Monday, May 17जापानबारे सबै कुरा

शरिर फिट राख्ने ५ जापानी तरिका

जीवनशैलीको कुरा गर्ने हो भने जापान विश्वको सबैभन्दा महङ्गो राष्ट्रमध्येको एक हो । टोकियो जस्ता ठूला शहरमा बस्नेहरुका लागि त महिनाको अन्तिम दिनहरु कटाउन मुस्किल पर्छ भन्दा अत्युक्ती नहोला । यहाँको व्यस्तता, काम तथा पढाईको बोझ आदिले आफ्नो दैनिक जीवनमा फिट रहने कुरा अन्य कुराभन्दा कम महत्वमा पर्नेगर्छ । राष्ट्रिय स्वास्थ्य बीमा कार्ड छ भने पनि जापानको मेडिकल खर्च त्यति सस्तो छैन । मेडिकल खर्च बचाउन होस् वा शरिरलाई तन्दुरुस्त राख्न या भनौ रोग लागेर अस्पताल धाउनु नपर्ने बन्नु नै सबैभन्दा राम्रो उपाय हुन सक्छ । आजको लेखमा जापानमा कम खर्चमै फिट रहने ५ ओटा टिप्सबारे चर्चा गरिएको छ ।

१. रक्त दान

अन्य राष्ट्रमा जस्तै जापानमा पनि जापानी रेड क्रस सोसाइटीको आयोजनामा रक्त दान कार्यक्रमहरु हुने गर्छ । १६ वर्षदेखि ६९ वर्षसम्मका स्वस्थ्य व्यक्तिले रक्त दान गर्न सक्छन् । पुरानो रगत बगेर गएपछि शरीरमा नयाँ रक्त कोशिकाहरुको उत्पादन हुन्छ । त्यसैकारण पनि रक्त दानले मानिसलाई स्वस्थ्य बनाउन सहयोग गर्छ । रक्त दान जीवन दान भने जस्तै तपाइले दिएको रगत आवश्यक परेका व्यक्तिका लागि अमूल्य बन्न सक्छ । तर यदि आफूलाई थकित महसुस भइरहेको र सञ्चो नभएको जस्तो अनुभव भइराखेको छ भने चाहिँ रक्त दान गर्नु हुँदैन ।

२. पब्लिक बाथमा जाने

सेन्तो भनिने पब्लिक बाथ पनि जापानको एक अनौठो फिचर हो । यदि अन्य मानिससँग नुहाउन सहज लाग्दैन भने घरमै रहेको बाथ टबमा तातोपानीमा डुबेर बस्नु स्वास्थ्यका लागि धेरै नै राम्रो हुन्छ । पछिल्लो समय सेण्तोहरुमा जकुजी र साउनाको सुविधा पनि उपलब्ध हुने थालेको छ ।

३.हल्का खानेकुरा खाने

जापानी खानेकुरा विश्वै स्वस्थ्यबद्र्धक खानाका रुपमा चिनिन्छ । जापानी खानेकुरा खानु पनि फिट हुने एक तरिका हो । मासुभन्दा हरियो सागपात र सलाद, जंक फुडहरु भन्दा बेसी सबै किसिमका खानाहरु मिलाएर तयार पारिएको सन्तुलित खाना खानु राम्रो हुन्छ । क्यालोरी कम भएका खानाहरु खाँदा शरिर अनावश्यक रुपमा मोटो हुनबाट पनि जोगिइन्छ ।

४.पार्कमा चल्ने रेडियो व्यायाम जाने

रेडियो व्यायाम जापानमा मात्रै देख्न सकिने अनौठो चलन हो । यो रेडियो ब्रोडकाष्टमा बजेको संगितमा व्यायाम गरिने प्रकृया हो । पार्कमा विहानको साढे ६ बजेदेखि यो व्यायाम शुरु हुन्छ र यसमा विशेषगरी वृद्ध जापानीहरुको सहभागिता बढी हुन्छ । व्यायाम गरिसकेपछि उनीरुहसँग संवाद गरेर पनि आनन्द लिन सकिन्छ । विहान चाँडै उठेर ताजा हावासँगै आफ्नो घरदेखि नजिक रहेको पार्कसम्म हिँड्दा शरीरमा स्फूर्ती आउने र साथै दिनको शुरुआत राम्रो हुने र शरीर पनि स्वस्थ्य रहन्छ ।

५.जिम जाने

जापानमा बस्दा जिम जाने सोचाइमा हुनुहुन्छ भने विश्वव्यापि फ्रेन्चाइज भएको जिमलाई मात्र नभई शहरमै सुविधा सम्पन्न जिमको खोजी गर्नु राम्रो हुन्छ । वेवमा सर्च गरेर आफ्नै शहरमा भएको स्पोर्टस सेण्टरहरु पनि पाउन सकिन्छ जसमा स्विमिङ पुल, प्रशिक्षण मेशिनहरु भएको जिम सेवा सस्तो मूल्यमा उपलब्ध हुन्छ ।

पक्कै पनि विदेशमा बस्नु जो कोहीका लागि पनि कठिन कार्य हो । विदेशमा आफ्नो जीवन रमाइलोसँग बिताउन आफ्नो देखभाल गर्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो । फिट रहने मामिलामा जापानका अनौठा तरिकाहरु अवलम्बन गरेर यहाँको अद्भूत स्वस्थ्य जीवनशैलीको आनन्द उठाउन सकिन्छ ।

स्वस्थ रहन तपाईले अपनाउने गरेका अन्य केही तरिका छन् कि ? कमेन्टमा लेख्नुहोला है त । जानकारी उपयोगी लागेमा सेयर पनि गरिदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *