विदेश भनेपछि नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको धेरै समय भैसक्यो । यो पोष्ट लेख्ने म र पढ्ने तपाई पक्कै यही प्रवृतिकै एक हिस्सा हौं । चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभिभावकहरुले विदेश नै रोज्छन्, भनौ ज्वाई त विदेशमै बस्ने चाहिन्छ । त्यसैको परिणामस्वरुप यतिखेर ‘प्लस टु’ को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने भनेर रोज्नुपर्ने अवस्था दिनप्रतिदिन बढ्दो छ । राजनीतिक रूपमा अस्थिर देशमा भ्रष्ट्राचारका कारण आर्थिक सम्पन्नता र करिअर विकाको कुनै संभावना नै नदेखेर युवा पुस्ता हरेक अन्तराष्ट्रिय उडानमा सपना बोकेर उड्नुपर्ने बाध्यता नै बनेको छ । यो बाध्यता विस्तारै अनिवार्य हुन लागेको जस्तो देखिन्छ, धेरै अवस्थाहरुमा चै अभिभावकहरुले नै यसखालको वातावरण घरमा पैदा गर्छन् । जसले सानो उमेरमा नै युवाहरूलाई आर्थीक, मानसिक र सामाजिक दबाबमा राख्न थालेको छ। जसको प्रभाव यतिखेर जापानका विभिन्न सहरहरुमा बस्ने नेपालीहरुमा देख्न सकिन्छ र प्रभावका नतिजाहरू झगडा, बेमेल, डिभोर्स अनि मानसिक समस्याका रूपमा उत्पन्न भएका छन्।
नेपालमा अभिभावक तथा युवाहरूले जापानको सपना देख्दै गर्दा नेपालको संस्कार, संस्कृती, रितीथिती सँग यहाँको संस्कार, संस्कृती, रितीथितीको फरकबारे अध्ययन गर्नु बुझ्नु साथै आफू र परिवारलाई त्यसबाट उत्पन्न हुने प्रभावसँग पहिले नै तयार पार्नु जरूरी हुन्छ। नेपालमा रहँदा नै जापान पुगेपछी कसरी खर्च र कलेज तथा युनिभर्सिटीको फीहरू तिर्ने, बस्न खान र अन्य खर्चहरू कसरी जोहो गर्ने भन्ने योजना बनाउनु पर्छ ता कि यहाँ आएपछी विद्यार्थीलाई आर्थिक कारणले धेरै दबाब नपरोस् । जापानमा विद्यार्थीका रूपमा रहँदा गर्नुपर्ने कामको प्रकृति तथा यहाँको रोजगार बजारको अवस्था हेरेर त्यही अनुसारको आफुलाई तयार पार्न सक्नुपर्छ। ताकी काम र पैसाको कुरामा यता आएपछी धेरै तनाव नहोस्।
नेपालीमा एउटा भनाई छ ‘चिन्ता ले चितामा पुरयाउँछ’ जुन यहाँ चरितार्थ हुँदै गइरहेको पाइछ । त्यसैले सन्तानलाई दबाब र चिन्ताको सामना गर्न नेपालबाट नै दरो मन र मुटु बनाएर पठाउनु जरूरी छ अभिभावकले। त्यसो त चिन्ता लिएर हुने चाहीँ केही होईन हरेक समस्यालाई अवसरमा बदल्न र समाधान गर्न चिन्ता भन्दा पनि चिन्तन जरूरी हुन्छ। त्यसैले यहाँको संस्कृती, जिवनशैलीसँगै यहाँ आएर गर्नुपर्ने काम, कमाईको सम्भावनाहरूबारे विद्यार्थी मात्र होइन अभिभावक समेत जानकार हुनु पर्दछ ।
नेपालको संस्कृति, धर्म र परम्पराको कारण नै बालबालिका एवं छोराछोरीहरू अभिभावकको संरक्षण र निगरानीमा हुर्कन्छन्। यो खासमा विश्वका अन्य पश्चिमा मुलुकहरूमा बिरलै मात्र देख्न पाइन्छ। पश्चिमा मुलुकहरू व्यक्तिवादी र हाम्रो नेपाली समाज समाजवादी भएकाले युवा तथा किशोरहरूलाई एक खालको मानसिक र आर्थिक संरक्षण छ भने नैतिक र चारित्रिक सुधारका लागी परिवार र समाजको हस्तक्षेपकारी भूमिका छ। जसले गर्दा युवाको चिन्ता समाज र परिवारले गर्छ साथै करिअर र व्यवसायमा अघि बढ्नका लागी सहयोगी भूमिका पनि खेल्छ। यसखालको वातावरणमा हुर्केका किशोर–किशोरीहरू जापान आइसकेपछी यहाँ भोग्ने आर्थिक, पढाई र कामसँगै संस्कार र जिवनशैलीको दबाबले ‘कल्चरल शक’ (सांस्कृतिक झट्का) सँगै ‘फिजिकल शक’ (शारिरीक झट्का) को महशुस गर्छन्। भाषा नजानेका कारण सुरुवाती दिनहरुमा झेल्नुपर्ने समस्या, काम खोज्नका लागि आइपर्ने कठिनाइहरुले झन अर्को झड्काको सामना गर्न तयार बन्नुपर्छ । नेपालमा बाबुआमाले स्कुल कलेजको बस सम्म छोड्न जाने वा गाडीमा नै पुरयाउन जाने गरेर हुर्काएको बच्चा एकै पटक जापानमा रेल, बस र फेरि पत्ता लगाएर कलेज र काममा जाने अनि रेष्टुरेन्टमा उभिएर दिनभर काम गर्नुपर्ने अवस्थामा पुग्दा कत्रो झट्का महशुस गर्छ ? त्यसको ख्याल र योजना बाबु आमाले नेपालमा नै गर्नुपर्दछ। यस्तो झट्का बेहोर्नुपर्दा धेरै किशोर तथा युवा मनलाई थाम्न असफल पनि हुनसक्छन्।
नेपालबाट जापान आउन चाहनेले पहिले नै बुझ्नुपर्छ, यहाँको समाज नेपाल भन्दा बिलकुल फरक छ । जापानमा नागरिक तथा व्यक्तिगत स्वतन्त्रताको तह नेपालमा भन्दा धेरै नै माथि छ। यहाँका सबैकुराहरू उमेर पुगेका व्यक्तिमा भर पर्छ। व्यक्तिवादी सोचाई र चिन्तनले गर्दा यहाँका किशोर तथा युवा बालिग भइसकेपछी आफ्नोबारेमा सोच्ने र आफ्नो जिवनका बारेमा आफै स्वतन्त्र रूपमा निर्णय लिने गर्दछन्। बालिग भएपछी अभिभावकको घर छोडेर आफ्नै शैलीको जिवनयापन गर्ने चलन सामान्य नै हो। हाम्रो पूर्विय सभ्यतामा जन्मे हुर्केर त्यसै अनुसाको मान्यता, संस्कार, संस्कृतीमा हुर्केकाहरू विदेशमा जाँदा पहिले निक्कै गाह्रो हुने गर्दछ। यहाँको व्यक्तिवादी चिन्तन, स्वतन्त्र जिवनयापन र तिब्र प्रतिस्पर्धा लगायतका कारण जापान आउनासाथ कतिपय चैं आत्तिनसक्छन्, आत्तिन्छन्। त्यसो त जापानमा विद्यार्थीलाई यस्ता कुराहरूमा सहयोग गर्ने र सूचित गर्ने नेपाली संस्थाहरू र साथीभाईको संगत पाउन पनि गारो छ, सबै जनाको आ–आफ्नै व्यस्तता हुने हुँदा संगै बस्ने साथीसंग कुरा गर्न पनि रातको १२ बजे कुनुपर्ने वाध्यता यहाँ सामान्य हो ।
यसबाहेक जापान आईसकेपछी हुने संगत र साथीभाईको अभाव, नेपालमा जस्तो खेलकुद र घरबाहिरका गतिविधिहरू खासै नहुने भएकाले काम, पढाई र दैनिकीको तनावले होमसिक हुने, मानसिक सन्तुलन नै खलबलिन सक्ने तथा आत्महत्याको सोच आउने सम्म पनि हुनसक्छ। एकैपटक नेपालबाट जापान आएर यहाँको संस्कृती र शैलीमा भिज्न नसक्दा हिनताबोधको जन्म हुने तथा आफूलाई एक्लो ठान्ने र आत्मबल कमजोर हुनसक्ने हुन्छ ।
भाषा विद्यार्थीका रूपमा जापान आउन जति सजिलो छ यहाँको वातावरणमा भिज्न र यहाँको शैली अपनाउन त्यति सजिलो छैन। त्यसको मुख्य कारण हो पैसा। कागजमा जे दाबी गरेर आएको भएपनि धेरै नेपाली अभिभावकले नेपालबाट फि तिरेर पढाउने योजनाका साथ छोराछोरी जापान पठाएका हुँदैनन्। र सबै समस्याको कारण नै आधारभूत रूपमा यही नै हो। यहाँको समाजसँग घुलमिल र समायोजन हुन समस्या, सही संगत र परामर्शको अभाव, दैनिकको दबाब र जिवनशैलीको खुलापन सबै कुराहरूले गर्दा जापानमा काम तथा अध्ययनको लागी आउनेहरू काम गर्न वा पढ्न छोडेर अरू कुलतमा लाग्नसक्ने सम्भावना पनि बढी नै हुन्छ । यस विषयमा नेपालमा रहेका अभिभावकहरुले पहिलेनै बिचार पुर्याउनुपर्छ ।
मादक पदार्थको सहज उपलव्धता, साथीसँगतको प्रभावका कारण नेपाली युवाहरू जानेर वा नजानेर यस्ता कुलतमा फसिरहेको देख्न सकिन्छ । केही आत्महत्याका घटना यस्ता कुरामा जोडिएको अनौपचारिक कुराकानीमा आउँछन् र अनौपचारिक रूपमा नै हराउँछन्।
जापान आउनु अघि नेपालमा नै यहाँको समाज, संस्कृती, काम र पढाईको शैलीबारे जानकारी लिएर मानसिक रूपमा नै बलियो भएर आउनुपर्छ। अभिभावकले पनि छोराछोरीको सपना चाहना अनुसार मात्र विदेश पठाउनुपर्छ। पैसा छ वा पैसा कमाउनु पर्छ भनेर मात्र दबाबमा जापान पठाउनु गलत निर्णय सावित हुनसक्छ । छोराछोरी जापान पठाउने अभिभावकले बुझ्नै पर्छ ‘दरो मन चाहिन्छ जापानमा’, त्यसैले छोराछोरी पठाउनेहरू सबै खालका नतिजाका लागी तयार भएर बस्नुस्, ‘होप फर बेस्ट, प्रिपियर फर द ओर्ष्ट’