Wednesday, June 29जापानबारे सबै कुरा

जापानमा ‘हेल्थ इन्स्योरेन्स’ (केन्कोउ होकेन) किन तिर्ने ?

जापानमा हुनुहुन्छ भने राष्ट्रिय स्वास्थ्य बीमा (‘कोकुमिन केन्कोउ होकेन’–सजिलोका लागि ‘होकेन’ मात्र भन्ने गरिएको) को बारेमा धेरथोर जानकार पक्कै हुनुहुन्छ । यो बीमा प्रणालीमा प्रवेश गरेपछि वडा कार्यालयबाट विमा प्रमाण पत्र (होकेन्स्यो) पाइन्छ जसलाई अस्पतालमा जँचाउने बेला, औषधी किन्दा लगायतका चिकित्सा कार्यहरुमा प्रयोग गर्न सकिन्छ ।

उपचारका क्रममा बीमा कार्डको प्रयोग गर्दा सामान्यतया उपचारको लागत खर्चमा ७० प्रतिशत छुट हुन्छ, अर्थात ३० प्रतिशत रकम मात्र तिरे पुग्छ तर  ७० बर्ष वा सोभन्दा बढि उमेरका बृद्धबृद्धाको हकमा १० प्रतिशत मात्र रकम तिरे पुग्छ । बृद्धबृद्धाको हकमा जवान व्यक्तिसरह आय भएकाले भने ३० प्रतिशत नै तिर्नुपर्छ ।  राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा सुत्केरी हुँदा भुक्तानी दिइने बालबालिका हुर्काउने तथा सुत्केरी शिशु स्याहार भत्ता रकम (स्युस्सान इकुजी इचिजि–किन) र मृत्यु हुँदाको दाहसंस्कार खर्च (माइसोउ र्योउ) पनि पर्दछन् ।

जापानमा उपचार महंगो छ तर यस प्रकारका स्वास्थ्य बीमा प्रणालीको सदस्य हुनुहुन्छ भने लागत भन्दा धेरै सस्तो शुल्कमा उपचार गराउन सकिन्छ । आज हामी त्यही विषयमा चर्चा गर्दैछौं ।

जापानमा बिरामी हुँदा मात्र हैन ठूलो रोग लागेर हस्पिटल भर्ना हुनुपरेमा जस्तै क्यान्सरको अपरेशन नै गर्नुपरेमा पनि उपचार वापत खर्च भएको रकम फिर्ता हुन सक्ने प्रावधान छ । अस्पताल भर्ना आदिले एक महिना भरिको भुक्तानी गर्नुपर्ने चिकित्सा खर्च धेरै ठूलो रकम हुने भएमा सो रकमलाई एक निश्चित रकमभन्दा बढ्न नदिने ‘कोउगाकु इर्योउ–हि सेइदो’ भन्ने व्यवस्था पनि हुन्छ  र यस प्रकारको सुविधा पाउनका लागि राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा अनिवार्य प्रवेश गरेको हुनुपर्दछ ।

यो प्रणालीमा प्रवेश गरेका व्यक्तिको उपचारका क्रममा लाग्ने भोजन शुल्क भने आफैले तिर्नु पर्दछ जुन एक दिनको करिब १ हजार येन जति पर्न जान्छ भने प्राइभेट रुम लिएमा, २ वा ३ जनासम्म संगै बसेमा बेड चार्ज भने विरामी स्वयंले बेहोर्नुपर्ने हुन्छ जुन बसेको कोठा र सुविधा अनुसार २ हजारदेखि माथि प्रतिदिन हुन्छ । तर ४ जना भन्दा बढी संगै राखिने कोठामा बसेमा शुल्क लाग्दैन ।

कोउगाकु इर्योउ–हि सेइदोको को सुविधा भिजिटिंग भिषा बाहेक जापानमा अन्य भिषामा बस्नेले प्राप्त गर्न सक्छन् तर राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीको सदस्य भएका खण्डमा मात्र । ठूलो अप्रेशन गर्दै हुनुहुन्छ भने अप्रेशन देखि अप्रेशन पछिका सबै उपचार होकेनले कभर गर्ने खालको मात्र गर्नु भनेर पहिल्यै नै जानकारी गराउँनु राम्रो हुन्छ । ‘सेनसिनइर्यो’ (अत्याधुनिक प्रबिधि) लाई कहिलेकाही छुट्टै थप रकम तिर्नु पर्ने हुन सक्ने भएकाले सुरुमै सो कुरा जानकारी गराउँदा उपचार रकम सस्तो हुन सक्छ ।

बुझिराख्नु पर्ने कुरा के भने उच्च लागत उपचार खर्च रकम सुरुमा ३० प्रतिशत आफैले तिरेर, पछि फिर्ता पाउन सिटि या वार्ड अफिसमा निवेदन दिने र फिर्ता पाउन एक महिनासम्म समय लाग्ने हुँदा त्यतिवेलासम्मका लागि लागत खर्च भने आँफैले व्यवस्था गर्नुपर्छ ।

‘म खासै बिरामी हुन्न किन तिर्नु बेक्कारमा त्यत्रो पैसा, त्यो पनि महिनैपिच्छे ?’ भन्नेहरु पनि जापानमा धेरै जना भेटिनुहुन्छ । यहाँ गरिने परिश्रम, दिन रात नभनी काम गर्ने ज्यान, सुत्ने अनि खानेको ठेगान नहुने यहाँको दैनिकी आदिलाई हेर्दा सधै हठ्ठाकट्टा पक्कै रहँन सकिँदैन । स्वास्थ्य बीमा छैन भने सामान्य रुँघाखोकी लागेको बेला क्लिनिक गएर जाँच्ने र औषधी ल्याउने हो भने पनि न्यूनतम ८ देखि १० हजार येन लाग्न सक्छ यदि ठुलो रोग या दुर्घटना नै भयो भने त लाखौं रकम लाग्नसक्छ । स्वास्थ्य बीमा सम्बन्धी थप जानकारी चाहिएमा आफु बस्ने वडा कार्यालयमा जान पनि सक्नुहुन्छ । 

बिमा भनेकै भैपरी आउनसक्ने जोखिमलाई न्यूनिकरण गर्ने बाटो हो । बिरामी भईंदैन होला भनेर बिमा योजनामा प्रवेश नै नगर्नु गलत हुन्छ । आँफुले कमाएको रकमबाट केही रकम मासिक तिर्दा भविश्यमा आउनसक्ने जोखिम कम हुन्छ भने किन नलिने त यस्तो सुविधा ?

राष्ट्रिय स्वास्थ्य बीमा बाहेकका पनि धेरै बीमा योजनाहरु जापानमा छन्, आगामी दिनमा तिनको पनि चर्चा अवश्य गर्नेनै छौं । यो जानकारी तपाईलाई कस्तो लाग्यो ? फाइदाजनक लाग्यो भने सेयर गरेर सबैलाई थाहा दिनुस् है, जापानमा नेपालीहरुको बसोबास सहज बनाउने हाम्रो अभियानमा तपाईको साथ र सहयोगको अपेक्षा रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *