Monday, May 16जापानबारे सबै कुरा

यस्तो छ नेपाल स्थित जापानी दूतावासले भीएफएसको वेबसाइटमा बूकिङसम्बन्धी जारी गरेको जानकारी

१ .भीएफएसको वेबसाइटमा बूकिङसम्बन्धी जानकारी

अहिले भीएफएसको बूकिङ वेबसाइटमा आउनेको संख्या दिनँहु असंख्य छ । वेबसाइटमा भिड धेरै हुँदा बूकिङमा समस्या भइरहेको छ । यसका कारण तपाईलाई कुनै असुविधा भएको हुन सक्छ ।

कहिलेकाँही तपाईले पहुँच बन्द छ भन्ने सन्देश पनि पाउनु भएको हुन सक्छ । वेबसाइटले थेग्न सक्ने भन्दा धेरै आगन्तुक आएकोले पनि यस्तो समस्या देखिन सक्छ । तपाईले यस्तो सन्देश पाउनु भएको छ भने केही क्षणपछि पुनः प्रयास गर्नु पर्दछ । सो समयका लागि छुट्याइएको अधिकतम् बूकिङ पूरा भइसकेर पनि बूकिङमा समस्या भएको हुन सक्छ ।

यसका कारण भीएफएसले हरेक दिन साँझ ४ बजेदेखि ५ बजेभित्र मात्रै बूकिङ लिँदो रहेछ भन्ने गलत धारणा पनि उत्पन्न भएको देखिएको छ । भीएफएसले दिनँहु चौबिसैं घन्टा बूकिङ लिन्छ । यसले नयाँ बूकिङ (अहिले बूकिङ खुल्ने १० कार्य दिन अगाडि) साँझ ४ बजेदेखि ५ बजेको बीचमा खोल्ने गरेको छ । यसको अर्थ सोही समयमा मात्रै बूकिङ लिन्छ भन्ने चाँहि होइन । नयाँ बूकिङ खुलेपछि बूकिङ संख्या पनि धेरै हुन्छ ।

२. भिसा आवेदन

बूकिङ भएको दिनमा नआउने, आवेदनका लागि कागजपत्र तयार हुनु अगावै बूकिङ गर्ने वा अनावश्यक रुपमा एक भन्दा धेरै पटक बूकिङ गर्नेहरु पनि छन् । यस्तो खालको गतिविधिका कारण आफ्नो पालो कहिले आउला भनेर कुरिरहेका अन्य आवेदकहरुलाई समस्या हुने भएकोले यस्तो खालको व्यवहार नगर्न दूताबासले अनुरोध गर्दै आएको छ । बिना कुनै कारण यस्तो व्यवहार गर्नेको भिसा आवेदन प्रक्रियामा ढिलाई पनि हुन सक्छ । फरक श्रेणीमा बूक गर्नेको आवेदन पनि भीएफएसले स्वीकार गर्दैन ।

तपाईको तर्फबाट भीएफएसमा बूकिङ गरिदिने भनेर केही कम्पनीहरुले चर्को शुल्क लिने गरेको जानकारी पनि हामीलाई प्राप्त भएको छ । त्यस्ता कम्पनीहरुको भीएफएस वा दूताबाससँग कुनै पनि सरोकार छैन । यस्ता सेवा प्रयोग गरेर हुने क्षति वा समस्याको भीएफएस वा दूताबासले कुनै पनि जिम्मेवारी लिँदैन ।

३. दूताबासमा भिसा आवेदन

सिद्धान्ततः दूताबासले कूटनीतिज्ञ वा आधिकारिक भिसा आवेदन मात्रै लिन्छ । अन्य श्रेणीका लागि आवेदन भीएफएसमार्फत गर्नु पर्छ । भीएफएस र दूताबासबीच काम बाँडफाँडले भिसा जारी गर्ने काम प्रभावकारी र छिटो भएको छ भन्ने विश्वास हामीले गरेका छौं । केही आवेदकहरुले दूताबासको डेस्कमै आवेदन सिधैं स्वीकार गर्न विशेष सुविधाका लागि पनि अनुरोध गर्ने गरेका छन् । तर दूताबासले यस्तो खालको अनुरोध स्वीकार गर्दैन । यस्तो अनुरोध गरेर तपाईलाई केही लाभ हुँदैन । बरु उल्टै यसले भिसा आवेदनको प्रक्रियामा उल्टै खलल पैदा गर्छ । पछिल्लो समय दूताबासमा यस्ता खालको अनुरोध निकै धेरै आइरहेको छ । यसले भीएफएसमार्फत भिसा आवेदन प्रक्रियामा समस्या गराइरहेको छ । त्यसैले तपाईले पनि यस्ता खालका अनुरोध नगर्नुहोला ।
तपाईको समझादारी र सहकार्यको हामी सरहाना गर्दछौं । हामीले हरेक दिन सकेसम्म धेरै भिसा सेवा दिनेतर्फ काम गरिरहेका छौं । भिसा आवेदनमा सबैलाई समान अवसर दिन हामीले सक्दो प्रयास गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *