Monday, September 26जापानबारे सबै कुरा

विश्वभर फैलिएका जापानसँग सम्बन्धित केही तथ्यहरु

जापानको बारेमा सोच्दा तपाईको मस्तिष्कमा कुन स्टेरियोटाइप्स आउँछ ? जापान, यहाँका मानिसहरु, संस्कृति, रेल र खानेकुराबारे समेत टन्नै मिथकहरु सुन्न पाइन्छ । यी मध्ये केही हचुवा भएपनि केही चाँहि सत्य छन् । आजको यस लेखमा हामीहरुले जापानबारे कुन चाँही सत्य छन् र यससम्बन्धी तथ्यबारे बताउन गइरहेका छौं ।

१. निकै सुरक्षित छ

जापान विश्वमै सुरक्षित देशहरु मध्ये पर्दछ । यहाँ अपराध दर पत्याउनै नसकिने गरि न्यून छ । विगत १५ वर्षयता जापानको अपराध दर निरन्तर घटिरहेको छ । सन् २०१७ मा यसले नयाँ कीर्तिमन नै बनाएको थियो । जापान टाइम्सका अनुसार उक्त वर्ष जापानमा ९१५,१११ अपराध दर्ता भएको छन् । सन् २०१६ को यूएनओडीसीको तथ्याङ्कअनुसार जापानमा इन्टेनशनल मानव हत्या दर प्रति १००,००० जनसंख्यामा शून्य दशमलव ३ प्रतिशत मात्रै रहेको छ । यो विश्वमै दोस्रो कम हो । अष्ट्रेलिया र अमेरिकाको तुलनामा यो अविश्वसनीय कम हो । अष्ट्रेलियाको इन्टेनशनल मानव हत्या दर प्रति १००,००० जनसंख्यामा शून्य दशमलव ९ प्रतिशत छ । अमेरिकाको दर भने ५ दशमलव ४ प्रतिशत रहेको छ । समाजमा मानिसहरु कसरी व्यवहार गर्छन् भन्ने कुराले पनि जापानको न्यून अपराध दर देखाउँछ । जापान आउने विदेशी आगन्तुकहरुले पनि प्रायः यसबारे बताएको सुनिन्छ । अबेर रात सडकमा हिड्दा पनि उनीहरुले सुरक्षित महसुस गर्ने गरेका छन् ।

जपानमा दैनिक जीवन सुरक्षित छ । तपाईले पर्स हराउनु भयो भने पनि आसपास भएका मानिसहरुले पिछा गरेर फिर्ता गरिदिन्छन्, केही अपवाद वाहेक प्राय यस्तो हुन्छ । तपाईलाई भेटेनन् भने पनि उनीहरुले नजिकको प्रहरी चौकी (कोबान) मा लगेर बुझाइदिन्छन् । यहाँका कयौं पसलहरुमा बाहिर सामानहरु राखिएको हुन्छ । तर यी सामानको रेखदेख गर्न कर्मचारी पनि हँुदैनन् र यी सामानहरु हराउँदा पनि हराउँदैनन् । टोकियो जस्तो भिडभाड धेरै भएको शहरमा समेत बालबालिकाहरु अभिभावकको उपस्थिति बिनै बाहिर खेलिरहेका हुन्छन् । उनीहरु विद्यालय पनि अफैं बस वा रेल चढेर जान्छन् ।

२. उत्कृष्ट सार्वजनिक यातायात

धेरै मानिसहरुले जापानलाई तीव्र गतिको रेल (शिन्कासेन 新幹線)सँग पनि जोड्ने गरेका छन् । कयौं वर्षसम्म शिन्कान्सेनबारे अन्तरराष्टिय सञ्चार माध्यममा समाचारहरु छापिएका छन् । यी रेलका डिजाइन फ्यूचरिष्टिक भएको, अविश्वसनीय गति भएको अनि कहिलेकाँही २५ सेकेन्ड मात्रै चाँडो हुँदा समेत माफी मागेको भन्ने खालका हेडलाइन छापिएका छन् । जापानमा भएका सबै रेलहरु शिन्कासेनकै स्तरका भने छैनन् । तर जापानले रेलवेलाई सफा राख्न, कार्यकुशल बनाउन र यसको मर्मत सम्भारका लागि भनेर ठूलो परिमाणमा रकम खर्च गर्ने गरेको छ ।

