Sunday, December 4जापानबारे सबै कुरा

जापानमा जग्गाको भाउ बढ्यो

टोकियो ।

जापानमा जग्गाको भाउ बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा जनवरी १ सम्ममा भाउ शून्य दशमलव ६ प्रतिशतले बढेको छ । जग्गाको भाउमा देखिएको यो २ वर्षयताको पहिलो वृद्धि भएको भूमि मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यसले कोरोना भाइरसको महामारीले  सुस्ताएको जग्गा बजारमा पुनःबहाली आइरहेको संकेत गरेको छ ।

केही पर्यटकीय क्षेत्र र मनोरञ्जन क्षेत्रमा भने जग्गाको भाउ घट्ने क्रम जारी देखिएको छ । ‘जग्गाको भाउ महामारी पूर्वको स्तरबाट माथि आएको छैन, तर यो क्रमिक रुपमा बढिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भनेका छन् ।

यातायातको सुविधा भएको स्थानआसपास रहेको जग्गाको माग धेरै हुँदा समीक्षा अवधिमा आवासीय जग्गाको मूल्य औसतमा शून्य दशमलव ५ प्रतिशतले बढेको छ । ब्याजदर निकै न्यून स्तरमा रहेको र घर खरिदलाई सरकारी टेवाका कारण पनि यस्ता जग्गाको माग बढेको हो ।

समीक्षा अवधिमा व्यवसायिक प्रयोजनका जग्गाको मूल्य शून्य दशमलव ४ प्रतिशतले बढेका छन् । औद्योगिक क्षेत्रको जग्गाको भाउमा २ प्रतिशतको वृद्धि देखिएको छ । टोकियो, ओसाका र नागोया महानगरीय क्षेत्रमा जग्गाको भाउ औसतमा शून्य दशमलव ७ प्रतिशतले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *