुको हानी
– रोजगारदाताले चाहे भने करारको अवधि नवीकरण नहुने हो कि भन्ने जोखिम हुन्छ ।
– करारको अवधि नसिकँदासम्म जागिर छाड्न सकिदैंन ।
– नियमित कर्मचारीको तुलनामा बोनस थोरै हुन्छ ।
– कयौं केसमा सेवानिवृत्ति भत्ता समेत पाइदैन ।
करारको कर्मचारीको रुपमा काम गर्दा ध्यान दिनु पर्ने कुराहरुः
करारका कर्मचारी भन्ने शब्दावली जापानी कानूनमा छैन । यो भनेको पार्ट–टाइम वा डिस्प्याच कर्मचारीहरु जस्तै अनियमित खालका कामदार हो । करारका कर्मचारीको रुपमा काम गर्दा काम गर्ने अवस्था हेर्न रोजगारीको समय, करार नवीकरणको सम्भावना र शर्तहरु अनि नियमित कामदारमा पदोन्नति आदिबारे ध्यान दिएर हेर्नुहोला ।
रोजगारीको अवधि, करार नवीकरणको सम्भावना र शर्तहरु
रोजगारीको अवधि, करार पूरा भएपछि नवीकरणको सम्भावना र नवीकरणका शर्तहरु राम्ररी पढ्नुहोस् । यी तीन कुराहरुबारे नबुझिने गरी लेखिएको छ वा लेखिएकै छैन भने यसबारे कम्पनीमा व्यवस्था के कस्तो छ बुझेर यसलाई करारमै समावेश गर्न लगाउनु वेश हुन्छ ।
नियमित कामदारमा पदोन्नति
कहिलेकाँही करारमा कर्मचारी नियुक्त गर्दा नियमित कामदारको हैसियतमा पदोन्नति गरिने भनेर उल्लेख नै गरिएको हुन्छ । यो भनेको करारमा काम गर्ने कर्मचारीको हैसियत नियमित कामदारमा परिणत गर्नु हो । तपाई पनि नियमित कामदारका रुपमा एक कदम अगाडि बढ्न चाहनु हुन्छ भने कम्पनीले करारका कर्मचारीलाई नियमित कर्मचारीको रुपमा पदोन्नति गरेको रेकर्ड र वास्तविक अवस्था पूष्टि गर्नु राम्रो हुन्छ । आवेदकहरुलाई आकर्षित गर्नका लागि यसको प्रयोग गर्ने तर करारमा काम गर्ने कर्मचारीलाई नियमित कामदारमा पदोन्नति गरेको रेकर्ड एउटै नभएका कमपनीहरु पनि हुन सक्छन् । यस मामिलामा अलि ध्यान दिनु होला ।
निस्कर्ष
नियमित र करारका कर्मचारीबीचको सबैभन्दा ठूलो भिन्नता भनेको रोजगार अवधि हो । कम्पनी अनुसार सम्झौताका कुरा र शर्तहरु फरक हुन सक्छन् तर कुनै कम्पनीमा लामो करियर बनाउन चाहनेको लागि नियमित कामदारका रुपमा काम गर्नु उत्तम हुन्छ । अर्को तर्फ व्यक्तिगत कारणले गर्दा हप्तामा तीन दिन मात्रै काम गर्न सक्ने वा बिहान ९ बजेदेखि १६ बजेसम्म काम गर्न पाउनेहरुका लागि भने करारको कर्मचारीका रुपमा काम गर्न बढी उपर्युक्त हुन्छ । यसमा उनीहरुले काम गर्ने शैली रोज्न सक्छन् । तपाई पनि आफूलाई जुन खालको काम सुहाउँछ त्यति चयन गर्नुहोस् है ।