जापानमा पढाई, काम या ब्यापार, जुनसुकै क्षेत्रमा कार्यरत रहेका भएपनि धेरै नेपालीहरुले गर्ने गरेको एउटा गुनासो कपाल झर्यो भन्ने हुन्छ । पुरुष भन्दा अझ बढि महिलाहरुमा कपाल झर्नु आम समस्या हो । जीवनशैली, तनाव र मानसिक समस्याका कारण पनि कपाल झर्छ । आजको लेखमा जापान आएपश्चात कपाल झर्ने समस्या कसरी उत्पन्न हुन्छ र कसरी कम गर्न सकिन्छ भन्नेवारेमा केही आधारभूत जानकारीहरु लेख्ने प्रयासमा छौं ।
१.तनाव
काम, पढाई लगायतका क्रियाकलापहरुका कारण हुने मानशिक थकान र आवश्यकताभन्दा बढि हुने तनावले गर्दा पनि कपाल झर्छ । जापान आएका सुरुवाती समयमा घरपरिवारको याद, नयाँ परिवेश, कामको प्रेसर, पढाईको प्रेसर आदि कुराहरुमा सकेसम्म कम तनाव लिनु फलदायी हुन्छ । निरन्तर जापानमै बसिरहेकाहरुको हकमा पनि आवश्यकता भन्दा बढि लिइने तनाव र नियमित खानपानमा ब्यालेन्स नमिल्दा पनि यो समस्या आउने चिकित्सकहरु बताउँदछन् ।
२. जलवायु परिवर्तन

जापानमा वर्षको कुन समयमा आउनुभएको हो त्यसमा हुने मौसमी परिवर्तले पनि कपाल झर्ने समस्या दिन्छ । जापानको गर्मी मौसम अत्यधिक तातो र ह्युमिड रहेका हुन्छ, त्यसैले सबैभन्दा पहिला कपाल झर्न शुरु हुन्छ । यसले कपालमा चायाँ पर्ने समस्या पनि बल्झाउँछ ।
३. खानपान

जापान आउनेवित्तिकै खानपिनमा निकै परिवर्तन हुन्छ । जापानी परिकारहरु निकै स्वादिष्ट हुने भएपनि यहाँका धेरै खानेकुरामा प्रोटिनको भने कमी हुन्छ । साथै ताजा तरकारी र फलफुलहरु पनि धेरै महंगो हुने भएकाले यीनीहरुलाई सबैले खाँदैनन् । जसले गर्दा कपालमा चाहिने पोषणतत्वमा कमी आउँछ र कपाल झर्न शुरु गर्छ । कपालको स्वास्थ्यका लागि भिटामिन सी र इ, जिंक, बी भिटामिन र ओमेगा ३ फ्याटि एसिडको आवश्यकता पर्छ । मांसाहारीहरुले यी सबै कुरा मासु तथा माछाजन्य उत्पादनबाट प्राप्त गर्न सक्छन् । आफूले लिइरहेको खानेकुरामा प्रोटिनको कमी छैन भन्ने सुनिश्चित गर्न चिकित्सकको सल्लाह पनि लिनुपर्छ ।
४. पानी
जापानमा सफा पानी त पाइन्छ तर अधिकांश ठाउँमा भने पानीलाई प्रदुषित हुनबाट बचाउन क्लोरिनको प्रयोग गरिन्छ । त्यसैले यस्ता पानीको प्रयोगले कपाल झर्ने समस्या बढाउँछ । साथै नेपालमा कपाल तातो पानीले नुहाउने चलन त्यतिधेरै छैन, जापानमा नुहाउँदा प्रयोग गरिने तातोपानीले पनि कपाल झर्ने समस्यालाई बढाउन सक्छ । तर नियमित नुहाउँदा भने कपाल झर्न र चायाँ पर्नबाट जोगिन सकिन्छ ।
समाधान
१ .सावर फिल्टर
सबैभन्दा पहिले त सावर फिल्टर खरिद गर्ने सुझाव दिन सकिन्छ । यसले पानीमा हुने सम्पूर्ण खराब तत्वलाई छानेर स्वच्छ पानी प्रदान गर्छ । कपाल झर्ने समस्याका लागि यो सबैभन्दा सजिलो उपाय हो । यो फिल्टर बिक क्यामरा वा अनलाइन स्टोरहरुमा पनि पाइन्छ ।
२. कपालसम्बन्धी उत्पादन
यदि तपाइको कपाल जापानीहरुको जस्तो छैन जापानी उत्पादनहरु विशेषगरी स्याम्पु र कण्डिशनर प्रयोग नगरेकै राम्रो । जापानी उत्पादन विदेशी कपालका लायिग निकै कडा हुन्छ र यसले कपाललाई सुख्खा बनाउन सक्छ । त्यसैले आफ्नो राष्ट्रबाटै यस्ता उत्पादन ल्याउने वा वेवसाइटहरु बाट यी सामानको अर्डर गर्न सकिन्छ । केही समय पहिले हामीले तयार पारेको यो जानकारी पढ्नुभयो भने विदेशी कपालका लागि उपयुक्त केही सामाग्रीहरुको लिष्ट पाउन सक्नुहुन्छ ।
३.नरम सिरानी
नरम सिरानीको प्रयोग गरेर पनि सिरानीामा कपाल झर्ने समस्याबाट राहत पाउन सकिन्छ । यस्ता तकिया तपाइको छालाका लागि पनि राम्रो हुन्छ । यीनीहरु केही महङ्गो त हुन्छन् तर यी निकै उपयोगी हुन्छन् ।
४.खानेकुरामा ध्यान दिने
कपालको स्वास्थ्यमा खानेकुराले निकै प्रभाव पार्छ । आफ्नो खानेकुरामा ठूला परिवर्तन गर्नुअघि एकपटक चिकित्सकसँग सल्लाह लिन आवश्यक छ । माछा, एभोकाडो, अण्डा जस्ता ओमेगा र प्रोटिनले भरीपूर्ण खानेकुरा खानुपर्छ । त्यस्तै हरियो सागसब्जी, बायोटिन जस्ता कुरालाई पनि खानामा समावेश गर्नुपर्छ । फलफुलको नियमित सेवन पनि राम्रो हुन्छ ।
५. तनाव नलिने
धेरै तनाव र चिन्ता लिइराख्दा पनि कपाल झर्ने भएकाले सकेसम्म दिमागलाई तनाव र चिन्तामुक्त बनाउनु पर्छ । चिन्ताले सबैभन्दा पहिला कपाललाई असर पु¥याउने हुँदा चिन्तामुक्त जीवन बाँच्नु पर्छ । यसका लागि ध्यान, योग, व्यायाम गर्ने र सकारात्मक सोच राख्ने गर्नुपर्छ ।
६.चिकित्सकको सल्लाह लिने
जापानमा लामो समय बसिरहँदा र माथि भनिएअनुसारका परिवर्तनहरु गर्दा पनि कपाल झर्ने समस्या नियमित आइरह्यो भने कपाल झर्नु कुनै गम्भीर संकेत पनि हुन सक्छ । त्यसैले कपाल झर्न रोकिएको छैन र स्थिती निकै गम्भीर हुन थाल्यो भने चिकित्सकको सल्लाह लिन जानुपर्छ ।