Sunday, December 4जापानबारे सबै कुरा

बिजुली खपत कम गर्न टोकियो र अन्य ८ प्रिफेक्चरलाई अनुरोध

टोकियो ।

जापानका उद्योगमन्त्री कोइची हागिउदाले टोकियो र अन्य ८ प्रिफेक्चरलाई बिजुलीको खपत घटाउन अनुरोध गरेका छन् । गत हप्ता गएको भुँइचलोका कारण बिजुली आपूर्ति सीमित भइरहेकै समयमा एक्कासी चिसो बढेको अवस्थामा बिजुलीको खपत बढेर धान्नै नसक्ने अवस्था देखिएपछि उनले मंगलबार सो अनुरोध गरेका हुन् ।

सरकारले बिजुलीको उपलब्धताबारे चेतावनी जारी गरेको र टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्सले आफ्नो क्षेत्रमा बिजुलीको आपूर्ति अभाव हुन सक्ने बताएको एक दिनपछि यस्तो अनुरोध आएको हो । गत बुधबार उत्तरपूर्वी जापानमा गएको शक्तिशाली भुँइचालोका कारण केही थर्मल ऊर्जा केन्द्रहरु बन्द छन् । सरकारले अवस्था अनुसार भविष्यमा पनि खपत कम गर्न बृहत सहकार्यका लागि अनुरोध गर्न सक्ने पत्रकार सम्मेलनमा हागिउदाले बताए ।

बिहान ७ बजेदेखि आफूले अन्य सात प्रमुख ऊर्जा वितरकहरुबाट बिजुली पाइरहेको टेप्कोले बताएको छ । टेप्को र उद्योग मन्त्रालयले घर परिवार र कम्पनीहरुलाई अनावश्यक बिजुली बत्ति र उपकरणहरु बन्द गरेर बिजुली बचाउन अनुरोध गरिरहेको छ । हागिउदाले अनुरोध गरेका अन्य ८ प्रिफेक्चरहरु इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, खानागावा, यामानाशी र शिजुओका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *