Wednesday, June 29जापानबारे सबै कुरा

जापानमा भोग्नुपर्ने ५ समस्या र समाधानका उपायहरु

जापानका उत्कृष्ट चीजहरुबारे कयौं लेख लेखिएका छन् । हामीले पनि यसबारे लेखेका छौं जुन तपाई यही वेवसाइटमा पढ्न सक्नुहुन्छ ।

जापानमा बसिरहनु भएको वा आउन लाग्नु भएको हो भने त्यहाँ तपाईले सामना गर्न सक्ने कयौं समस्याहरु कहिले सोच्नु भएको छ ? यसबारे सोच्नु जरुरी छ । तर डराउनु भने पर्दैन । जापानमा तपाईले भोग्नु पर्ने पाँच समस्या र यसको समाधान कसरी गर्ने भनेर तरिकाहरु समेत दिइएको छ ।

भाषागत अवरोध

जापानमा मानिसहरुले जापानी भाषा बोल्छन् । झट्ट सुन्दा तपाईहरुलाई पनि जापानीहरुले त उनीहरुको आफ्नै मातृ भाषा त बोल्छन् नि भन्नु होला । तर कयौं विदेशीहरुले जापानीहरुले आफुसंग अंग्रेजीमै कुरा गरुन् भन्ने चाहन्छन् । एक सर्वेक्षणमा, २० देखि ४९ वर्षका जापानीहरुमध्ये करीब ७२ प्रतिशतले आफु अंग्रेजी बोल्न नसक्ने बताएका थिए ।

आजभोलि अंग्रेजी भाषामा संकेत र सेवाहरु उपलब्ध भएपनि जापानी भाषा महत्वपूर्ण छ । बैंक खाता खोल्ने, अपार्टमेन्ट खोज्ने वा दैनिक जिबनयापनका लागि तपाईलाई जापानी भाषा आउनै पर्छ । जापान बसाईको क्रममा यस्तो बेला पनि आउँछ जहाँ तपाईलाई जापानी भाषाकै कारण आफु हराएको वा थकित भएको महसुस हुनेछ । तपाईको दिमागले खान्जी (जापानी लेखन प्रणालीमा प्रयोग हुने अक्षर)मा अभ्यस्त भएको हुँदैन । त्यसैले अनुकुल हुन केही समय आवश्यक छ । तपाई जापानी भाषा सिक्न इच्छुक हुनु हुन्छ भने केही समय दिनुहोस् अनि विस्तारै तपाईको जापानी भाषा राम्रो हुँदै जानेछ ।

एक्लोपन

आफ्नो देश छाडेर अरु कुनै नयाँ देशमा आउँदा साथमा आफ्नो साथीभाई वा परिवारका सदस्य त पक्कै पनि आउँदैनन् । धेरै जसो अवस्थामा तपाई एक्लै हुनुहुन्छ । तपाईको साथमा न त साथीभाइ हुन्छन् न त परिवारका सदस्यहरु नै । त्यसैले एक्लोपना भोग्नै पर्छ । त्यसैले तपाईले आफ्नो नेटवर्क फेरि बनाउनु पर्छ । तपाई जापानमा पढ्नकै लागि मात्र आउनु भएको हो भने साथीभाईको नेटवर्क बनाउन निकै सजिलो हुन्छ । भाषा स्कुल वा विश्वविद्यालयमा तपाईले आफ्ना जस्तै रुचि र बानी भएका साथीहरु भेट्न सक्नु हुन्छ । तर तपाई काम गरिरहनु भएको छ भने चाँहि समयको अभाव र कम्पनीबाहिरका अन्य मानिसहरुसँग भेटघाट गर्ने अवसरको अभाव हुने भएकोले साथीभाई बनाउन अलि चुनौतीपूर्ण हुन सक्छ ।

नेपाली समुदायभित्र हुने कार्यक्रमहरुमा हुने भेटघाट त छँदैछ जापानमा हुने विदेशीहरुविचको भेटघाटमा सहभागी हुनका लागि ‘मिटअप’ जस्ता एप्लिकेशनहरु राम्रो उपाय हुन् । तपाईले आफ्नो एकाउन्ट खोल्न अनि तपाईलाई मन पर्ने गतिविधि निर्दिष्ट गर्न सक्नु हुन्छ अनि विभिन्न कार्यक्रममा सहभागी हुन पनि सक्नु हुन्छ ।

बन्दोबस्न मिलाउने

जापानमा बसोबासका लागि बन्दोबस्त मिलाउन अलि चुनौतीपूर्ण हुन सक्छ । बस्नका लागि घर वा अपार्टमेन्ट खोज । बैंक खाता खोल । फोन कन्टयाक्ट सेट अप गर । यो त तपाईले सामना गर्न सक्ने केही अप्ठयाराहरु हुन् । जापानमा आइसकेपछि तपाईले यस्तै खालका कयौं स–साना अप्ठयाराहरु सामना गर्नु पर्नेछ । यी सबै काम गर्न सजिलो छैन । केही न केही झन्झट त आइहाल्छन् । तर सबैजना यही प्रक्रियाबाट गुज्रनुपर्छ । तर मलाई के लाग्छ भने तपाईले राम्ररी जापानी भाषा बोल्न सक्नु हुन्न नै भने पनि यी सबै प्रक्रियाहरुमा मद्दत गर्न तपाईले कोही न कोही सधैं भेट्टाइ हाल्नु हुन्छ । भाषा स्कुलमा शिक्षकहरुले सहयोग गर्नेछन् भने कामकै लागि आएकाहरुलाई कम्पनीका प्रतिनिधी वा साथीभाइहरुले सहयोग गर्नेछन् । जापानमा बसाई कसरी शुरु गर्ने भन्नेबारे तपाईले मद्दत माग्नुभयो भने उनीहरुले पक्कै पनि तपाईलाई मद्दत गर्नेछन् ।

जापानमा सहज जीवन बिताउन तपाईहरुलाई सजिलो होस् भन्ने हाम्रो पनि चाहाना हो । यो वेवसाइटका पूराना लेखहरु पढ्नुभयो भने पनि तपाईलाई धेरै कुराको ज्ञान मिल्नेछ ।

कार्य संस्कृति

जापानको काम गर्ने संस्कृति अन्य देशको भन्दा बिल्कुल फरक छ । पश्चिमी देशहरु मात्रै होइन एशियाकै देशहरुसँग पनि यसको काम सम्बन्धी संस्कृति मिल्दैन । यस मामिलामा भने तपाईले अलि लामो समय नै संघर्ष गर्नु पर्ने हुन सक्छ । तपाईले काम गर्ने कम्पनी छान्दा पनि अहिले सोच विचार गरेर छान्नु पर्ने पनि यही कारणले गर्दा हो ।

जापानमा कार्य संस्कृति नेपालकै भन्दा पनि फरक छ । कम्पनीमा मान्नै पर्ने केही नियम र व्यवहारहरु छन् । यि नियम जापानीहरु मात्रै होइन विदेशी कामदारमा पनि उत्तिकै लागू हुन्छ । तपाईलाई जापानी संस्कृतिबारे धेरै थाहा छैन त्यस्ता नियम र व्यवहारहरु बुझ्न तपाईलाई सोचे जस्तो सजिलो नहुन पनि सक्छ । आफुभन्दा वरिष्ठहरुलाई सम्मान गर्नुहोस् । यो नियम हरेक जापानी कम्पनीमा हुन्छ । तपाई आफुभन्दा वरिष्ठहरुसँग कुनै कुरामा सहमत हुनुहुन्न वा उनीहरुले तपाईलाई गैरकानूनी वा अनुचित लाग्ने काम गर्न भने पनि उनीहरुको सम्मान गर्न भने छाड्नु हुन्न । वरिष्ठहरुले तपाईलाई तलब नपाइने भएपनि अलि नियमित समयभन्दा बढी समय काम गर्न लगाए, सप्ताहन्तको बेलामा पनि कार्यालयमा आउन भने र रक्सीजन्य पदार्थको सेवन हुने पार्टीहरुमा अनिवार्य सहभागी हुन आग्रह गर्ने जस्ता कार्यहरु गर्न भन्न सक्छन् । पछिल्लो समय कम्पनीहरु विस्तारै परिवर्तन भइरहेका छन् । तर यस्ता कयौं कार्य संस्कृति बाँकी नै छन् । जापानमा समूदाय भन्दा पनि व्यक्तिगत पहिचानको बढी महत्व हुने भएकोले पनि यस्तो भएको हो । कम्पनीको लागि आवश्यकता पर्यो भने तपाईले आफ्नै बलिदान दिन हुन्छ भने अपेक्षा गरिन्छ । तर यस्तो कार्य संस्कृति जापानीहरुलाई स्वयम्लाई पनि मन पर्दैन । एक म्यागेजिनले जापानमा गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीहरुले आफु कामप्रति असन्तुष्ट रहेको बताएका थिए ।

यस्तो खालको वातावरणमा काम गर्नबाट बच्न म तलाईलाई चेतावनी दिन्छु । कामलाई नै सर्वेसर्वा ठान्ने कम्पनी भन्दा तपाईको व्यक्तिगत विकासको महत्व बुझ्ने अनि तपाईको जस्तै कार्य संस्कृति भएको मानिसहरु भएका कम्पनी खोज्नुहोस् । हरेक दिन तपाईले काममा ८ घन्टा बिताउनु हुन्छ, काम गर्ने वातावरण राम्रो भयो भने राम्रो कुरा सिकिन्छ ।

बाहिरिया

तपाईले कहिल्यै ‘गाइजिन’ वा ‘गाइकोकुजिन’ (外国人) भन्ने शब्द सुन्नु भएको छ । जापानीमा यसको अर्थ हुन्छ विदेशी वा ‘बाहिरको व्यक्ति’ । भाषा कुनै पनि ठाउँको संस्कृतिको मुख्य सूचक हो । अनि कहिलेकाँही जापानी भाषामा सम्बोधन सुनेर तपाईलाई म त यहाँ होइन, बाहिरिया हुँ भन्ने महसुस हुन सक्छ । सत्य यही हो कि तपाई जापानी होइन । यो त मानिसहरुले तपाईको अनुहार हेरेरै थाहा पाउँछन् । जनसंख्या जातीयता फराकिलो हुने अन्य समाजमा को कुन देशको हो अनि को चाँहि होइन भन्ने कुरा छुट्टयाउन गाह्रो हुन्छ । तर जापानमा भने स्वदेशी को हो अनि विदेशी को हो भन्ने कुरा सजिलै छुट्टयाउन सकिन्छ । तपाई विदेशी भएकोले, तपाईलाई मानिसहरुले अलि फरक तरिकाले व्यवहार गर्न सक्छन् । तपाईले रेलमा वा सडकमा मानिसहरुले तपाईसँग कुरा गर्न अलि डराएको वा अप्ठयारो मानेको महसुस गर्नु भएको छ ? अनि घर भाडामा लिँदा, वा कर्जा प्राप्त गर्ने क्रममा पनि उनीहरुले विदेशीहरुलाई हत्तपत्त विश्वास गर्दैन । अनि यी सबै कुराहरुले तपाईलाई अलि निराश बनाउन पनि सक्छ ।

जापानमा तपाईले सबै तिर बाहिरियालाई गर्ने जस्तो व्यवहार मात्रै पाउनु हुन्न । कथाको अर्को पाटो के हो भने तपाईको कथा, मूल थलो अनि संस्कृतिको बारेमा जान्न खोज्ने मानिसहरु पनि तपाईले भेट्नु हुनेछ । त्यसैले तपाईले यस्तै खालमा मानिसमा मात्रै ध्यान दिनुपर्छ अनि सधैं यस्तै खालका मानिसको वरिपरि मात्र बस्नु पर्छ । उनीहरुलाई आफ्नो संस्कृतिबारे बताउने अनि उनीहरुको संस्कृतिको बारेमा पनि जान्ने इच्छा देखाउन अन्कनाउनु हुँदैन । तपाईको जापान बसाई अनुभव एक अर्काको कुरा सुन्ने र आदान प्रदान गर्ने प्रवृत्तिमा आधारित हुनु पर्छ । घृणा गर्नेहरुलाई बिर्सिदिनुहोस् ।

निष्कर्ष

तपाई आफ्नो देश छोडेर अन्यत्र जाँदा पक्कै पनि कुनै न कुनै समस्या भोग्नु हुन्छ । जापान आउँदा पनि तपाईले केही समस्या भोग्न सक्नु हुन्छ । यही नै सत्य हो । तर समस्या छ भने समाधान त भइहाल्छ । यहाँ बताइएका सबै समस्याको पनि समाधान छ । हरेक व्यक्ति अनुकूलनको चरणबाट गुज्रिनै पर्छ । अनि सबैको मनमा आफुले रोजेको विकल्पबारे शंका र भय पनि उत्पन्न हुन्छ । तर आत्तिनु पर्दैन । आफ्नो भाषागत क्षमता सुधार्नतर्फ उन्मुख हुनुहोस् । आफ्ना लागि उपयुक्त हुने वातावरणमा बस्नु हुोस्, त्यस्तै खालका मानिसका साथमा बस्नु होस् आफ्नो वरपर सकेसम्म त्यस्तै मानिसलाई राख्नुहोस् । आवश्यकता परेको बेलामा सहयोगी मानिससँग सहयोग माग्नु होस् । अनि त तपाईको जापान बसाई पनि राम्रो हुनेछ । तर अनुकूलनका लागि आफैलाई केही समय भने दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *