जापानले थप नेपालीहरुलाई कामदारका रुपमा जापान लैजाने कोशिश गरिरहेको छ । जापानको विदेश मामिला मन्त्रालयका दक्षिण एशिया र दक्षिण पूर्वी एशियाली मामिला विभाग डेपुटी महानिर्देशक र उप सहायक मन्त्री इवामोतो केइचीले नेपालको अंग्रेजी भाषाको सरकारी पत्रिका द राइजिङ नेपालसँगको अन्तरवार्तामा यस्तो बताएका हुन् ।
जापान सरकारले हालैका वर्षमा नेपाललाई पनि श्रम बजारको स्रोत देशको रुपमा राखेको छ । सन् २०१९ मा नै दुई देशबीच जापानमा विशेष खालको दक्ष कामदार लैजाने विषयमा सम्झौता पनि भएको थियो । जापानले नर्सरी, कृषि र रेष्टुराँलगायत उद्योगका लागि कामदार लैजाने अपेक्षा गरिएको इवामोतोले बताएका छन् ।
केही क्षेत्रमा भने कामदारहरुले सम्बन्धित परीक्षा उत्तिर्ण गर्नु पर्ने पनि उनले बताए । नेपालीहरुको समस्या राम्रोसँग बुझ्नका लागि टोकियोमा रहेको नेपाली दूताबाससँग थप जानकारी लिने कोशिश भइरहेको पनि उनले बताए । नेपालको कृषि, जनस्वास्थय, शिक्षा, सुशासन, शान्ति प्रक्रिया र विपद् रोकथाम लगायत क्षेत्रमा थप टेवा दिन पनि जापान तयार रहेको उनको भनाइ छ ।
जापान सरकारले नेपालमा थप लगानी गर्न चाहेको भएपनि नेपाल सरकारले एफडीआईको न्यूनतम् आकार बढाउँदा यसले साना तथा मझौला आकारका कम्पनीहरुबाट आउन सक्ने लगानी प्रभावित हुने भय पनि उनले व्यक्त गरेका छन् ।