तपाईले लगभग सबै तिर फेरी, बस र स्थानीय एवम् तीव्र गतिको रेलको खबकत नेटवर्क देख्न सक्नु हुनेछ । वास्तवमा जापान सार्वजनिक यातायातका साधनमै भर परेको छ । यहाँको सार्वजनिक यातायात प्रणाली विशेषगरी रेल विदेशी–मैत्री छ । अधिकांश रेलवेमा डब्ब भित्र र स्टेशनमा समेत रोमन अक्षरका साथै जापानीमा संकेतहरु लेखिएका छन् । तपाईको मनमा केही शंका छन् वा तपाई कतै हराउनु भयो भने पनि स्टेशनमास्टरलाई नहिच्किचाइकन सोध्न सक्नु हुनेछ । कर्मचारीहरु पनि मित्रवत् छन् र यात्रुहरुप्रति उनीहरु निकै विनम्र छन् ।

३. जापानी मानिसहरुले धेरै काम गर्छन् ।

जापानका मानिस, यहाँको कार्य संस्कृतिबारे यो सबैभन्दा सबल स्टेरियोटाइप्समध्ये पर्दछ । तर यसका पछाडि केही सत्य छन् । जापानीमा अत्यधिक काम गरेर मरेको भन्ने शब्द अर्थात् कारोशी (過労死) छ । यसको शाब्दिक अर्थ पनि ‘ओभरवर्क डेथ’ भन्ने हुन्छ । धेरैजसो जापानी कम्पनीहरुमा ओभर टाइम सामान्य नै हो । सन् २०१६ मा कारोशीबारे सार्वजनिक भएको एक प्रतिवेदनअनुसार १० हजार जापानी कामदारहरुमाझ गरिएको एक सर्वेक्षणमा २० प्रतिशतले आफूले महिनामा कम्तिमा पनि ८० घन्टा ओभरटाइम गरेको बताएका थिए । पहिलो विश्वका देशहरुमा कर्मचारीहरुलाई तलब बिदा सुनिश्चित गरिन्छ । तर यस मामिलामा जापानको अवस्था निकै दयनीय छ । वर्षमा १० दिन मात्रै छुट्टी दिइने जापान यो तलब बिदासम्बन्धी सूचीको करीब पुछारमै पर्छ । तर कम्पनीमा बसाइ अवधि लम्बिदै गएपछि तलबी बिदाको दिन पनि बढ्दछ ।

सन् २०१५ मा जापानको सबैभन्दा ठूलो विज्ञापन कम्पनीमा काम गर्ने २४ वर्षिय कर्मचारीले अत्यधिक रुपमा बढी काम लगाएको भन्दै आफ्नो प्राण त्यागे । यो घटनाले जापानमा ठूलै तरंग ल्यायो । त्यसयता कार्य संस्कृति सुधार्न र कारोशीका घटनाहरु कम गर्न सरकारले विविध कदम चालिरहेको छ । यसै अन्तर्गत सन् २०१८ को जुनमा सरकारले ओभरटाइमको घन्टा महिनामा सय घन्टा र वर्षमा ७२० घन्टामा समीति गर्ने विधेयक नै पारित गरेको थियो । सन् २०१९ को बसन्त ऋतुमा पास भएको नयाँ कानूनले भने ओभरटाइमको मासिक र वार्षिक सीमा घटाएर ४५ घन्टा र ३६० घन्टामा ल्याएको छ । काम र घरेलु जीवनबीचको तालमेल मिलोस् भनेर महिनाको अन्तिम शुक्रवार कर्मचारीहरुलाई चाँडै घर जान प्रेरित गर्न सरकारले ‘प्रिमियम फ्राइडे नामक कार्यक्रम पनि ल्याएको थियो । तर यो कार्यक्रमलाई कर्मचारी र कम्पनी दुबैले धेरै गम्भीर रुपमा लिएका छैनन् । लागू भएको २ वर्ष बितिसक्दा पनि यसलाई धेरैले अहिले पनि मजाकका रुपमा लिन्छन् ।

४. मानिसहरु नम्र हुन्छन् ।

केही मानिसहरुले जापानलाई ‘पृथ्विकै सबैभन्दा नम्र देश’ बताउँछन् । जापानीहरु सभ्य व्यवहार, नम्र बोल्ने र अविश्वसनीय रुपमा अतिथि सत्कार गर्ने भनेर चिनिन्छन् । यस्तो सोचाई राख्नुको एक कारण भने ओमोतेनाशी (おもてなし) पनि हो । यो जापानी संस्कृकिो अभिन्न हिस्सा हो । ओमोतेनाशीलाई प्रायः आतिथी सत्कार भनेर अनुवाद गरिन्छ । तर ओमोतेनाशीको ठ्याक्कै अर्थ आतिथ्य चाँहि होइन । यो अतिथिहरुप्रति अनुकम्पा देखाउने भन्दा पनि धेरै गहन कुरा हो । यो आँखाले बुझ्ने कुरा हो । अतिथिको आवश्यकताबारे सचेतना हो, उनीहरुलाई खुसी बनाउन सधैं अलि धेरै गर्ने साँचो प्रयास हो । जापानीहरुले यसलाई दैनिक जीवनका हरेक पक्षमा लागू गर्ने गरेका छन् । घरमा मात्रै होइन पसल होस् र रेष्टुँरामा समेत यसको महसुस गर्न सकिन्छ । सडकमा डिहिरहेका अपरिचितलाई समेत उनीहरु मद्दत गर्छन् । यसले जापानमा विश्वमै सबैभन्दा उत्तम ग्राहक सेवा दिइन्छ भन्ने स्टेरियोटाइपलाई समेत टेवा दिएको छ ।

विनम्रता ग्राहकहरुलाई सेवा दिने क्रममा हुने अन्तक्रियामा मात्रै पाइदैंन । दिनानुदिनको अन्तक्रियामा समेत यो स्पष्ट देख्न पाइन्छ । जापानीहरुले प्राय नियमको पालना गर्छन् अनि कष्टप्रद नै भएपनि सामाजिक कानून, शिष्टाचार र व्यवहारप्रति बढी नै ध्यान दिन्छन् । रेल स्टेशन जस्तो भिडभाड धेरै भएको ठाउँमा समेत जापानीहरु धीर भएर आफ्नो पालो कुरेर बस्छन् ।

५. जापानी खानेकुरा स्वस्थबद्र्धक हुन्छ

जापानसम्बन्धी स्टेरियोटाइप्समा यो कुरा चाँहि सत्य होइन कि भन्ने तपाईलाई लाग्न सक्छ । तर यसका दुई ओटा पक्ष छन् । भुटेको तेम्पुरा, खाराआगे लगायत अन्य केही जापानी खानेकुरा र परिकारहरु पक्कै पनि अस्वस्थकर छन् । तर समग्रमा अन्य देशका ‘स्ट्याण्डर्ड’ भोजनसँग तुलना गर्ने हो भने चाहि जापानी भोजन स्वस्थकर नै छन् । ब्लुम्बर्ग ग्लोबल हेल्थ इन्डेक्स लगायत विश्वका सबैभन्दा स्वस्थ देशको सूचिमा जापान माथि नै पर्छ । यसको सबैभन्दा मुख्य तत्व भनेको जापानीहरुको आहार नै हो ।

सन्तुलन, विविधता र संयम स्वस्थकर खुवाइको तीन महत्वपूर्ण पक्ष हुन् । यी सबै जापानी आहार र जीवनशैलीका अभिन्न हिस्सा हुन् । जापानी आहार आफैंमा पनि पोषणले भरिपूर्ण छ । जापानी भोजनमा ताजा मासु, सिफूड र टननै तरकारी समावेश हुन्छ । जापानीहरुले नियमति रुपमा याम, ग्रिन टि, सिविड, सोय फूड र च्याउ सेवन गर्छन् । तोउफु र नात्तो लगायत फर्मेन्टेड खानेकुरा पनि जापानी आहारका अभिन्न हिस्सा हुन् । खाना बनाउने तरिकाले पनि पोषणमा योगदान दिन्छ । धेरैजसो खानेकुराहरु काच्चै, उसिनेर वा प्यानमा हल्का फ्राइ गरेर खाइन्छ । खाना खाँदा जापानी बालबालिकाहलाई सानै उमेरदेखि चपस्टिकको प्रयोग गरेर विस्तारै खान अनि खानेकुराको महत्व सिकाइन्छ ।

जापानमा ८० प्रतिशत नअघाएसम्म खाइरहने भन्ने सिद्धान्त प्रयोगमा छ । सानै उमेर देखि यो कुरा बच्चाहरुलाई सिकाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *