Wednesday, September 22जापानबारे सबै कुरा

गर्मी महिनामा खानैपर्ने स्वस्थकर जापानी खानाहरु

जापानको गर्मी महीना अत्यधिक तातो हुने कुरा यस अघिका लेखहरुमा पनि बताइसकिएको छ । गर्मीमा शरिरलाई कसरी कुल राख्ने भन्ने बारेमा लेखिएको जानकारी पनि यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ । आजको लेखमा भने गर्मी महीनामा आनन्द लिन सकिने केही जापानी खानेकुराका बारेमा केही बताउने प्रयास गरिँदैछ । यि खाना स्वास्थ्यका लागि पनि फाइदाजनक छन् ।

१.जारुसोबा (चिसो फापरको नूडल्स)

जारुसोबा चिसो सोबा नूडल्स हो जसलाई बाँसको ट्रेमा सर्भ गरिन्छ । छुट्टै कचौरामा आउने सुपमा नूडल्स डुबाँउदै खानुको मज्जा यहाँ बयान गर्न सकिँदैन । रेष्टुराँमा सोबा नूडल्स खाइसकेपछि त्यहाँ तातो सोबा यु अर्थात तातो पानीमा डुबाइएको सोबा सर्भ गरिन्छ । जारुसोबा तेम्पुरासँग खाँदा यसको स्वाद झन् बढ्छ । सोबामा एमिनो एसिड, रुटिन र भिटामिन बी १ र बी२ को मात्रा अत्यधिक हुने हुँदा यो स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । यसले गर्मीबाट शरीरलाई बचाउँन सहयोग गर्न । यसमा पाइने रुटिनले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ साथै यसमा भएको एण्टिअक्सिडेण्टले तपाइलाई जवान र आकर्षक बनाइराख्न सहयोग गर्छ । तर कसै कसैलाई भने सोबाबाट एलर्जी पनि हुन सक्ने भएकाले यसलाई खानुअघि यो बारेमा जानकारी हासिल गर्नु राम्रो हुन्छ ।

२. जारु–उदोन (चिसो उदोन (मोटो गहूँ) नूडल्स)

जारु–उदोन चिसो नूडल्स हो र यसलाई पनि बाँसको ट्रेमा सर्भ गरिन्छ र छुट्टै कचौरामा सुप दिइन्छ । यो अलिअलि जारुसोबा जस्तै हो । यो गहूँको पीठोबाट बनाइएको बाक्लो नूडल्स हो । यसलाई पनि क्रिस्पी तेम्पुरासँग खाँदा थप आनन्द आउँछ । उदोन पचाउन अत्यन्तै सजिलो छ र यसमा सोबाको तुलनामा फाइबरको मात्रा पनि कम हुने भएकाले यसले उर्जा विकास छिटो हुन सहयोग गर्छ ।

३. हियाशि–च्युका (चिसो जापानी स्टाइलको चाइनिज नूडल्स)

हियाशि–च्युका चिसो जापानी स्टाइलको चाइनिज नूडल्स हो यसको टपिङमा काँक्रो, पालुङ्गो, अण्डा, हयाम, गोलभेडा लगायतका कलरफूल सामाग्री हालिएका हुन्छन् र यसलाई गुलियो र अमिलो सुपसँग सर्भ गरिन्छ । बाहिर अत्यधिक गर्मी भएको बेला यसको अमिलो स्वादको मज्जा उठाउन सकिन्छ । यसमा दिइने सुप र टपिङहरु रेष्टुराँपिच्छे फरक फरक हुन्छन् र यो कन्भिनियन्स स्टोरमा पनि सजिलै पाइन्छ ।

४. नागाशी सोमेन

यो गहूँको पिठोबाट बनाइएको पातलो नूडल्स हो । यसलाई छुट्टै कचौरामा सर्भ गरिने अमिलो सुपसँग खाइन्छ । गर्मी महीनामा केही खान मन नलागेको अवस्थामा यसको सेवन प्रभावकारी हुन्छ । यो नूडल्स एकदमै पातलो हुने हुँदा यो सजिलै घाँटीबाट छिर्छ र केही खाउँ जस्तो नभएको बेलामा पनि यो खान सकिन्छ । यसलाई पकाउन पनि धेरै सजिलो छ । नागाशी सोमेन जापानको एक परम्परागत खाना पनि हो । पानी डुबाइएको सोमेन समात्न बासँको पाइपको प्रयोग गरिन्छ र चपस्टिक्सबाट समात्दै सुप भएको कचौरामा चोबेर खान सकिन्छ । बाँसको पाइपको प्रयोग गर्दा नूडल्समा बाँसको बासना पनि आउँछ जसले आनन्दको अनूभूति दिन्छ ।

५. उनागी (इल्स)

लामो समदेखि जापानको लोकप्रिए खानेकुरा बनेको एल्स पौष्टिक तत्वले पनि भरिपूर्ण परिकार हो । यसमा प्रोटिन, भिटाभिन ए, बी १,बी २, डी, र इ, डीएचए, इपीए र मिनरल्सको मात्रा धेरै हुन्छ । यसलाई ग्लेज ग्रिल्ड गरेर पकाइन्छ । यसो गर्दा यो बाहिरबाट क्रिस्पी हुन्छ भने भित्र चाहिँ जुसी र नरम हुन्छ । यसमा हालिएको सोय सस गुलियो र बाक्लो हुन्छ । रेष्टुराँमा इल्स अर्डर गर्दा प्लेन सुप पनि सर्भ हुन्छ ।

६. ताको (अक्टोपस)

जापानमा अक्टोपस पनि लोकिप्रय परिकारमध्येको एक हो । गर्मीमा यसलाई भेनेगरले सिजण्ड गरेर सर्भ गरिन्छ । यसलाई समुद्री झार र काँक्रोको टुक्रासँग सर्भ गरिन्छ । यसमा टोउरिनको मात्रा धेरै हुन्छ जसले हाम्रो सेल्स (कोशिका) हरुलाई राम्रोसँग काम गर्न सहयोग गर्छ । त्यसैले गर्मीमा अक्टोपस खानु राम्रो मानिन्छ ।

७.हामो

यो इल्सजस्तै लामो माछा हो । तर यो इल्सजस्तो बाक्लो हुँदैन । पश्चिमी जापानमा यसलाई एकदमै महङ्गो परिकारका रुपमा पनि लिने गरिएको छ । माछामा धेरै काँडा हुने भएकाले कुकले बाहिरि छालालाई काटेर काँडा नभएको पार्टलाई मात्रै पकाउने हुँदा कुनै झण्झटबिना नै यसको मज्जा लिन सकिन्छ । यो एकदमै सादा हुन्छ र प्राय भातसँग सर्भ गरिन्छ । यसलाई मिसो पेष्ट र भिनेगरको डिपिङ ससमा चोबेर खान सकिन्छ ।

तपाईको मनपर्ने जापानी खाना के हो ? तल कमेन्टमा लेख्नुस् है । यो जानकारी मन परेमा सेयर पनि गरिदिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *