Sunday, August 1जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानको भिसा एक्सटेन्सन गर्ने प्रकृया र आवश्यक कागजातहरु

जापानमा भिसामा उल्लेख गरिएको समय भन्दा धेरै रहन चाहने जो कोहीले पनि भिसाको म्याद थप गर्नु पर्दछ । यसलाई प्राविधिक रुपमा बसाई अवधि थप पनि भनिन्छ । तपाई पनि जापानमा विद्यार्थी भिसा, वर्क भिसा वा अन्य प्रकारको कुनै दीर्घकालीन भिसामा हुनु हुन्छ र यसमा उल्लेख गरिएको म्याद सकिएपछि पनि बसिरहन चाहनु हुन्छ भने तपाईले स्थानीय अध्यागमन कार्यालयमा भिसाको म्याद थप गर्न आवेदन दिनु पर्दछ ।

जापानी भिसाको म्याद थपका लागि क–कसले आवेदन दिन सक्छ ?

तपाईले भिसाको म्याद थपसम्बन्धी आवेदन आफैले बुझाउन सक्नु हुन्छ । तपाईसँग कुनै प्रायोजक छन् भने उनीहरुले पनि तपाईको तर्फबाट आवेदन पेश गर्न सक्छन् । जस्तैः

– अन्तरराष्ट्रिय विद्यार्थीको तर्फबाट विद्यालयका प्रतिनिधिले आवेदन दिन सक्छन् ।

– कुनै जापानी कम्पनीमा कार्यरत व्यक्तिको तर्फबाट उसको रोजगारदाता वा कम्पनीका प्रतिनिधिले आवेदन दिन सक्छन् ।

– तपाई जापानी नागरिकमाथि आश्रित भएर जापानमा बसिरहनु भएको छ भने आफन्तले तपाईको तर्फबाट आवेदन दिन सक्छन् ।

– तपाईको तर्फबाट कानूनी प्रतिनिधि वा वकिलले पनि आवेदन दिन सक्नेछन् ।

भिसाको म्याद थपका लागि मैले कहिले आवेदन बुझाउन सक्छु ?

जापानमा तपाईको बसाई अवधिको म्याद थप्न भिसाको म्याद सकिनु अघि नै आवेदन दिनु पर्दछ । भिसाको म्याज गुज्रिनु अघि तपाईले तीन महीना (९० दिन)सम्मको लागि म्याद थप आवेदन पनि दिन सक्नु हुन्छ ।

आवेदन कहाँ बुझाउनु पर्दछ ?

भिसाको आवेदन थपसम्बन्धी आवेदन तपाईले जापानमा बसोबास/अध्ययन गरिरहनु भएको क्षेत्रको प्रतिनिधित्व गर्ने अध्यागमन कार्यालयमा बुझाउनु पर्दछ । यहाँ तपाईले जापानको अध्यागमन कार्यालयको वेबसाइटमा भएका अध्यागमन कार्यालयहरु रहेको स्थानको सूचि पनि पाउन सक्नु हुनेछ ।

भिसाको म्याद थप्न चाहिने कागजपत्रहरु के के हुन् ?

बसाई अवधि थप गर्न आवेदन बुझाउँदा आवेदनलाई समर्थन गर्ने कयौं कागजपत्रहरु पेश गर्नु पर्दछ । बसाईको विशिष्ट उद्देश्य अनुसार आवश्यक कागजपत्रहरु पनि फरक फरक हुन्छ । तपाईलाई आवश्यक कागजपत्रः

– बसाई अवधि थपसम्बन्धी पूरा भरिएको आवेदन फारम (तपाईले यसलाई जापान अध्यागमन सेवा एजेन्सीको वेबसाइटबाट डाउनलोड गर्न सक्नु हुनेछ ।)

– राहदानी

– आवासीय कार्ड

– निम्न विशेषता भएको पासपोर्ट आकारको फोटोः

– लम्बाई चौडाईः ४ सीएम बाई ३ सीएम,

– पछिल्लो तीन महीना भित्र खिचिएको हुनु पर्नेछ,

– पृष्ठभूमि साधा र हल्का रंगको हुनु पर्नेछ, कुनै धर्सा वा छाँया हुनु हुँदैन,

– सिधा उभिएको हुनु पर्नेछ, मुहारको भाव पनि तटस्थ हुनु पर्छ,

– मुहार पूरै देखिएको हुनु पर्नेछ,

– तस्वीर गुणस्तर राम्रो हुनु पर्नेछ, (स्पष्ट अनि चहकिलो हुनु पर्छ),

– तपाईले जापानमा बसोबासलाई निरन्तरता दिन वित्तीय आवश्यकता पूरा गर्नु भएको छ भन्ने प्रमाण

– यात्राको उद्देश्यसँग सम्बन्धित कुनै अतिरिक्त कागजपत्र, जस्तैः

जापानमा विद्यार्थी भिसाका लागिः

– तपाईको शैक्षिक संस्थाले जारी गरेको दर्ता प्रमाणपत्रको प्रतिलिपि

– तपाईको शैक्षिक संस्थाले जारी गरेको परीक्षाफलको प्रमाणपत्रको प्रतिलिपि

– तपाईको बसाईका लागि वित्तीय आवश्यकता पूरा भएको छ भन्ने प्रमाण

जापानमा वर्क भिसाका लागिः

– रोजगारी निरन्तररहेको प्रमाण जसमा तपाईको रोजगारीसम्बन्धी विवरण जस्तैःतलब, पद र अवधि खुलाइएको हुन्छ ।

– कम्पनीको दर्ता कागजपत्र

– वार्षिक आय र कर भुक्तानीसम्बन्धी प्रमाण

जहान वा बाल भिसाः

– जापानी नागरिक वा विदेशी बासिन्दाको परिवार दर्ताको प्रतिलिपि

– जापानी नागरिक वा विदेशी बासिन्दाको आवासीय कार्डको प्रतिलिपि

– जापानी नागरिक वा विदेशी बासिन्दाको आय र पेशासम्बन्धी प्रमाण जापानी नागरिक वा विदेशी बासिन्दाबाट प्राप्त प्रत्याभूति पत्र

तपाईले यी सबै कागजपत्र एफोर आकारको कागजमा बुझाउनु पर्नेछ । धेरैजसो अवस्थामा कागजपत्र फिर्ता नै नआउन पनि सक्ने भएकोले कागजपत्रको सक्कली प्रति बुझाउने हो कि प्रतिलिपि भए पनि हुन्छ भन्ने कुरा चाँहि तपाईले स्थानीय अध्यागमन सेवा निकायमा सोध्न सक्नु हुन्छ ।

भिसाको म्याद थप्न कति शुल्क लाग्दछ ?

भिसाको म्याद थपको शूल्क ४ हजार येन हो । यो तपाईले राजस्व करमार्फत तिर्नु पर्दछ ।

भिसाको म्याद बढाउन कति समय लाग्दछ ?

भिसाको म्याद थप गर्ने आवेदन प्रक्रिया पूरा हुन दुई हप्तादेखि एक महीनासम्मको अवधि लाग्न सक्छन् । यो समय तपाईले स्थानीय अध्यागमन सेवा निकायमा पूरा भरिएको फारम बुझाउनु भएको दिन देखि शुरु हुन्छ ।

भिसाको म्याद थपसम्बन्धी आवेदन अस्वीकृत भयो भने के हुन्छ ?

तपाईको आवेदन अस्वीकृत भयो भने तपाईले देश छाड्न आवश्यक तयारी गर्नका लागि अस्थायी बसाई भिसा पाउनु हुनेछ । तपाईले भिसाको म्याद थपका लागि आवश्यक शर्त पूरा गर्नु भएको रहेनछ भने आवेदन अस्वीकृत हुन्छ । जस्तैः

– बसाई अवधिका लागि खर्च गर्न तपाईसँग आवश्यक वित्त छैन भने,

– जापानमा बस्दा तपाईको व्यवहार राम्रो भएन भने,

– करसम्बन्धी दायित्वको पालना गरेको छैन भने,

– जापानको न्याय मन्त्रालयले तोकेको भिसा वा आवासीय हैसियत सम्बन्धी मापदण्ड पूरा गरेको छैन भने,

– (तपाई विद्यार्थी भिसामा हुनु हुन्छ भने) अध्ययनका लागि आवश्यक उपस्थिति पूरा गरेको छैन भने, आदि ।

तपाईले भिसाको म्याद थपका लागि पुनः आवेदन पनि दिन सक्नु हुन्छ । तर यसमा तपाई सफल हुने सम्भावना भने नगण्य हुन्छ । तपाईले आफ्नो भिसाको श्रेणी परिवर्तन गर्नु भयो जस्तै आफ्नो जहानमाथि आश्रित भिसाका लागि आवेदन दिनु भयो भने चाँहि आवेदन स्वीकृत हुन सक्छ ।

के मैले जापानको पयर्टक भिसाको म्याद थप गर्न सक्छु ?

जापानी अध्यागमन सेवाले दू’घर्टना भयो वा अचानक बिरामी परेको जस्ता असाधारण अवस्थामा बाहेक अन्य अवस्थाका लागि प्रायः पयर्टक भिसाको म्याद थप जारी गर्दैन । यद्यपि, आयरल्याण्ड, बेलायत, अष्ट्रिया, स्विटजरल्यान्ड, जर्मनी, मेक्सिको, लिचेन्स्टिनका नागरिकहरुले भने अध्यागमन विभागले तोकेका शर्तहरु पूरा गरेका छन् भने आफ्नो भिसा छूट बसाई ६ महीनासम्मका लागि थप्न सक्छन् ।

आबेदन फारम डाउन्लोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *