Sunday, June 13जापानबारे सबै कुरा

जापानमा एइज्युकेन कसरी लिने ? आवश्यक डकुमेन्टहरु के–के हुन् ?

जापानको पर्मानेन्ट रेसिडेन्सि (एइज्युकेन -永住権) अन्य देशहरुको भन्दा केही बढि समय लाग्ने तथा गाह्रो प्रकृया भएको त हामीले यसअघिका केही लेखहरुमा जानकारी लेखिसकेका छौं । आजको पोष्टमा स्थायि भिसा पाउन पूरा गर्नुपर्ने आवश्यक प्रकृया, आवश्यक कागजातहरु, भिसा एप्लाईको प्रकृया तथा पर्मानेन्ट रेसिडेन्सी पाइसकेपछि के गर्ने भन्ने विषयमा जानकारी दिंदैछौं । यो जानकारी हाम्रो अनुभव, स्थायि आवास भिसा लिइसकेकाहरुको अनुभव, इमिग्रेसन ब्यूरोको वेवसाइट तथा अन्य केही वेवसाइटमा प्राप्त सूचनाहरुका आधारमा तयार पारिएको हो । हामीलाई म्यासेजमा धेरै जनाले यस विषयका प्रश्नहरु सोधिरहनु हुने भएकाले हाम्रो आफ्नै सहजताका लागि पनि यो जानकारी एकत्रित गरिएको हो ।

स्थायि रेसिडेण्ट भिसा पाउन कत्तिको कठिन छ?

जापानमा लामो समयसम्म बस्ने सोचमा हुनुहुन्छ भने स्थायि आवास भिसाका लागि आवेदन दिनुपर्छ । भिसा पाउन १० वर्षसम्म लगातार जापानमा बसेको हुनुपर्छ । यसका साथै जापानको सामाजिक सुरक्षा प्रणालीमा पर्याप्त योगदान पुर्याएको प्रमाण पनि पेश गर्नुपर्छ । अन्य नियमित भिसाभन्दा स्थायी भिसा आवेदन प्रकृयामा केही थप प्रयासहरु गर्नुपर्छ र आवश्यक प्राय कागजातहरु आँफु बस्दै गरेको सिटी अफिसबाट लिन सकिन्छ । सामान्य भिषा एक्सटेन्सनको शुल्क ४ हजार लाग्छ भने स्थायि आवासिय भिसाको खर्च भने ८ हजार येन लाग्छ ।

स्थायि भिसा पाउन पुरा गर्नु पर्ने आवश्यक प्रकृयाः

– उचित व्यवहार (आपराधिक गतिविधि वा रकसम्बन्धी नराम्रो आचरण भएको व्यक्तिले भिसा पाउन गाह्रो हुन्छ)
– पर्याप्त आम्दनी र जापानमा बाँच्न सक्ने क्षमता (स्थायि जागिर, पर्याप्त वचत आदी)
– हाल भइरहेको भिसा स्टेटस कायम राख्न आवश्यक सम्पूर्ण प्रकृया पुरा
– विद्यार्थीहरुको हकमा १० वर्ष लगातार जापान बसाइ जसमा ५ वर्ष वर्क भिसा वा अन्य भिसाको बसाइ पनि समावेश हुनुपर्छ

– पछिल्लो बसाइ लामो समयसम्म हुन जरुरी छ –अधिकांश स्थितीमा ३ वर्ष)
– कर तिरेको र जापानको आधिकारिक सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्याएको हुनुपर्छ
– वार्षिक तलवबारे भने निश्चित संख्यात छैन तर पनि वार्षिक ३० लाख येन आम्दानी भएमा भिसा पाउने सम्भावना केही बढ्छ र हरेक डिपेन्डेन्टहरुको हकमा ६ लाख देख ८ लाख येनसम्मको बार्षिक रकम छुट्टिनुपर्ने हुन्छ तर तपाइको वचत र अन्य केही रकम कटौती गर्दा कमाई कम देखिन सक्छ ।

आवास अवधि छोट्याउने तरिका

स्थायी भिसाका लागि आवेदन दिनुअघि आफनो रेसिडेन्स अवधि छोट्याउने केही तरिका यहाँ प्रस्तुत गरिएको छः

१. विवाहितलाईः
– जापानी नागरिक र त्यहाँका स्थायि बासिन्दाका पति/पत्नी ३ वर्षयताको विवाहित हुन र एक वर्ष भन्दा बढी समय लगातार जापानमा बसेको हुनुपर्छ ।
– जापानी नागरिक र त्यहाँका स्थायि बासिन्दाका बालबच्चाले स्थायि भिसा पाउन १ वर्ष भन्दा बढी समयसम्म लगातार जापान बसेको हुनुपर्छ ।

२.पर्याप्त अंक हासिलः
– सन् २०१२ मा जापानले म्यानेजमेण्ट,रिसर्च र प्रविधिको क्षेत्रमा उच्च कौशल भएका आवेदकहरुलाई अंकमा आधारित प्रणालीको विकास गरेको थिये ।
– अङ्क मापन टेबलमा ७० अङ्क हासिलैगर्नेले तीनवर्षमै आवेदन दिन पाउँछन् । त्यस्तै ८० अंक प्राप्त गर्नेले त एक वर्षमै आवेदन दिन पाउँछन् ।

प्वाइन्ट क्याल्कुलेशन सिस्टममा आफ्नो प्वाइन्ट पुग्छ जस्तो लाग्छ भने यहाँ क्लिक गरि थप जानकारी लिन सक्नुहुन्छ ।

३.जापानमा महत्वपूर्ण योगदान दिएकोः
– कूटनीति, अर्थशास्त्र, उद्योग, कला,अनुसन्धान जनकल्याण र खेलकुदका क्षेत्रमा योगदान दिनुभएको छ भने जापान बसेको पाँच वर्षमै स्थायि रेसिडेन्स भिसाका लागि आवेदन दिन सकिन्छ ।
– यस्तो हुन अलिक कठिन नै छ । यसका लागि या नोबल पुरस्कार विजेता हुनपर्यो या त विशेष सम्मानित व्यक्ति । यदि तपाइको योग्यता योसँग मिल्छ भने तपाइले आवेदन दिन सक्नुहुन्छ ।

आवश्यक दस्तावेज

स्थायि भिसा आवेदन दिन निम्न दस्तावेजको आवश्यकता छः

१. स्थायि रेसिडेन्स आवेदन फारम (永住許可申請書・eijuken shinsei-sho)
यहाँ क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ ।

२. फोटो
– पछिल्लो तीन महीनामा लिइएको टाउको प्रष्ट देखिएको, सादा ब्याकग्राउण्ड 
४ सेमि ३ सेमि सिंगल फोटो एउटा ।
– फोटोको पछाडि आवेदकको पुरा नाम

२. रेसिडेण्सको प्रमाणपत्र  (住民票・juminhyo)
– स्थानीय सिटि कार्यालयबाट हासिल गर्न सकिन्छ

३. रोजगारी सम्बन्धी प्रमाणपत्र 
– कुनै कम्पनीमा काम गर्नेलाई रोजगारीको प्रमाण (在職証明書・zaishoku shomeisho) चाहिन्छ
– स्वरोजगारलाई फाइनल इनकम रिटर्न स्टेटमेण्ट (確定申告書の控え・kakutei shinkokusho no hikae) पेश गर्नुपर्छ
– यदि आफ्नै व्यवसाय छ भने व्यावसायिक अनुमति 営業許可書・eigyo kyoka-sho) चाहिन्छ
– यदि आफ्नो पति वा पत्नीमा निर्भर हुनुहुन्छ भने उसले यी सबै विवरण बुझाउनुपर्छ ।

४.आम्दानी विवरण (所得・shotoku) र आवास करको भुक्तानी (住民税・juminzei)
– नोजेई सोमेइस्यो (納税証明書) ले तपाइको आवासिय करको भुक्तानीको प्रमाण दिन्छ । यसमा तपाइको कुल आम्दानी पनि सूचीकृत हुने भएकाले यो मात्रै दस्तावेज भए पुग्छ ।
– यदि यसमा कर कटौती लगायतका कुराहरु समावेश भएका छैनन् भने खाजेइस्योमेइस्यो (課税証明書) को आवश्यकता पर्छ । यसमा करसम्बन्धी रकम हुन्छ । दुवै दस्तावेज स्थानीय सिटि कार्यालयबाट पाउन सकिन्छ । न्याय मन्त्रालयमा पछिल्लो दस्तावेजको मात्रै आवश्यकता भएपनि सामान्यतयाः भने तीन वर्षको दस्तावेजको आवश्यकता पर्छ ।
– यदि कुनै कम्पनीमा काम गरिरहेको होइन भने तपाइले अघिल्लो वर्ष बैंकबुकमा एण्ट्री गरेको कपि (預貯金通帳・yochokin tsucho) पनि बझाउनु पर्छ । कम्पनीमा काम गर्नेले पनि यो उपलब्ध गराए राम्रो ।

५. पासपोर्टमा भएको आइडी पेजको कपि

६. रेसिडेण्स कार्डको अगाडि र पछाडिको फोटोकपि (在留カード・zairyu card)
– स्थायि भिसा आवेदन बुझाउन लेटर अफ ग्यारेण्टी लेख्न चाहने जापानी नागरिक वा त्यहाँको स्थायि रेसिडेण्टको भिसा भएको ग्यारेण्टरको आवश्यकता पर्छ ।

स्थायि बसोबास भिसाका लागि आवेदन दिँदा आवश्यक डकुमेन्टेसनहरुबारे अध्यागमन कार्यालयको वेवसाइटमा राखिएको अंग्रेजीमा लेखिएको जानकारी यो लिंकमा छ तर जापानी भाषामा लेखिएको यो लिंकमा भने अंग्रेजीमा भन्दा अझ विस्तृतमा जानकारीहरु छन् ।

जापानी भाषाभन्दा बाहेकका कागजातहरु जापानी भाषामा ट्रान्सलेट गरिएको हुनुपर्छ । बुझाइसकिएको प्रमाणपत्र फिर्ता नहुने भएकाले प्रमाणपत्रको फोटोकपि पेश गर्नु नै राम्रो हुन्छ ।

पति वा पत्नीको माध्यमबाट भिसा आवेदन दिँदा पेश गर्नु पर्ने थप कागजपत्र

पति वा पत्नीको माध्यमबाट भिसा आवेदन दिँदा माथि उल्लिखित कागजपत्र बाहेक केही थप दस्तावेज पनि बुझाउनुपर्छ ।

– तपाइको नाम उल्लेख भएको पति वा पत्नीको फयामिलि रेजिष्ट्री । (戸籍謄本・koseki tohon)
– यदि पति वा पत्नी जापानको स्थायि भिसा बाहक (नागरिक हैन) हो भने वैवाहिक प्रमाणपत्र र तपाईहरुको विचको सम्बन्ध खुल्नेगरि श्रीमतिले लेख्ने पत्र ।

– स्पाउजका रुपमा आवेदन दिन लागेको हो र यदि तपाइ वेरोजगार हुनुहुन्छ भने तपाइको स्पाउजले रोजगारी सम्बन्धी दस्तावेज बुझाउनुपर्छ र तपाइले चाहिँ आफ्नो आर्थिक अवस्थालाई कसले सहयोग गर्छ भन्ने उल्लेख भएको दस्तावेज पेश गर्नपर्छ ।
– परिवारका सबै सदस्यको रेसिडेण्स प्रमाणपत्र पेश गर्नुपर्छ ।

ग्यारेण्टरका लागि चाहिने दस्तावेज

स्थायि भिसा आवेदन बुझाउन लेटर अफ ग्यारेण्टी लेख्न चाहने जापानी नागरिक वा त्यहाँको स्थायि रेसिडेण्टको भिसा भएको ग्यारेण्टर (身元保証人・mimoto hosho-nin) को आवश्यकता पर्छ । एसलाई निम्न दस्तावेज पेश गर्न आपत्ति हुनु हुँदैन ।

१. ग्यारेण्टी पत्र (身元保証書mimoto hosho-sho)
२.ग्यारेण्टरको हालको कम्पनीले जारी गरेको रोजगारीसम्बन्धी प्रमाणपत्र (在職証明書・zaishoku shomeishoवा जागिर सम्बन्धी अन्य प्रमाण
३.अघिल्लो वर्षको आम्दानी विवरण (所得証明書・shotoku shomei-sho)
४. ग्यारेन्टरको बसोबास प्रमाणपत्र (住民票・juminhyo)

यि सबै आवेदकको आफ्नो दस्तावेजसँगै पेश गर्नपर्छ ।

थप अन्य केही दस्तावेजहरु

– परिवारका सबै सदस्यको राष्ट्रिय स्वास्थ्य बीमा कार्ड (健康保険証・kenko hoken-sho)
– जापानको तपाइको योगदान बताउने जापानीमा लेखिएको एक व्यक्तिगत पत्र
– कम्पनी वा जापानमा तपाइको योगदान बताउने तपाइको कम्पनीले लेखेको एक सिफारिश पत्र
– तपाइको योगदान बताउने कुनै पनि दस्तावेज ।

भिसा पाउन कति समय लाग्छ?

स्थायी भिसा रेसिडेण्स भिसाको लागि औपचारिक पर्खाइको समय भनेको ६ महीना हो । यसमा चार देखि ८ महीनाको समय लाग्न सक्छ । यसको मतलब के हो भने सो अवधिभित्र यदि तपाइको हालको भिसाको म्याद सकिन्छ भने नवीकरण पनि गर्नुपर्छ ।

भिसा पाइसकेपछि

स्थायी रेसिडेन्स भिसा पाइसकेपछि तपाइ जे काम पनि गर्न सक्नुहुन्छ र जापानमा तपाइको जीवनशैली थप सहज बन्छ । यो भिसा पाइसकेपछि ऋण पाउन र घर तथा अन्य सम्पत्तिहरुको खरिदबिक्री पनि सजिलो हुन्छ । यो कार्ड पाइसकेपछि तपाइको विश्वव्यापि आम्दानीमा कर दायित्वसम्बन्धी कुराहरुबारे ज्ञान राख्नुपर्छ ।

यदि तपाइ लामो समयसम्म जापानबाहिर बस्ने सोचिरहनुभएको छ भने स्थायि रेसिडेन्स स्टेटस कायम राख्न हरेक १२ महीनामा कम्तिमा पनि एक पटक देशमा फर्किनुपर्छ । आफ्नो रेसिडेन्स कार्डको म्याद ७ वर्ष सम्म मात्रै रहने कुरा बिर्सनु हुँदैन । सात वर्षपछि रेसिडेन्स कार्डको अवधि लम्ब्याउन आफ्नो रेसिडेन्स कार्ड, पासपोर्ट र आवेदन लैजानुपर्छ ।

आशा छ यो जानकारीले जापानको स्थायि बसोबास भिसाबारे तपाईको मनमा रहेका धेरै जिज्ञाशाहरु मेट्न सक्यो । थप केही जानकारीहरु आगामी दिनमा पनि आउँनेछन् । यो जानकारी उपयोगी लाग्यो भने सेयर गरेर आफ्ना आफन्त तथा साथीभाईहरुमाझ पुर्याइदिनुस् है । यस्तै अन्य जानकारीका लागि हाम्रो पेज तथा यही ब्लग नियमित हेर्दै गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *